Thursday, August 18, 2022

सामाजिक सुरक्षा कोष : विशेष सापटी सुरु

 https://gorkhapatraonline.com/news/22348

सामाजिक सुरक्षा कोष : विशेष सापटी सुरु

blog

काठमाडौँ, भदौ २ गते ।  सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी रकम प्राप्त थालेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कोषमा योगदान गर्नुभएका विनयकुमार महतो र पवनबाबु प्रधानलाई विशेष सापटी योजनाअन्तर्गतको रकम प्रदान गर्नुभएको हो । 

श्रममन्त्री कुँवरले कोषमा लगातार तीन वर्ष (३६ महिना) योगदान गर्नुुभएका महतो र प्रधानले विशेष सापटी योजनाअन्तर्गत अवकाश कोषमा जम्मा भएको ८० प्रतिशत रकम मोबाइल एपबाट प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले सोल्टी होटलबाट भर्खर अवकाश हुनुभएका केशव खड्कालाई अवकाश कोषमा जम्मा भएको रकम पनि मोबाइल एपबाटै प्रदान गर्नुभयो । 

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा लगातार तीन वर्ष योगदान गरेका र निर्देशिकाले तोकेको मापदण्ड पूरा गरेका योगदानकर्ताले बुधबारदेखि उक्त सेवा लिन सक्ने जानकारी दिनुभयो । उक्त सेवाका लागि योग्य भएका तीन जना योगदानकर्ताले मोबाइल एपबाट आवेदन दिएर विशेष सापटी योजनाअन्तर्गत दुई जनाले र अवकाश कोषमा जम्मा भएको रकम एक जनाले रकम लिनुभएको हो । 

पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपियाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था 

उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । निर्देशिकाअनुसार कोषमा कम्तीमा तीन वर्ष  योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी लिन पाउनेछन् । 

यस्तै कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था कोषमा गरिएको छ । 

घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ । 

निर्देशिकाले तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपियाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ ।

शैक्षिक सापटी 

निर्देशिकाले योगदानमा आधारित सामाजिक सुरक्षामा योगदान गर्नेले शैक्षिक सापटी सेवा लिन सक्ने व्यवस्था गरिएको छ । कोषमा कम्तीमा तीन वर्ष योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको हो । 

उक्त निर्देशिकाअनुसार यस प्रकारको सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोराछोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । उक्त रकम ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने व्यवस्था निर्देशिकामा गरिएको छ । 

सो निर्देशिकाअनुसार विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, छात्रावास खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, भ्रमण तथा बीमा खर्च उक्त सापटीमा रहने व्यवस्था गरिएको छ । एक पटक लिएको सापटी चुक्ता गरिसकेका योगदानकर्ताले शैक्षिक सापटीबापत पुनः अर्को सापटी पनि लिन सक्ने व्यवस्था कोषले गरेको छ । 

श्रममन्त्री कुँवरले गएको साउन १ गते सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र नियमावली २०७५ अनुसार सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्थाबमोजिम तयार गरिएको निर्देशिका श्रममन्त्री कुँवरले स्वीकृत गर्नुभएको हो । 

मोबाइल एप शुभारम्भ

श्रममन्त्री शेरबहादुर कुँवरले स्वचालित विद्युतीय प्रणालीमा आधारित योगदानकर्ता सापटी सेवा प्रवाह एवं सामाजिक सुरक्षा कोष एपको शुभारम्भ गर्नुभयो । उहाँले एपमार्फत योगदानकर्ताले सहज तरिकारले प्रविधिमैत्री सेवा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कुँवरले सूचना तथा प्रविधिमा आएको विकासलाई प्रभावकारी रूपमा उपयोग गरी श्रम बजारलाई थप व्यवस्थित र मर्यादित बनाउनेतर्फ सरोकार सबैको ध्यान जानुुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कोषका अनुसार यस एप कार्यान्वयनमा जाँदा योगदानकर्ता आफूले लिन चाहेको सापटीका निम्ति कागजातसहित कोषको कार्यालयमा जानुपर्ने झन्झट अन्त्य हुनुका साथै कोषबाट प्रदान गरिने अन्य सेवा सुविधासमेत मोबाइल एपमार्फत नै सहज रूपमा प्राप्त गर्न सकिनेछ । 

यस एपमार्फत कोषका योगदानकताले कोषमा जम्मा भएको आफ्नो रकमका बारेमा जानकारी पाउन, आफ्नो केवाईसी भर्न, अवकाश हुँदा योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटी आवेदन दिन र अस्पतालमा उपचारका लागि योग्य रहे नरहेकोबारे जानकारी लिन सकिनेछ ।    




Tuesday, August 9, 2022

जोखिममा स्वास्थ्य बिमा

 https://www.nayapatrikadaily.com/news-details/93029/2022-08-10

जोखिममा स्वास्थ्य बिमा

संसारभर सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा पनि सरकारले नै सञ्चालन गर्छन्, तर नेपालमा स्वास्थ्य बिमा निजी कम्पनीमातहत लैजाने सरकारको घोषणाले नागरिक स्वास्थ्य पहुँचबाटै वञ्चित हुने जोखिम

स्वास्थ्यमा नागरिकको पहुँच संवैधानिक अधिकार हो । यसकै सुनिश्चितता बढाउन सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बोर्ड नै गठन गरेर स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको छ । तर, यो  कार्यक्रम निजी बिमा कम्पनीमातहत लैजाने सरकारको घोषणाले नागरिक स्वास्थ्य पहुँचबाटै वञ्चित हुने जोखिम बढेको छ ।

ad

चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा स्वास्थ्य बिमा कार्यक्रम दिगो बनाउन भन्दै सरकारले निजी बिमा कम्पनीमार्फत सञ्चालनको तयारी गरिने घोषणा गरेको थियो । बोर्डले उत्साहजनक काम नगरेका कारण यस्तो योजना बनाएको सरकारको भनाइ थियो । 

तर, बिमाविज्ञ डा. रवीन्द्र घिमिरे सरकारले भनेअनुसार निजी कम्पनीमार्फत सञ्चालन गर्ने हो भने स्वास्थ्य बिमा असफल हुने बताउँछन् । ‘विश्वभर सामाजिक सुरक्षाका काम सरकारले नै गर्छन् । यसमा बिमा पनि पर्छ । तर, यो कार्यक्रमलाई निजी कम्पनीमार्फत सञ्चालनमा लैजाने हो भने नागरिक स्वास्थ्यको पहुँचबाट वञ्चित हुन सक्छन्,’ उनले भने । 

स्वास्थ्य बिमा कार्यक्रम हत्याउन निजी बिमा कम्पनी सक्रिय बनेका छन् । सरकारले अनिवार्य गरेको यो कार्यक्रमबाट सजिलै आम्दानी हुने भएकाले कम्पनीहरूले आफूलाई दिनुपर्ने भन्दै बारम्बार बिमा समिति र सरकारसँग लबिङ गर्दै आएका छन् । बिमा समितिका वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल र पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंसमेत निजी बिमा कम्पनीकै मतहत लैजानुपर्ने पक्षमा छन् । निजी कम्पनी र बिमा समितिकै प्रभावमा सरकारले बजेटबाट अप्रिय कदम चालेकाले आलोचना भएको छ । 

निजी कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नु आत्मघाती हुने बिमा अभियन्ता पदम अवस्थीको चेतावनी छ । ‘सरकारले नागरिकलाई दिएको अनुदानमा समेत निजी बिमा कम्पनीहरूले आँखा गाडेका छन् । सरकारले नै कार्यक्रम सञ्चालन गर्दा उनीहरूको केही हिस्सा आम्दानी खोसिएकाले हत्याउन खोजेका छन्,’ बिमाको क्षेत्रमा अनुसन्धानसमेत गर्दै आएका अवस्थीले भने, ‘स्वास्थ्य बिमा सामाजिक कार्य हो, जसले नागरिकको घरघरमा पुगेर बिमा गराएको छ । तर, निजी कम्पनीका लागि बिमा व्यापार हो । उनीहरूले भोलिका दिनमा सरकारले दिने अनुदानमा व्यापार गर्नेछन् ।’ 

बिमा समितिका कार्यकारी प्रमुख राजुरमण पौडेलले स्वास्थ्य बिमा अब बिमा समितिअन्तर्गत सञ्चालन हुने बताए । त्यसो त सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुअघि नै निजी बिमा कम्पनीहरूले स्वास्थ्य बिमा पोलिसी बिक्री गर्दै आएका छन् । तर, कम्पनीहरूले बिक्री गरेका स्वास्थ्य बिमा पोलिसीमा आमनागरिकको पहुँच भने छैन । कम्पनीहरू सहरकेन्द्रित र नाफामुखी हुने हुँदा सामाजिक सुरक्षाअन्तर्गतको बिमा कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसक्ने बोर्डको दाबी छ ।

