http://annapurnapost.com/news-details/94948
डरलाग्दो यौनहिंसा: चार महिनामा ७८ बालिका बलात्कृत
बालिकाको इज्जत जोगाउनै गाह्रो
काठमाडौँ:
पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै
गएका छन् । अवस्था दर्दनाक हुदै गइरहेको छ । आफन्त, छिमेकी, साथी र
चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन् ।
शिक्षकदेखि जन्म दिने बाबुबाट पनि
बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै
बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत
बालिका बलात्कार गरी हत्या गरेका घटना बाहिर आएका छन् ।
बढेको बढ्यै
पछिल्लो चार महिनामा देश ७८ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । ६ बालिकाको त बलात्कारपछि हत्या नै गरिएको छ।
प्रत्येक महिना बलात्कारको घटना सार्वजनिक
हुने क्रम बढिरहेका छन् । सबैभन्दा धेरै ३१ जना बालिका फागुनमा यौनहिंसाको
शिकार भएका छन् । मंसिरमा १०, पुसमा १४ र माघमा २३ जना बालिका बलात्कार र
यौनहिंसाको शिकार भएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक
मन्त्रालय अन्तर्गत केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक गरेको
प्रतिवेदन अनुसार पछिल्लो अवधिमा ४ जना बालकसमेत बालयौन दुर्व्यवहारमा
परेका छन् । ७४ जना बालिका बलात्कारबाट पीडित भएका छन् । जसमध्ये ६ जना
(८प्रतिशत) को सामुहिक बलात्कार भएको छ ।
आफन्त नै दुस्मन
एक बालिका ३ जना म्यादी प्रहरीबाट समेत बलात्कृत भएकी छन् । सबैभन्दा बढी चिनजानका व्यक्ति तथा आफन्तबाट नै बालिका बलाकृत भएकी छन् ।
४१ प्रतिशत अर्थात ३० जना बालिका बलात्कार
चिनजान तथा आफन्तबाट नै भएका छन् । त्यसैगरी छिमेकीबाट २७ प्रतिशत (२०
जना), आफ्नै बुबा तथा हाडनाताबाट १५ प्रतिशत (११ जना), फेसबुक तथा सामाजिक
सञ्जाल मार्फत भएको चिनजानबाट ९ प्रतिशत (७ जना), शिक्षकबाट ४ प्रतिशत (३
जना) र म्यादी प्रहरी र सेनाबाट ४ प्रतिशत (३ जना) बालिका बलात्कार भएका
छन् ।
बलात्कारमा संलग्न अभियुक्तमध्ये १७
प्रतिशत (१६ जना) बालकहरु नै भएको देखिन्छ भने बाँकी ८३ प्रतिशत (७६ जना)
वयस्कबाट बालबालिका पीडित भएका छन् । ६ जना बालिकाको बलात्कार पछि हत्या
गरिएकोमा २ जना बालिकाको हत्यामा भने २ जना बालकहरु नै संलग्न भएको पाइएको छ
।
बलात्कारबाट पीडित भएका बालिकाको उमेर
समूहका आधारमा विश्लेषण गर्दा १० वर्ष वा सोभन्दा मुनीका ३१ प्रतिशत (२३
जना), ११ देखि १५ वर्षका ६२ प्रतिशत (४६ जना) र १६ देखि १८ वर्षका ७
प्रतिशत (५ जना) बालिका रहेका छन् ।
सबैभन्दा सानी सप्तरीकी २ वर्षको बालिका
पनि बलात्कृत भएकी छन् । सबैभन्दा धेरै १४ वर्ष उमेरका बालिकाहरु
बलात्कारको शिकार भएका छन् ।
बालक पनि जोगिएनन्
बालयौन दुर्व्यवहारमा परेका बालकहरुमध्ये
काठमाडौंस्थित एक होटलमा लामो समयदेखि ३ जना सडक बालकलाई खाना र पैसाको
प्रलोभन दिएर ६३ वर्षे जर्मन नागरिकबाट यौन दुराचारमा भएको खुलेको छ ।
त्यसैगरी अर्का एकजना बालक महोत्तरीमा
गाउँकै युवाबाट पीडित हुँदै आएको खुलेको छ । गाउँलेको मिलेमतोमा घटना
ढाकछोप गर्न खोजिएपछि प्रहरीको सक्रियतामा दोषीलाई कानुनी दायरामा ल्याइएको
बाल कल्याण समितिले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को प्रथम चार
महिनाको अवधि (साउनदेखि कात्तिक) मा ४५ जना बालबालिका यौन दुर्व्यवहारबाट
पीडित भएका थिए । बालबालिकाविरुद्ध हुने गरेको घटनाको संख्या बढ्दै गइरहेको
प्रतिवेदनमा उल्लेख छ ।
अन्य हिंसा पनि उस्तै
केन्द्रीय बालकल्याण समितिको प्रतिवेदन
अनुसार पछिल्लो चार महिनामा ४ सय ३ जना बालबालिका प्रत्यक्षरुपमा प्रभावित
भएका थिए । सबैभन्दा बढी २ सय १४ जना बालिका पीडित भएका छन् भने १ सय ७२
जना बालक र १७ जना शिशु समेत बालअधिकार उल्लंघनका घटनाबाट प्रभावित भएको
पाइएको छ ।
बालकल्याण समितिको प्रतिवेदन अनुसार
मंसिरयता बालश्रम १४०, मुत्यु ७८, बालविवाह ४०, वेचविखन तथा ओसार पसार ३४,
गर्भपतन ११, कुपोषण ९, शारीरिक यातना ६ र अपहरणमा ४ जना परेका छन् ।
No comments:
Post a Comment