Sunday, April 23, 2017

फेरि जग्गा बाँड्ने आयोग

पत्र पत्रिका बाट  -साभार 

http://nepal.ekantipur.com/news/2017-03-08/20170308160154.html

फेरि जग्गा बाँड्ने आयोग

  • सुकुमबासीका नाममा ०४६ सालयता १३ आयोग, डेढ लाख परिवारलाई ४६००० बिघा जग्गा वितरण तर समस्या झन् बढ्दै
भूमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को ९ फागुनको बैठकले राष्ट्रिय बसोबास आयोग गठन गर्ने निर्णय गर्‍यो । भूमिसुधार मन्त्री विक्रम पाण्डेको अध्यक्षतामा गठित आयोगमा सोही मन्त्रालयका सचिवका साथै वन तथा भू–संरक्षण, सहरी विकास र गृहसचिवसमेत सदस्य तोकिएको छ । साथै, तीन जना सम्बन्धित क्षेत्रका विज्ञ सदस्य मनोनीत गरिने गठनादेशमा उल्लेख छ । मन्त्रालयका सहसचिवले आयोगको सदस्य–सचिवका रूपमा काम गर्नेछन् ।
सरकारी, सार्वजनिक र गुठी जग्गामा भएका अतिक्रमण रोक्न, अव्यवस्थित बसोबास र सुकुमबासी समस्याको समाधान गर्न यो आयोग गठन गरिएको सरकारी निर्णयमा उल्लेख छ, जसको कार्यकाल दुई वर्ष हुने भनिएको छ ।

सुकुमबासी तथा भूमिहीनलाई लक्षित गरी गठन गरिएको यो १३औँ आयोग हो । यसअघिको १२औँ आयोग २ असार ०७१ मा शारदाप्रसाद सुवेदीको अध्यक्षतामा गठन भएको थियो, जुन सर्वोच्च अदालतको अन्तरिम आदेशबाट निष्क्रिय छ । त्यस आयोगले मुलुकभरबाट ८ लाख ६१ हजारवटा निवेदन संकलन गरेको थियो । सुकुमबासी दाबी गर्दै जग्गा पाउनका निम्ति परेका निवेदन संकलन गरी जग्गा वितरणको काम अगाडि बढाउनै लाग्दा उसको काम रोकिएको थियो । आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्ता चन्द्रमणि पौडेलका अनुसार ०६४ भन्दाअगाडिदेखि सुकुमबासीका नाममा जहाँ जसले जग्गा ओगटेर बसेका छन्, त्यही जग्गा उनीहरूका नाममा दर्ता गरी पुर्जा दिने कार्यविधि आयोगले बनाएको थियो ।

१२औँ आयोगबारे अदालतले अन्तिम टुंगो नलगाउँदै सरकारले गठन गरेको अर्को आयोगको भविष्य के हुन्छ भन्ने कानुनी प्रश्न एकातिर छँदै छ । अर्को महत्त्वपूर्ण प्रश्न, नवगठित आयोगले कति सरकारी, सार्वजनिक तथा गुठीमाथिको अतिक्रमणलाई वैधता प्रदान गर्ने हो र खुम्चिँदै गएको सरकारी जग्गामाथि थप कति दबाब सिर्जना गर्ला भन्ने हो । किनभने, यसअघि जति पनि आयोग, समिति, कम्पनी गठनदेखि भूमिसुधार र व्यवस्थापनसम्बन्धी पहल भए, ती सबै राजनीतिक स्वार्थबाट प्रेरित भएर गरिएका छन् ।

यसरी हरेक नयाँ सरकारले आयोग गठन गर्ने र आफ्ना नेता–कार्यकर्तादेखि नातागोतासम्मलाई मनपरी सरकारी जग्गा बाँड्ने काम हरेक आयोगले गर्दै आए । यो क्रम रोकिनु अनिवार्य छ । पौडेल भन्छन्, “पहिला गलत भयो भन्दैमा पटक–पटक गलत गर्न दिइरहनुपर्छ भन्ने छैन ।”

डेढ लाखलाई ४६ हजार बिघा 
आजसम्म सरकारले भूमिहीन, सुकुमबासी, कमैया, हलियालगायतका नाममा कति जग्गा बाँडियो र त्यसबाट कति समस्या समाधान भयो भनेर एकीकृत तथ्यांक सार्वजनिक गर्न सकेको छैन । भूमिसुधार तथा व्यवस्था मन्त्रालयकै अभिलेखलाई आधार मान्ने हो भने ०४६ को राजनीतिक परिवर्तनपछि गठन गरिएका आयोगहरूले १ लाख ५४ हजार ८ सय ५६ परिवारलाई ४६ हजार ६ सय ९४ बिघा जग्गा बाँडेका छन् । यो लगत पूर्ण होइन, कर्मचारीहरूले भेला पार्न सकेको विवरण मात्र हो । यो विवरण तयार गर्ने उपसचिव एवं मन्त्रालयको बसोवास शाखा प्रमुख गोपाल गिरी भन्छन्, “कतिपय आयोगले प्रतिवेदन नै दिएका छैनन् । के कति काम गरे भन्ने फेला पार्न गाह्रो छ ।”

यसै गरी २७ हजार ५ सय ७० मुक्त कमैया परिवारलाई पनि पुन:स्थापनाको काम भइरहेको छ, जसमध्ये करिब एक हजार परिवारको पुन:स्थापना हुन बाँकी छ । १६ हजार ९ सय ५३ हलिया परिवारको पुन:स्थापनाको काम पनि सँगसँगै भइरहेको छ । तिनीहरूलाई घरघडेरी र खेतीका निम्ति जग्गा उपलब्ध गराउने सरकारको कार्यक्रम छ । ०५८ मा मुक्त कमैयाहरूले कैलालीको टीकापुर एयरपोर्टसमेत कब्जा गरी त्यही जग्गा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने दाबी गरेका थिए । ०६५ मा मुक्त घोषणा गरिएका १२ जिल्लाका हलियाहरूको माग पनि सरकारले अझै पूर्ण रूपमा सम्बोधन गर्न सकेको छैन । हरुवा–चरुवासम्बन्धी आयोग गठन गर्न पनि सरकारले छुट्टै तयारी थालेको छ । यससम्बन्धी प्रस्तावमा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको मन्त्रालयका उपसचिव गिरीको भनाइ छ ।
बिर्ताको विरासत
कुनै समय यस्तो थियो, तराईको उर्वर भूमि जंगलले ढाकेको थियो । औलो रोगको जोखिमका कारण तराईमा खासै मान्छे बस्न चाहँदैनथे । क्रमश: औलोको जोखिम कम हुँदै गएपछि तराईमा आवादी बढ्यो । राज्यले नै तराईमा आवादी बढाउन प्रोत्साहनमूलक कार्यक्रम ल्यायो । बढीभन्दा बढी जंगल फाँडेर खेती गर्न–गराउन सक्नेलाई राज्यले प्रश्रय दियो । मानवशास्त्री सुरेशकुमार ढकालका भनाइमा जंगल फाँड्न र खेती गर्न भारतबाट समेत कामदार ल्याइयो, जसले जमिनदार वर्गको पक्षपोषण गथ्र्यो । भूमिहीन र सुकुमबासीहरू किनारामा पर्दै गए ।

राणाकालमा राजकाजमा पहुँच हुनेहरूले आफू र आफन्तहरूका नाममा राज्यबाट बिर्ता पाए । गुरु–पुरोहित, पुजारी, बफादार सैनिक अधिकृत, शासक र उनका आफन्त आदिलाई निगाहस्वरूप बिर्ता दिइयो । राज्यले तलबभत्ता, निवृत्तिभरण, पुरस्कार र बकसबापत बाँडेको जग्गाको हिसाबकिताब गरिसाध्य छैन । जस्तो कि, ००७ सालसम्मको भूस्वामित्व हेर्दा खेतीयोग्य जमिनको ५० प्रतिशत मात्र रैकर अर्थात् सर्वसाधारणका नाममा थियो भने ३६ प्रतिशत जमिन बिर्तावालहरूको पकडमा थियो । बाँकी गुठी, किपट, राज्य र जागिरेसँग थियो । ढकाल भन्छन्, “यस्तो वितरण तत्कालीन शासकहरूको आर्थिक, सामाजिक, राजनीतिक स्वार्थका हिसाबले गरिएको थियो, जुन सामाजिक न्यायका दृष्टिले मात्र होइन, उत्पादनका हिसाबले समेत उपयुक्त थिएन ।”

पञ्चायत व्यवस्थामा भूमिसुधारका केही ऐतिहासिक प्रयास भए । बिर्ता उन्मूलन, जग्गाको हदबन्दी र द्वैध स्वामित्व अन्त्यका लागि जोताहा र मोहीहरूले जग्गा पाउने व्यवस्था प्रमुख थिए । तर, यी प्रयासहरूबाट व्यक्तिले अस्वाभाविक रूपमा ओगटेको, अतिक्रमण गरेको र आफू खेतीपातीमा नखटी अरूलाई जोत्न दिएको जमिनमा राज्यले हस्तक्षेप गर्न त खोज्यो तर यो त्यति प्रभावकारी भएन । राज्यबाट प्राप्त जमिनकै आडमा तिनले राजनीतिक, सामाजिक र आर्थिक प्रभुत्व हासिल गरे । ढकालका भनाइमा जमिनको यस्तो वितरण ऐतिहासिक भूल थियो, जुन बिर्ता उन्मूलन र भूमिसुधारसम्बन्धी पहलले समेत सच्याउन सकेन । फलस्वरूप तिनै व्यक्ति र परिवारहरू आर्थिक रूपले सम्पन्न, राजनीतिक रूपले प्रभुत्वशाली बनिरहे ।

अर्कोतिर भूमिहीन, सुकुमबासी, प्राकृतिक प्रकोपपीडित, निकुञ्ज तथा आरक्षण क्षेत्रहरूबाट विस्थापित व्यक्तिहरूलाई सरकारी तथा सार्वजनिक जग्गा वितरणका लागि दबाब पर्दै गयो । यी समस्या सम्बोधन गर्ने नाममा पञ्चायतकालमै विभिन्न समयमा जिल्ला बसोवास समिति, अञ्चल बसोवास समिति, क्षेत्रीय बसोवास समिति गठन भए । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टीकाराम घिमिरे भन्छन्, “पञ्चायतकालभरि विभिन्न टुक्रे आयोग र समितिहरू बनिरहे तर तिनले के के म्यान्डेट पाएका थिए, कति जग्गाजमिन वितरण गरे भन्ने एकीकृत अभिलेख छैन ।”

पञ्चायतकालमै बनेको राष्ट्रिय पुनर्वास कम्पनी, जो ग्रामीण पुनर्वास कम्पनीका नामले समेत चिनिन्छ, ले पनि आवास क्षेत्रको योजना र जग्गा वितरणको काम गर्‍यो । सरकारी स्तरबाटै वन फँडानी गरी जग्गा वितरण गर्न स्थापित यस कम्पनीको उत्तराधिकारी संस्था नेपाल आवास विकास कम्पनी अद्यापि सक्रिय छ । तर, त्यसले पनि कति सरकारी जग्गा वितरण गर्‍यो र कति अतिक्रमणलाई वैधता प्रदान गर्‍यो भन्ने तथ्यांक छैन । ०३६/०३७ सालसम्मको आँकडा हेर्दा १७ वर्षको बीचमा यस कम्पनीले १३ हजार १ सय ३३ परिवारलाई ३४ हजार ३१ बिघा जमिन वितरण गरेको देखिन्छ । सुरुमा शैक्षिक संस्थान, प्रतिष्ठान, राजनीतिक स्वरूपका प्रतिष्ठान तथा कोषहरू, सामाजिक र धार्मिक संघसंस्थाहरूका नाममा सरकारी जमिन उपयोग गर्ने, बिस्तारै तिनलाई निजी स्वामित्वमा लैजाने धन्दाबारे सोधीखोजी हुन सकेको छैन । तर, सरकारी, सार्वजनिक र गुठीको जग्गा सिध्याउने उपक्रमका रूपमा रहे । ढकाल भन्छन्, “यी कुनै पनि प्रयासबाट न माझी, बोटे वा मुसहरले जमिन पाए, न तराईका दलितले पाए ।”
सुकुमबासी समस्या समाधान गर्न ०४६ सालको राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारले चैत ०४७ मा द्रोणप्रसाद आचार्यको नेतृत्वमा वन संरक्षण कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलको सुझावका आधारमा आवास तथा भौतिक योजना मन्त्रालयका सचिवको संयोजकत्वमा अर्को समिति बनाइयो । त्यस समितिले मन्त्रीकै अध्यक्षमा झन् अर्को समिति बन्नुपर्ने राय दियो । तत्कालीन आवास तथा भौतिक योजनामन्त्री अच्युतराज रेग्मीको अध्यक्षतामा वन, भूमिसुधार, गृह, श्रम, उद्योग र अर्थ मन्त्रीहरू सदस्य रहेको समन्वय समितिलाई सुकुमबासीहरूको समस्या अध्ययन र निराकरण गर्ने जिम्मेवारी दिइयो । तर, लगत्तै आमचुनाव आएकाले खासै काम गर्न सकेन । त्यसपछि जति पनि आयोग आए, तिनले सुकुमबासी, भूमिहीन, प्रकोपपीडितलगायत विभिन्न नाममा जग्गा बाँड्ने काम रोकेनन् । भूमि अधिकारकर्मी जगत देउजा भन्छन्, “बहुदलीय व्यवस्था आएपछि विभिन्न राजनीतिक दलले यो वर्गलाई आफ्नो मताधार बनाउन थाले र विषय सल्टिनुको सट्टा झन्झन् बल्झिन थाल्यो । न जग्गा बाँड्न रोकियो, न त जग्गा बाँडेर सुकुमबासी र भूमिहीनहरूको संख्या घट्यो । बरू, सुकुमबासीका नाममा ढुकुमबासीहरूको उदय भयो ।”

समस्या भने बढ्दै
०४९ मा शैलजा आचार्यको अध्यक्षतामा गठित आयोगमा मुलुकभरमा २ लाख ६३ हजार ७ सय ३८ परिवारले आफूलाई सुकुमबासी दाबी गरेका थिए । त्यतिखेर १० हजार २ सय ७८ सुकुमबासीलाई अस्थायी निस्सा र १ हजार २ सय ७८ परिवारलाई २ हजार २ सय ९६ बिघा जग्गा बाँडिएको थियो । तर, त्यसको दुई वर्षपछि ऋषिराज लुम्सालीको अध्यक्षतामा गठित आयोगले ५८ हजार ३ सय ४० परिवारलाई जग्गा वितरण गर्‍यो । ०५४ मा चन्दा शाहको अध्यक्षतामा गठित आयोगले ८ सय ८६ परिवारलाई त्यसै गरी जग्गाधनी पुर्जा बाँड्यो ।

