Sunday, June 9, 2013

यस्तो बन्दैछ नेपालको सुरुङमार्ग बलराम बानियाँ (kantipur)

काठमाडौं, जेष्ठ १५ - नेपाल पूर्वाधार विकास कम्पनीले चार वर्षभित्र काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने र सन् २०१६ देखि त्यहाँबाट ओहोरदोहोर गर्ने गाडीमा घटीमा १ सय ८०.८ र बढीमा ४ हजार ५ सय २० रुपैयाँ (भ्याटसहित) शुल्क लिने भएको छ । कम्पनीले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट प्रणाली) मा चार वर्षमा निर्माण गर्ने र ३० वर्ष सञ्चालन गर्ने सर्तमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसित सम्झौता गरी एक साताअघि अनुमतिपत्र लिएको हो ।
मन्त्रालयसित भएको सम्झौतामा कम्पनीले चार वर्षमा उक्त मार्ग निर्माण सम्पन्न गरेपछि बाटामा ढाट राखी त्यहाँबाट गुड्ने सबै गाडीमा ३० वर्षसम्म उठाउने बर्सेनि तोकिएको दरमा शुल्क बढाउँदै जान पाउने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार कम्पनीले ५५ किमि लामो चार लेनको उक्त मार्गमा पहिलो वर्ष मोटरसाइकल/ साइकलसित १ सय ८१, कार, जिप, भ्यानसित ९ सय ४, बससित २ हजार ३ सय ७३, मिनी बससित १४ सय १२.५, माइक्रो बससित १ हजार १ सय ३०, हेभी
(मल्टिएक्सल) ट्रक (३ एक्सल) सित ३ हजार २ सय २७ तथा ३ एक्सलभन्दा ठूलो ट्रकसित ४ हजार ५ सय २०, ट्रकसित २ हजार र ४ सय ८६ र मिनी ट्रकसित १ हजार ४ सय ६९ रुपैयाँ शुल्क उठाउने छ । उक्त मार्गमा विभिन्न खण्डको थोरै दूरीमा गुड्ने
गाडीको शुल्कसमेत सम्झौतामा तोकिएको छ । कम्पनीले उक्त मार्गमा गुड्ने गाडीमा सन् २०१७ देखि २०१९ सम्म बर्सेनि ३.५, सन् २०२० देखि २०२४ सम्म ५.५, सन् २०२६ देखि २०२९ सम्म ७.५, सन् २०३० देखि सन् २०३४ सम्म ८.५, सन् २०३५ देखि २०३९ सम्म ९.५ र सन् २०४० देखि २०४३ सम्म १०.५ प्रतिशतका दरले बढाएर शुल्क उठाउन पाउने सम्झौतामा उल्लेख छ । सन् २०४६ सालमा अर्थात् ३० वर्ष सञ्चालन गरी शुल्क उठाएपछि कम्पनीले पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐनअनुसार उक्त मार्ग चालू हालतमा सरकारलाई बुझाउनुपर्ने छ । सम्झौताअनुसार कम्पनीले अनुमतिपत्र प्राप्त गरेको मितिदेखि परियोजना कार्यान्वयन सुरु गरी सन् २०१६ को डिसेम्बर अन्तमा निर्माण कार्य सम्पन्न गर्ने छ । सन् २०१६ लाई आधार वर्ष मानी गाडीको शुल्क निर्धारण गरिएको हो ।

पृथ्वी राजमार्ग हुँदै हेटौंडा पुग्न २ सय २३ किमिको सट्टा यो मार्गबाट ५८ किमिमा हेटौंडा पुगिने छ । काठमाडौंबाट निजगढ जोड्ने फास्टट्रयाक नबनी सुरुङ मार्ग मात्र बनेमा वर्षको ३० अर्ब रुपैयाँको बराबरको इन्धन बचत हुने छ । फास्टट्रयाक बन्यो भने यो मार्गबाट बर्सेनि १० देखि १२ अर्ब रुपैयाँ बचत हुने छ । कारबाट हेटौंडाबाट नारायणगढ हुँदै काठमाडौं आउनुभन्दा यो सुरुङमार्गबाट आउँदा हालको मूल्यमा इन्धन कम खपत कम भई ८ सय र हेभी ट्रकमा ३ हजार रुपैयाँसम्मको इन्धन बचत हुने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए । उनका अनुसार ट्रकमा सुरुङमार्गबाट हेटौंडा जाँदा चार र कारमा तीन घन्टा समय बचत हुन्छ ।

समय र इन्धन दुवै ठूलो मात्रामा बचत हुने र निजी क्षेत्रले आफ्नै लगानीमा बनाउने हुनाले उसलाई ३० वर्षसम्म शुल्क उठाउन दिइएको जानकारी मन्त्रालयका अधिकारीले दिए । सम्झौतामा गाडीको शुल्कमा जतिका दरले हरेक वर्ष वृद्धि हुने प्रावधान राखिएको छ, त्यसअनुसार सन् २०४३ सम्म गाडीको शुल्क पाँच गुनाभन्दा बढीसम्म पुग्ने छ । वाषिर्क शुल्क वृद्धिका सम्बन्धमा सरकारले र कम्पनीले चाहेमा पूर्वाधार संरचना शुल्क पुनरावलोकन बोर्डको सिफारिसमा घटाउन या बढाउन सक्ने प्रावधानसमेत सम्झौतामा राखिएको छ ।

सम्झौताअनुसार सरकारले कम्पनीलाई सहुलियतस्वरूप निर्माणका क्रममा प्रयोग हुने उपकरणहरूमा १ प्रतिशत भन्सार लिई बाँकी भन्सार महसुल छुट दिने छ । बल्खुबाट बन्ने काठमाडांै-कुलेखानी-हेटौंडा मार्ग ५८ किमि हुने छ । उक्त मार्गमा प्रतिघन्टा सालाखाला ८० किमिका गतिमा गाडी गुडाउन सकिने सम्झौतामा उल्लेख छ । काठमाडौं-हेटौंडासम्मको ८० किमिको दूरीलाई ४.५ किलोमिटरको सुरुङका कारण उक्त मार्ग २२ किमि छोटो हुन पुग्ने छ ।

प्रकाशित मिति: २०७० जेष्ठ १५ ०९:१९
- See more at: http://www.ekantipur.com/np/2070/2/15/full-story/369005.html#sthash.RoecKREp.dpuf

No comments:

Post a Comment