प्रतिक्रिया लेख्दा
*कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। * जथाभावी उपनाममा लेखिएका प्रतिक्रियाहरुले स्थान नपाउन सक्छन्। नाम सहितका कमेन्टले प्राथमिकता पाउने छन्। फर्जी नाम, उपनाम लेख्नेको कमेन्ट प्रकाशित नहुन सक्छ। *असभ्य भाषा र धाकधम्की सहितका कमेन्टको आईपी प्रकाशित गर्न सकिनेछ। *हिंसालाई बढावा दिने, विद्वेश फैलाउने र निरंकुशताको पक्षपोषण गर्ने प्रतिक्रियालाई सकेसम्म स्थान दिइने छैन। * प्रतिक्रिया प्रकाशन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा सबै निर्णय गर्ने अधिकार म आफैमा रहनेछ।
काठमाडौं । बन्दाबन्दीको अवधिमै कर
उठाउन तयारीलाई सर्वोच्च अदालतले आदेशले रोकेपछि सरकार खर्च धान्नका लागि
खारेज भएका कार्यालयहरूको खाता तान्नेदेखि आन्तरिक ऋण उठाउने सम्मको उपाय
अवलम्बन गर्दै छ । खारेज भइसकेका कार्यालयहरूका खातामा रहेको रकम तथा
धरौटीहरूका बारेमा अध्ययन शुरू भइसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
‘त्यस्ता कार्यालयका खाताहरूमा केकति रकम भन्ने बारेमा खोजविन शुरू भइसकेको
छ,’ मन्त्रालयका एक उच्च अधिकारीले आर्थिक अभियानलाई बताए ।
संघीयतामा गएसँगै सरकारले २०७५ असोजमा एक
दर्जनभन्दा बढी सरकारी कार्यालय खारेज गरेको थियो । त्यतिखेर जिल्ला
प्राविधिक कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समिति,
जिल्ला शिक्षा कार्यालय, जिल्लाका सबै विकास समितिहरू खारेज गरिएको थियो ।
त्यस्ता पुराना कार्यालयहरूको खातामा निष्क्रिय रूपमा करीब २५/३० करोड रुपैयाँ हुनसक्ने अर्थका अधिकारीहरूको अनुमान छ ।
त्यस्तै तत्काल खर्च जोहो गर्न निष्क्रिय
सरकारी कोषहरूमा रहेको रकमसमेत खोज्न थालिएको छ । मन्त्रालयको प्रारम्भिक
अध्ययनबाट हाल निष्क्रिय रहेको नयाँ नेपाल निर्माण कोषसहित ग्रामीण
दूरसञ्चार विकास कोषलगायतबाट ४०/५० अर्ब रुपैयाँ रकम तत्काल चलाउन सकिने
देखिएको अर्थ स्रोत बताउँछ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको
सरकारले २०६९ सालमा नयाँ नेपाल निर्माण कोष स्थापना गरेको थियो ।
महालेखा परीक्षकको ५६औं प्रतिवेदनअनुसार
सरकारका विभिन्न कोषमा १ खर्ब रुपैयाँभन्दा बढी रकम रहेको बताएको थियो । ती
कोषमा भएको रकम सरकारले आफूलाई चाहिएका बेला मन्त्रिपरिषद्को निर्णयका
आधारमा प्रयोग गर्न सक्ने अर्थ मन्त्रालयका अधिकारीहरूले बताउँदै आएका छन् ।
अहिलेको अप्ठ्यारो परिस्थितिमा यी कोषको रकम परिचालन बढाउने नीति लिइएको
अर्थ स्रोतको भनाइ छ ।
आफ्नो आम्दानीबाट सरकारको दैनिक खर्च चलाउन
अप्ठ्यारो पर्दै गएपछि अर्थ मन्त्रालय विभिन्न सरकारी कोषबाट रकम तान्ने
प्रयासमा छ । त्यही क्रममा आगामी आवको आर्थिक विधेयकमा ग्रामीण दूरसञ्चार