पाँच वर्षको बीचमा करिब ७१ हजार परिवारले जग्गा पाइसकेपछि सुकुमबासीको संख्या पक्कै घट्नुपर्ने हो । तर, ०५५ मा आएर सुकुमबासी दाबी गरी जग्गा माग गर्ने परिवारको संख्या २ लाख ६१ हजार ६ सय १९ पुग्यो । शैलजा आचार्य नेतृत्वको आयोगले राखेको सुकुमबासीसम्बन्धी लगतको तुलनामा यो संख्या २ हजार १ सय १९ ले बढी हो । कतिसम्म भने त्यसपछि पनि हरेक सरकारपिच्छे नयाँ–नयाँ आयोग बन्न छाडेनन् । र, तिनले भ्याएसम्म जग्गा वितरण गर्दै गए ।

स्थिति कहाँसम्म पुग्यो भने ०७१ मा आइपुग्दा आफूलाई सुकुमबासी दाबी गर्दै जग्गा माग गर्ने परिवारको संख्या ८ लाख ६१ हजार पुगेको छ । फेरि आयोग गठन हुँदा यो संख्या कति पुग्ने हो र तिनलाई बाँड्न कति जग्गा आवश्यक पर्ने हो भन्ने अनुमान सरकारले पनि गर्न सकेको छैन । मन्त्रालयका सचिव कृष्ण देवकोटा भन्छन्, “कति परिवारलाई कति जग्गा आवश्यक पर्छ भन्ने अहिले नै भन्न त गाह्रो छ । तर, अब हामी पहिलाजस्तो निवेदन संकलन गर्दैनौँ । सम्बन्धित समुदायमै गएर लगत लिन्छौँ र धेरै तहबाट जाँच गरेर मात्र आवास दिनुपर्ने परिवार यकिन गर्छौं ।”
सरकारको यस्तो दाबी
सरकारको दाबी अनुसार यसअघिका आयोगहरूले सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित रूपमा सरकारी, सार्वजनिक तथा गुठी जग्गा ओगटेर बसेकाहरूलाई राज्यका तर्फबाट तजबिजी रूपमा जग्गाको लालपुर्जा प्रदान गरेका थिए भने पछिल्लो आयोगले स्वामित्व हस्तान्तरण नहुने गरी प्रयोगको अधिकार मात्र दिनेछ । पहिलेजस्तो सदरमुकाम वा केन्द्रमा बसेर सुकुमबासी दाबी गर्नेहरूबाट निवेदन संकलन नगरी आयोग नै सुकुमबासीको बसोवास रहेको क्षेत्रमा पुग्नेछ । लगत संकलन गर्नेछ । संकलित विवरण स्थानीय निकायहरूमा सार्वजनिक जानकारीका लागि टाँसिनेछ । र, थप जाँचबुझपछि जग्गा पाउने व्यक्तिको टुंगो गर्नेछ ।

ती परिवारले अतिक्रमण गरेको क्षेत्र वा समुदायमै नभई आयोगले उपयुक्त ठहर्‍याएका क्षेत्रमा व्यवस्थित बसोवाससम्बन्धी आधारभूत मापदण्ड र पूर्वाधार तयार गरेर मात्र जग्गा पाउनेछन् । त्यस्तो जग्गा परिवारका सबै सदस्यका नाममा हुनेछ र ती सदस्यहरूले चाहेका दिनसम्म बस्न पाउनेछन् । उनीहरूले अन्यत्र घरजग्गा किनेको वा बसोवास सारेको दिनदेखि उक्त जग्गामाथिको दाबी समाप्त हुनेछ । साथै, कुनै व्यक्तिले अन्यत्र घरजग्गा भएर पनि विवरण लुकाई सुविधा लिएको पाएमा त्यसरी प्राप्त जग्गा खोसिनेछ । “राज्यले जग्गा बाँडेर कहिल्यै समस्या समाधान नहुने रहेछ भन्ने विगतको अनुभव रह्यो,” भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्ण देवकोटा भन्छन्, “त्यसैले सकेसम्म दोहोरो दाबी नगरून्, धेरैतिर जग्गा ओगटेर नबसून् र वास्तविक पीडित आवासविहीन भएर बस्नु नपरोस् भनेर यो अवधारणा ल्याइएको हो । यसले सुकुमबासीका नाममा ढुकुमबासी बनेर राजमार्ग र सहरी क्षेत्रका मूल्यवान् जग्गा ओगटेर बस्ने प्रवृत्तिको अन्त्य गर्नेछ ।”
प्रकाशित: फाल्गुन २५, २०७३

यी हुन् अष्ट्रेलियामा नेपाली बिद्यार्थीको आकर्षण बढ्नुको कारण

पत्र पत्रिका बाट  -साभार   http://kantipur.ekantipur.com/news/2017-04-22/20170422170523.html 

 

अष्ट्रेलिया सरकारले अघिल्लो वर्षको जुनसम्ममा अष्ट्रेलिया अध्ययन गर्न आउने बिद्यार्थी संख्या सोही समयको अघिल्लो बर्षको तुलनामा ४२ प्रतिशतले बढेको तथ्य सार्वजनिक गर्‍यो । अहिलेको तथ्यांक हेर्ने हो भने पनि करिब १९ हजार नेपाली युवाहरु बिद्यार्थी भिषामा अध्ययन गरिरहेको तथ्यांक छ । जुन प्रत्येक बर्ष घट्नुको साटो बढ्दै गइरहेको छ । किन नेपाली बिद्यार्थीहरुको संख्या प्रत्येक बर्ष यतिका संख्यामा बढिरहेको छ ?
अष्ट्रेलियाकी विदेशमन्त्री जुली बिशपले केही समयअघि निकालेको एक बिज्ञप्तिमा विश्वभरबाट अध्ययन गर्न आउने बिद्यार्थी संख्यामध्ये नेपालीहरु आठौं स्थानमा रहेको तथ्य सार्वजनिक गरिन् । एउटा गरिब मुलक अष्ट्रेलियामा अध्ययन भिषा पाउने आठौं नम्बरमा पर्नु सामान्य अवश्य होइन् र यसभित्र धेरै आयामहरुले काम गरेका छन् ।
अष्ट्रेलिया अध्ययन गर्न आउनुभन्दा पनि अध्ययनका लागि भिषा पाउनु महत्वपुर्ण हो । अध्ययन भिषा सहज र व्यबस्थित बनाउन अष्ट्रेलिया सरकारले यहाँका विश्वविद्यालयहरुलाई अझ उत्तरदायी बनाउनका लागि ‘सिम्पिलफाईड स्टुडेण्ट भिषा प्रोसेसिङ’ सुरु गरेको छ । जसले विश्वबिद्यालयहरुलाई बिद्यार्थीको कागजपत्रका साथै शैक्षिक क्रणका कागजपत्रहरु हेर्ने जिम्मेवारी दिएको छ ।
यसैगरी, अष्ट्रेलियाले उनीहरुलाई अंकगत रुपमा वर्गीकरण गरेर सोहीअनुसारको अधिकारसमेत दिएको छ । जसले गर्दा पछिल्लो समयमा बिद्यार्थी भिषा प्रक्रिया सहज बनाएको छ । र, वास्तविक रुपमै  अध्ययनका लागि आउने बिद्यार्थीले मात्र भिषा पाउन भन्ने एक प्रणालीसमेत बसाएको छ ।
अर्काेतिर अध्ययन सकेपछि स्थायी बासिन्दा (पीआर), त्यसको एकबर्षपछि अष्ट्रेलियाको नागरिकता लिन पाउने प्रावधान पनि अष्ट्रेलियामा बिद्यार्थी बढ्नुको मुख्य कारण हो । भर्खरै मात्र अष्ट्रेलियाली प्रधानमन्त्रीले पीआर लिने प्रक्रियामा कडाई गर्ने नीति सार्वजनिक गरेका छन् ।
नेपालीहरु अष्ट्रेलियाको समुदायमा समेत मिलनसार र मेहनतीरुपमा परिचित छन् जसको प्रमाण यहाँ नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा अष्ट्रेलियाली मन्त्री तथा नेताहरुले नेपालीले अष्ट्रेलियालाई बहुसांस्कृतिक देशका रुपमा बिकास गर्न सहयोग पुर्‍याइरहेको भनी दिएको अभिव्यक्तिले प्रष्ट पार्छ ।
त्यसैगरी, पछिल्लो समयमा नेपालका उच्च तहका नेताहरुले यहाँका उच्च तहका नेताहरुसँग औपचारिक र अनौपचारिक भेटघाट गर्ने क्रममा बृद्धि भइरहेको छ जसले नेपाललाई अष्ट्रेलियाले दिएको महत्व दर्शाउँछ ।
अध्ययनका लागि आउनेहरुको लागि यहाँ रोजगारीको समस्या ठूलो रुपमा देखापर्ने गर्छ । अष्ट्रेलिया सरकारले बिदेशी बिद्यार्थीहरुका लागि दुई सातामा ४० घण्टा बैधानिक रुपमा काम गर्ने अधिकार दिएको छ । जसका कारण बिद्यार्थीका रुपमा आएकाहरुले आर्थिकरुपमा धेरै समस्या व्यहोर्नु पर्दैन । तरपनि, काम पाउने वा नपाउने भन्ने बिषय भने बिद्यार्थीको लगनशिलता, मेहनत र उसको खुबीमा भरपर्ने गर्छ । यद्यपि अहिलेसम्म बिद्यार्थीका रुपमा आएका कोहीपनि बेरोजगार भने छैनन् ।
यहाँ बिद्यार्थी भएर आइसकेपछि मुख्य रुपमा बिद्यार्थीले पूरा गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने हुन्छ । जस्तै: दुई सातामा ४० घण्टाभन्दा धेरै काम नगर्ने, नियमित सरकारी ट्याक्स तिर्ने, जुन बिषय अध्ययन गर्न आएको हो इमान्दारिताका साथ अध्यययन गर्ने ।
यस क्षेत्रमा काम गरिरहेका बिज्ञहरुकै भनाई मान्ने हो भनेपनि बिद्यार्थीका रुपमा आउने नेपालीहरु सबैजसो बिद्यार्थीका रुपमा आफ्नो दायित्व पूरा गर्ने भएकाले समेत अष्ट्रेलियाली सरकारले सकारात्मक नजरले हेरिरहेको छ ।
प्रकाशित: वैशाख ९, २०७४

 

Wednesday, April 12, 2017

टुप्पी कसेर पढ्ने बाहुन सीडीओ भयो भनेर नपढ्नेले रीस गरेर हुन्छ ?

पत्र पत्रिका बाट  -साभार

http://www.chakrapath.com/content/an-interview-with-prof-dr-jagman-gurung.html 

 




 
इतिहास र संस्कृतिका धुरन्धर विद्वान प्राध्यापक डा. जगमान गुरुङ यस्ता ब्यक्ति हुन् जसलाई संस्कृत भाषाका बेदका ऋचादेखि अंग्रेजी विषयमा पश्चिमा समाजशास्त्रका हरफ कण्ठै छ । पछिल्लो समय नेपालमा जातीय क्षेत्रीय विभेद रहेको दावी गर्दै चलाइएका ‘आन्दोलन’प्रति कठोर तथ्यगत विमति राख्ने जनजाति समुदायकै यी विद्वान नेपालमा परापूर्वकाल देखि विभिन्न जातिहरु समन्वयात्मक संस्कृतिमा मिलेर बसेको वताउँछन् । जातीय विभेद रहेको भनी पछिल्लो पटक चलाइएका अभियानहरुलाई उनी पश्चिमाहरुको लगानीमा नेपाली संस्कृति भत्काउने प्रयास भन्छन् । प्रा.डा गुरुङसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः

तपाईं नेपाली समाज र संस्कृतिलाई गमेर अध्ययन गर्नु भएको मान्छे नेपाली समाज त खस ब्राम्मणले  अन्य जातिलाई दवाएको समाज हो भनिन्छ नि त्यस्तै हो हाम्रो समाज ?
कसले भन्यो त्यो ? यदि कसैले त्यस्तो भन्छ भने त्यसले नेपाली समाज पढेकै छैन । नेपाली समाज त यस्तो समाज हो जहाँ केही ठाउँमा बाहेक सबैतिर सबै जातजाति मिसिएको साझा बसोबास छ । कुनै ठाउँमा एकल जातीय बसोवास नै छ भने पनि त्यहाँ अन्य  जातिका मान्छेलाई उत्तिकै सम्मान गर्ने सामाजिक परम्परा यहाँ छ । । कुनै ठाउँमा खस समुदाय छ भने त्यहाँ गुरुङलामालाई पनि पुज्ने गरिन्थ्यो । यसको एउटा उदाहरण छ– पूर्वमध्य कालमा अहिलेको सिंजा उपत्यका भएको ठाँउ जहाँ सवा लाख जनसंख्या भएको खस देश थियो । ग्रन्थहरुमा लेखिएकै छ– सपाद लक्ष खस देश । त्यो भन्या सवा लाख जनसंख्या भएको खस देश भनेको हो । 

पुण्य मल्ल, पृथ्वी मल्ल भन्ने राजाहरु थिए । ती राजाहरुले आफूलाई पढाउने, अक्षर चिनाउने, जन्मपत्रिका लेख्ने गुरुहरुलाई बिर्ता दिएर सम्मान स्वरुप स्वर्णपत्रमा त्यस्तो ब्यहोरा लेखिदिएका थिए । राजाले बाहुनलाई बिर्ता दिएको छ । तर, त्यसमा ‘लम्ब पादानी चत्वारी स्थानानी’ भनेर लेखिएको छ । यसको अर्थ चार स्थानका लामाहरुलाई साक्षी राखेर यो कार्य गरिएको भनिएको हो । यसले गुरुलाई केही दिंदा पनि लामाहरुलाई त्यो भन्दा माथिल्लो स्थान दिएर काम गर्ने गरेको देखिन्छ ।

अहिले पनि जुम्ला प्रान्तमा चार ठाउँका लामाहरुको वर्चस्व छ । घोडीखोले लामा, घास ओडार लामा, घसेडी लामा, कल्याण लामा जस्ता लामाहरु थिए । जुम्लामा ब्यक्तिगत पूजा होस वा सामुहिक पूजा गर्दा पहिला चार गाउँका लामाको पूजा गर्ने र आहुति दिने गरिन्छ । मतलव लामालाई भगवानको रुपमा पुजिन्छ  । खस समाजमा लामाहरु पूजा गर्ने गरिन्थ्यो । त्यो अहिले पनि छ ।

एउटा उपाध्याय बाहुनको घरमा घोडीखोले लामाही स्वाह, घास ओडार लामाही स्वाहा, घसेडी लामाही स्वाहा, कल्याण लामाही स्वाहा भनेर भगवानको रुपमा पुजिन्छ  । एउटा हिन्दु घर्मको अनुयायी भएको एउटा खस बाहुनको घरमा भोटे लामालाई किन पुजिन्थ्यो भने हाम्रो समाज परापूर्व कालदेखि नै समन्वयात्मक र सुन्दर थियो । कहिल्यै पनि हाम्रो समाजमा जातका आधारमा, धर्मको आधारमा भेदभाव थिएन र छैन । अहिले भनिए जस्तो हाम्रो नेपाली समाज धनी र गरिव बाहेक जातमा कहिँ कतै तलमाथि थिएन र छैन पनि । 

एउटा उपाध्याय बाहुनको घरमा घोडीखोले लामाही स्वाहा, घास ओडार लामाही स्वाहा, घसेडी लामाही स्वाहा, कल्याण लामाही स्वाहा भनेर भगवानको रुपमा पुजिन्छ  । जनजातिमाथि अपमान भए हिन्दु घर्मको अनुयायी भएको एउटा खस बाहुनको घरमा भोटे लामालाई किन पुजिन्थ्यो ? 

