Wednesday, March 24, 2021

खर्च एक तिहाइ, राजस्व असुली आधा

 https://www.karobardaily.com/news/133252

खर्च एक तिहाइ, राजस्व असुली आधा

दोस्रो त्रैमास समीक्षा

आर्थिक वर्ष ०७७-०७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा एक तिहाइमात्र बजेट खर्च भएको छ भने राजस्व असुली पनि ६० प्रतिशतको आधामात्र भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्षको दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा भएको छलफलका अनुसार चालू आर्थिक वर्षको कूल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेटमध्ये आठ महिनामा ५ खर्ब ७१ ऋर्ब २८ करोड अर्थात् ३८.७४ प्रतिशतमात्र खर्च भएको छ । कुल खर्चमध्ये चालूतर्फ ४८.१८ प्रतिशत छ भने पुँजीगततर्फ २२.४४ र वित्तीयतर्फ २०.५९ प्रतिशतमात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । स्वयं अर्थ मन्त्रालयको पनि कुल खर्च २७.१८ प्रतिशतमात्र छ । अर्थ मन्त्रालयमा ३४ अर्ब ९४ करोड बजेट रहेकोमा चालू खर्च ३२.४६ प्रतिशत र पुँजीगत खर्च १३.३१ प्रतिशतमात्र छ । एकातिर मन्त्रालयहरु खर्च गर्न सकिरहेका छैनन् भने अर्कोतिर आगामी आर्थिक वर्षको बजेट सिलिङ कम भएको गुनासो गर्दैछन् ।
अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले प्रस्तुत गरेको आर्थिक वर्षको दोस्रो दोश्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरुसम्बन्धी प्रस्तुतीकरण अनुसार, फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ अर्थात् लक्ष्यको ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएकोमा ११ चैत्रसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ ।
अर्थ मन्त्रालयका अनुसार, आठ महिनामा १ खर्ब ६९ अर्ब ३१ करोड ऋण र १८ अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको छ । त्यसैगरी आठ महिनामा ८ खर्ब ४३ अर्ब ९८ करोड बराबरको वस्तुको आयात भएको छ भने ८० अर्ब ७७ करोड बराबरको वस्तु निर्यात भएको छ ।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीचमा राजस्वको लक्ष्य पूरा हुनेमा दुविधा नरहेको बताउँदै पर्यटन बाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेकोले लक्ष्य भन्दा बढी राजस्व असुल्ने गरी परिणाम निकाल्न निर्देशन दिए । अर्थमन्त्रीले दुरुपयोग हुन नहुने, प्राथमिकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको भन्दै खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरुलाई हटाउन आवश्यक रहेको पनि बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको भन्दै सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामाना गर्नका लागि सहुलियत कर्जा, पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याइएको र यसबाट उपलब्धि हासिल भएको बताए ।
राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरु बढेको जानकारी दिँदै राजस्वको लक्ष्य नपु¥याउने छुट नभएको बताए । यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए ।

No comments:

Post a Comment