Thursday, October 19, 2017

तिहारलाई ३० करोडको फलफूल आयात

पत्र पत्रिका बाट  -साभार  http://kantipur.ekantipur.com/news/2017-10-19/20171019181754.html

  • फलफूलमा चीन र भारतकै भर
  • १ सय ८० ट्रक स्याउ र १ सय ५० ट्रक केरा आयात
- राजु चौधरी, काठमाडौं
गत वर्षको तुलनामा मूल्य घटेको व्यवसायीको दाबी
कार्तिक २, २०७४-तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेका छन् । व्यवसायीले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ बराबरको आयात गरेका हुन् । यसमध्ये केही आयात भइसकेका र केही आउने क्रममा रहेको संघले जनाएको छ । संघका महासचिव विनोद पाण्डेका अनुसार चीन र भारत गरी १ सय ८० ट्रक स्याउ आयात भइरहेको छ । एक ट्रकमा १० टन स्याउ हुन्छ । जसअनुसार तिहारलाई लक्षित गरी १८ सय टन (प्रतिकिलो १ सय २० रुपैयाँँको दरले २१ करोड ६० लाख रुपैयाँँको) स्याउ आयात भएको जनाएको छ । स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ । मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुनु, फाट्टफुट्ट उत्पादन भएपनि व्यावसायिक रूपमा बजारको पहुँचसम्म नहुनुने फलफूलमा चीन र भारतकै भर पर्नुपरेको छ । ‘नेपालमा मुस्ताङ, हुम्ला र मुगुमा उत्पादन भए पनि उपत्यकामा नगन्य रूपमा भित्रिन्छ,’ पाण्डेले भने, ‘माग पूर्ति गर्न चीन र भारतकै भर पर्नुपर्छ ।’
उनका अनुसार चीनबाट १ सय ५० ट्रक र भारतबाट ३० ट्रक स्याउ आयात भएको छ । असोज २९ गतेदेखि दैनिक २५/३० ट्रक भित्रिएको छ । पाण्डेका अनुसार १८ सय टन लक्ष्मीपूजाको दिनसम्म आयात भई टीकाको दिनसम्म सबै बिक्री हुन्छ । ‘असोज २९ गतेबाट आयात सुरु गरेका छौं । कात्तिक २ गते लक्ष्मीपूजाको दिनसम्म स्याउ आइपुग्छ भन्ने हो । केही बाटैमा छ,’ उनले भने, ‘आयतित स्याउ भाइटीकाको दिनसम्मा सकिन्छ ।’
आयातित स्याउ बल्खुबाट व्यवसायीले खरिद गरी मुलुकभरि खुद्रा मूल्यमा बिक्री गरिन्छ । संघका अनुसार तिहारसँगै होलसेल बजारमा करिब ६० प्रतिशतले माग बढेको छ । माग बढेसँगै आयात पनि बढाएको उनले बताए । ‘सामान्य दिनमा दैनिक ५/६ ट्रक स्याउ आयात हुन्छ । अहिले दैनिक २५/३० ट्रक भित्राएका छौं,’ उनले भने । तिहारलगत्तै छठ पर्व सुरु हुन्छ । त्यस बेला पनि माग वृद्धि हुने संघले जनाएको छ । तिहारमा स्याउसँगै केराको माग पनि उत्तिकै बढ्छ । संघले केरा भारतबाट आयात गर्ने गरेको छ । तिहारका लागि भारतबाट मात्रै १ सय ५० ट्रक (१५ सय टन) केरा आयात भएको पाण्डेले बताए । एक दर्जनको ६० रुपैयाँँको दरले ९ करोड रुपैयाँँको आयात हुने जनाएको छ ।