त्यस्तै सिंजामा बाह्रभाइ मष्ट, दश बैनी भवानी भन्ने चलन छ । मष्ट भनेको खस संस्कृतिको प्रमुख विशेषता हो । १२ मष्ट हुन्छन् । मष्ट भनेका दाइहरु र दश बैनी भवानी भनेका तिनका बैनीहरु हुन् । ती बैनीहरुको नाम ठिग्याल्नी, पुग्याल्नी थियो । त्यो जाड भाषा हो । जाड अर्थात भोटे भाषा हो । ती सबैको एउटा साझा लामा हुन्छ लामाबिष्णु । ती एउटै देवतामा लामा पनि मान्ने बिष्णु पनि मान्ने । मुल चाहिँ लामा हो कि बिष्णु हो त भन्दा त्यो लामाबिष्णु को धामी हो।  त्यो खस, क्षत्री हुन्छ । लामा हुनासाथ उसले पोशाक पनि लामाकै लगाउँछ । उसले टुपी पाल्न हुँदैन । भाक्दा पनि लामाकै भाषामा भाक्छ । भनेपछि त्यो देवता मुलत लामा धर्म अनुसारको देवता रहेछ । त्यसलाई लामाले पनि मानेको छ र खसले पनि मानेको छ ।

नेपालमा खस आर्यले जनजातिलाई दास बनाएका थिए, छन् भनेर आन्दोलन चलिरहेको छ । तर, तपाईं जातीय हिसावले नेपालमा समानता र समन्वय थियो भन्नुहुन्छ । के आधारमा यस्तो भन्न सक्नु भएको ? 
पहिलो, नेपाल राष्ट्रको निर्माण कसरी भयो भन्ने कुरालाई लिन सकिन्छ । विश्वको इतिहासमा जितारले हरुवालाई आफ्नो दास बनाउँछ । तर नेपालमा सदियौंदेखि यस्तो छ कि यहाँ कहिँ कतै जितार पनि छैन हरुवा पनि छैन । नेपाल एक हुनु बाहुनहरुको रणनीति हो । बाहुनहरु त बेद पढेका मात्र हैन, बेदका रचना गर्ने शास्त्रको रचना गर्ने जानकार नै हुन् । उनीहरुले त्यहि शिक्षाले देश एकीकरण गर्ने रणनीति तयार गरे । नेतृत्व कसको भयो त भन्दा क्षत्रीहरुको । 

अनि अर्का थिए लडाका । चार लडाका जाति गुरुङ, मगर, राई, लिम्बु । उनीहरुलाई राजाले क्षत्री, ठकुरी सरह खुँडा हान्ने जातमा दराईदिए माथि नै । त्यतिखेर जो पायो त्यहिले खुँडा हान्न पाउँने थिएन । राजाहरुको नजिकको वा विश्वासिलो पात्रको रुपमा उनीहरुलाई लिइन्थ्यो । मतलव अत्यन्त सम्मान गरिन्थ्यो । 

त्यो बहादुरी ब्रिटिससम्म पुग्यो । त्यसको परिणाम ब्रिटिस रक्षा मन्त्रालयको ठीक सामुन्ने एउटा गोर्खालीे सैनिकको सालिक छ । जसमा लेखिएको छ– ‘ब्रेभेष्ट अफ द ब्रेभ’ ।  यो भनेको बाहादुरको पनि बहादुर । यही हो हामी नेपालीको समन्वयले देश जितेको । जितेको मात्र हैन विश्वले चिनेको पनि त्यही एक अर्कालाई सम्मान गर्ने कारणले हो ।
अहिले भने जस्तो बाहुनले थिचेको, अर्को जाति पेलीएको भन्ने होइन । बरु एक अर्को जातप्रति असाध्य सम्मान र समन्वय थियो, परापूर्व काल देखि नै । अहिले गाँउ पालिका भनेको छ, नगर पालिका भनेको छ, प्रमुख उप–प्रमुख भन्ने होला । तर अघिको संरचनामा तालुकदार, जिम्मुवाल, मुखिया, द्वारे, उमरा, मिरउमरा भन्ने हुन्थ्यो । कति ठाउँमा राई, लिम्बु, गुरुङ, मगरहरु तालुकदार छन् । मुखिया छन्, उमरा छन्, द्वारे छन् । तिनका रैती भएर बाहुन क्षेत्री बसेका छन् । त्यो अहिले पनि छ । कति ठाउँमा बाहुन क्षत्री तालुकदार छन् र गुरुङ मगरहरु रैती भएर बसेका छन् । गाउँ अनुसार कतै बाहुनको कतै मगरको कतै गुरुङको तालुकमा गएर धुरी खडा गरेर अरु सबै जातिहरु बसेका छन् । कसैले कसैलाई दवाएको भने छैन । हाम्रोमा मुखले जे जे भनिए पनि प्राक्टिस फरक छ । दमाईं, सार्की तालुकदार भएर बसेको छ । तिनका रैती भएर अन्य जात जातिहरु तल बसेका छन् । उनको तालुकीमा त नेवार पनि छ, बाहुन पनि छ, गुरुङ पनि छ, मुसलमान पनि छ, सिख र क्रिश्चियन पनि छ । बरु हामीभित्र धनी गरिवमा थिचोमिचो छ भन्न सक्छौ । तर जातका आधारमा भेदभाव हामीले कल्पना पनि गर्न नमिल्ने कुरा हो । प्रतिशतमा यति छ भन्न मिल्ला तर यो समाज दबाईएको समाज हुँदै होइन । यहाँको जातीय र सांस्कृतिक विविधता र त्यसमा देखिएको सुन्दर एकता देख्न नसकेर विदेशीले लगाइदिएको नारा मात्र हो यो । 

विदेशीले नारा लगाएर त्यसका पछि लाग्ने कति कमजोर एकता त हाम्रो ?
सांस्कृतिक हमला गर्नेमा अग्रेजहरु धेरै नै अगाडि छन् । उनीहरु जहाँ जातका कुरा उठ्न सक्दैन त्यहाँ भाषाको कुरा उठाईदिने र जहाँ भाषाको कुरा इस्यु बन्दैन त्यहाँ जातको कुरा उठाईदिने र कतै धर्मको कुरा उठाइदिने गर्छन् ।  उनीहरु च्यातचुत हुँदा पनि हामी मिलेर बसेको देख्न नसकेर यो वा त्यो नारा उठाएर पैसा खन्याउँदै हाम्रो संस्कृतिमाथि हमला गरिरहेका छन् । यसको हामीले भण्डाफोर नै गर्नु पर्छ । 

आर्थिक रुपमा हामी उनीहरु जति सम्पन्न छैनौं । त्यही कमजोरी पाएर यहाँ पैसाको खोलो बगाएर उनीहरु हाम्रो संस्कृतिमा हमला गरिरहेका छन् । यहिँका पनि केही लोभी पापीहरु त्यसमा बिकेर हामी माथि नै यस्ता नारा लिएर खनिएका छन् । यिनलाइ नङ्ग्याउनु जरुरी छ  ।

एउटा कप्तान बाउले छोरालाई ल पढ्न जा भनेर पठायो । उसँगै अर्को एउटा बाहुन साथी पनि पढ्न बस्यो । दुबै एउटै कक्षामा हुन्छन्  । बाहुन टुप्पी कसेर पढ्छ । उसकी आमा नाङलोमा पसल गर्छे, निगुरो बेच्छे । बाउ दूध बेच्छ । पैसा नभएको बाहुन त्यही गुरुङ केटोसँग पैसा सापट मागेर किताब किन्दै पढ्छ । बाबुले पठाएको पैसामा रमाइलो गर्दै गुरुङ केटो पढ्न सक्दैन । बाहुन बीए एमए गर्छ र जिल्लाको सिडियो, सचिव हुन्छ । गुरुङ पछि बाबुको सहायताले युके आर्मीमा भर्ना हुन्छ । अनि उहाँबाट यहाँ बाहुनले सके भनेर हुन्छ ? 

हाम्रो समाजमा जातका कुरा लिएर विभेद भएको भन्ने कसरी आयो ?
मैले अघि नै भनेँ नि । यो कुरा अंग्रेजहरुले ल्याएको कुरा हो । क्रिश्चियनहरुले ल्याएको कुरा हो । अहिले पनि हामीले हिन्दु राज्य स्थापना गर्न चाहेकै हैन । हिन्दु राजतन्त्र खोजेको पनि हैन । तर बुढी मरी भनेर नरुनु काल पल्क्यो भनेर रुनु भनेजस्तै हो । हामी हिन्दु राज्य गएकोमा हैन त्यसपछि क्रिश्चियनीटी भित्रने कुरामा सचेत हुन जरुरी छ । क्रिश्चियन भएका राज्य छन् । मुसलमानका त कति हो कति । अनि हिन्दु राज्य भनेको नेपाल मात्र हो । हामी अहिले रमाएका छौं, गणतन्त्र आयो भनेर । पहिले बाहुन क्षत्री, बैश्य, शुद्र अर्थात् तागाधारी, मतवाली, नमासिने, मासिने भातभान्सा चल्ने, भातभान्सा नचल्ने भन्ने थियो । तर, २०२० सालमा राजा महेन्द्रले नयाँ मुलुकी ऐन ल्याएपछि नेपालमा कानुले नै जातभात प्रथा कायम छैन । 

तर, अहिले त्यो बाहुन, यो दलित, यो जनजाति, यो मधेसी, त्यो पाहाडी भनेर त्यही अमेरिकन एन्थ्रोपोलोजिष्टले ल्यायो । किन भन्दा यहाँको सांस्कृतिक संरचना छिन्नभिन्न भएपछि त्यस देश र देशबासीहरु उनीहरुका दास हुन्छन् । अर्को देशमा सांस्कृतिक हमलाबाट नै आफ्नो कब्जामा पार्न सकिने भएकोले उनीहरुले यसरी हाम्रो समाजमा जात जातको बीऊ रोपिदिएका छन् । यो उनीहरुको देश फुटाउने ग्राण्ड डिजाइन हो । हाम्रो कारणले होइन । तर यहाँ त प्रज्ञिक ब्यक्तिहरु नै बेइमान भैदिनाले देश यो अशस्थामा आइपुगेको हो । 

जुन देशमा पढ्न गयो त्यहि देशको एजेन्ट भएर आउँछ । नेताहरु त्यस्तै धर्मको र जातको झगडा उठाउन भनेर नै पैसा बुझेर आउने । अनि यति सुन्दर हाम्रो समाज भत्कन कति समय लाग्छ ? हिजो चुँडिएको चप्पल सिलाएर लगाउने तिनीहरु अहिले आलीसन महलमा र प्राडो पजेरोमा कसरी पुगे ? त्यहि क्रिश्चियनहरुको पैसा होइन ? यहाँ त जो अगुवा त्याहि बाटो हगुवा भने झैं भयो र तिनीहरुकै कारण समाज बिश्रृंखलित भयो । हाम्रो समाजका प्राज्ञिक ब्यक्तित्व र राजनैतिक नेताहरुबाट हामीलाई धोका भएको छ । तिनीहरुलाई महलमा पुर्याउन हामीले हाम्रो समाज भताभुङ्ग बनाइसक्यौं । अब ब्युँझिनु पर्छ । जात होइन बर्ण होइन देश भनौं । 

नेपाललाई एउटै मालामा उन्ने सुत्र के होला ?
हाम्रो संस्कृति नै हो । नेपाली संस्कृति समन्वयात्मक छ । नेपाली संस्कृति द्वन्द्वात्मक कहिल्यै थिएन । द्वन्द्वात्मक भौतिकवादले दुई वा दुई भन्दा बढी तत्व मिल्दा द्वन्द्व हुन्छ । संघर्ष हुन्छ भन्छ । त्यही संघर्षको आधारमा बर्गबिहिन समाज बनाउनु पर्छ भन्छ । तर हाम्रो पूर्वीय समाज के छ भन्दा समन्वयात्मक अध्यात्मवाद भन्ने हो । यसमा दुई वा दुई भन्दा बढी तत्व मिल्दा समन्यय हुन्छ, सदभाव हुन्छ, सहिष्णुता कायम हुन्छ, सहअतित्व हुन्छ । अनि शान्ति कायम हुन्छ । शान्तिमेव शान्ति भनेको शान्तिको माध्यबाट नै अर्को शान्ति कायम हुन्छ । संघर्ष गरिरहनै परेन । यो हाम्रो चाहिँ समन्वयात्मक अध्यात्मवाद हो । यस पृष्ठभूमीमा नेपाली संस्कृतिको विकास भएको छ । यही धरातलमा नेपाल राष्ट्र बनाउनु पर्छ । 