बिमा बोर्डले १३ अर्ब भुक्तानी नदिएको अस्पतालहरूको आरोप, पाँच अर्ब मात्रै भुक्तानी बाँकी रहेको बोर्डको दाबी 
स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएर नागरिकको उपचार गरेका अस्पतालले बिमा बोर्डबाट १३ अर्ब भुक्तानी लिन बाँकी रहेको दाबी गरेका छन् । वीर, बिएन्डबी, टिचिङलगायत अस्पतालले पत्रकार सम्मेलन नै गरेर बोर्डले रकम भुक्तानी नगरेको आरोप लगाएका हुन् । रकम भुक्तानी नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम नै सञ्चालन नगर्ने चेतावनी उनीहरूको छ । नेपाल बिमक संघका महासचिव एवं नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले अस्पताललाई भुक्तानी गर्न बाँकी रहेको रकम बोर्डले निकासा गरेपछि मात्रै कम्पनीहरूले कार्यक्रम सञ्चालन गर्न सक्ने बताए । 

स्वास्थ्य बिमा बोर्डले भने गत चैतयताको पाँच अर्ब मात्रै भुक्तानी बाँकी रहेको दाबी गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने, ‘अस्पतालहरूको करिब पाँच अर्ब रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी छ । गत चैतदेखिको रकम रोकिएको हो । अस्पतालहरूले पठाएको दाबी रकम र कागजपत्रको बोर्डले रुजु गर्नुपर्छ । अस्पतालले आज दाबी गरेर भोलि नै बोर्डले भुक्तानी गर्न सक्दैन ।’ 

ऐनअनुसार अस्पतालले बिमितको उपचार भएको सात दिनभित्र बोर्डको सफ्टवेयरमा उपचारबापत उठेको रकमको विवरण दाखिला गराउनुपर्छ । १५ दिनभित्र आवश्यक कागजपत्र बोर्डमा बुझाउनुपर्छ । सो दाबी बोर्डको दाबी शाखामा जान्छ । शाखामा स्वास्थ्य प्राविधिकविज्ञको समिति छ, जसले दाबीको चेकजाँच गर्छ । उपचारका लागि बोर्डले नै प्याकेज र खर्चको सीमा तोकेको छ । सोहीअनुसार खर्च भए–नभएको परीक्षण गरेपछि मात्रै दाबी लेखा शाखामा जान्छ । तर, केही अस्पतालले भने वर्षौँपछि पनि दाबी गरेका छन् । कसैले बोर्डले तोकेभन्दा फरक मूल्य दाबी गरेका छन् । यस्ता अस्पताललाई सूचीबाट हटाउने कामसमेत भएको बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले बताए । गत वर्ष झापास्थित एडभान्स मल्टिस्पेसियालिटी हस्पिटललाई सूचीबाट हटाएको थियो । अस्पतालले ऐनविपरीत दाबी गरेपछि कारबाहीमा परेको हो । अन्य शंका लागेका अस्पताललाई पनि बोर्डले निगरानीमा राखेको छ । 

स्वास्थ्य बिमा कोषमा बिमितहरूबाट ११ अर्ब संकलन

आठ वर्षमा सरकारले कति बजेट विनियोजन गर्‍यो र अस्पताललाई कति भुक्तानी भयो ?
स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कोषमा १० अर्ब ९१ करोड रुपैयाँ संकलन भएको छ । यो रकम बोर्डले बिमा सुविधा प्रदान गरेबापत बिमितहरूसँग संकलन गरेको हो । यसअघि बोर्डले प्रिमियमबापत संकलन गरेको रकम जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा संकलन गथ्र्यो । तर, स्वास्थ्य बिमा ऐनले स्वास्थ्य बिमा कोष खडा गरी प्रिमियम रकम कोषमा नै जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार बोर्डले गत आवमा स्वास्थ्य बिमा कोष खडा गरी कोलेनिकामा जम्मा भएको रकम कोषमा जम्मा गर्न थालेको हो ।

बोर्डको तथ्यांकअनुसार हालसम्म आठ आर्थिक वर्षमा १० अर्ब ९१ करोड प्रिमियम रकम संकलन भएको छ । त्यस्तै, सरकारले हालसम्म २९ अर्ब नौ करोड बजेट विनियोजन गरेको छ । कुल खर्च २६ अर्ब २२ करोड रुपैयाँ छ । जसमध्ये २१ अर्ब ६ करोड सेवा प्रदायक अस्पताललाई भुक्तानी भएको छ । गत आव ०७८/७९ मा बोर्डले अस्पतालहरूलाई सरकारले विनियोजन गरेको बजेटभन्दा बढी अर्थात् १० अर्ब पाँच करोड भुक्तानी गरेको थियो । सरकारले आठ अर्ब ५० करोड विनियोजन गरेको थियो । 

बोर्डका कार्यकारी निर्देशक डा. बसौलाका अनुसार अपुग भएको रकम बोर्डको बिमा कोषमा रहेको रकमबाट भुक्तानी गरिएको हो । ‘अघिल्ला आवहरूको भुक्तानी हुन बाँकी रकम धेरै थियो । म नियुक्त भएपछि बाँकी रकम छिटो–छिटो भुक्तानी गरेँ । त्यसैले, सरकारले विनियोजन गरेको रकम अपुग भयो,’ उनले भने, ‘अपुग भएको रकम तीन अर्ब ५० करोड अर्थ मन्त्रालयसँग माग गरेका थियौँ । तर, मन्त्रालयले गत वैशाखमा एक अर्ब पठायो । बाँकी रकम कोषबाट लिइएको हो ।’ सुरुवातको समयमा बोर्डले खर्च गर्न नसकेको रकम सरकारको कोषमा नै फिर्ता गरिन्थ्यो । संकलन भएको प्रिमियम रकम कोलेनिकामा जम्मा गर्नुपथ्र्यो । बोर्डले प्रयोग गर्न पाउँदैनथ्यो । तर, गत वर्षदेखि बोर्डले बिमा कोष ऐन जारी गरेर कोष खडा गरेपछि प्रिमियमबापत संकलन भएको रकम कोषमा जम्मा गर्ने र खर्च गर्ने अधिकार बोर्डले नै पाएको छ । बोर्डले हाल ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ । 

नि:शुल्क स्वास्थ्य बिमामा लक्षित आठ प्रकारका व्यक्ति 
स्वास्थ्य बिमा बोर्डले आठ प्रकारका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत लक्षित वर्गमा राखेको छ । जसमध्ये ज्येष्ठ नागरिक (७० वर्षमाथिका), गरिबीको प्रमाणपत्र लिएका, कडा खालको कुष्ठ रोग, टिबी, एचआइभी भएका र शारीरिक रूपमा अशक्त व्यक्तिलाई नि:शुल्क बिमा गर्दै आएको छ । त्यस्तै, स्वास्थ्य स्वयंसेविकालाई ५०% रकममा बिमा गर्दै आएको छ । 

Monday, August 8, 2022

खुला विश्वविद्यालयको एक वर्षे बिएडमा नि:शुल्क शैक्षिक कार्यक्रम

 https://kantipurtv.com/news/2022-08-02/20220802220501.html

खुला विश्वविद्यालयको एक वर्षे बिएडमा नि:शुल्क शैक्षिक कार्यक्रम

श्रावण १७, २०७९

सामुदायिक विद्यालयका प्राविधिक शिक्षकका लागि खुला विश्वविद्यालयले एक वर्षे बिएडको नि:शुल्क शैक्षिक कार्यक्रम सुरु गर्ने भएको छ । शिक्षा मन्त्रालयको सहयोगमा शिक्षकहरुको वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

शिक्षा मन्त्रालयअन्तर्गत देशभरका ४ सय ८४ सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको पठाइ हुन्छ । सिभिल, इलेक्ट्रिकल, कम्युटर, बालीविज्ञान, पशुविज्ञान, इन्जिनियरिङलगायतका विषय पढाउन इन्जिनियरिङ्मा उच्चशिक्षा हासिल गरेका ९ हजार ३ सय ५६ शिक्षक कार्यरत छन् । त्यसैगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीअन्तर्गत ५ सय ७२ वटा सामुदायिक विद्यालयमा ३ हजार ४ सय शिक्षक छन । एकवर्षे बिएड वा १० महिने तालिमको अभावमा प्राविधिक धारका शिक्षकसँग शिक्षण सिकाइसम्बन्धी ज्ञान कमी हुन्छ । शिक्षकको स्थायी लाइसेन्सको अभावमा वृत्ति विकास र स्थायित्वमा समस्याकै कारण उनीहरुको सहयोगका लागि शिक्षा मन्त्रालयसँग सहकार्यमा नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएड प्रोफेसनल कोष निशुल्क सञ्चालन गर्न लागेको हो । त्यसका लागि भर्नासमेत आव्हान भइसकेको छ ।

