Thursday, June 18, 2020

विमानस्थल धावनमार्ग बिग्रिने समस्या उस्तै

https://rajdhanidaily.com/id/15150/

विमानस्थल धावनमार्ग बिग्रिने समस्या उस्तै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि जति खर्च गरिए पनि धावनमार्ग बिग्रिने समस्या जस्ताको तस्तै रहेको छ । भर्खरै ४ अर्ब २७ करोड रुपैयाँ खर्च गरेर मर्मत एवं जीर्णोद्वार गरिएको विमानस्थलस्थित धावनमार्गको केही ठाउँमा सिपेज (पानी जमेको) देखिएको छ । सो रकम नेपाल नागरिक उड्डयन प्राधिकरणले संकलन गर्दै आएको विमानस्थल सेवा शुल्कबाट खर्च गरिएको हो । हाल यहाँ पुरानो कालोपत्रे सबै फालेर पहिलो चरणमा २० सेन्टिमिटर र दोस्रो चरणमा साढे ६ सेन्टिमिटर कालोपत्रे गरिएको छ ।
धावनमार्ग मर्मत एवं जीर्णाेद्वारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनीसंग संलग्न हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले आफ्नो तालुकदार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत चैतमा परेको हिउँदे वर्षामा समेत धावनमार्गका ८-१० वटा भिन्दाभिन्दै ठाउँमा कतै पानी जमेको, कतै पानी बगेको र सिपेज देखिएको जानकारी गराएको थियो । धावनमार्गको दक्षिणी भाग कोटेश्वरतर्फ बिटुमिन प्रयोग गरी बनाइएको भनिएको स्थानमा देखिएको पानी नियन्त्रण गर्ने प्रयास अझै जारी छ ।
सन् १९७५ मा निर्माण भएको धावनमार्ग सामान्य टालटुल गरिए पनि यसअघि विस्तार तथा मर्मत हुन सकेको थिएन । अहिले सम्पन्न भएको मर्मत जीर्णोद्धारपछि यस धावनमार्गको आयु आगामी २० वर्षसम्म रहने बताइएको छ ।
अहिले यहाँका केही ठाउँमा देखिएको पानीलाई पाइप राखेर छेउतिरको ढलमा पठाइएको छ । विमानस्थल स्रोतका अनुसार अझै यहाँ पूर्ण रूपमा धावनमार्गमा जम्ने पानी नियन्त्रण गर्न सकिएको छैन । गत चैतदेखि जारी हवाई उडान प्रतिबन्ध कायमै रहेकाले सिपेजले उडानमा खासै असर परेको छैन । तर, धावनमार्गको मध्यभागबाट दायाँ–बायाँ दुवैतर्फको करिब १० मिटर पछाडिको भागमा मात्र समस्या देखिएकाले आगामी दिनमा खासै ठूलो चुनौती भने नपर्ने स्रोतले जनाएको छ ।
विमानस्थल कार्यालयका एक उच्च अधिकारीले भने, ‘यस्तो पानी देखिने समस्याले अहिले अप्ठ्यारो नपारे पनि भविष्यमा बाधा पुग्न सक्नेतर्फ बेलैमा सचेत हुनु राम्रो हो ।’
अहिले अर्बौं रुपैयाँ खर्च गरेर ४४ वर्षपछि बल्ल पहिलो पटक मर्मत-जीर्णोद्धार गरिएको यस धावनमार्गको बाहिरी सतहमै पानी जमेको देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण व्यवस्थापनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई लकडाउनकै बेला स्थलगत निरीक्षण गराएका थिए । पर्यटनमन्त्री भट्टराईको निरीक्षणपछि अहिले प्राधिकरणका इन्जिनियरले धावनमार्गको नियमित प्राविधिक निरीक्षण गर्दै आइरहेका छन् । प्राविधिकहरूले पनि धावनमार्ग निर्माण गर्दा विभिन्न खण्डखण्ड गर्दै बनाउनुपरेकाले दुई खण्डको जोडाइबाट पानी रसाएर निस्किएको हुन सक्ने अनुमान गरिएको दाबी गरेका छन् ।
अहिले समस्या देखिएको स्थानको विस्तृत अध्ययनका लागि प्राधिकरणको आयोजना र चिनियाँ निर्माण कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन (एभिक इन्टरनेसनल)ले आकाशबाट परेको पानी छिरेको हो वा जमिनमुनिको सतहबाट नै मूल फुटेर पानी बाहिर देखिएको हो भन्नेबारे थप अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानमा समलग्न प्राविधिक-इन्जिनियरहरूले अहिले यहाँ पुरानो र नयाँ पिचको जोडाइबाट पानी निस्किएको हो अथवा अन्य कुनै डिजाइनमा त्रुटि एवं कमजोरी भएका कारणले हो भन्ने बारेमा अनुसन्धान गर्न पानीसम्बन्धी थप विज्ञता भएका भूगर्भ विज्ञलाई देखाएर अनुसन्धान गराइरहेको बताएका छन् ।