सिंजामा बाह्रभाइ मष्ट, दश बैनी भवानी भन्ने चलन छ । मष्ट भनेको खस संस्कृतिको प्रमुख विशेषता हो । १२ मष्ट हुन्छन् । मष्ट भनेका दाइहरु र दश बैनी भवानी भनेका तिनका बैनीहरु हुन् । ती बैनीहरुको नाम ठिग्याल्नी, पुग्याल्नी थियो । त्यो जाड भाषा हो । जाड अर्थात भोटे भाषा हो । ती सबैको एउटा साझा लामा हुन्छ लामाबिष्णु । ती एउटै देवतामा लामा पनि मान्ने बिष्णु पनि मान्ने ।

तपाईं यसो भन्नुहुन्छ तर, शासकीय ठाउँमा जाजातिलाई पहिले देखि नै माथि उठ्न दिइएन भनिन्छ नि त ? 
त्यस्तो होइन । म तपाईंलाई इतिहासको एउटा घटना स्मरण गराउँछु । १८४९ सालमा नेपाल भोट युद्ध भयो । चीनका बादसाहका ज्वाइँ उजिर टुङथाङ विशाल चिनियाँ सेना लिएर बेत्रावतीमा आइपुगे । तिनिहरुसँग लड्न नेपाली फौज त्यहाँ पुग्यो । त्यहाँबाट काठमाडौं त एक दिनको बाटो थियो । यहाँ आएको भए त उहिल्यै यो भोटको भैसक्थ्यो । ती सेना महिनौं देखि त्यहाँ लडे । कति महिना देखि तिनिहरु भोकभोकै लडे । पछि त्यहाँ सन्धी गर्नु पर्ने भो । कपर्दार भोटु पाण्डे क्षत्री र टक्सारी नर्सिङ गुरुङलाई त्यहाँ पठाइयो । सन्धी पछि ती विशाल चिनियाँ सेना बेत्रावतीबाट फर्के । त्यो सारा काममा भूमिका भोटु पाण्डे र नर्सिङ गुरुङकोे रहेको छ । तर भोटु पाण्डे कपर्दारको कपरर्दार नै रहे । नर्सिङ गुरुङ भने काजी भए । हरेक वर्ष बादशाहको नजराना अर्थात सौगात लिएर नेपालबाट प्रतिनिधि जानु पथ्र्यो, उनी त्यसको प्रमुख भएर त्यहाँ जान्थे । बादशहकोमा पुगेका उनलाई शाही भन्ने पद्बी दिएर पठाएको छ भने राज्यले चाहिँ थिचेको छ कि बढवा दिएको छ ? त्यसैले अब समाजमा यो डलरबादीहरुले फैलाएको नचाहिंदो कुरा चिर्नु पर्छ । 

नालापानीको किल्ला कसले बनायो ? त्यो कप्तान अंगद घलेले बनाएको हो । कप्तान अंगद घलेले बनाएको नालापानी किल्लामा बलभद्रले डटेर लडे । त्यहाँ पनि एउटा क्षत्री र एउटा गुरुङ आयो नि हैन ? त्यस्तै कप्तान भक्ति थापाले ७२ बर्षको उमेरमा खुँडा हानेर मलाउको किल्लामा बीरगति प्राप्त गरे । जुन बेलामा ती त्यो उमेरमा लडे त्यही समयमा राजगडको युद्धमा सुब्बा प्रल्हाद गुरुङले पनि बीरगति प्राप्त गरे । तैनाथको नगरा निसाना उसैको सन्तानलाई सुम्पियो । अहिले पनि त्यो नगरा निसान अहिले पनि कास्कीको चौर गाउँमा उसकै छोरा जयमंगल गुरुङको घरमा छ । बर्षको एक पटक त्यसलाई पूजा गर्ने चलन छ । लु हेरौ त बडाकाजी भक्ति थापाको घरमा त्यो छ त ? छैन । न भक्ति थापाको घरमा नगरा निसाना छ न बलभद्र कुँवरको घरमा नै । तर सुब्बा प्रल्हाद गुरुङको घरमा त्यो नगरा निसाना छ । जनजातिलाई हेपिएको र सम्मान नदिइएको कसरी भन्न सकिन्छ ? क्षत्री बलभद्र कुँवर र भक्ति थापाका सन्तानको घरमा नगरा निसाना छैन प्रल्हाद गुरुङका सन्तानको घरमा छ । 

नेपाल भोट युद्धमा बेत्रावतीमा कपर्दार भोटु पाण्डे क्षत्री र टक्सारी नर्सिङ गुरुङलाई सन्धी पठाइयो । सन्धीपछि ती विशाल चिनियाँ सेना बेत्रावतीबाट फर्के । त्यो सारा काममा भूमिका भोटु पाण्डे र नर्सिङ गुरुङकोे रहेको छ । तर भोटु पाण्डे कपर्दारको कपरर्दार नै रहे । नर्सिङ गुरुङ भने काजी भए । चिनियाँ बादशहकोमा पुगेका टक्सारी नर्सिङलाई शाही भन्ने पद्बी दिएर पठाएको छ भने राज्यले जनजातिलाई थिचेको छ कि बढवा दिएको छ ?

हामी लडाईंको मोर्चामा मात्र भयौं अनि बाहुन क्षत्रीले चाहिँ हामीमा शासन गरेका छन् भन्ने कुरा उठाउँछन् नि त ?
कि उताको कुरा छोड्नु कि यताको कुरा छोड्नु पर्यो, यस्तो आवाज उठाउने जनजातिले । त्यो पैसा पनि चाहिँने अनि यहाँको पद पनि सुहाउँदैन यो कुरा । एउटा कप्तान बाउको छोरो ल पढ्न जा भनेर पठायो । उ सँगै अर्को एउटा बाहुन साथी पनि पढ्न बस्यो । दुबै एउटै कक्षामा हुन्छन्  । बाहुन टुप्पी कसेर पढ्छ । किनकि उसको आमा नाङलोमा पसल गर्छे, निगुरो बेच्छे । बाउ दूध बेच्छ । पैसा नभएको बाहुन त्यही गुरुङ केटोसँग पैसा सापट मागेर किताब किन्दै पढ्छ । बाबुले पठाएको पैसामा रमाइलो गर्दै गुरुङ केटो पढ्न सक्दैन । बाहुन बीए एमए गर्छ र जिल्लाको सिडियो, सचिव हुन्छ । गुरुङ पछि बाबुको सहायताले युके आर्मीमा भर्ना हुन्छ । अनि उहाँबाट यहाँ बाहुनले सके भनेर हुन्छ ? त्यो एकै पटक पुग्ने ठाँउ होइन । त्यो ठाँउमा पुग्न धेरै लगानी छ भन्ने बुझ्नु पर्छ । समय र पैसाको सदुपयोग आफू गर्न नसकेर अरुलाई दोष दिएर हुँदैन । त्यो नगर्ने अनि बाहुन सरापेर हुन्छ ?

यसको अर्थ राज्यले थिचेको पनि छैन मिचेको पनि छैन । जहाँ जहाँ सम्मान दिनु पर्ने हो त्यो गरेको छ । म त भन्छु अहिले मात्र हैन हिजैदेखि राज्यले जातजातिलाई उच्च सम्मान गरेको छ । अहिले यस्तो जातको कुरा उठ्नु धेरै नै दुःखद् छ । यसरी हुन्न अब हामीले राष्ट्रलाई के दिंदै छांै सोच्ने बेला आयो ।

Saturday, April 1, 2017

सन् २०३५ सम्ममा ६६ प्रसारण लाइन

पत्र पत्रिका बाट  -साभार  http://www.abhiyan.com.np/new/Articles/view/95576 

 http://biekopalharu.blogspot.com/

  • कुल लागत ५ अर्ब १५ करोड अमेरिकी डलर
  • भारत र चीन दुवैतिर जोड्ने योजना
चैत १९, काठमाडौं । सन् २०३५ सम्ममा निर्माण पूरा हुनेगरी विद्युत् प्रसारण लाइनसम्बन्धी ६६ ओटा आयोजना अघि बढाइएका छन् । त्यसमध्ये ४७ आयोजना निर्माणाधीन छन् भने १९ ओटा निर्माणको विभिन्न चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रणाली योजना विभागले जानकारी दिएको छ । निर्माणाधीन ४७ मध्ये केही नेपाल सरकारको लगानीमा निर्माण भइरहेका छन् भने केहीमा दातृ निकायको लगानी रहेको छ । त्यसअन्तर्गत १९ ओटा आयोजना सरकारको मात्रै लागतमा निर्माण भइरहेका छन् । त्यस्तै ७ ओटामा एशियाली विकास बैङ्क (एडीबी) र ५ ओटामा विश्व बैङ्कको लगानी रहेको छ ।
यसैगरी ६ ओटा आयोजना संयुक्त लगानीमा बनिरहेका छन् । संयुक्त लगानीमा बनिरहेका आयोजनामध्ये चारओटामा नेपाल सरकार र भारतको संयुक्त लगानी रहेको छ भने २ ओटामा जर्मन विकास बैङ्क र यूरोपेली इन्भेष्टमेण्ट बैङ्कको लगानी रहेको छ । निर्माणाधीनमध्येका ६ ओटा आयोजना स्वयं परियोजना व्यवस्थापनबाट बनिरहेका छन् । त्यस्तै चारओटा प्रसारण लाइन भने सिमेण्ट उद्योगलाई लक्षित गरेर निर्माण भइरहेका छन् । प्रसारण लाइनसम्बन्धी ती सबै आयोजना पूरा गर्नका लागि करीब ५ अर्ब १५ करोड अमेरिकी डलर लाग्ने अनुमान छ । उक्त रकममध्ये करीब १ अर्ब ९० करोड अमेरिकी डलर प्रसारण लाइनमा र करीब १ अर्ब ७५ करोड अमेरिकी डलर सबस्टेशन निर्माणमा लाग्ने बताइएको छ ।
नेपाल–भारत करिडोरमा ११ प्रसारण लाइन
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन गुरु योजनाअनुसार सन् २०३५ सम्ममा ६ ओटा करिडोरबाट ११ क्रशबोर्डर प्रसारण लाइन बनाइने छन् । त्यसमध्ये एक ढल्केवर–मुजप्mफरपुर प्रसारण लाइन निर्माण भइसकेको छ । यो प्रसारण लाइन हुँदै अहिले नेपालले १४५ मेगावाट विद्युत् आयात गरिरहेको छ ।
नेपाल–चीन प्रसारण लाइन पनि प्रस्ताव
नेपाल–चीन क्रशबोर्डरको विषय यतिबेला प्रारम्भिक प्रस्तावका रूपमा रहेको छ । चीनको एक टोलीले प्राधिकरणमा सम्पर्क गरी दुई देशबीचको विद्युत् प्रसारण लाइनका लागि बाटोसहितको सम्भाव्यता अध्ययनका लागि तथ्याङ्क माग गरेको थियो । त्यसअन्तर्गत सम्भावित मार्गका रूपमा चीनको केरुङस्थित जिलोङमा सबस्टेशन–रसुवागढी–चिलिमे हब सबस्टेशन हुँदै गल्छी हब सबस्टेशनसम्मको ४०० केभी प्रसारण लाइन तान्ने भन्ने योजना रहेको छ । यो प्रसारण लाइन जम्मा १ सय १५ किलोमिटरको हुनेछ ।
त्यसैगरी भारतसँगको अर्को अन्तरदेशीय प्रसारण लाइनका रूपमा रहेको नयाँ बुटवल–गोरखपुर ४०० केभी रहेको छ । हाल यसको २२० केभीको सबस्टेशन निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले बताएको छ । त्यसका लागि प्रसारण लाइन अध्ययन प्रतिवेदन (डीपीआर)समेत पेश भइसकेको छ ।
भविष्यमा अन्य ४ स्थानबाट समेत भारतसँगको अन्तरदेशीय प्रसारण लाइन विस्तार गर्ने योजना रहेको छ । त्यसमा अत्तरिया–बरेली ४०० केभी, लम्की–बरेली ४०० केभी, कोहलपुर (छिन्चु)–लखनउ ४०० केभी र इनरुवा (दुहबी)–पूर्णियाँ ४०० केभी प्रसारण लाइनहरू रहेका छन् । यी सम्पूर्ण प्रसारण लाइनबाट विद्युत् आयात तथा निर्यात दुवै गर्ने योजना रहेको छ ।  
५ प्रसारण आयोजना सम्पन्न
देशका विभिन्न पाँचओटा प्रसारण लाइनको काम सम्पन्न भएको छ । त्यसमध्ये एक मुजप्mफरपुर–ढल्केवर–खिम्ती अन्तरदेशीय प्रसारण लाइन रहेको छ भने बाँकी आन्तरिक तथा औद्योगिक प्रसारण लाइनहरू छन् । यसैक्रममा एउटा ग्रीडको सुदृढीकरण पनि गरिएको प्रणाली योजना विभागले बतायो ।
सम्पन्न प्रसारण लाइन
- ढल्केवर–मुजफ्फरपुर ४०० केभी (नेपाल खण्ड)
- हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी दोस्रो
- बुटबल–कोहलपुर १३२ केभी
- भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी
- मिर्चैया–कटारी १३२ केभी
- हेटौंडा–कमाने १३२/३३ केभी
- ग्रीड सुदृढीकरण

 


पाटन कलेजमा बीएस्सी अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ...सञ्चालनमा

पत्र पत्रिका बाट  -साभार    अन्नपूर्ण शुक्रवार, चैत १८, २०७३


काठमाडौं : बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायरको सम्बन्धनमा पाटन कलेज फर प्रोफेसनल स्टडिजले पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयको सम्बन्धनमा स्नातकअन्तर्गत बीएस्सी अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन विषयको पढाइ सञ्चालन गरिएको कलेजका अध्यक्ष पंकज जालानले जानकारी दिए ।
बेलायतको टाइम्स यूकेको र्यांकिङ अनुसार एक सय ३० वर्ष पुरानो युनिभर्सिटी अफ बेडफोर्डसायर विश्वको उत्कृट आठ सय विश्वविद्यालयमध्ये एक भएको जालानले दाबी गरे । उक्त विश्वविद्यालयमा विश्वभरका एक सय २० मुलुकका २२ हजार विद्यार्थी अध्ययनरत छन् ।
तिन वर्षको अध्ययन अवधि र तीन सय ६० क्रेडिट आवर भएको बीएस्सी अनर्स इन कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ र ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन कोर्स पढेका विद्यार्थी आफूले पढेको विषयमा पारंगत हुने कलेजले जनाएको छ ।
विद्यार्थीले चाहेमा यस पाटन कलेज फर प्रोफेसनल स्टडिजमा प्रथम वर्षको अध्ययन नेपालमा गरेर बाँकी समय युनिभर्सिटी अफ बेडफोर्डसायर, बेलायतको मूल क्याम्पसमा गर्न सक्नेछन् ।पाटन कलेज फर प्रोफेसनल स्टडिज, दुई दशक पुरानो लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबीईएफ)को भगिनी संस्था हो । एलबीईएफबाट करिब पा“च हजारभन्दा बढी व्यक्तिले सूचना प्रविधि, व्यवस्थापनलगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेका छन् ।
यहा भएको 'प्रिजेन्टेसन रुम', डिजिटलाइज्ड छ । स्टुडेन्ट चिल आउट जोनमा विभिन्न प्रकारका इनडोर गेमको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीका लागि स्वस्थकर, स्वच्छ क्याफ्टेरियाको व्यवस्था छ । कलेज परिसरमा २४ सै घन्टा उच्च गतिको वाइफाइ इन्टरनेट सुविधा छ ।