प्राधिकरणको वार्षिक आम्दानीको ५० प्रतिशत कोषमा रहने र बाँकी ५० प्रतिशत
सरकारको खातामा जाने व्यवस्था गरिएको छ ।
सोमवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा
र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले बन्दाबन्दी खुलेको १
महीनापछि कर तिर्न सक्ने सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिएपछि
सरकारलाई राजस्व संकलनमा थप कठिनाइ भएको छ ।
अदालतको आदेशपछि असार महीनामा मात्रै १ खर्ब
रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य भेट्न नसकिने अर्थका अधिकारीहरूको
प्रारम्भिक निष्कर्ष छ । ‘तत्काल कर कार्यालयहरूलाई लक्ष्य भेट्न ताकेता
गर्न भन्दा पनि करदातालाई कर तिर्न प्रोत्साहन गर्ने नीति अघि सार्न भनिएको
छ,’ अर्थ स्रोतले बतायो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन
अघि संसद्मा सरकारलाई मासिक खर्च ४० अर्ब रुपैयाँजति लाग्ने बताउँदै
राजस्वको मुहान सुकेपछि खर्च धान्नै कठिन भएको बताएका थिए ।
तर, मन्त्रालयका अनुसार तत्काल खर्च चलाउनै
नसक्ने अवस्थामा सरकार नपुगेको भने होइन । जेठ मसान्तसम्म सञ्चित कोषमा २१
अर्ब रुपैयाँ बचतमा छ । ‘गत महीनासम्ममा ८६० अर्ब रुपैयाँ आम्दानी, ८४०
अर्ब रुपैयाँ खर्च देखिन्छ । नगद मौज्दात छ, केही बजेटरी सहायता प्राप्त
भइरहेको छ । आन्तरिक ऋण १५ अर्बजति उठाइँदै छ । सरकार खर्च चलाउन नसक्ने
अवस्थामा पुग्यो भन्न मिल्दैन,’ अर्थ स्रोतले बतायो ।
बन्दाबन्दीअघि दैनिक २ अर्ब रुपैयाँको
हाराहारीमा संकलन हुने सरकारी राजस्व त्यसयता दैनिक ५० करोड रुपैयाँको
हाराहारीमा झरेको थियो । तर, असार १ देखि सरकारी कार्यालयहरू सञ्चालनमा
आएसँगै दैनिक १ अर्ब रुपैयाँमाथि राजस्व उठ्न थालेको अर्थका अधिकारीहरू
बताउँछन् ।
वाणिज्य बैंकहरूले असार ७ भित्रै कर तिर्ने
सर्वाेच्च अदालतले सरकारलाई बन्दाबन्दी खुलेको ३० दिनपछि कर संकलन आदेश दिए
पनि वाणिज्य बैंकहरूले भने स्वतस्फूर्त रूपमा असारको पहिलो सातामै
चैतसम्मको कर तिर्ने बताएका छन् । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी
अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघको बुधवार बसेको बैठकले यस्तो निर्णय
गरेको हो । संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरूबीच कर बुझाउने
सहमति भएको बताए । उनका अनुसार बैंकहरूले चैत मसान्तसम्म तिर्नुपर्ने सबै
प्रकारका कर सरकारलाई असार ७ भित्र बुझाउनेछन् । ‘हामीले कर चैतभित्र नै
तिर्नुपर्ने थियो । बन्दाबन्दी कारण त्यो सम्भव भएन,’ उनले भने, ‘तर, अहिले
कर उठ्न नसक्दा स्वयम् सरकारलाई नै समस्या परेको देखियो । तसर्थ, यस
अवस्थामा हाम्रो कर तिर्नु दायित्व हो । त्यसैले कर बुझाउने निर्णय गरेका
हौं ।’
No comments:
Post a Comment