होलसेल व्यवसायीले पनि तिहारको अवसरमा व्यापारमा धेरै सुधार भएको बताउँछन् । ‘दसैंमा व्यापार सन्तोषजनक थियो,’ बल्खु फलफूल बजारका व्यवसायी मीनप्रसाद गौतमले भने, ‘तिहारमा धेरै राम्रो भएको छ ।’ स्याउहरू समयमै आएकाले पनि व्यापार बढेको उनको भनाइ छ । सुन्तला, मौसम र मुख्यत: स्याउको व्यापार हवात्तै बढेको उनले बताए । अर्का होलसेल व्यवसायी रामचन्द्र कार्कीको भनाइ पनि उस्तै छ । उनले सामान्य दिनको तुलनामा दोब्बर नै बिक्री भएको बताए । ‘अन्य दिनमा दैनिक ५ सय कार्टुन बिक्री हुने स्याउ अहिले १ हजार कार्टुन नाघेको छ,’ उनले भने । बल्खु फलफूल बजारमा करिब ४ सय व्यवसायी छन् । बल्खु फलफूल बजारसँगै कालिमाटी तरकारी बजारको व्यापार पनि उत्साहजक रूपमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपसचिव एवं सूचना अधिकारी विनय श्रेष्ठले फलफूलको कारोबार दोब्बर नै भएको बताए । ‘यहाँका व्यवसायीहरूले बल्खु फलफूल बजारबाट ल्याएर बिक्री गर्छन्,’ उनले भने, ‘सामान्य दिनको तुलनामा कारोबार धेरै बढेको छ ।’
कालिमाटी तरकारी बजारका होलसेल व्यापारी भरत खनालले दैनिक ७०० कार्टुन स्याउ बिक्री भएको बताए । ‘स्याउ मुख्यत: तिहारमै बिक्री हुन्छ,’ उनले भने, ‘सामान्य दिनमा १ सय कार्टुन बिक्री हुने स्याउ अहिले ६/७ सय कार्टुन पुगेको छ ।’ संघका अनुसार अघिल्लो वर्षको तुलनामा फलफूलको मूल्य सस्तो भएको छ । गत वर्ष प्रतिकिलो ९० देखि १ सय रुपैयाँँ (होलसेल मूल्य) पर्ने मिठो स्याउको मूल्य ८० देखि ९० रुपैयाँँ पर्छ । फुजी स्याउको मूल्य पनि प्रतिकिलो २५ रुपैयाँँ घटेको संघको दाबी छ । 
‘गत वर्षको तिहारमा प्रतिकिलो २ सय ५० रुपैयाँँ पर्ने फुजी स्याउ अहिले २ सय २५ रुपैयाँमै किन्न पाइन्छ,’ संघका महासचिव पाण्डेले भने । चकलेट स्याउको मूल्य भने यथावत् रहेको संघले जनाएको छ । संघका अनुसार अघिल्लो वर्ष चकलेट स्याउको मूल्य (गुणस्तर अनुसार) १ सयदेखि १ सय ३० रुपैयाँँ थियो । अहिले पनि सोही मूल्यमा कारोबार भएको संघको दाबी छ । मूल्य सस्तिएको दाबी संघले गरे पनि यसको प्रत्यक्ष अनुभव उपभोक्ताले गर्न पाएका छैनन् । अघिल्लो वर्षको तुलनामा झन महँगो भएको प्रतिक्रिया फलफूल पसलमा भेटिएको उपभोक्ताको छ ।
मुस्ताङको स्याउ भने होलसेल मूल्यमै प्रतिकिलो १ सय ४० रुपैयाँँदेखि १ सय ५० रुपैयाँँसम्मा बिक्री भइरहेको संघले जनाएको छ । ‘मनाङ, मुस्ताङको स्याउको माग अधिक छ,’ उनले भने, ‘नगन्य रूपमा २/३ प्रतिशत मात्रै उपत्यका भित्रिन्छ ।’ व्यवसायीका अनुसार सडकका कारण स्वदेशी स्याउको बजारीकरण हुन सकेको छैन ।

प्रकाशित: कार्तिक २, २०७४

No comments:

Post a Comment