Thursday, March 16, 2017

नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस सरकार

पत्र पत्रिका बाट  -साभार  

 http://www.annapurnapost.com/news/66640

 मनोहरकुमार बिहीबार, चैत ३, २०७३ 


नेपाल सरकार मेटेर मोर्चाले लेख्यो मधेस सरकार

राजविराजः सप्तरीको राजविराज क्षेत्रमा रहेको स्थानीय निकायका कार्यलयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार तालाबन्दी गरेका छन् । मोर्चाका संयोजक दिनेशकुमार यादवको नेतृत्वमा पुगेका मोर्चा कार्यकर्ताले जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालय प्रमुख र प्रशासन कक्षमा समेत ताला लगाएका छन् ।
तालाबन्दी गर्न गएका मोर्चा कार्यकर्ताले एक दिन अघि मात्र लेखिएको जिल्ला समन्वय समितिको कार्यालय मेटाई सो स्थानमा जिल्ला विकास समितिको कार्यालय र नेपाल सरकार मेटाई सो स्थानमा मधेस प्रदेश सरकार लेखेका छन् ।
स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको मोर्चाले बिहीबारदेखि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयन भएपछि तालाबन्दी गरेको हो । जिल्लाका सबै गाविस, नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गर्ने जनाएको मोर्चाले तालाबन्दी अनिश्चित रहने बताएको छ ।
आगामी बैशाख ३१ गतेका लागि निर्धारित स्थानीय निकायको निर्वाचन र स्थानीय तह पुर्नसंरचना कार्यान्वयन हुन नदिने मोर्चाले निर्णय गरेको छ

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

पत्र पत्रिका बाट  -साभार  

 http://www.annapurnapost.com/news/66611

 

म्याग्दी: मङ्गला गाउँपालीका-१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन्।
चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन्।
छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख आम्दानी गरेका थिए।
“यसपाली दुई सय घार मौरी बेच्ने लक्ष्य छ,” उनले भने। गत वर्ष उहाँले रु एक लाख ५० हजार बराबरको मह बिक्री गर्नुभएको थियो । अहिले उनले एपी सेरेना जातको ९८ घार मौरी पालेका छन्। केसीले प्रतिघार मौरी रु छ हजार ५०० तथा मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका छन्।
एउटै घारबाट वर्षमा तीन वटासम्म घार छुट्टाउन सकिने उनको भनाई छ। कम समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने केसीको अनुभव छ। उनी जिल्ला कृषि विकास कार्यालयद्वारा प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्। रासस

मधेश, संशोधन अनि स्थानीय निर्वाचन

पत्र पत्रिका बाट  -साभार  

http://gorkhapatraonline.com/news/37352

 

 शिवकुमार भट्टराई


सर्सती हेर्दा आगामी वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भइछाड्छ ।  कारण तोकिएको निर्वाचन सफल पार्न प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहमत छन् ।  यति ठूलो शक्ति सहमत भएपछि चाहेको काम नहुने त कल्पना गर्न पनि भएन ।  हुन पनि लामो अन्तरालपछिको निर्वाचनमा सहभागी हुन नेपाली नागरिक आतुर देखिन्छन् ।  यसका लागि ठूला दलहरूलाई दबाब पनि परेको हो ।  यसो भनिरहँदा हामीले एउटा पाटो भने चटक्कै बिर्सिएको प्रतीत हुन्छ ।  मधेशी मोर्चा यथास्थितिमा चुनावको पक्षमा बिल्कुलै देखिँदैन ।  अर्थात् अहिले उनीहरूको मागको सुनुवाइ नगरी चुनाव गर्ने हो भने कतिपय मधेशी जनताको भावना लत्याउनैपर्छ ।  अर्थात् मधेशी मोर्चाले उठाएका मागको सुनुवाइ नगरी निर्वाचन गर्दा त्यसले दिने सन्देश कस्तो होला ? प्रश्न यतिमात्र हो ।  चुनावको वैधानिकता होला तर राजनीतिक हैसियत कस्तो हुने ?
मधेश र मधेशी जनताको कुरा गर्दा कतिपय भ्रम नछरिएका होइनन् ।  मधेशमा बस्ने जति सबै भारतका दलाल हुन् भन्ने सोचले यदाकदा काम गर्ने गरेको छ ।  तर इतिहास साक्षी छ, मधेशी नागरिक सधैँ अखण्ड र सार्वभौम नेपालको पक्षमा सतिसाल भएर उभिएको छ ।  आजपर्यन्त मधेश टुक्र्याउने कुरा नागरिक तहबाट उठेको छैन ।  मुलुकलाई सङ्कट पर्दा होस् या जुनसुकै अवस्थामा पनि मधेशले ढालका रूपमा सुरक्षा प्रदान गरेको पाइन्छ ।  यद्यपि, कतिपय छट्टु नेता मधेशका नाममा दुनो सोझ्याउन नपल्केकाचाहिँ होइनन् ।  छिमेकीको इसारा र चाहनामा कतिपय अराष्ट्रिय काम उनीहरूबाट नभएका होइनन् ।  तर, उनीहरूको गल्तीलाई समग्र मधेशी जनताको अवधारणा मानियो भने भयानक अन्याय हुनेछ ।  त्यसको प्रमाणका रूपमा हामी मधेशी मतदाताले ती नेतालाई हराएर काँग्रेस एमालेलाई विजयमाला पहि¥याएको घटना बिर्सन मिल्दैन ।  अहिले पनि मधेशमा बलियो जनाधार मूलधारका राष्ट्रिय पार्टीकै रहेको पाइन्छ ।  मधेशको नाममा च्याँखे थाप्न खोज्ने छट्टु स्याल कथा अब मधेशी नागरिकले चाल पाइसकेका छन् ।  यी नेताहरूले मतदाताको विश्वासलाई श्रीमतीको जागिररूपी सांसद र मन्त्रीमा रूपान्तरण गरेको सत्य कसैबाट छिपेको छैन ।  अहिलेको रुन्चे राजनीति पनि यस्तै सोचबाट ग्रस्त छ ।
यति हुँदाहुँदै पनि मधेश अझ खासगरी प्रदेश नं. २ को जनभावना भने ती नेताको भन्दा नागरिक तहबाट उठेको हो ।  विगतमा एमालेका नेताहरूबाट गरिएका टिप्पणीले यहाँका मतदाताको मन कँुडिएको प्रतिक्रया नआएको होइन ।  यो अवस्थामा केही नेताले धमिलो पानीमा माछा मार्ने प्रयत्न नगरेको अवश्य होइन ।  तर, मधेशी जनताको भावनालाई मूलधारका दलहरूले स्थान नदिँदा समस्या थप पेचिलो बन्न सक्छ ।  त्यसैको प्रतिक्रियास्वरूप सप्तरीको मलेठमा स्थानीयले एमाले र नेतृत्वको प्रतिरोध गरेका हुन् ।  यो यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ ।
यसै प्रसङ्गमा संयुक्त मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजनीतिक प्रचार गरे पनि त्यसले वैधानिक आकार ग्रहण गर्ने अवस्था भने छैन ।  वर्तमान सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्ने भन्दै गएको पुसमा संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ ।  सरकारलाई समर्थन गरेको मोर्चाको माग राजनीतिक रूपमा सही ठहर गर्दै प्रस्ताव दर्ता भएको हो ।  सो प्रस्तावको विपक्षमा एमालेले ठूलै बबण्डर थियो ।  त्योे अवस्था अहिले पनि ज्यूँका त्यूँ छ ।  यस्तो परिवेशमा मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नु भनेको वैकल्पिक सरकार निर्माणका लागि प्रतिपक्षी दललाई आग्रह गर्नु हो भन्ने राजनीति अर्थ लाग्छ ।  तर, मोर्चा एमालेका लागि सहज हुने वातावरण तयार गर्न किमार्थ तयार छैन ।
२०७२ असोजमा संविधान जारी गर्दा मधेशीका भावना समेट्न छुटेकै हो भनेर ठूला दलहरूले स्वीकारेकाले नै संशोधन प्रक्रिया अघि बढाइएको थियो ।  त्यसको औचित्य अझै सकिएको छैन ।  जहाँसम्म स्थानीय तहको चुनावको कुरा छ, त्यो सबैको चाहनाको विषय हो ।  चुनावमा सबैलाई समेटेर लैजान सक्दामात्रै लोकतन्त्र बलियो र सुदृढ हुनेछ ।  खासगरी मोेर्चालाई पनि यो प्रक्रियामा सहभागी गराउन सक्नुपर्छ ।  यसका लागि संविधान संशोधन प्रक्रिया अघि बढाउनु जरुरी छ ।  त्यसैले संशोधन र निर्वाचन दुवै प्रक्रिया सँगसँगै लैजाने वातावरण तयार गरिनु आवश्यक छ ।  यसमा मुलुकको सबैभन्दा ठूलो र जनमत प्राप्त दल नेपाली काँग्रेसले लिने अग्रसरताको अर्थपूर्ण रहन्छ ।  विडम्बनाको कुरो, ठूलो, पुरानो र विश्वासिलो दलको छवि बनाएको काँग्रेस आफैँ चाउरिएको छ ।  जनताको सबैभन्दा बढी मत पाएको भए पनि अर्काको मुद्दा पछ्याउनुपर्ने बाध्यता काँग्रेस नेतृत्वको नियति बन्न पुगेको छ ।  सत्ता र पद प्राप्तिको तृष्णाले नेतृत्व कमजोर बनेको छ ।  मधेश जे भए पनि काँग्रेसको आधार भूमि हो ।  अधिकांश मधेशी काँग्रेसप्रति आशावादी देखिन्छन् ।  त्यसैले मधेश र मधेशीको मुद्दामा काँग्रेसले संवेदनशीलता देखाउनुपर्ने हो ।  गएको संविधानसभा निर्वाचनमा मधेशबाट सबैभन्दा बढी मत काँग्रेसलाई नै प्राप्त भएको थियो ।  ती मतदाताको भावनाको कदर गर्न काँग्रेस चुक्नु भएन ।  यसका लागि अहिले नै संशोधन र निर्वाचन दुवै प्रक्रियालाई एकैसाथ लिएर सबै अटाउने निर्वाचनको माहोल बनाउन अग्रस्थानमा आउनुपर्छ ।  यसका लागि विभिन्न दल र पक्षसँग परिणाममुखी वार्ता गर्नुपर्ने अवस्था छ ।  आगामी चैत १० गते हुने केन्द्रीय कार्यसमिति बैठकमा यही विषयले प्राथमिकता पाउनुपर्छ ।  झण्डै पाँच महिनापछि हुन लागेको कार्यसमिति बैठकले मधेशको समस्या हल गर्ने उपाय खोज्नैपर्छ ।  यति भएमात्र काँग्रेसले मधेशप्रति न्याय गरेको ठहर्छ र आसन्न निर्वाचनमा पुरानो विश्वास र भरोसाको पुनरावृत्ति हुनेछ ।
यो प्रक्रियामा प्रमुख प्रतिपक्षी दल एमालेको भूमिका कम आँक्न मिल्दैन ।  सरकारले संशोधन प्रस्ताव पारित गर्न ३९६ को अङ्कगणितीय हिसाब मिलाउने मात्र नभई विश्वासको वातावरण तयार गर्न अग्रसरता देखाउनुपर्छ ।  अहिले जतिसुकै विरोध भए पनि एमालेले पनि संसद्मा मतदानकै अवस्था आए हालको प्रस्ताव परिमार्जन गरी पक्षमा मत दिने निर्णयमा पुग्नेछ ।  साथै राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत परिमार्जनसहितको संशोधन स्वीकार्ने जनाउ दिइसकेको अवस्था छ ।  त्यसैले एमालेलाई एक्ल्याएर दुईतिहाइको यात्रा तय गर्न खोज्दा विभिन्न अड्चन र ध्रुवीकरणको संभावनालाई बल पुग्नेछ ।  यो अवस्था दीर्घकालका लागि मुलुकको हितकर हुने छैन ।  एमाले स्वयम्ले पनि यो वस्तुस्थितिलाई सही विश्लेषण गर्न सकेन भने मुलुकले ठूलै क्षति बेहोर्नुपर्नेछ ।  विगतमा मेची–महाकाली अभियान कहाँ, कसरी गर्ने भन्ने विषयमा सही विश्लेषण गर्न नसक्दा सप्तरीमा ठूलो क्षति भएको हो ।  मधेशी जनताको मनमस्तिष्कमा रहेको भावनालाई संवैधानिक हक–अधिकारको आवरणमा कुल्चिन नसकिने अवस्थाको आँकलन गर्न नसकेकै हो एमालेले ।  केवल स्थानीय तहको निर्वाचनमा आफूमात्रै विजयी हुने अहङ्कार र अभिमानले एमालेलाई ग्रस्त पारेको अनुभूति भएको छ ।  आफ्ना नेताले विगतमा मधेशी जनताप्रति गरेको विषबमन र दुर्वाच्यको ख्याल नगर्दा यो अवस्था आएको हो ।  सही समयमा सही निर्णय गर्न चुकेकैले सप्तरी दुर्घटना भएको यथार्थ एमाले नेताले अहिले नमाने पनि कालान्तरमा स्वीकार्नैपर्छ ।  यद्यपि, पाँचजनाको ज्यान जाने अवस्था निर्माण भएलगत्तै प्रदेश नं. २ का कार्यक्रम स्थगित गरेर भूल स्वीकारेको अर्थमा बुझ्न गाह्रो छैन ।  देशको जिम्मेवार दल हो भन्ने सन्देश प्रवाहित गर्न र घोषित निर्वाचन सहज तुल्याउनसमेत संसद्मा दर्ता भएको संशोधन प्रस्तावको व्यवस्थापनमा एमाले सकारात्मक हुनु जरुरी छ ।  उता, एमालेइतरले उसलाई एक्ल्याएर कुनै निर्णय गरिहाल्यो भने त्यसको संवैधानिक अर्थ भए पनि राजनीतिक अर्थ भने शून्य हुन सक्छ ।
समग्रमा हेर्दा आगामी चुनावको भविष्य संशोधन प्रस्तावको व्यवस्थापनमा निर्भर देखिन्छ ।  प्रस्ताव परिमार्जनसहित पारित हुने अवस्था निर्माण हुँदाको निर्वाचनले मात्रै मुलुकलाई निकास दिन सक्छ ।  अन्यथा चुनावको नाममा मधेशको ठूलो हिस्सा मुठभेडमा जाने स्थिति छ ।  यो वास्तविकता मुलुकमा क्रियाशील ठूला राजनीतिक दलहरूलाई भलिभाँती ज्ञात छ ।  त्यसैले राजनीतिक सङ्क्रमण नटुङ्ग्याउनेगरी हुने निर्वाचनले मुलुकलाई नयाँ द्वन्द्वमा लैजाने अवस्था निर्माण नगर्ला भन्न पनि सकिन्न ।  अहिले व्यक्ति गुट वा पार्टीभन्दा माथि उठेर नेताहरूले सोच्ने बेला हो । 