एक वर्षे विएड अध्ययन गर्न चाहनेलाई शिक्षक विद्यार्थीलाई मन्त्रालयले प्राविधिक सहयोगस्वरुप १० हजार रुपैयाँसमेत दिने छ । यसबाट प्राविधिक धारका शिक्षकमा शिक्षण सिकाई प्रभावकारी मात्र नभई वृत्तिविकासदेखि स्थायित्वमा समेत सहयोग पुग्ने छ । सरकारले १० वर्षदेखि प्राविधिक विषयको पठनपाठन शुरु गरे पनि शिक्षकको स्थायित्व नहुने भएपछि धेरैले वीचमै छाडेर जाने समस्या छ । त्यही कारण अहिले शिक्षक अभाव छ ।

जलविद्युत् जति भारतलाई

 https://nepalihimal.com/article/18754

साउन २०७९ | 17/07/2022

जलविद्युत् जति भारतलाई

Share:
    
- रमेश कुमार
नेपालका नदीमा एकपछि अर्को जलविद्युत् आयोजना बनाउने अनुमति र द्विपक्षीय विद्युत् व्यापारमा हात माथि पारिरहेको भारत ऊर्जामा आफूप्रतिको निर्भरता बढाउने गरी कसरी हावी हुँदै छ?

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा २०७९ जेठ २ गते अरुण–४ निर्माण गर्न समझदारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलज पा

जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा प्रतिस्पर्धा विना नै भारतीय सरकारी कम्पनी न्याशनल हाइड्रोइलेक्ट्रिसिटी पावर कर्पोरेशन (एनएचपीसी) लाई दिने निर्णय गर्‍यो। गत चैतमा भारत भ्रमणका वेला प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको वचन पछ्याउँदै एनएचपीसीले यो आयोजनाको निर्माण अघि बढाउन लगानी बोर्डमा गत जेठमा प्रस्ताव गरेको थियो।

देउवाले स्थानीय तहको चुनाव प्रचारका क्रममा वैशाख २७ मा गृहजिल्ला डडेल्धुरा पुगेर ‘चिनियाँ लगानीका आयोजनाको विद्युत् भारतले नकिन्ने भएकाले पश्चिम सेती भारतीय कम्पनीलाई दिइन लागेको’ खुलाएका थिए। देउवाले भूराजनीतिक विषय उप्काएको यो त्यही आयोजना हो, जसबाट चिनियाँ कम्पनी थ्री गर्जेजले २०७५ सालमा हात झिकेको थियो।

पारदर्शिता सुनिश्चित हुने आधार नभईकनै र प्रतिस्पर्धा विना नै सरकारले भारतीय कम्पनीलाई पश्चिम सेती सुम्पिएको हो। जबकि, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले प्रतिस्पर्धाका आधारमा आयोजना अघि बढाउने मर्म बोकेको छ। ऐनको दफा ८ ले ‘प्रतिस्पर्धात्मक रूपमा कार्यान्वयन गर्ने गरी छनोट गरिएका परियोजनाहरूको पारदर्शिता, स्वच्छता र प्रतिस्पर्धाको सुनिश्चितता हुने गरी प्रस्तावकसँग वार्ता गरी सम्झौता गर्ने वा गराउनुपर्ने’ भनी लगानी बोर्डको काम, कर्तव्य र अधिकार तोकेको छ। तर, बोर्डले ‘वार्ताद्वारा कार्यान्वयन गर्न सकिने’ भन्ने कानूनी छिद्र समाएर यो आयोजना एनएचपीसीलाई दिन मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो।

पश्चिम सेतीसँगै सरकारले ४५० मेगावाट क्षमताको सेती नदी-६ जलविद्युत् आयोजना पनि एनएचपीसीलाई नै दिने प्रक्रिया अगाडि बढाएको छ। एनएचपीसीले लगानी बोर्डमा यो आयोजनाको समेत विकास गर्न आफू इच्छुक रहेको प्रस्ताव गरिसकेको छ। जस अनुसार, यी दुवै आयोजना सँगसँगै विकास गर्न उक्त कम्पनीलाई दिने/नदिने विषय वार्ताबाट टुङ्गो लगाउने लगानी बोर्डका प्रवक्ता अमृत लम्साल बताउँछन्। यी आयोजनाबाट तीन प्रतिशत मात्रै निःशुल्क बिजुली दिने प्रस्ताव भारतीय अधिकारीहरूले गरेको जानकार स्रोत बताउँछ।

देउवा नेतृत्वको सरकारले एकपछि अर्को
ठूला आयोजना भारतीय सरकारी
स्वामित्वका कम्पनीको हातमा
सुम्पिइरहेको छ, त्यो पनि विना प्रतिस्पर्धा।
देउवा नेतृत्वको सरकारले एकपछि अर्को ठूला आयोजना भारतीय सरकारी स्वामित्वका कम्पनीको हातमा सुम्पिइरहेको छ, त्यो पनि विना प्रतिस्पर्धा। यी दुई आयोजनाभन्दा अघि जेठमै सरकारले अरुण-४ जलविद्युत् आयोजना पनि भारतको सरकारी स्वामित्वकै सतलज जलविद्युत् निगमको पोल्टामा हालिदिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल (लुम्बिनी) भ्रमणका वेला जेठ २ गते अरुण-४ निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

४९० मेगावाट क्षमताको यो आयोजनाको अनुमतिपत्र प्राधिकरणसँगै थियो। तर, पारदर्शिता र प्रतिस्पर्धाको सुनिश्चितता विना नै यो आयोजना निर्माणमा पनि ५१ प्रतिशत शेयर सतलजले लगानी गर्ने गरी सम्झौता गरियो। योे सम्झौता यति गुपचुप गरियो कि, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेपछि मात्रै नागरिकले यसबारे जानकारी पाए।

विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २४ ले प्राधिकरणले सरकारको पूर्व स्वीकृत नलिई रु.एक लाखमाथिको कुनै चल-अचल सम्पत्ति बेचबिखन, हस्तान्तरण वा नामसारी गर्न नपाउने व्यवस्था गरेको छ। तर, कानून मिचेर मन्त्रिपरिषद्को निर्णय विना नै प्राधिकरणले विदेशी कम्पनीलाई आयोजना निर्माण गर्न भित्र्यायो। राज्यको यति ठूलो सार्वजनिक सम्पत्तिको कारोबारमा कुन प्रक्रिया अपनाइएको थियो भनेर समेत जानकारी दिइएन। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम आफूले समझदारी गरेको हिमाललाई बताएका छन्।

सरकारले आठ वर्षदेखि ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् ओगटेर बसेको तर वित्तीय व्यवस्थापन गर्न नसकेको भारतीय कम्पनी जीएमआर समूह (ग्रान्धी मल्लिकार्जुना राव) लाई थप दुई वर्ष म्याद थप्ने प्रस्ताव अगाडि बढाएको छ। सन् २०१४ सेप्टेम्बरमा लगानी बोर्ड र जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने शर्त सहित परियोजना विकास सम्झौता (पीडीए) गरिए पनि कम्पनीले आठ वर्ष भइसक्दा लगानीको स्रोत टुङ्गो लगाउन सकेको छैन।

बरु, सन् २०१६ मा पुष्पकमल दाहाल नेतृत्वको सरकार र सन् २०१७ मा देउवा नेतृत्वको सरकारले यसको म्याद थप्दै आएका थिए। सन् २०१८ यता अन्योलमा परेको परियोजनालाई अहिले फेरि देउवा नेतृत्वको सरकारले म्याद थप्न लागेको छ।

यति मात्र होइन, देउवा सरकार थप जलविद्युत् आयोजना पनि भारतीय कम्पनीको पोल्टामा हाल्न लालायित देखिन्छ। भारतीय कम्पनी एनएचपीसीले ४८० मेगावाटको फुकोट कर्णाली आयोजनाको निर्माणका लागि पनि प्रस्ताव गरिसकेको छ। अहिले यसको अनुमतिपत्र सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीसँग छ। तर, यो आयोजना पनि भारतीय कम्पनीको हातमा सुम्पिने प्रपञ्च भइरहेको कम्पनी स्रोत बताउँछ।

“एनएचपीसीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ, सम्भवतः ५१ प्रतिशत शेयर उक्त कम्पनीलाई दिने गरी टुङ्गो लाग्नेछ,” स्रोत भन्छ। त्यसै गरी, एक हजार ९०२ मेगावाटको मुगु कर्णाली आयोजना निर्माणका लागि पनि एनएचपीसीले प्रस्ताव गरेको छ।

भारतका पछिल्ला आयोजना प्रस्तावहरूले पुष्टि गर्छन्- ऊ लामो समयदेखि मध्य पहाडका चेप भएर बग्ने नेपालका नदीहरूमा विद्युत् आयोजना निर्माण गर्न रणनीतिक रूपमा प्रवेश गरिरहेको छ। त्यसको अर्को उदाहरण अरुण नदी बेसिन हो। अरुण नदीमा २०७४ सालमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो बनाउन अनुमति पाएको भारतीय सरकारी कम्पनी सतलज पावरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ६७९ मेगावाट क्षमताको तल्लो अरुण पनि हात पारेको थियो।

गत महीना अरुण-४ पनि सतलजले पाएपछि अरुण नदीमा मात्रै भारतीय कम्पनीका हातमा दुई हजार मेगावाट क्षमताभन्दा बढीका आयोजना पुगेका छन्। देशको पश्चिमी क्षेत्रमा पश्चिम सेती, सेती-४, माथिल्लो कर्णाली सहित दुई हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पनि भारतीय कम्पनीका हातमा पुगेका छन्।

पूर्व मन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवाली सरकारले भारतीय कम्पनीलाई एकपछि अर्को आयोजना सुम्पिनुलाई ‘मुग्लानी साहुलाई चढाइएको नजराना’ को संज्ञा दिन्छन्। उनी यस्तो प्रपञ्च ऐन विपरीत मात्रै होइन, सोझै संविधान विपरीत रहेको दाबी गर्छन्। नेपालको संविधान, २०७२ मा प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड सम्बन्धी सन्धि वा सम्झौतालाई संसद्को दुई तिहाइ बैठकले अनुमोदन गर्नुपर्ने उल्लेख छ। यस्ता सन्धि, सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति सङ्घीय कानून बमोजिम हुने व्यवस्था गरिएको छ।

“संविधान र कानून मिचेर एकपछि अर्का
आयोजना भारतलाई दिइरहनुले यो
भूराजनीतिक खेल भएको बुझिन्छ।”
कतिपय जानकारहरू भने बगिजाने खोलामा भारतीय कम्पनीले लगानी गरेर विद्युत् उत्पादन गर्दा नेपाललाई लाभ नै हुने तर्क गर्छन्। त्यसैमध्येका एक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अरुण-४ मा नेपालले पाएको सुविधा कसैले नदिने दाबी गर्छन्। यो आयोजनामा नेपालले मासिक २१.९ प्रतिशत निःशुल्क विद्युत् र ४९ प्रतिशत लगानीको अवसर पाउनेछ।

टाढिंदै उत्तर, नजिकिंदै दक्षिण

एक वर्षअघि केपी ओली नेतृत्वको सरकार ढलेर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि यसको विदेश नीतिको प्राथमिकता फेरिएको छनक नेपालको जलविद्युत् आयोजनाहरूबारे सरकारले गरेका एकपछि अर्को निर्णयले देखाउँछ। अहिले आयोजनाहरूमा भारतीय कम्पनीको प्रवेश भइरहेको छ भने चिनियाँ कम्पनी किनारामा धकेलिएको देखिन्छ। जलस्रोतविद् ज्ञवाली भन्छन्, “संविधान र कानून मिचेर एकपछि अर्का आयोजना भारतलाई दिइरहनुले यो भूराजनीतिक खेल भएको बुझिन्छ।”

गत चैतमा देउवा नेतृत्वको सरकारले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी कचौपा समूह (सीजीजीसी) बाट खोसेर आफैंले बनाउने निर्णय गरेको थियो। २०७५ सालमा ओली नेतृत्वको सरकारले यो आयोजना निर्माणको जिम्मा कचौपालाई दिएको थियो।

पछिल्ला वर्षहरूमा बूढीगण्डकी आयोजना निरन्तर राजनीतिक स्वार्थको शिकार बन्दै आएको छ। २०७४ जेठमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो परियोजना विना प्रतिस्पर्धा कचौपालाई दिने निर्णय गरेको थियो। तर, त्यसपछि बनेको देउवा नेतृत्वको चुनावी सरकारले २०७४ कात्तिकमा उक्त निर्णय उल्ट्याएर सरकार आफैंले आयोजना बनाउने निधो गर्‍यो। आम निर्वाचन जितेर प्रधानमन्त्री बनेका ओलीले फेरि २०७५ असोजमा सोही चिनियाँ कम्पनीलाई उक्त आयोजना निर्माण सुम्पिएका थिए।

बूढीगण्डकीका विषयमा एकपछि अर्को सरकारले अस्थिर निर्णय लिनुमा यसको जरो भने भूराजनीतिक स्वार्थसँग जोडिन्छ। पहिलो पटक २०७४ जेठमा यो आयोजना निर्माणका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीजीजीसीलाई जिम्मा दिंदादेखि नै यसमा भूराजनीति छिरेको अनुमान भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङ उपस्थित थिइन्।

जसै, दाहालका उत्तराधिकारीका रूपमा सिंहदरबार पुगेका देउवा नेतृत्वको सरकारले सीजीजीसीलाई आयोजना निर्माणबाट बेदखल गर्ने निर्णय गर्‍यो, चिनियाँ राजदूत यु होङले सरकारी निर्णयप्रति कूटनीतिक मर्यादा नै मिचेर आक्रोश पोखिन्। त्यति मात्रै होइन, चीनको विदेश मन्त्रालयको दक्षिणएशिया मामिलाका उपप्रमुखले बेइजिङस्थित तत्कालीन नेपाली राजदूत लीलामणि पौड्याल समक्ष पनि गम्भीर असन्तुष्टि पोखेको स्रोत बताउँछ।

अरुण–३ जलविद्युत् आयोजना निर्माणस्थल।
तस्वीर स्रोत: सतलज पावर

गत चैतमा देउवा सरकारले फेरि चिनियाँ कम्पनीलाई आयोजनाबाट बेदखल गरेपछि चीन यसप्रति असन्तुष्ट भएको बुझ्न कठिन छैन। गत वैशाखमा चिनियाँ राजदूत हउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बूढीगण्डकीप्रति लक्षित गर्दै ‘सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुनु गलत भएको’ भन्दै यसले लगानीकर्ता मारमा परेको बताएकी थिइन्।

परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई पनि एउटा सरकार आउँदा कुनै छिमेकीतिर र अर्को आउँदा अर्कैतिर ढल्कने नीति घातक रहेको बताउँछन्। उनी भन्छन्, “छिमेकी मुलुक जोडिने जलविद्युत् आयोजनाहरूबारे सरकार फेरिएपिच्छे गर्ने तजबिजी निर्णय कूटनीतिका दृष्टिले राम्रो होइन।”

सरकार सम्बद्ध एक स्रोतले हिमाललाई बताए अनुसार, गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणकै क्रममा भारतीय अधिकारीहरूले पश्चिम सेती र अरुण-४ आयोजना निर्माणको जिम्मा दिन प्रधानमन्त्रीलाई दबाब दिएका थिए। “प्रधानमन्त्रीले यी आयोजना भारतीय कम्पनीलाई नै दिने भनेर त्यतिवेलै प्रतिबद्धता जनाउनुभएको थियो,” स्रोत भन्छ।

खासमा नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई भारतीय बजारमा प्रवेश दिने विषय यी दुई आयोजनासँग जोडिएर आएका थिए। नेपालको विद्युत् भारतीय बजारमा बिक्रीको बाटो खोल्ने हो भने पश्चिम सेती र अरुण-४ को अनुमतिपत्र भारतीय कम्पनीलाई दिनुपर्ने शर्त भारतीय पक्षबाट राखिएको स्रोतको दाबी छ। त्यसपछिका घटनाक्रमले त्यस्तो दाबीलाई पुष्टि गर्छन्।

“छिमेकी मुलुक जोडिने जलविद्युत्
आयोजनाहरूबारे सरकार फेरिएपिच्छे गर्ने
तजबिजी निर्णय कूटनीतिका दृष्टिले राम्रो
होइन।”
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा लामो समयदेखि भारतले रोकिराखेको नेपालको विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतले अनुमति दिएको थियो। त्यसपछिका महीनाहरूमा एकपछि अर्को आयोजना नेपालले भारतीय कम्पनीको हातमा सुम्पिँदै गएको छ। “त्यो बकाइदा लेनदेनको समझदारी थियो,” स्रोत भन्छ।

