Sunday, October 8, 2017

अस्ट्रेलियाबाट ल्याएर बोयर बाख्रा पालनः एउटै बाख्राको ४ लाख रुपैयाँ

पत्र पत्रिका बाट  -साभार 

http://ujyaaloonline.com/news/84921/boyar-goat/

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, असोज १७ – विश्व बजारमा मासुका लागि उपयुक्त मानिएको बोयर जातको बाख्रा नेपालमा पनि व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक किसानले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् । 
चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्मको आधुनिक खोरमा बोयर जातको बाख्रापालन सुरु भएको हो । अस्ट्रेलियाबाट २४ वटा बोयर जातका पाठी र ४ वटा बोका ल्याएको फार्मका सञ्चालक रमेशचन्द्र आचार्यले बताउनुभयो ।
२८ वटा बाख्रालाई ५६ लाख रुपैयाँ तिरेर अस्ट्रेलियाबाट ल्याइएको बताउँदै उहाँले एउटै बोकाको ४ लाख रुपैयाँसम्म परेको बताउनुभयो । बोयर जातको बाख्रा छिटो बढ्ने र तौल राम्रो हुने भएकाले भविष्यमा व्यावसायिक भएपछि मात्र मासुका लागि खसी बनाएर बिक्री गर्न सकिने आचार्यले बताउनुभयो ।  मुख्यगरी यो जातका बाख्रामा बोसो कम हुने, तौल चाँडो बढ्ने, खाँदा मासु राम्रो हुने भएकाले अरु भन्दा फरक मानिएको छ । 
फार्ममा एक सय १५ वटा स्थानीय जातका र बोयर जातका २८ वटा गरी १ सय ६५ वटा बाख्रा रहेका छन् । प्रजननका लागि बोयर जातका बोका अस्ट्रेलियाबाट आयात गरेर स्थानीय जातका बाख्रामा क्रस गराउन सुरु गरेको जानकारी दिँदै आचार्यले भन्नुभयो ‘स्थानीय जातसँग क्रस गरेर बोयरको उत्पादन बढाउने छौं ।’
स्थानीय जातका बाख्राको तुलनामा बोयर जातको उत्पादन बढी हुने भएकाले किसान बोयर जातको बाख्रा पालनमा आकर्षित हुँदै गएका छन् । मासुका लागि पालिने बोयर बाख्राको तौल डेढ सय किलोसम्म हुने जानकारहरु बताउँछन् ।
आचार्यसहित जापानमा काम गरेर फर्किएका आशिष बम, विरेन्द्र क्याम्पसका प्राध्यापक डा. विष्णु धिताल, व्यावसायी गणेश पौडेल, डा. कृष्णप्रसाद पौड्याल र केयर नेपालमा कार्यरत सावित्रा ढकालले संयुक्त लगानी गरी बाख्रा पालन सुरु गर्नुभएको हो । एक वर्ष अगाडि रत्ननगर–९ निपनीमा चार बिगाहा जग्गा भाडामा लिएर बाख्रा पालन सुरु गरेपछि अहिलेसम्म एक करोड १० लाख रुपैयाँ लगानी भएको आचार्यले बताउनुभयो ।
पाँच सयवटा बाख्रा अटाउन सक्ने क्षमताको खोर निर्माण तथा दुई बिगाहा क्षेत्रफलमा घाँसखेती समेत गरिएको छ । आगामी दिनमा स्थानीय र बोयर जातका बाख्रा थप गरेर पाल्ने तयारीमा रहेको आचार्यले बताउनुभयो । २० देखि ४५ किलोसम्म हुने बोयरको क्रस पाठी र ८० किलोसम्म हुने क्रस बोका  प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बिक्री हुने बताउदै उहाँले शुद्ध बोयर बोका प्रतिकिलो पाँच हजार रुपैयाँसम्म पर्ने बताउनुभयो । 
दैनिक रुपमा स्थानीय जातका बाख्रा दिनको ५० ग्राम र बोयर दुई सय ५० ग्राम बढ्ने प्राविधिकहरु बताउँछन् । सुरुमा स्थानीय र बोयर दुवै जातका बाख्रापालन गरिएपनि पछि बोयरमात्र पाल्ने योजनामा रहेको आचार्यले बताउनुभयो । पछिल्लो समयमा बोयर जातको बाख्राको बोका र पाठीको माग बढेका कारण मासुका लागि बोयर बिक्री गर्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । 
नेपालगञ्ज, बन्दिपुर र कैलालीको बुढीतौलस्थित सरकारी क्षेत्रकै स्रोत केन्द्रमा समेत बोयर जातका बाख्रा पालेर अनुसन्धान भइरहेको छ । दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा नेपालमा झण्डै २० वर्षअघि भित्रिएको थियो । झापा, स्याङ्जा, रामेछाप, चितवनलगायत जिल्लामा यो जातका बाख्रा पाल्न थालिएको छ । जुम्ल्याहा जन्माउने क्षमता सतप्रतिशत रहेको बोयर जातको बाख्राले एक बेतमा ९ सयदेखि १६ सय लिटरसम्म दूध दिन्छ ।

No comments:

Post a Comment