अपहरणमा संलग्न प्रनानि पक्राउ

पत्र पत्रिका बाट  -साभार  

http://gorkhapatraonline.com/news/37401

काठमाडौं, चैत ४ गते । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) नै एक वैदेशिक रोजगार कम्पनी सञ्चालकको अपहरण घटनामा संलग्न रहेको अभियोगमा विहीवार पक्राउ परेका छन् ।
अपराध महाशाखाबाट महानगरीय प्रहरी वृत गौशालामा खटिएका ३२ वर्षीय सम्वत तामाङ धुम्वाराहीस्थित टाइगर ओभरसिजका सञ्चालक बद्री राईलाई अपहरण गरी दुई लाख ३० हजार नगद फिरौती र एक करोड रुपियाँको चेक लिई छोडेको अवस्थामा पक्राउ परेका हुन् ।
उहाँसँगै सहयोगी गौशाला वृतमा कार्यरत प्रहरी जवान सूर्यबहादुर थापा, अपहरण घटनाका योजनाकार कुमार भन्ने रुपन्देही देवदहका राजकुमार गुरुङ र काभ्रे शिखर धम्बोटेका अर्जुनबहादुर लामा पनि पक्राउ परेका छन् ।
प्रहरीको सशस्त्र दंगा गण मेची दरवन्दी भएका सई तामाङ र महानगरीय प्रहरी दंगा गण त्रिपुरेश्वरमा दरवन्दी भएका जवान महाशाखाबाट बृत गौशालामा खटिएका सादा पोसाकका (घुमुवा ) प्रहरी कर्मचारी हुन ।
उहाँहरुले राजकुमार र अर्जुनको योजना अनुसार, म्यानपावर सञ्चालक राईलाई आफूहरु सिआइबी प्रहरी हुँ भन्दै सुरुमा फुर्पा शेर्पा नाम गरेको सुन तस्कर कहाँ छ ? कता लुकाई ? सबै कुरा खोल भन्दै धम्की दिनुभएको थियो ।
सो धम्कीबाट डराएका राईलाई गत माघ १ गते साँझ कोटेश्वर बोलाई त्यहाँबाट अपहरण गरी सिनामङ्गलस्थित एक घरमा पु¥याएर बन्धक बनाई साथमा रहेको नगद दुईलाख ३० हजार र नबिल बैंक तथा राष्ट्रिय वाणिज्य बैंङ्कको दुई÷दुईवटा चेक काट्न लगाइ एक करोड रुपियाँ निकाल्ने योजना अनुरुप उहाँहरु फरार हुनुभएको थियो ।
चेकमा सई सम्वत तामाङ, प्रसाद गुरुङ र धिरज गुरुङको नाम उल्लेख गर्न लगाइएको थियो । सो घटना भएको एक महिनापछि पीडित राई चेकमा नाम उल्लेख भएका व्यक्तिको विषयमा उजुरी दिन अपराध महाशाखा पुग्नुभएको थियो ।
महाशाखाका प्रहरी नायव उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले अपहरणमा संलग्न त्यस समूहलाई प्रहरी वृत गौशालामा कार्यरत रहेकै बेला पक्राउ गरेको हो ।    

 =======


काठमाडौं : अपहरणमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले गौशाला वृतमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सईद्वय सूर्य थापा र सम्बत तामाङ रहेका छन्। ३२ बर्षीया सम्बत महाशाखाअन्तर्गत गौशाला वृतमा खटिएका थिए। सूर्य भने काठमाडौं परिसरअन्तर्गत गौशाला वृतमा कार्यरत हुन्।
सम्वत मंगलबार र सूर्य बिहीबार दिउँसो पक्राउ परेका हुन्। अपहरणमा संलग्न भएको आरोपमा काभ्रेका अर्जुनबहादुर लामा र रुपन्देहीका कुमार भन्ने राजकुमार गुरुङ पनि पक्राउ परेका छन्।
उनीहरुले धनकुटाका बद्री राईलाई अपहरणगरी दुई लाख ३० हजार रुपैयाँ नगद लिएका थिए भने नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाममा २५÷२५ लाखका चार वटा चेक समेत काट्न लगाएका थिए।
यस्तो थियो घटना
राजकुमार र सम्बत पहिलादेखी नै साथी थिए। यता अर्जुन र राजकुमारबीच पनि चिनजान थियो। अर्जुनले सुन तस्करीमा सक्रिय भरिया फुर्पा तामाङ सुनसहित बेपत्ता भएको सूचना जानकारी पाए। फुर्पा नाताले बद्रीका नाती पर्छन्।
फुर्पाले विदेश जानको लागि आफ्नो राहदानी म्यानपावर व्यावसायीलाई दिएको चाल पाए। यहाँबाट सुरु भयो ‘ब्ल्याकमेलिङ’, अर्जुनले घटनाबारे राजकुमारलाई बताए। राजकुमारले प्रहरीको साथ लिए, सम्बतका रुपमा। सम्बतलाई अर्का सई सूर्यले साथ दिए।
उनीहरुले ‘टर्चर’ दिन थाले। प्रहरी समेत सहभागी भएकाले बद्री तनावमा हुनु स्वभाविक थियो। उनीहरुले बद्रीले नै फुर्पालाई लुकाएको आरोप लगाए। उनीहरुले जसरी पनि फुर्पालाई झिकाउन बद्रीलाई दबाब दिए।
उनीहरुले गत माघ १ गते कोटेश्वरमा बद्रीलाई बोलाए र बाइकमा राखेर सिनामंगलको सेकुवा कर्नरमा राखे। उक्त समूहले फुर्पालाई झिकाउन दबाब दिदै बद्रीलाई समेत सुन तस्करीमा संलग्न भएको आरोप लगायो।
उनीहरुले बद्रीलाई यातना दिएर एक करोडको चेक काट्न लगाए र उनको साथमा रहेको दुई लाख ३० हजार रुपैयाँ पनि लिए। त्यसपछि घटना सार्वजनिक गरे वा प्रहरीमा उजुरी गरे बद्रीसहित उनका परिवारलाई मारिदिने धम्की दिएर उनीहरु निस्किए ।
घटनाबारे प्रहरीले गोप्यरुपमा चाल पायो र बद्रीलाई झिकायो। निकै तनावमा रहेको बद्रीले घटनाको बेलिविस्तार लगाए। यसपछि बद्रीलाई जाहेरी दिन लगाएर महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो।

मूल्य अभिवृद्धि करको थ्रेस होल्ड बढाउने तयारी

पत्र पत्रिका बाट  -साभार http://www.abhiyan.com.np/article-frontnews_25asar2071_mulya#.WMs4aPKkzIU

मेनुका कार्की July 9, 2014    




असार २४, काठमाडौं । राजस्व परामर्श समितिमा लामो बहसपछि अन्ततः सरकारले उद्योगी व्यवसायीले प्रतीक्षा गरिरहेको मूल्य अभिवृद्धि कर (भ्याट) मा  थ्रेस होल्ड बढाउने भएको छ । आगामी आव २०७१/७२ को बजेटले थ्रेस होल्डको विषयलाई सम्बोधन गर्ने अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दिएको हो । ‘यति नै बढाउने निर्णय नभए पनि थ्रेस होल्डको सीमा बढ्छ,’ स्रोतले भन्यो, ‘थ्रेस होल्डको सीमा रू. ३० लाखदेखि रू. ५० लाखसम्म पुग्न सक्छ ।’ ‘व्यवसायीको मागअनुसार रू. १ करोड पुर्‍याउन सकिने अवस्था भने छैन,’ स्रोतले थप्यो । राजस्व परामर्श समितिको सुझाव र व्यवसायीको मागलाई सम्बोधन गर्न सरकारले सो व्यवस्था गर्न लागेको हो ।

‘अहिले व्यवसायीहरूले कारोबार बढी गरे पनि कम देखाउँदा मिसम्याचको समस्या आइरहेको छ,’ उच्च स्रोतले भन्यो, ‘यसको समाधानका लागि पनि थ्रेस होल्ड बढाउनुपर्ने देखिएको छ ।’ यस विषयमा छलफल भए पनि निर्णय हुन भने बाँकी रकेको अर्थसचिव युवराज भुसालले बताए ।

मूल्य अभिवृद्धि कर ऐन–२०५४ अनुसार व्यापार क्षेत्रका लागि रू. २० लाख र सेवाक्षेत्रका लागि रू. १० लाख वार्षिक कारोबार गर्ने उद्यमी तथा व्यवसायी भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । आगामी बजेटले भ्याटमा दर्ता नभएका रेष्टुराँ, हार्डवेयरलगायत व्यवसायीहरू अनिवार्य भ्याटमा आउनैपर्ने व्यवस्था गर्न लागेको छ ।
आयकरमा पनि छूट

साथै आगामी आव २०७१/७२ को बजेटले आयकरको सीमासमेत बढाउने गृहकार्य गरिरहेको छ । चालू आवको आर्थिक अध्यादेशले वार्षिक २ लाख ५० हजार आम्दानी भएका दम्पतीलाई आयकरमा छूट दिएको छ । त्यसभन्दा बढी आयमा १५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक विधेयकमा आयकर छूटको सीमा बढाएर दम्पतीका लागि रू. ३ लाख पु¥याउने योजना सरकारको रहेको छ । त्यस्तै एकल व्यक्तिका लागि कर छूटको सीमा आगामी आवदेखि रू. २ लाख पुग्ने सम्भावना रहेको छ । त्यसैगरी आगामी आवको आर्थिक विधेयकले आर्थिक कारोबार गर्ने हरेक व्यक्तिले स्थायी लेखा नम्बर (पान) लिनैपर्ने व्यवस्था पनि गर्न लागेको छ । कुनै पनि व्यक्तिले पान नम्बर नलिई कुनै पनि आर्थिक कारोबार गर्न नपाउने अर्थसचिव भुसालले बताए । ‘पान नम्बर नलिएका व्यक्तिको नाममा रहेको चेक बैङ्कले साट्दैन,’ उनले भने, ‘शिक्षकदेखि हरेक आर्थिक कारोबार गर्ने व्यक्तिले अनिवार्य पान नम्बर लिनैपर्छ ।’

सभासद्लाई ५ करोड नदिने
सभासद्लाई रू. ५ करोड उपलब्ध गराउने विषयमा सरकारले सकारात्मक निर्णय गरे पनि अर्थ मन्त्रालयले भने त्यसरी रकम नदिने भएको छ । सभासद्लाई रकम दिँदा दुरुपयोग हुने निष्कर्षसहित अर्थमन्त्रालय सो निर्णयमा पुगेको हो । तर, सभासद्बाट माग आएको रकमबराबरको योजना प्रत्येक निर्वाचन क्षेत्रमा पारिने मन्त्रालय स्रोतले जानकारी दियो । स्रोतका अनुसार शिक्षा, स्वास्थ्य, पिउनेपानीलगायत योजनामा गाविस तथा जिविसले सो रकम प्राप्त गर्नेछन् । हरेक निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरिने पनि स्रोतको भनाइ छ ।

 

My Another blog link

https://bitekapalharu.wordpress.com/

Thursday, March 9, 2017

अब मृगौला प्रत्यारोपण नि:शुल्क -

कान्तिपुर संवाददाता , काठमाडौं   पत्र पत्रिका बाट  -साभार 
http://kantipur.ekantipur.com/news/2017-03-09/20170309211554.html

फाल्गुन २६, २०७३- सरकारले २०७४ सालदेखि सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण नि:शुल्क गर्ने घोषणा गरेको छ ।
विश्व मृगौला दिवसका अवसरमा बिहीबार मानव अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले खुलामञ्चमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले उक्त घोषणा गरेका हुन् । यसका लागि आवश्यक नीतिगत व्यवस्था र आर्थिक स्रोत सुनिश्चिततासमेत भइसकेको उनले बताए । नि:शुल्क प्रत्यारोपणका लागि कर कोषबाट आएको ५० करोड रुपैयाँलाई उपयोग गरिने उनको भनाइ थियो ।
नि:शुल्क प्रत्यारोपणपछि बिरामीले जीवनभर खानुपर्ने अत्यन्त महँगो औषधि पनि सरकारले सस्तोमा उपलब्ध गराउने तयारी गरेको छ । यसका लागि विदेशीहरूसँग सहमतिका आधारमा मुलुकमा सस्तो मूल्यमा औषधि भित्र्याइने उनले बताए । यस्तै नि:शुल्क डायलासिस सेवाको विस्तार काठमाडौंबाहिरका अस्पतालमा भइरहेको उनले जानकारी दिए ।
मोटोपनाले गर्दा हाल नेपालीमा मृगौला फेल हुने जोखिम सात गुणासम्म बढेको उल्लेख गर्दे मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक पुकारचन्द्र श्रेष्ठले आधुनिक जीवनशैली, नसर्ने रोगको बढदो उपस्थितिले मृगौला स्वास्थ्यलाई धेरै प्रभावित गरेको बताए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डलरले मुलुकमा एक चौथाइसम्म मोटोपना रहेकाले स्वस्थ जीवनशैली, उचित खानपान र शारीरिक सक्रियता बढाउनुपर्ने बताए । विश्वभरि ८ देखि १० प्रतिशत व्यक्ति कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित छन् । नेपालमा ३० लाख व्यक्ति मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब तीन हजारको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ ।