दक्षिणी ऊर्जा निर्भरता

गत चैत तेस्रो साता प्रधानमन्त्री देउवाको भारत भ्रमणमा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रमा समझदारी भयो। त्यस लगत्तै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् भारतीय एक्सचेन्ज बजारमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पनि दियो। नेपालको विद्युत् प्रणालीका लागि यो महत्त्वपूर्ण उपलब्धि त थियो, तर भारतले लेनदेनमा चलाखीपूर्वक यस्तो निर्णय लिएको बुझ्न कठिन थिएन।

पहिलो, नेपालमा भारतीय कम्पनीलाई ठूला जलविद्युत् आयोजनाको अनुमति दिने शर्तमा मात्रै यस्तो समझदारी भएको थियो। दोस्रो, भारतले नेपाललाई दिएको विद्युत् निर्यातको सुविधा सधैंका लागि होइन, हरेक वर्ष नवीकरण गर्नुपर्छ। अर्थात्, भारतले अनिच्छा देखाएको दिन यस्तो सम्झौता नवीकरण हुनेछैन। तेस्रो, ती आयोजनाका विद्युत्ले मात्रै भारतीय बजारमा बिक्रीको अनुमति पाएका छन्, जसमा चीन प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छैन।

नेपालले पछिल्ला वर्षहरूमा नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा निर्यातका लागि इच्छा जनाउँदै आए पनि भारतले विभिन्न अवरोध जारी राखेर रोक्दै आएको छ। भारतले किन्न नमानेपछि गत वर्षायाममा नेपालको करीब ५०० मेगावाट विद्युत् खेर गएको थियो। भारतले शर्त सहित यो वर्ष ३६४ मेगावाट विद्युत् किन्न सहमति त जनाएको छ, तर त्यस्तो विद्युत् उत्पादन गर्ने आयोजनामा चीन कतै पनि जोडिनु हुँदैन।

२०७७ फागुनमा अन्तर्देशीय विद्युत् व्यापार कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल- सीबीआर) जारी गर्दै भारतले सीमा जोडिएका देशसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकबाट विद्युत् आयात र निर्यात गर्न सकिने व्यवस्था गरेको थियो। अर्थात्, यस्तो द्विपक्षीय सम्झौता नभएका देशका व्यक्ति र कम्पनीको लगानी भएका आयोजनाको विद्युत् भारतले नकिन्ने कार्यविधि बनाएको थियो। नेपालमा ऊर्जा व्यापार सम्झौता नभएका पाकिस्तान र चीनको लगानीका आयोजनाबाट भारतले विद्युत् नकिन्ने प्रष्ट पारेको थियो।

नेपालमा पाकिस्तानी लगानीका आयोजना नभए पनि चिनियाँ लगानीका आयोजना बनिरहेका छन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता गरेका करीब एक हजार मेगावाट क्षमताभन्दा बढीका चिनियाँ लगानीका आयोजना निर्माणाधीन र निर्माण शुरू हुने क्रममा छन्। तर, ती आयोजनाको विद्युत् भारतले नकिन्ने पक्कापक्की जस्तै छ।

चिनियाँ लगानी मात्रै होइन्, चिनियाँ ठेकेदार भएका आयोजनाको विद्युत् समेत भारतले आफ्नो बजारमा प्रवेश निषेध गरेको छ। उदाहरणका लागि, नेपालको आफ्नै लगानीमा निर्माण भएको र निर्माणका तीन ठूला ठेक्कामा भारतीय कम्पनीहरू नै संलग्न रहेको माथिल्लो तामाकोशी (४५६ मेगावाट) आयोजनाको विद्युत् समेत भारतले आफ्नो बजारमा भित्रन रोकिरहेको छ।

यो आयोजनाको सिभिलतर्फको निर्माणमा चिनियाँ कम्पनी सिनो हाइड्रो संलग्न रहेको कारण देखाउँदै भारतले अत्तो थापेको हो। सरकारले एकपछि अर्को भारतीय कम्पनीलाई नेपालमा आयोजना निर्माणको अनुमति दिंदा माथिल्लो तामाकोशीको विद्युत् भारतीय बजारमा प्रवेश अनुमति दिनुपर्ने शर्त तेर्स्याउन सक्नुपर्ने भए पनि त्यस्तो अवसर गुमिसकेको छ।

अहिले भारतले उसको बजारमा बिक्रीका लागि अनुमति दिएका आयोजनामा पनि चिनियाँ कम्पनी संलग्न नभएको सुनिश्चितता खोजेर मात्रै अनुमति दिएको छ। यसले भारतले भविष्यसम्मै नेपालमा चिनियाँ लगानीका आयोजना कार्यान्वयन हुन रोक्न खोजेको सङ्केत गर्छ। गत वर्ष भारतीय सहयोगमा बनेका नेपालका दुई आयोजना त्रिशूली र देवीघाटको विद्युत् पहिलो चरणमा भारतको बजारमा प्रवेश अनुमति दिएर आफ्नो संलग्नता बाहेकका आयोजनाको विद्युत् खरीद नगर्ने सङ्केत गरेको थियो।

भारतले अहिले नेपालका निजी जलविद्युत् आयोजनाहरूसँग समेत लगानी तथा ठेक्कापट्टामा चिनियाँ कम्पनी संलग्न भए/नभएको तथ्याङ्क मागेर चिनियाँ संलग्नताको आयोजनाको विद्युत् भारतीय बजारमा छिर्न नदिने योजनामा काम गरिरहेको छ। अहिले थुप्रै आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार संलग्न छन्।

भारतको यो नीतिले निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् भारतीय बजारमा बिक्री हुन रोकिने मात्र होइन, बजारको सुनिश्चितताको अभावमा नेपालको जलविद्युत् आयोजनामा भविष्यमा पनि चिनियाँ लगानी निरुत्साहित हुनेछ। यसअघि, बजारको सुनिश्चितता नहुने देखेरै पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको थियो। अस्ट्रेलियन कम्पनी स्नोई माउन्टेन इन्जिनीयरिङ कम्पनी (स्मेक) ले डेढ दशक अड्काएर पनि यो आयोजना अघि बढाउन नसक्नुमा भारतीय अरुचि समेत कारण मानिन्छ।

भारतीय बजार ताके पनि भारतले यो परियोजनाको विद्युत् किन्न चासो नदेखाएपछि स्मेकले परियोजनाबाट हात झिकेको थियो। यसअघि, नर्वेली कम्पनी एसएन पावरले पनि भारतीय बजारमा प्रवेश असम्भव देखेपछि तामाकोशी तेस्रो (६५० मेगावाट) बाट हात झिकेको थियो। यसले नेपालका जलविद्युत् आयोजना विकास गर्न भारतीय कम्पनी मात्रै सक्षम रहेको सन्देश बाँकी देशका लगानीकर्तालाई दिइरहेको एक जलविद्युत् लगानीकर्ता बताउँछन्।

अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले नेपालको विद्युत् उत्पादनको चरित्र आफैंमा उतारचढावयुक्त छ। जेठपछि ६ महीनासम्म नेपालमा मागभन्दा धेरै विद्युत् उत्पादन हुन्छ भने हिउँदका महीनाहरूमा मागका तुलनामा थोरै उत्पादन हुन्छ। त्यसैले वर्षायाममा देशभित्र खपत भएर बचेको विद्युत् निर्यात गर्नुपर्ने हुन्छ भने हिउँदमा माग थेग्न आयात गर्नुपर्छ।

जस्तै- नेपाल विद्युत् प्राधिकरणले अहिले वर्षायाममा देशभित्र खपत भएर बचेको करीब ३५० मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ। जबकि, हिउँदका महीनाहरूमा भारतबाटै आयात गर्नुपर्छ। यही असन्तुलनका कारण भारतले नेपालको विद्युत् प्रणालीमा आफ्नो हात माथि पारेर लाभ उठाइरहेको छ।

प्राधिकरणका अनुसार, अहिले देशमा जलविद्युत् आयोजनाहरूको जडित क्षमता दुई हजार १०० मेगावाट नाघिसकेको छ। अहिले करीब दुई हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्, जसको निर्माण अबका दुई वर्षभित्र सकिने अनुमान छ। त्यस्तै, थप तीन हजार मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापनको चरणमा भएकाले केही वर्षभित्रै यी आयोजना निर्माण सकिएर राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछन्।

यी आयोजनाको विद्युत् किन्न प्राधिकरणले शुरूमै सम्झौता गरिसकेको छ। तर, महत्र्वपूर्ण के भने, देशभित्रै उत्पादन हुने यो परिमाणको विद्युत् खपत हुनेमा शङ्का कायम छ। अहिले औसत विद्युत् माग एक हजार ५५० मेगावाट मात्रै रहेको विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन्।

