Sunday, April 8, 2018

मोरङका उखु किसान विकल्पको खोजीमा , मकै खेतीले उकास्यो किसानको जीवनस्तर

https://www.karobardaily.com/news/society/3900

मोरङका उखु किसान विकल्पको खोजीमा , मकै खेतीले उकास्यो किसानको जीवनस्तर

मोरङका उखु किसान विकल्पको खोजीमा मकै खेतीले उकास्यो किसानको जीवनस्तर
मीनकुमार नवोदित
आइतवार, चैत्र २५, २०७४
238
0
मोरङको जहदा गाउँपालिकाका किसानलाई विगतको जस्तो चिन्ता छैन यतिबेला । उखु खेतीबाट सधैं घाटा सहँदै आएका किसानको पछिल्लो समय जीवनस्तरसमेत उक्सिँदै गएको छ ।
यसको एउटै कारण हो उन्नत जातको मकै खेती । उन्नत जातको मकै खेती गर्न थालेपछि किसानका आर्थिक समस्या पनि समाधान हुँदै गएको छ । वर्षौंदेखि लगाउँदै आएको उखुखेतीबाट राम्रो प्रतिफल दिन छाडेपछि यहाँका किसानले खेती परिवर्तन गरेका छन् । उनीहरूले वर्षामा धान र हिउँदमा उन्नत जातको मकै खेती सुरु गरेका छन् । पहिलो वर्ष नै राम्रो आम्दानी भएपछि उनीहरू धमाधम उखु छाडेर मकै खेतीतर्फ आकर्षित भएका छन् । उखु लगाउन झन्झन्ट हुनका साथै बिक्रीका लागिसमेत समस्या देखिए पछि अधिकांश किसानले बाली परिवर्तन गरेका छन् ।
“महँगो ब्याजमा ऋण लिएर उखु लगायो बिक्री गर्ने समस्या, त्यसमाथि उखु मिलले वर्ष दिनसम्म पैसा दिँदैन,” स्थानीय अजयकुमार सिंहले भने, “मकै लगाएपछि त ढुक्क छ । उत्पादन पनि राम्रो छ र बिक्री पनि समयमै हुन्छ ।” मोरङ र सुनसरीमा पछिल्लो समय उखु खेती घट्दै गएको छ । पूर्वमा सुनसरीको अमाहीबेल्लास्थित इस्टर्न सुगर मिल छ । झापा, मोरङ र सुनसरीमा उत्पादित उखु यही मिलमा बिक्री गर्छन् किसान । समयमा भुक्तानी नदिँदा किसान हैरान छन् । “ब्याज बढ्दै जान्छ तर मिलले पैसा दिँदैन,” उनले दुखेसो पोखे ।
सिंहले अघिल्लो वर्ष मात्रै साढे २ लाख रुपैयाँ आम्दानी गरे । एक बिघामा मकै लगाउँदा खर्च कटाएर एकलाखभन्दा बढी फाइदा हुुन्छ । मोरङमा हिउँदे र बर्खे सिजनमा मकै लगाए पनि हिउँदे सिजनमा लगाइने मकैबाट किसानहरूले बढी फाइदा लिइरहेका छन् । व्यावसायिक रुपमा मकै खेती गर्न थाले पनि सहज रुपले सिंचाइको सुुविधा नहुँुदा किसानलाई भने समस्या हुुने गरेको छ । मकैखेतीका लागि सात–आठ पटकसम्म सिंचाइ गर्नुुपर्ने हुुन्छ । सिंचाइको सुुविधा हुुनसके सबै किसानले मकै खेती नै गर्ने अर्का किसान श्रीलाल राजभरको भनाइ छ ।
उन्नत जातको मकै लगाउँदा एक हेक्टरमा १० देखि १२ टनसम्म उत्पादन हुुन्छ । उन्नत जातको मकैखेती विस्तार हुुनेक्रम बढेकाले केही वर्षमै नेपाल मकैमा आत्मनिर्भर बन्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रवक्ता राजेन्द्र उप्रेतीको भनाइ छ । “यही रूपमा मकै खेती गर्ने किसान बढ्दै जाने हो भने पूर्व मात्रै होइन नेपाल नै मकैमा आत्मनिर्भर हुन्छ,” उप्रेतीले भने, “मोरङमा मकै खेतीतर्फ किसान आकर्षित हुनेक्रम बढ्दो छ ।”
मकैखेती विस्तारका लागि केही वर्षअघि जिल्लामा मकै मिसन कार्यक्रमसमेत चलाइएको उनले जनाए । मोरङमा हिउँदे र बर्खेगरी १५ हजार हेक्टरमा मकैखेती हुुने गरेकोमा ६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उन्नत जातको मकैखेती हुुने गरेको छ । उखु खेतीबाट किसान पलायन हुने क्रम बढेको सुनसरी–मोरङ उत्पादक संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए । विगतमा उखुखेती हुँदै आएको कतिपय जमिन बाँझै छ यतिबेला । मोरङका किसानले भने उखुको विकल्प खोज्दै मकै खेती सुरु गरेका हुन् । मोरङका थलाहा, वविया, बुधनगर, रंगेली, दर्वेशा, सुन्दरपुर, गोविन्दपुरलगायतका क्षेत्रमा मकै खेती गरिएको छ ।

No comments:

Post a Comment