पौने तीन सय वर्ष पुरानो विधापीठमा शास्त्री तह

पत्र पत्रिका बाट  -साभार 

http://kantipur.ekantipur.com/news/2017-03-09/20170309163532.html
फाल्गुन २६, २०७३- स्थापनाको २ सय ७२ वर्षपछि मटिहानीस्थित प्राचीन याज्ञवल्क्य लक्ष्मीनारायण विधापीठमा आचार्य तबह (एमए) तहको पढाई हुने भएको छ ।
१८०१ सालमा स्थापना भएको यो विधापीठमा संस्कृत विश्व विधालयका उपकुलपति कुलप्रसाद कोइरालाले वैदिक मन्त्रोच्चारणबीच बिहीबार आचार्य तहको उद्घाटन गरे । थप गरिएको शास्त्री तहमा व्याकरण, साहित्य र सिद्धान्त ज्योतिषको अध्ययन हुने जनाइएको छ । कोइराला सोही विधापीठका पुराना शिष्यसमेत हुन् । उनले आफैंले अध्ययन गरेको शिक्षालयमा आचार्य तहको उद्घाटन गर्नु जति खुसी हो यो तह सफलतासाथ अगि बढाउन विधापीठ र मटिहानीका जनतालाई उत्तिकै जिम्मेवारी वहन गर्न आग्रह गरे ।

कोइरालाले अराजक बन्दै गएको शैक्षिक वातावरप्रति चिन्ता व्यक्त गर्दै विधार्थीले अनुशासित भएर गुरुहरुको मन जितेर पढ्न नसकेसम्म र गुरुले पनि कक्षामा उत्तरदायी बनेर नपढाएसम्म विश्व विधालयको उत्थान हुन नसक्ने धारणा राखे । मकवानी राजा हेमकर्ण सेनले मटिहानीमा लक्ष्मी नारायण मन्दिरको स्थापना गरेपछि विक्रम संवत १८०१ मा यस विधापीठको स्थापना भएको थियो । प्रारम्भमा जयकृष्ण दासले पाणिनी व्याकरण, १९३३ सालमा रामरक्षा दासले वेदाध्यनको सुरु भयो ।

सोही विधापीठका प्रचार्य ध्रुव रायकाअनुसार गुरुकूल परम्पराबाट शिक्षाध्यन गराइने मटिहानी विधापीठको ख्याति टाढासम्म फैलियो । नेपाल र भारतबाहेक श्रीलंका, वर्माजस्ता मुलुकबाट अध्ययनको लागि विधार्थी आउन थाले ।
१९६८ सालमा चन्द्र शमशेरले मटिहानी मठलाई राष्ट्रियकरण गरेपछि सोही वर्षदेखि विधापीठमा ज्योतिष र न्याय विषयको थप पढाई हुन थाल्यो । चन्द्र शमशेरले नै भोजनवृत्ति र छात्रवृत्तिको सुविधा दिन थालेपछि यसमा अध्ययन गर्न आउने विधार्थीको आकर्षण बढ्दै गयो । शिक्षा विकासको गौरवशाली ईतिहास बोकेको यस विधापीठमा तह थप नहुँदा आचार्य गर्न चाहने सयौं विधार्थी अगि बढ्न सकेका थिएनन् ।
७५ नागेको लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथदास शास्त्रीलेसमेत आफूसमेत आचार्य तहमा भर्ना हुने भन्दै थप गरिएको तहले यहाँको संस्कृत भाषा र साहित्यमा पुर्‍याउने योगदानबारे प्रकाश पारेका थिए ।


http://kantipur.ekantipur.com/news/2017-03-09/20170309163532.html

इन्धन आयातसम्बन्धी नयाँ सम्झौताको मस्यौदा : तेस्रो मुलुकबाट पनि इन्धन आपूर्ति

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/94356

फागुन २६, 2073 काठमाडौं । इन्धन आयातको क्रममा लागू हुने खरीद सम्झौताको समयावधि सकिनै लाग्दा भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगमबीच नयाँ सम्झौताको मस्यौदा तयार भएको छ । दुई निगमबीचको ५ वर्षअघि भएको सम्झौताको म्याद मार्चसम्म मात्र छ । नयाँ सम्झौताको मस्यौदामा पनि नेपालले भारतबाटै शतप्रतिशत तेल खरीद गर्नुपर्ने प्रावधान रहेको छ । तर, कुल मागअनुसारको तेल आईओसीले दिन नसकेको खण्डमा भने नेपालले तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने पनि नयाँ सम्झौताको मस्यौदामा राखिएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई आईओसीले तेस्रो मुलुकबाट पनि इन्धन आपूर्तिका लागि सहमति दिएको हो ।
यस्तै नेपालले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएको खण्डमा ‘नो अब्जेक्शन’का साथै प्रशोधनसमेत गरिदिने व्यवस्था पनि सो मस्यौदामा रहेको निगमले बताएको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल खरीद गरेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय पनि सम्झौतामा उल्लेख भएको बताइएको छ । नेपालले कच्चा तेल खरीद गरेको स्थितिमा भारतले भाडामा आफ्नो रिफाइनरीसमेत प्रयोग गर्न दिने व्यवस्था मस्यौदामा भएको निगमका वितरण विभागका प्रमुख सीताराम पोखरेलले बताए । साथै नेपाल आयल निगमले नेपालमा नै रिफाइनरीे सञ्चालन गरेमा तेस्रो मुलुकबाट कच्चा तेल ल्याउन कुनै ‘अब्जेक्शन’ नगर्ने सहमतिसमेत भएको पोखरेलले जानकारी गराए ।
दुवै निगमका उच्च अधिकारीहरूबीच ३ दिनसम्म भएको लामो छलफलपछि सम्झौतालाई अन्तिम रूप दिइएको निगमले जानकारी दिएको छ । सम्झौताको मस्यौदामा नेपालमा रिफाइनरी सञ्चालन गर्न हालको नयाँ सम्झौताले कुनै पनि बाधा नपुर्‍याउनेसमेत उल्लेख गरिएको स्रोतले बतायो । पोखरेलका अनुसार सम्झौताको मस्यौदामा भारतले नेपालको मागको शतप्रतिशत तेल उपलब्ध गराउनुपर्ने  व्यवस्था छ । आगामी ५ वर्षका लागि इन्धन खरीद सम्झौता नवीकरण गर्ने विषयलाई अन्तिम रूप दिइएको स्रोतले बताएको छ । यही अप्रिल महीनादेखि लागू हुने नयाँ सम्झौता सन् २०२२ मार्च ३१ तारीखसम्म लागू हुने आयल निगमले जानकारी गराएको हो ।    
इन्धनमा नाफाको मात्रा कम गर्ने
निगमका अनुसार आईओसीले नेपाललाई बेच्ने इन्धनमा नाफाको मात्रा घटाउने विषय पनि नयाँ सम्झौताको मस्यौदामा उल्लेख छ । नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा २ दशमलव ५ प्रतिशत नाफा राख्दै आएको आईओसीले शून्य दशमलव ५ प्रतिशत घटाएर २ प्रतिशत कायम गर्ने भएको छ । यसबाट नेपालको वार्षिक १ अर्ब रुपैयाँ जोगिने निगमको अनुमान छ । नाफाको मात्रा घटेपछि भारतबाट आयात हुने इन्धन केही सस्तो हुने स्रोतले बताएको छ ।

 