यसको अर्थ, नेपालले खपत गरेर बचेको विद्युत् भारतीय बजारमा बिक्री गर्नुपर्छ। तर, भारतले शर्त तेर्स्याएर चिनियाँ संलग्न परियोजनाको विद्युत् नलिने वा कोटा तोक्ने अत्तो थापिरहने हो भने देशको विद्युत् खेर जाने जोखिम छ। यसले विद्युत् प्राधिकरण र जलविद्युत् आयोजना दुवैलाई मर्का पार्छ।

जलस्रोतविद् दीपक ज्ञवाली त प्रकारान्तरले भारतले नेपालको जलविद्युत् क्षेत्रलाई भुटानी मोडलमा लैजान खोजेको बताउँछन्। उनी भन्छन्, “भारतले चतुर्‍याइँपूर्वक नेपालको ऊर्जा प्रणालीलाई आफ्नो प्रभावमा राख्न चाहिरहेको छ।” उनी भारतले ऊर्जालाई रणनीतिक स्रोत मानेकाले यहाँको विद्युत्लाई भविष्यमा पनि भारतीय बजार उपलब्ध नहुने तर्क गर्छन्।

नेपालको चीनसँग जोड्ने प्रसारण लाइन नभएको तथा प्रसारण लाइन निर्माण गरिए पनि चिनियाँ बजारमा विद्युत् पठाउन असम्भवप्रायः छ। बाङ्लादेशतर्फ विद्युत् निर्यातको सम्भावना भए पनि यसका लागि पनि भारतीय सहमति नै आवश्यक पर्छ। भारतीय कम्पनी जीमएआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बाङ्लादेश निर्यात गर्नका लागि बजार सुनिश्चितताको प्रक्रिया अघि बढाउन पहल शुरू गर्दा भारत सरकारले अर्घेल्याइँ जारी राखेको छ।

जसले गर्दा नेपालको विद्युत्को एकाधिकारप्राप्त बजार भारत मात्र देखिन्छ। भारतले नेपालसँगको विद्युत् सहकार्यमा नेपाललाई सजिलो पर्ने निर्णय गर्न आनाकानी गर्दै आएको छ। जस्तो कि, नेपालमा वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका वेला सोही परिमाणमा ल्याउने नेपाली अधिकारीहरूको इनर्जी ब्याङ्किङको प्रस्तावमा भारतले लामो समय आलटाल गर्दै आएको छ।

२०७६ असोजमा भारतको ब्याङ्लोरमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदलको सातौं बैठकले इनर्जी ब्याङ्किङको व्यवस्था गर्नेबारे सहमति गरेको थियो। तर, पूर्व सहमति भइसकेको विषयबाट पनि भारत पछाडि हटेको छ।

भारतीय चासोः विद्युत्भन्दा पानी

वातावरणीय दृष्टिले नवीकरण ऊर्जामा जोड दिनुपरेका कारण भारतले पछिल्लो समय नेपालको जलविद्युत् आयोजनाहरूमा चासो देखाए पनि उसको पहिलो प्राथमिकतामा नेपालको ठूलो जलस्रोत भएको ज्ञवाली बताउँछन्। पानीको बाँडफाँड सम्बन्धी गण्डक, कोशी, महाकाली सन्धिमा भारतले चलाखीपूर्वक आफ्नो हात माथि पारेको जानकारहरूले बताउँदै आएका छन्।

पछिल्लो समय सन् २०१८ मा भारतको नीति आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनले झण्डै ६० करोड भारतीयले खानेपानीको समस्या भोगिरहेको देखाएको थियो। आयोगले दिल्ली सहितका २१ शहरमा सन् २०३० सम्ममा जमीनमुनिको पानी रित्तिने भयावह अवस्था आउन सक्ने जोखिम औंल्याएको थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सन् २०१९ को हिन्दू कुश हिमालय मूल्याङ्कन प्रतिवेदनमा अहिले भइरहेको कार्बन उत्सर्जन नघटाए सन् २१०० सम्ममा हिन्दू-कुश हिमालय क्षेत्रका हिमालमा हिउँ पग्लिएर कालापत्थर मात्र बाँकी रहने चेतावनी दिएको थियो। हिमालमा हिउँ रित्तिनुको अर्थ हो, तल्लो तटीय क्षेत्रमा पर्ने नेपाल सहित भारतका शहरहरूमा भविष्यमा पानीको चर्को सङ्कट आउनेछ।

यसै पनि, भारतका मुख्य नदी नेपालबाट बगेर जाने नदीको प्रणालीमा आबद्ध छन्। भारतको ठूलो नदीमध्येको गङ्गा नदीमा बहने पानीको झण्डै दुई तिहाइ स्रोत नेपालका नदी हुन्। भारतको कृषियोग्य भूमिमा सिंचाइका लागि गङ्गा नदीको महत्र्वपूर्ण भूमिका छ। भारतले पछिल्ला वर्षहरूमा दीर्घकालीन पानी सङ्कट हेरेर राष्ट्रिय नदी जडान योजना नै अघि सारेको छ।

यस्तो पृष्ठभूमिमा भारतको चासो सधैं नेपालको पानीमा रहँदै आएको जानकारहरू बताउँछन्। पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मी भन्छन्, “भारतको चासो नेपालको जलविद्युत्मा भन्दा पानीमा रहेकोमा शङ्का छैन। बिजुली उत्पादनका अनेकौं विकल्प छन्, पानीको छैन।”

नेपालको पानीमा विगत लामो समयदेखि चासो राख्दै आएको भारतकै कारण कैयौं परियोजना अघि नबढेका वा भारतीय हात माथि हुनेगरी कार्यान्वयन भएको आलोचना हुने गर्छ। जानकारहरूले भारतले नेपालमा बाँध बाँधेर नियमित प्रवाह हुने पानी लगेर सिँचाइ र खानेपानी सङ्कट टार्न लामो समयदेखि काम गरिरहेको बताउने गरेका छन्।

सिद्दबाबा सडकखण्डको वैकल्पिक मार्गको निर्माण ५ वर्षसम्म पनि सकिएन

 https://kantipurtv.com/news/2022-08-07/20220807093920.html

सिद्दबाबा सडकखण्डको वैकल्पिक मार्गको निर्माण ५ वर्षसम्म पनि सकिएन

श्रावण २२, २०७९

वर्षातको समयमा पहिरो जाँदा राजमार्गहरु पटकपटक अबरुद्ध हुने गरेका छन् । एउटा राजमार्ग अबरुद्ध हुँदा अर्कोतर्फबाट ओहोरदोहोर गर्न सकिने वैकल्पिक सडक बनाउने प्रयास पनि सफल भएको छैन । सिद्धार्थ राजमार्गको रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा खण्डमा जाने पहिरोले यात्रा नै जोखिमपूर्ण बनेपछि विकल्पमा लुम्बिनी प्रदेश सरकारले ५ वर्ष अघि वैकल्पिक मार्ग निर्माण सुरु गर्‍यो । निर्माणमा साढे २७ करोड खर्चसमेत भयो । तर, न त अहिलेसम्म वैकल्पिक सडक निर्माण सकिएको छ न यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता नै हटेको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक लुम्बिनी प्रदेशको तराई र पहाड जोड्ने मुख्य सडक हो । तर, वषर्ा लाग्यो कि सिद्धबाबा क्षेत्रमा पहिरो खस्न थाल्छ । हिउदमै पनि ठूल्ठूला ढुंगा झरेर सडक अवरोध भइरहन्छ । जोखिम बढेपछि लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि वैकल्पिक मार्ग सुरु गर्यो । तर, अहिलेसम्म सडक बन्न सकेको छैन । 

बुटवलको धागो कारखाना, चरङ्गे हुँदै पाल्पाको झुम्सा जोड्ने वैकल्पिक सडकको पहिलो वर्षमै ट्रयाक खोल्ने र दोस्रो वर्षदेखि ग्राभेल गरेर गाडी चलाउने योजना थियो । रुपन्देही क्षेत्रमा १३ र पाल्पामा साढे ८ गरी साढे २१ किलोमिटर लम्बाइको सडकको अहिलेसम्म प्रारम्भिक चरणको कामसमेत सकिएको छैन ।

७ मिटर चौडाइको २ लेनको वैकल्पिक मार्गमा अहिलेसम्म २७ करोड ५२ लाख ७५ हजार र पाल्पा खण्डमा ११ करोड २९ लाख ३ हजार गरी ३८ करोड ७१ लाख ७८ हजार  रुपैयाा खर्च भइसकेको छ । यद्यपी चुरे क्षेत्रको पहाड छिचोल्नुपर्ने र पहिरो खसिरहने भएकाले सिद्धबाबाको विकल्पमा खोलिएको सडक पनि उस्तै जोखिमपूर्ण छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि समेत ७ करोड १६ लाख ५० हजार रुपैया विनियोजन गरेको छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खनिनु र प्राथमिकताअनुसार बजेट बिनियोजन नहुादा ५ वर्षसम्म पनि वैकल्पिक सडक अलपत्र परेको हो । 

चेक बाउन्समा पक्राउ परेकी दीक्षा : आफ्नै सासूलाई जग्गा किनाएर १ करोड ठगी, ४ बच्चाको नक्कली पेट !

 https://www.abhiyandaily.com/newscategory-detail/412853

चेक बाउन्समा पक्राउ परेकी दीक्षा : आफ्नै सासूलाई जग्गा किनाएर १ करोड ठगी, ४ बच्चाको नक्कली पेट !

