Monday, October 9, 2017

डाक्टरको मनोवाद: 'हत्यारा' नै हुनुथ्यो त बन्दुक बोक्थें

पत्र पत्रिका बाट  -साभार

http://www.swasthyakhabar.com/news-details/7098/2017-10-09
डा तोसिमा कार्की
मैले जीवनभर आर्जेको पढाइ ज्ञान अनि सीप
लगाएर तिम्रा आफन्तको उपचार गर्छु
उपचार गरिरहँदा तिम्रो आफन्तमा मैले आफ्नै आफन्त देख्छु
जति चाँडो निको होस् भन्ने तिमीलाई हुन्छ
त्यति नै चिन्ता मलाई पनि हुन्छ आफूले हेरिरहेको बिरामीको
तर, विज्ञानले पनि धान्न नसक्ने केही भवितव्य पर्दा
तिमी मलाई तिम्रो आफन्तको हत्यारा बनाईदिन्छौ

लौ भन अब म कसरी उपचार गरुँ ??
तड्पिरहेको तिम्रो आफन्तलाई बिना उपचार मर्दै गरेको म कसरी हेरुँ ?
छोएर अब छोइपासो बनुँ कि हेर्दै नहेरी रिफर गरुँ ?
'हत्यारा' नै हुनुथ्यो त बन्दुक बोक्थें, बारुतसँग खेल्थें
साथीभाई खेलिरहँदा म किताबमा मुन्टो किन जोत्थें ?
यत्रो वर्ष चाडपर्व बिदा दिन या रात नभनी किन पढ्थें ?
हत्यारा बन्नकै लागि यत्रो मेहेनत किन गर्थें ???

चाहे मलाई अस्पतालको कर्मचारी भन या देशकै सेवक
मेरो पेशाधर्म छ 'नेक' र म हुँ यसकै नैतिक सेवक

खुशी हुन्छु म,
जब मैले हेरेको बिरामी स्वस्थ मुस्कानसहित घर फर्किन्छ
त्यही मुस्कानको लागि उपलब्ध स्रोत साधनमा इमान्दार परिश्रम गर्छु
तर केही रोग, केही समस्या यति जटिल हुन्छन् कि
विज्ञान पनि नतमस्तक हुन्छ
सयौँ कोशिसका बाबजुद मृत्यू रोक्न सकिँदैन

म त तिम्री आमामा आफ्नी आमा देख्थें
म त तिम्रो बुवामा आफ्नै बुवा देख्थें
भए त मसँग अमृत,  मेरा बा-आमा सायद अमर हुन्थे
भए त मसँग अमृत,  म आफैँ सायद अमर रहन्थें
तर मलाई डर लाग्छ मृत्यूसँग,
हो, मलाई डर लाग्छ तिमीले ल्याउने आक्रोशित भिडसँग
सबसे बढी मलाई डर लाग्छ आफैसँग,
किनकि मभित्र एक 'नेक' मानव छ,
जो दु:खी दरिद्र बिरामीको उपचार गर्न चाहन्छ,
त्यसैले  डर लाग्छ मलाई आफैसँग
किनकि अहिले म भित्रको डाक्टर डराइरहेको छ,
डर लाग्छ मलाई म भित्रको डाक्टरको मृत्यूसँग !!

आग्रह छ मेरो ,
मैले बिरामी हेर्ने ठाउँ शान्तिक्षेत्र बनाइदेउ,
अस्पतालमा हुलदङ्गा तोडफोड निषेध गराइदेऊ,
बरु गल्ति नै भए मेरो,  छानबिन गरि सजाय सुनाइदेऊ,
तर बिन्ती उपचाररत मेरा अन्य बिरामीलाई नतर्साइदेऊ

हो, बरु गल्ती नै भए मेरो, छानबिन गरी सजाय सुनाइदेऊ,
तर बिन्ती बिना प्रमाण मलाई 'हत्यारा' नबनाइदेऊ

याद राख,
जुन दिन साँच्चै नै म भित्रको डाक्टर मर्नेछ,
सायद म कुनै बिरामी नै हेर्ने छैन,
सायद म कुनै बिरामी नै छुने छैन,
त्यसबेला तिम्रो भिडले त मलाई माफि देला !
त्यस दिन म त बाँचुला, तिम्रो भिडदेखि बाचुँला,
तर उपचार पाए बाँच्न सक्ने तिम्रो आफन्त
बिना उपचार मर्‍यो भने कसले फर्काइदेला ?

त्यस दिन म त बाँचुला,  तिम्रो भिडदेखि बाचुँला,
तर आफ्नो पेशा धर्मबाट हात धोएर
मभित्र मरिसकेको डाक्टर  कसले ब्युँत्याइदेला ?
अनि,
जुनदिन म जस्ता 'म'हरु भित्रका डाक्टरहरु एकाएक मर्नेछन्,
हे देश, मलाई डर लाग्छ यहाँ कति बिरामीहरु बिना उपचार मर्नेछन्....

No comments:

Post a Comment