Tuesday, April 10, 2018

रक्सौल र काठमाडौं जोड्ने विद्युतीय रेल सेवा विस्तारमा ओली र मोदीबीच ४ बुँदे सम्झौता

http://ujyaaloonline.com/news/96689/India-Nepal-Statement-on-Expanding-Rail-Linkages:-Connecting-Raxaul-in-India-to-Kathmandu-in-Nepal/

रक्सौल र काठमाडौं जोड्ने विद्युतीय रेल सेवा विस्तारमा ओली र मोदीबीच ४ बुँदे सम्झौता

काठमाडौं, चैत २४ – भारतको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विद्युतीय रेल विस्तारको बारेमा ४ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्रीको तीन दिनको भारत भ्रमणका क्रममा नेपालल–भारत १२ बुँदे संयुक्त विज्ञप्तिसँगै विद्युतीय रेल सेवा विस्तार गर्ने सम्बन्धी चार बुँदे सम्झौता पनि भएको हो ।  कनेक्टीभिटी, आर्थिक समृद्धि र विकासका लागि जोड दिँदै आएका प्रधानमन्त्री ओली र मोदीबीच रक्सौल–काठमाडौं जोड्ने विद्युतीय रेल सेवा निर्माणको विषयमा सम्झौता भएको हो ।
भारतको आर्थिक सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म जोड्ने विद्युतीय रेल सेवाको विस्तार गर्ने विज्ञप्तिमा जनाइएको छ । रेल निर्माणको पहिलो चरणमा नेपालको सहयोगमा भारतले एक वर्षको अवधिमा रेल विस्तारको सर्भे गर्ने सहमति भएको छ । त्यपछि दुवै पक्षले विस्तृत प्रतिवेदनमा त्यसको लागत र कार्यन्वयनको विषयमा छलफल गरेर काम अघि बढाउने जनाइएको छ । 
प्रधानमन्त्री ओलीले पहिलो चरणमा हुने सर्भेमा पूर्ण सहयोग गर्ने बताउनुभएको छ । दुवै देशका प्रधानमन्त्रीले पहिलो चरणको रेल विस्तार सेवामा भएको सहमतिमा खुशी व्यक्त गरेका छन् । दुवै प्रधानमन्त्रीले जयनगर र जनकपुर तथा जोगबनी र विराटनगर जोड्न रेल सेवा सन् २०१८ भित्र पूरा हुने बताएका छन् ।
जारी रेल सेवा विस्तार प्रोजेक्टको बाँकी रहेका काममा जयनगर–बिजलपूरा–बर्दिवास र जोगबनी–विराटनगरलाई प्राथमकिता दिएर काम अघि बढाउने सहमतिमा जनाइएको छ । रेल निमार्णका विषयमा नेपालले भूमि व्यवस्थापनका विषयमा छिटै टुङ्गोमा पुर्याउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । 
रेल सेवाहरु विस्तारका लागि नेपाल र भारतको संयुक्त कार्यदलले नियमित रुपमा गरेको बैठकमा दुई प्रधानमन्त्रीले प्रशंसा व्यक्त गरेका छन् । संयुक्त कार्यदलले भारत र नेपालबीच जोड्ने रेल सेवाको विषयमा आवश्यक सम्झौता, सामाग्री र नीति निर्माणमा काम गर्ने भनिएको छ ।
अन्तिम बुँदामा भारत र नेपालबीच जोडिने रेल सेवा प्रोजेक्टको दोस्रो चरण अन्तर्गतका बाँकी तीन रेल मार्गको महत्वबारे जोड दिइएको छ । यी तीन रेलमार्गमा न्यू जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगञ्ज रोड– नेपालगञ्ज जोड्ने रेल सेवाको विस्तारमा काम हुने सम्झौता भएको छ ।
अहिलेसम्म यी रेल सेवा जोड्नका लागि भएको कामको प्रशंसा गर्दै दुवै प्रधानमन्त्रीले दोस्रो चरणको काम पनि छिटै सक्ने सहमति गरेका छन् ।

No comments:

Post a Comment