२०७९ साउन, २३  
समाचारविविध

Image Not Found

author avatar अमर बडुवाल

साउन २३, काठमाडौं । आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेकी दीक्षा पुनले आफ्नै सासूससुरा र श्रीमानबाट करीब १ करोड रूपैयाँ ठगेको पाइएको छ ।

भारतीय सेनामा कार्यरत २८ वर्षीया बलबहादुर पुनसँग ३ वर्षअघि (२०७६ फागुनमा) बिहे गरेकी दिक्षाले चैतमा देशव्यापी लकडाउन हुँदा पनि हतारहतार बिहे दर्ता र नागरिकताको सिफारिश लिएकी थिइन् । 

बलबहादुरका आफन्तसमेत रहेका ताराखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष यमबहादुर श्रीषले बलबहादुरलाई नागरिकता बनाउन हतार नगर्न भनेका थिए । तर, बलबहादुरले भारतमा बिहे दर्ता र नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने भन्दै जसरी पनि काम गरिदिन आग्रह गरेपछि बिहे गरेको एक हप्ता नपुग्दै बिहे दर्ता र नागरिकताको सिफारिश दिएको वडाअध्यक्ष श्रीषले बताए ।

बलबहादुर २०७८ जेठमा भारतीय पल्टनमा गएपछि उनले आफू गर्भवति भएको र पेटमा ४ ओटा बच्चा रहेको बताएकी थिइन् । कहिलेकाहीँ गाउँ जाँदा ठूलो पेट बनाएर पुग्थिन् । ४ ओटा बच्चा भएकोले ठूलो पेट भएको र यी बच्चा जन्माउन ४० लाख रूपैयाँ लाग्ने उनले बताउने गरेकी थिइन् ।

गाउँमा बसेर बच्चा जन्माउन नसकिने भन्दै उनी पोखरामा बस्न थालिन् । पोखरामा बस्दा एउटा राम्रो र सस्तो घडेरी पाइएको भन्दै जग्गा किन्ने प्रस्ताव गरिन् । बलबहादुरका बुवा तलिकबहादुरले अहिले जग्गा नकिनौ भनेका थिए । तर, बुहारीले पछि महँगो हुने भन्दै तत्काल किन्न आग्रह गरेपछि २०७८ असारमा मात्रै जग्गा किन्न राजी भएका थिए । उनका श्रीमानले सरसापट गरेर ६० लाख रूपैयाँ पठाइदिए । उनले त्यो घडेरी सासूआमा गौमाया पुनको नाममा पास गरिन् ।

केही समयसम्म लालपूर्जा नदिएकी दीक्षाले पछि पूर्जा बैंकमा राखेर ऋण लिएको बताइन् । बैंकबाट हरेक महीना सावा ब्याजको किस्ता तिर्न भनेर गौमायालाई फोन आउँथ्यो । उनीहरूले किस्ता तिर्नलाई पैसा दिन्थे । त्यसरी करीब ३० लाख रूपैयाँ किस्ता तिरेको गौमायाले बताइन् ।

१० महीनासम्म बच्चा नजन्मेपछि कहानीमा ट्वीस्ट !

९० लाख रूपैयाँ घरबाट फुत्काउने बेलासम्म ठिकठाक चलेको पुनको धन्दामा १० महीनापछि ट्वीस्ट आयो । ठूलो पेट बोकेको १० महीना पूरा हुँदा पनि बच्चा नजन्मेपछि सासूससुराले शंका गर्न थाले । तर, उनी आफू डाक्टर भएको भन्दै ४ ओटा बच्चा भएकोले जन्मिन समय लाग्ने बताउन थालिन् ।

१५ महीनासम्म पनि दीक्षाकाे बच्चा नजन्मेपछि बलबहादुरका आमावुवाले बुहारीबाट ठगिएकाे भेउ पाए । त्यसपछि दीक्षा १ वर्षभन्दा बढी समयसम्म गायब भइन् ।

आइतवार निगालो घारीमा लुकिरहेको अवस्थामा पक्राउ परेपछि उनीबाट ठगिएका अरू आफन्त पनि सम्पर्कमा आएका छन् । उनले आफ्नै जेठानीलाई विदेश पठाइदिने भन्दै ५ लाख रूपैयाँ ठगेको पाइएको श्रीषले बताए । 

नक्कली पूर्जा छुट्ट्याउनै सकिएन 

श्रीषका अनुसार उनले दिएको पूर्जा गौमायाले उनलाई देखाएकी थिइन् । ‘कित्ता नम्बर, जग्गाको क्षेत्रफलमा आना, पैसा र दामसमेत उल्लेख गरिएको लालपूर्जा मैले पनि हेरेको थिएँ । नक्कली होला भनेर शंकै गर्न सकिएन,' उनले भने । करीब ५ आना जग्गाको पूर्जा उनले दिएकी थिइन् ।

दीक्षाले पूर्जा हातमा दिएर फिल्डमा समेत जग्गा देखाएकी थिइन् । जग्गा हेरेपछि सासूसुरा पनि खुशी भएका थिए ।

नक्कली डाक्टरको परिचयपत्र

दीक्षाले आफू सर्जन डाक्टर भएको नक्कली परिचयपत्र पनि बनाएकी थिइन् । उनी आफू फिस्टेल र गण्डकी अस्पतालमा काम गर्छु पनि भन्ने गरेकी थिइन् । तर, गाउँबाट बिरामीहरू जाँदा उनी कहिल्यै सम्पर्कमा नआएको श्रीष बताउँछन् ।

उनले पोखरामा माइती हो भनेर आमाबुवाको सबै डकुमेन्ट दिएर बिहे दर्ता गराएकी थिइन् । आमाबुवाको नागरिकता भने सक्कली नै भएको उनको भनाइ छ ।

फेसबुकबाटै टार्गेट

भारतीय सेनामा भर्ती भएको ३ वर्षपछि सामाजिक सञ्जाल फेसबुकबाट बलबहादुरले दीक्षालाई भेटेका थिए ।  बेलायतको नागरिक भइसकेको भन्दै दीक्षाले बलबहादुरलाई मायाको जालमा फसाइन् । उनी बिहे गर्न नेपाल आए । बिहे गरेर ३ महिनामै फिर्ता भए । तर, यता परिवारले करीब १ करोड रूपैयाँ गुमाउनुपर्‍यो ।

Wednesday, August 3, 2022

पुरानो स्कुटरलाई बिजुलीबाट चल्ने बनाउने कि !

 https://ujyaaloonline.com/story/73664/2022/8/3/petrol-scooter-to-convert-electric

पुरानो स्कुटरलाई बिजुलीबाट चल्ने बनाउने कि !