अहिले चिनियाँ कम्पनीसँग यस परियोजनाको निर्माण सम्झौता अवधि समाप्त भइसकेको छ । सो सम्झौता अवधि समाप्त हुन पाँच महिना मात्र बाँकी हुँदै यस धावनमार्ग मर्मत एवं जीर्णोद्वारमा संलग्न चिनियाँ निर्माण कम्पनी एभिक इन्टरनेसनलले गत १२ पुसमा विशेष समारोह आयोजना गर्दै पर्यटनमन्त्री भट्टराई र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी सहभागी कार्यक्रममा परियोजना विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसी र आयोजना निर्देशक मुरारी भण्डारीलाई हस्तान्तरण गरेको थियो ।
सरकारको लगानी रहेको यस परियोजना सम्पन्न गर्ने क्रममा विमानस्थल आंशिक रूपमा बन्द गर्दै चिनियाँ कम्पनीले रातिराति मात्रै काम गरेर ९ महिनामा सम्पन्न गरेको थियो । परियोजनाको काम सकिए पनि चिनियाँ निर्माण कम्पनी एभिक इन्टरनेसनल अहिले नेपालमै छ । उसले पुनः यस विमानस्थलभित्र अर्को ७ अर्बको परियोजनामा पनि काम गर्दै छ । सोही कारण पहिलो परियोजनाको ग्यारेन्टी अवधि १८ महिनाको भएकाले अब यहाँको धावनमार्गमा पानी जम्ने समस्या देखिए एभिकले १८ महिनाभित्र पर्ने दुई मनसुनमा निगरानी गर्दै यस्तो समस्या समाधान गर्नुपर्ने सम्झौतामा उल्लेख भएको प्राधिकरणले जनाएको छ ।
२०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्पअघि पनि यहाँ घामपानीका कारण धावनमार्गको पिच उप्किने समस्या अत्यधिक थियो । जसका कारण विभिन्न मुलुकबाट आएका विमानलाई लामो समय आकाशमै र विमानस्थलमै घण्टौँसम्म होल्डमा राख्नुपर्ने बाध्यता थियो । त्यतिबेला ठूलो वर्षा भएपछि प्रायः दैनिक जस्तै धावन मार्गको पिच उप्कीने भासिने गथ्र्यो । सो बाध्यताबाट मुक्ति पाउन सरकारले आंशिक रूपमा विमानस्थल बन्द गर्ने निर्णय गर्दै २०७५ सालको चैत महिनाबाट यस धावनमार्ग मर्मत एवं जीर्णोद्धारको काम थालनी गराएको थियो । त्यतिबेला यस विमानस्थल दैनिक राति १० बजेदेखि भोलिपल्टको बिहान ८ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरी धावनमार्गको पिच परिर्वतन सुरु गरिएको थियो । सो समय विमानस्थलको कोटेश्वरतर्फको ०२ धावनमार्गको १६ सय मिटरमा बढी समस्या देखिएको थियो ।
विगत ४४ वर्ष पुरानो धावनमार्ग गत २०७२ सालको भूकम्पले हल्लाएर थप बिगारेपछि विमानस्थल कार्यालयले उडान सेवा प्रदायक वायुसेवा कम्पनीलाई १९० टनभन्दा बढी उडान अवतरणको तौलमा प्रतिबन्ध लगाएको थियो । धावनमार्गको मर्मत एवं जीर्णोद्धार सकिएपछि सो भारको उडान प्रतिवन्ध हटाउँदै पुनः २३० टनसम्मको उडान अवतरण सञ्चालन गर्न दिएको थियो ।
सन् १९७५ मा निर्माण भएको धावनमार्ग सामान्य टालटुल गरिए पनि यसअघि विस्तार तथा मर्मत हुन सकेको थिएन । अहिले सम्पन्न भएको मर्मत जीर्णोद्धारपछि यस धावनमार्गको आयु आगामी २० वर्षसम्म रहने बताइएको छ । तर, अहिले देखिएको ठाउँ ठाउँमा पानी देखिने समस्या सहजै समाधान नभए सरकारले खर्च गरेको अर्बौं लगानी त्यसै खेर जान सक्ने सम्बन्धित सरोकारवालाहरूको भनाइ छ ।

No comments:

Post a Comment