  साउन १८, २०७९ बुधबार १८:५६:० | वैद्यनाथ पाैडेल
unn.prixa.net

पेट्रोलको भाउ महँगो भएपछि बालाजुका रामप्रसाद शर्माले आफूले चढ्दै आएको स्कुटरलाई बिजुली स्कुटरमा रूपान्तरण गर्नुभएको छ । बिजुली स्कुटर बनाइसकेपछि शर्मा दैनिक ५०/६० किलोमिटर गुड्नुहुन्छ । ‘एक पटकको फुल चार्जमा ८० किलोमिटर दिने भए पनि ब्याट्री जिरो बनाउन नहुने भएकोले ५०/६० किलोमिटर गुड्छ’, उहाँले भन्नुभयो । सुन्दर यातायात प्रालिले पेट्रोलबाट चल्ने स्कुटरलाई बिजुलीमा रूपान्तरण गर्न थालेपछि अरू स्कुटर धनी पनि यसतर्फ आकर्षित भएका छन् । 

पेट्रोलियम पदार्थको खपत कम गर्न पनि सरकारले विद्युतीय गाडीको प्रयोगमा जोड दिएको छ । यसका लागि सरकारले कर छुटदेखि अन्य सुविधासमेत दिएको छ । तर नयाँ विद्युतीय साधन आयात गर्दा धेरै महँगो पर्ने कारणले सरकारले भएका पुराना चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे साधनलाई २०७८ चैत १४ गते विद्युतीय साधनमा रूपान्तरण गर्न सकिने नियम ल्याय  जुन राजपत्रमा प्रकाशित पनि भइसकेको छ । 

सरकारले यो नियम ल्याएपछि सुन्दर यातायात प्रालिले इन्धनबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा रूपान्तरणको काम थालेको हो । रूपान्तरणका लागि यातायात व्यवस्था कार्यालयबाट स्वीकृति लिनुपर्छ । 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा भन्नुहुन्छ, ‘नेपाल सरकारको निर्णयको एक/एक कपी दिएर यातायात कार्यालयमा गएर निवेदन दिएर आउनुस् अनि हामी परिवर्तन गर्छाैँ भनेका छाैँ ।’ सरकारको मापदण्डमा रहेर आएको स्कुटरलाई तीन घण्टामा विद्युतीयमा रूपान्तरण गरिने उहाँले बताउनुभयो ।

सरकारको नियमपछि सुन्दर यातायातले अहिलेसम्म एक सय ७१ वटा स्कुटरलाई बिजुली स्कुटरमा रूपान्तरण गरेको छ । मोटरसाइकलमा भने हिरो हाेन्डा बाहेक अरूको रूपान्तरण नगरिएको सुन्दर यातायातले जनाएको छ । स्कुटरको प्रत्येक मोडललाई रूपान्तरण गर्न सकिए पनि मोटरसाइकलमा भने नसकिएको सुन्दर यातायातको भनाइ छ । अध्यक्ष थापा भन्नुहुन्छ, ‘स्कुटरको एउटै मोडल हुने तथा बाइकमा भने फरक–फरक मोडलमा बेग्लै किसिमको ह्विल तथा संरचना हुने हुनाले अहिले केही मोडलमा मात्र गरिएको छ ।’

अहिले १३ सय स्कुटर धनीले रूपान्तरणका लागि सुन्दर यातायातमा निवेदन दिएका छन् । ब्याट्री, किट तथा अन्य सामग्री सकिएकोले निवेदन आए जति स्कुटरलाई रूपान्तरण गर्न नसकिएको सुन्दर यातायातले जनाएको छ । 

इन्धनबाट चल्ने एउटा स्कुटरलाई बिजुली स्कुटर बनाउन सुन्दर यातायातले एक लाख रुपैयाँ लिने गरेको छ । यसमा ब्याट्रीमा ४० महिना, मोटरमा २४ महिना, डिस्प्लेमा २४ महिना, कन्ट्रोलरमा १८ महिना तथा चार्जरमा ६ महिनाको वारेन्टी दिने गरिएको छ । एक लाख रुपैयाँमा चार्जर तथा स्कुटरमा एउटा अर्को ‘शक’ पनि फिट हुन्छ ।

एक लाख रुपैयाँ महँगो नभएको तर्क गर्दै थापा भन्नुहुन्छ, ‘यदि स्कुटरमा दिनमा ५० किलोमिटर यात्रा गर्ने हो भने तीन सय ६० रुपैयाँ लाग्छ । त्यस हिसाबले यो पैसा ६ महिनामा उठ्छ । तर बिजुली स्कुटरमा भने १५ रुपैयाँ मात्र खर्च हुन्छ । वारेन्टी दिएको ४० महिनाको हिसाब गर्दा ३४ महिना त सित्तै चढ्न पाइन्छ ।’

एक लाख रुपैयाँ महँगो नभएको थापाको अर्को तर्क छ, ‘एक लाख रुपैयाँमा अहिले ईभी मात्र नभएर कुनै स्कुटर आउँदैन । त्यसमाथि पुरानो स्कुटरलाई कन्भर्जन गरेर नयाँ बनाउने हुनाले एक लाख रुपैयाँमा नयाँ स्कटुर चढ्न पाइने भयो ।’

तर नेपाल विद्युतीय परिवहन सङ्घका अध्यक्ष शंकर पोखरेल भने स्कुटरलाई रूपान्तरण गर्न लाग्ने एक लाख रुपैयाँ महँगो भएको बताउनुहुन्छ । उहाँको भनाइ छ, ‘कोही मान्छेले पुरानो स्कुटर किनेर रूपान्तरण गराउँछु भन्दा पनि पुरानो स्कुटरकै ४०/५० हजार रुपैयाँ पर्छ । अब रूपान्तरण गर्न पनि थप एक लाख रुपैयाँ लाग्ने भएपछि एक लाख ५० हजारमा को पुरानो स्कुटर चढ्छ ?’

सङ्घले पनि यसबारेमा थप अध्ययन गरिरहेको पोखरलेको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो त्यति सक्सेस हुन्छ भन्ने हामीले महसुस गरेका छैनौँ । गर्न त सुन्दर बाहेक अरू कम्पनीले पनि खोजिरहेको छ । तर यही मूल्यका कारण कम्पनीहरू अघि बढेका छैनन् ।’ 

मूल्य घट्न नसक्नुमा अहिले सरकाले रूपान्तरणका लागि आयात हुने सामग्रीमा ३७ प्रतिशत भन्सार लगाएको छ । यदि रूपान्तरण गर्ने कम्पनीहरूमा प्रतिस्पर्धा भएमा मूल्य घट्न पनि सक्ने तर्क छ सुन्दर यातायातको । कारण बर्सेनि घट्दै गइरहेको ब्याट्रीको मूल्य । 

सुन्दर यातायातका अध्यक्ष थापा भन्नुहुन्छ, ‘हामीले पहिले बिजुली बस ल्याउँदा पौने तीन करोड रुपैयाँ परेको थियो । अहिले त्यसको मूल्य घटेर सवा दुई करोड भएको छ । त्यसैले स्कुटरको ब्याट्रीको पनि केही समयमा पक्कै मूल्य घट्छ अनि सस्तोमा रूपान्तरण गर्न सकिन्छ ।’

अहिले रूपान्तरण गरेको स्कुटर फुल चार्ज गर्न साढे दुई घण्टा लाग्छ जसमा साढे दुई युनिट बिजुली खर्च हुन्छ । त्यो भनेको झन्डै १५ रुपैयाँ हो । साढे दुई घण्टाको चार्जमा ७० किलोमिटर यात्रा गर्न सकिन्छ । थापा भन्नुहुन्छ, ‘दिन त ८० किलोमिटर दिन्छ । तर हामीले ७० किलोमिटरमा लक गरिदिन्छौँ । लिथियम ब्याट्री जिरो भयो भने उठाउन गाह्रो हुन्छ भनेर यसो गरिएको हो ।’

यसको गति भनेको ६० किलोमिटर प्रतिघन्टा हो । यसमा कन्ट्रोलर, तार, साइड लाइट, मोटरमा केही समस्या आयो भने तीन सेकेन्डमा ब्याट्री आफैँ बन्द हुने सुरक्ष संयन्त्र पनि अपनाइएको छ । यसमा २२ सय ५० हर्स पावरको मोटर हुन्छ । गियर नभए पनि यसमा १,२ र ३ गरी तीन वटा मोड हुन्छ । अलि स्पिड जानुपर्दा तीन मोड, अलि जाम छ भने दुई मोड र धेरै नै जाम छ भने गियर घटाए जस्तो एक नम्बर मोडमा राखेर चलाउन सकिन्छ । 

थापा यसमा राखिएको ब्याट्रीलाई अनावश्यक रूपमा नचलाउन र अरू तारहरू लगेर नजोड्न पनि सवारी धनीलाई आग्रह गर्नुहुन्छ । उहाँको भनाइ छ, ‘लिथियम ब्याट्री भएको हुनाले ब्याट्री जिरो हुँदैन । तर अनावश्यक रूपमा चलाउने गर्दा ड्यामेज भएर पछि काम नलाग्ने पनि हुन सक्छ । चलाएन भने बिग्रेको सेल निकालेर नयाँ थप्न सकिन्छ । यसले गर्दा अर्को ४० महिना कुद्न सक्छ ।’ 

अहिले स्कुटर रूपान्तरणका लागि सुन्दर यातायातसँग ११ जनाको इन्जिनियरिङ टोली छ । जसमा एक जना चिनियाँ, चार जना भारतीय, चिनमा तालिम लिएर आएका तीन जना र आन्तरिक रूपमा उत्पादन गरेका तीन जना रहेका छन् । 

बस र साना गाडी पनि रूपान्तरणका लागि सुन्दर यातायातले रुपन्देहीको सैनामैनामा जडान उद्योग खोल्न लागेको छ । 

अन्तिम अपडेट: साउन १९, २०७९