Monday, March 6, 2017

नेपाल र चीनका साझा शत्रु

 युवराज गौतम सोमवार, फागुन २३, २०७३  

 पत्र पत्रिका बाट  -साभार  http://www.annapurnapost.com/news/65891

महेशचन्द्र रेग्मीलाई अमेरिकी गुप्तचर संस्थाको प्रतिनिधि भन्ने आरोप लाग्यो । त्यसपछि सरकारी जागिर चट् भयो', ऋषिकेश शाहले पंक्तिकारसँग भनेका थिए । लियो ई. रोजको नेपाल स्ट्राटेजी फर सर्भाइभल पुस्तकको भूमिकामा जोन ओएप्टनले यस्तै प्रसंग उठाएका छन् । ऋषिकेश शाहमाथि पनि दरबारको निगरानी रहेछ । नेपालको आन्तरिक नीति र छिमेकीका पक्ष-विपक्षमा कसले कहाँ के गर्दैछ भन्ने बुझ्न दरबारको छुट्टै गुप्तचर निकाय ‘रोयल इन्टेलिजेन्स ब्युरो' बनाइएको रहेछ । त्यसमा काम गरेका केही व्यक्ति अझै छन् । केही एमाले र कांग्रेसमा सक्रिय छन् । केही पश्चिमा र भारतको प्रिय बनेका छन् ।
१३ फेब्रुअरी २००८ मा चीनका प्राध्यापक वाङ होङ उईको अन्तरवार्ता आयो, ‘नेपालको अस्तित्व खतरामा पर्‍यो भने सहायताको लागि चीनको सेना आउनेछ ।' उनले रक्सी खाएर फ्यास्स बोलेका होइनन् । किनभने रुमालले स्याउ पुछे झैं चिनियाँ बुद्धिजीवीका हरेक शब्द परिमार्जित र अर्थपूर्ण हुन्छन् । नेपालमा उसका चार खालका शत्रु छन् भनेर चीनले बुझेको छ । त्यसैले चीनविरोधी गतिविधिमा संलग्न व्यक्ति, संस्था, सञ्चारमाध्यम, राजनीतिक दल र अनेकौं भेषमा काम गरिहेकाहरूका बारेमा सूक्ष्मतम् सूचना संकलन गर्दै उनीहरूलाई मौकामा ‘भ्यासेक्टोमी' गर्ने वा अझै कठोर बाटो अपनाउन पनि चीन तयार रहेको बुझिन्छ ।
२०१५ साल सम्पन्न प्रथम आमनिर्वाचनमा नेपालस्थित अमेरिकी कूटनीतिज्ञ डगलस हेकमार्फत नेपाली कांग्रेसले दुई लाख अमेरिकी डलर सहायता प्राप्त गरेको जानकारहरू बताउँछन् । सो दलले विदेशी सहायता लिएको त्यो पहिलो घटना थियो । राजा महेन्द्रले तुरुन्तै त्यो कुरा चाल पाए । भनिन्छ- कान्तिपथस्थित सेन्ट्रल होटलका सञ्चालक (रसियन नागरिक) बोरिसले अमेरिकाले नेपाली कांग्रेसलाई प्रशस्त रकम सहयोग गर्दैछ भन्ने सूचना पाएपछि दरबारलाई तत्काल जानकारी गराएका थिए । दूतावासमार्फत गुप्त रूपमा बुझ्दा त्यो पुष्टि भयो ।
सन् १९६० को दसकमै मुस्ताङमा खम्पा विद्रोहको तयारी सुरु भइसकेको थियो । आधुनिक हतियार बोकेका डरलाग्दा तिब्बती छापामारबाट स्थानीय जनता सन्त्रस्त थिए । ‘अज्ञात' विमानबाट हतियार, खाद्यान्न, कपडा आदि खसाइँदैछ भन्ने सूचना पाएपछि सरकारले सेना पठाएको थियो । तिब्बतको दक्षिणपूर्वी क्षेत्र ‘खाम' भूखण्डका आदिवासी ‘खाम्पा' जातिलाई हतियार, तालिम, पैसा आदि दिएर अमेरिकाले सीआईएमार्फत चीनविरुद्ध उकासेको कुरा कैयन् पुस्तकमा पाइन्छ । श्रीलंकाका तत्कालीन राष्ट्रपति रिचर्ड जयवद्र्धनेका कूटनीतिक सल्लाहकार प्राध्यापक रोहण गुणरत्नेले ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका' ग्रन्थमा भारतका विभिन्न स्थानमा सीआईएले खम्पाहरूलाई तालिम दिएको खुलासा गरेका छन् । खम्पा विद्रोहका बारेमा कैयन् दस्ताबेज पाइन्छन् ।
राजा वीरेन्द्रले नेपाल र चीनका साझा शत्रुविरुद्ध लड्नैपर्ने रणनीति बनाएपछि खम्पा नेताहरू गे हिसी र गे वाङ्दीमा विभाजन आयो । सीआईएले नेपाली सेनाका केही अधिकृतलाई समेत प्रलोभनमा पारिसकेको अवस्थामा नेपाल प्रहरी, नेपाल गुप्तचर विभाग तथा नेपाली सेनाभित्र पनि सबैलाई विश्वास गर्न अवस्था थिएन ।
पछिल्ला दिनहरूमा केपी ओलीको प्रधानमन्त्रीत्वकालमा नेपालले चीनसँग गरेका सम्झौता कार्यान्वयन हुनासाथ दुई देशको व्यापार, आर्थिक कूटनीति र जनस्तरको सम्बन्ध सुदृढ हुन्छ भन्ने बुझेका भारत, युरोपियन युनियन र अमेरिकाले भविष्यमा नेपालमा चीनको बलियो उपस्थिति हुन नदिन अनेक खेल खेलिरहेको देखिन्छ । पश्चिमाहरूको पैसामा चलिरहेका धेरैजसो गैरसरकारी संस्थाका हर्ताकर्ता एमाले, माओवादी, कांग्रेस र तराईकेन्द्रित दलको कार्यकर्ताको भेषमा कार्यरत छन् । साम्राज्यवादी र विस्तारवादीको दानापानी खाएर राष्ट्रवादको पक्षमा बोल्ने धनाढ्य वर्ग एमालेमा टाढैबाट स्पष्ट चिन्न सकिन्छ ।
यस्तै माओवादीभित्र युरोपियन युनियन र इन्डो-अमेरिकन स्वार्थमा काम गर्नेहरूको बाहुल्य देखिन्छ । राजदरबारमा धेरै वर्ष सेवा गरेका एकजना पुराना अधिकारीको कथन घतलाग्दो छ, ‘भारतको हस्तक्षेपबाट नेपाललाई मुक्त गराउन र चीनसँग सम्वन्ध बढाएर कूटनीतिलाई सन्तुलित गराउन चाहने राजा वीरेन्द्रको रहस्यमय ढंगले हत्या भयो । चीनलाई सार्कमा सरिक गराउनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि राजा ज्ञानेन्द्रलाई गद्दीच्युत गरियो । चीनसँग निकट हुन खोज्दा मदन भण्डारीको शंकास्पद मृत्यु भयो । भारतको एकाधिकार तोड्न खोज्दा प्रधानमन्त्री केपी ओली पदच्युत भए । त्यसैले नेपाल कसरी चीनविरोधी अखडा बन्दैछ भनेर गहिरो विश्लेषण गर्नुपर्ने खाँचो छ । यहाँ चीन र नेपालका साझा शत्रु धेरै छन् ।'
राजा महेन्द्र र चीनका सर्वोच्च नेता माओबीच घनिष्ट सम्बन्ध थियो । डा. तुलसी गिरी, पीबी मल्ल, डा. केशरजंग रायमाझी र अच्युतराज रेग्मीले सन् १९५९ मा पेकिङ (हाल बेइजिङ) स्थित माओ निवासमा भेट गर्दा नेपालको राजतन्त्रलाई हेर्ने दृष्टिकोणबारे माओले केही कुरा स्पष्ट गरेको डा. रायमाझीले उल्लेख गरेका छन् । राजसंस्था साम्राज्यवाद र विस्तारवादविरोधी शक्ति भएकाले त्यसलाई आफूले राष्ट्रवादी शक्ति मान्ने गरेको माओको तर्क थियो ।
२०२३ सालमा तत्कालीन युवराज वीरेन्द्र चीनको तीन साता लामो औपचारिक भ्रमणमा जाँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मार्सल चेन यीले ग्रेट हल अफ द पिपुलमा उनको भव्य स्वागत गरेका थिए । नेपाल चीनको अत्यन्त घनिष्ट, विश्वासिलो र अन्तरंग मित्र हो भन्ने सन्देश दियो चीनले । २०३० सालमा राष्ट्रपति तुङ पी ऊ र प्रधानमन्त्री चाओ एन लाईको मैत्रीपूर्ण निमन्त्रणामा राजा वीरेन्द्रले चीन भ्रमण गरेपछि नेपाल-चीन सम्बन्ध अरू प्रगाढ भयो । चीनले नेपालको प्रगतिमा मद्दत पुग्ने कैयन् उद्योग, बाटो र परियोजनामा लगानी गर्न थाल्यो ।
जनकविकेशरी धर्मराज थापाले भनेका थिए, ‘पोखराबाट सात दिन हिँडेर म काठमाडौं आउँथें । चीनले पृथ्वी राजमार्ग बनाइदिएपछि मात्र गाडी चल्न थालेको हो ।' राजा महेन्द्रले चीनको भ्रमण गरेर माओसँग मित्रता बढाएकाले राजा वीरेन्द्रलाई धेरै सहज भयो । अरनिको राजमार्ग, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद् भवन), बाँसबारी छाला जुत्ता कारखाना, ट्रलिबस, भृकुटी कागज कारखानादेखि लिएर धेरै ठाउँमा चीनले लगानी गर्‍यो । पश्चिमाका सेवक भारतपरस्तहरू सरकारमा पुगेपछि कैयन् उद्योग बेचिए । चीन नेपालसँग टाढिँदै गयो ।
पछिल्ला वर्षहरूमा चीनको कूटनीति पनि बहकिएको देखिन्छ । नेपालमा गणतन्त्र घोषणा गरिएपछि चीनले भरपर्दो मित्र फेला पार्न सकेको देखिँदैन । प्रायः सबै दलमा इन्डो-अमेरिकन र युरोपियन युनियनका निकटवर्ती छन् भन्ने चिनियाँहरूको बुझाइ छ, तर चीनले असल मित्र बनाउन सकेन । पंक्तिकार गोरखापत्रको प्रधानसम्पादक छँदा चीनका एकजना पत्रकारले गुनासो गरे, ‘दरबारका कर्मचारीदेखि लिएर सिंहदरबारसम्म र सुरक्षा अंगदेखि मिडियामा समेत भारतीय र पश्चिमहरूको घूसपैठ छ । त्यसैले राजा घेरामा परेका छन् ।' उनको त्यो प्रतिक्रिया पूर्वाग्रही थिएन भन्ने केही महिनामै पुष्टि भयो । राजतन्त्र ढल्यो।
पुराना प्रशासक (पूर्व सचिव) तेजबहादुर प्रसाईले लेखेका छन्, ‘भारत र चीन तथा भारत र पाकिस्तानको आपसी खिचातानी र सीमासम्बन्धी झगडा र युद्ध हुँदा पनि नेपाल सदैव यी देशको मित्र नै रह्यो । यसरी ठूला-साना सबै राष्ट्रहरू मौसुफ (राजा महेन्द्र) का असल मित्र नै रहे ।' (फर्केर हेर्दा तेजबहादुर प्रसाईको आत्मकथा), राजतन्त्रकालमा चीन र भारतीय सन्तुलन मिलाउन राजाहरू सतर्क थिए भन्ने पुराना नेता तथा प्रशासकका अभिव्यक्तिबाट पुष्टि हुन्छ ।
डा. फ्रान्सिस बुचाननले प्रथम विश्वयुद्ध समाप्त भएको केही वर्षमै ‘नेपालीहरू अंग्रेजलाई भन्दा चिनियाँलाई बढी भरोसा गर्छन्' भनेर लेखे । आज पनि गोराहरूले नेपाललाई हेपिरहेका छन् भने साना र कमजोर राष्ट्रहरूलाई इच्छाअनुसार नचाउन सकिन्छ भन्ने फिरंगीको छत्रछायामा बसेका भारतीय शासकहरूले नेपाललाई केरा बेचेर गुजारा गर्ने दक्षिण अमेरिकी बनाना रिपब्लिकभन्दा पनि निम्नकोटीको ठानेका छन् । नेपाली नेताहरूको मगन्ते शैली राष्ट्र हेपिनुको एउटा प्रमुख कारकतत्व हो ।
महाभारतमा थुप्रै रोचक, प्रेरक र हृदयस्पर्शी प्रसंग आउँछन् । कुरुक्षेत्रको युद्धपछि युधिष्ठिर आफ्ना भाइहरूका साथै श्रीकृष्णसहित राजा धृतराष्ट्रसमक्ष पुग्छन् । पुत्रशोकले क्रोधाग्निमा जलिरहेका धृतराष्ट्रले भीमसेनलाई मार्न सक्छन् भन्ने कुरा श्रीकृष्णलाई आभास भइसकेको थियो । दृष्टिहीन धृतराष्ट्रले भीमलाई अँगालो हालेको बेला निचोरेरै मार्छन् भन्ने चाल पाएका श्रीकृष्णले भीमकै आकारको फलामको प्रतिमा धृतराष्ट्रको नजिक उभ्याइदिए । आफ्ना प्रिय पुत्रहरूको हत्या गर्ने भीमलाई मार्ने दुराशयले अत्यन्त क्रुद्ध हुँदै धृतराष्ट्रले लौह-प्रतिमालाई भीम ठानेर छातीमा कठोरतापूर्वक टाँस्दा त्यो टुक्राटुक्रा भयो । श्रीकृष्णको चातुर्य एवं दूरदृष्टिले भीम मृत्युको मुखबाट उम्किन सफल भए ।
सल्लाहकार योग्य, सक्षम, दूरदर्शी, इमानदार र विवेकी छन् भने राज्यसत्ता सञ्चालन गर्नेहरू संकटबाट मुक्त हुन सक्छन्, तर अयोग्यलाई विश्वास गर्ने शासकहरू डुब्छन् र राष्ट्र पनि डुबाउँछन् । निरक्षर अकबरलाई असल र सफल सम्राट् बनाउने काम उनका योग्य सल्लाहकारहरूले गरे । साहित्य, संगीत, कूटनीति, राजनीति, जासुसी, प्रशासन, सुरक्षा व्यवस्था र जनसम्पर्कका निपुण व्यक्तिहरूलाई राजदरबारमै संरक्षण गरेर अकबरले जनताको हितमा काम गरिरहे । जनता प्रसन्न भए भने त्यस्तो प्रेमले शासक र जनताबीचको सम्बन्ध प्रगाढ बन्छ । असन्तुष्टि, विद्रोह तथा अविश्वासमा अरूले षड्यन्त्र गर्ने मौका पाउँदैनन् ।
इटलीका प्रसिद्ध दार्शनिक मेकियाभेलीले प्रसिद्ध ग्रन्थ लेखे- प्रिन्स । त्यसमा शासकले कसैमाथि पनि शोषण र भेदभाव गर्नु हुँदैन र हुन दिनु हुँदैन भनिएको छ । दलीय व्यवस्थामा नेताका गुटमा काम गर्ने सीमित व्यक्ति मात्र बढी लाभान्वित हुन्छन् । साम्यवादमा पनि सर्वसाधारणभन्दा नेताहरू ‘विशेष' नागरिक मानिन्छन् । एनिमल फार्म पुस्तकमा लेखक जर्ज अर्बेलले यस्तो प्रवृत्तिविरुद्ध कठोर व्यंग्य गर्दै पशुको साम्राज्यमा समानताको कुरा गर्ने पशुनेताहरू अरू पशुभन्दा आफूलाई उच्च ठान्छन् भनेका छन् ।
बीपी कोइराला प्रधानमन्त्रीका हैसियतले चीन जाँदा माओले भनेका रहेछन्, ‘पहिले ठुल्दाजु सम्झेर, उसका अनुभवहरू बेसी छन् भनेर, लेनिन र क्रान्तिहरू भनेर जहिले पनि रूसको कुराबाट निर्देशित हुन्थ्यौं । त्यस घटनापछि हामीले के निश्चय गर्‍यौं भने अब हामी उनीहरूका कुरा मान्दैनौं । त्यसको केही वर्षभित्रै हामी सत्तामा पुग्यौं । लहैलहैमा काम गर्दा अर्कालाई फाइदा हुने काम बेसी हुँदोरहेछ । आफूलाई फाइदा हुने काम हुँदो रहेनछ । हाम्रो त्यो अनुभव हो । तिमीहरूले पनि आफूलाई राम्रो हुने काम गर्नुपर्छ, अर्काको निर्देशनमा जानु हुँदैन ।' (विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त, पृष्ठ २४६)
राष्ट्रलाई विदेशीको खेलमैदान बनाउन २०४७ सालपछि दलहरूले नै अनुमति दिएर महाकाली सन्धिमा एमाले, कांग्रेस, राप्रपा सबैले राष्ट्रघातमा मद्दत गरे । तीस लाखभन्दा धेरै गैरनेपालीलाई नागरिकता दिइयो । ०६२/६३ सालपछि बढेको सुरक्षा चुनौतीको प्रमुख कारकतत्व अंगीकृत नेताको भारतपरस्त नीति र चीनविरोधी पश्चिमा गतिविधि नै रहेको देखिन्छ । त्यसैले नेपाल र चीनका साझा शत्रु चिन्न गाह्रो छैन ।
राष्ट्रलाई अर्को सुडान र काबुल बन्न नदिन सत्ता, विपक्ष र दलको आवरणमा बसेका प्रत्येक व्यक्ति चिन्नैपर्छ । प्रेस, मानव अधिकार, बुद्धिजीवी, नागरिक समाज आदिका नाममा राष्ट्रलाई कमजोर बनाउनेहरूलाई ‘एलेन्डे' बनाइदिने हो भने मात्र नेपाल सुरक्षित रहन सक्छ ।
तराईमा केही महिनायता उग्र क्रियाकलाप बढेको देखिन्छ । डलर, युरो र भारुको प्रभाव बढेको खबर बारम्बार आइरहेको छ । तर के यी सबै घटनाबारे चीन बेखबर होला त ? अवश्य छैन । गुप्तचरहरू चीनबाटै आउनु पर्दैन । दलका नेता, पत्रकार, प्राध्यापक, लेखक, मानव अधिकारकर्मी आदिका भेषमा देश-विदेशका मानिस चेस खेलिरहेका छन् । त्यसैले, चीनले पनि केही लोभीपापीलाई प्रयोग गरेको हुन सक्छ । चिनियाँहरू भन्छन्, ‘केही पनि गोप्य छैन । नेपालमा सबै कुरा हामीले बुझेका छौं ।' चीनकी विज्ञ प्रा. ली ताओले भनेकी छन्, ‘हरेक घटनालाई चीनले सूक्ष्मरूपमा हेरिरहेको छ ।'
सिक्किमलाई भारतले निलेको बेला, पूर्वी पाकिस्तानलाई टुक्र्याएर बंगलादेश स्थापना गर्दा र यस्ता कतिपय घटनामा चीन मौन बस्यो । चिनियाँहरू भन्छन्, ‘त्यसबेला चीन कमजोर थियो, अब त्यो अवस्था छैन । नेपालमा बसेर जुन तत्ववले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका नाममा युरोप-अमेरिकाका धार्मिक संगठन, गुप्तचर निकाय, राजनीतिक केन्द्र, दूतावासहरू र दाताको भेषमा नेपालमा भाँडभैलो गरिरहेका संस्थाहरू सबैको अभिलेख हामीसँग छ ।'
यसको अर्थ हो, नेपालमा जात, धर्म, क्षेत्र तथा दलीय राजनीतिका नाममा राष्ट्रघाती काम गर्नेहरू नेपालका मात्र होइन, चीनका पनि शत्रु हुन् भन्ने उनीहरूले राम्ररी बुझेका छन् । पश्चिमाहरू चीन र भारतलाई बिथोल्न नेपाललाई आधार इलाका बनाएर काम गरिरहेका छन् भन्ने कुरा चीनले झैं भारतले स्पष्ट बुझ्न सकिरहेको पाइँदैन । नेपाली राजनीति र कूटनीतिलाई सही दिशामा अगाडि बढाउन नेपालमा ‘स्थायी शक्तिको खाँचो' रहेको चीनले बुझेको छ । नेपाली सेनालाई भरपर्दो शक्ति मानेर संयुक्त सैनिक अभ्यास र अनुभव आदानप्रदान गर्न चीन तयार भएको छ ।
सैनिक कूटनीति मात्र पर्याप्त हुँदैन र राष्ट्रलाई दीर्घकालसम्म दिशानिर्देश गर्न नेपाली जनता र माटोमा मात्र भरोसा गर्ने राजनीतिक शक्ति चाहिन्छ भन्ने उनीहरूको बुझाइ छ । राजसंस्था ढलेपछि काठमाडौं अर्को काबुल बन्न लागेको भन्दै उनीहरूले कम्बोडियामा कम्युनिस्टले हटाएका राजालाई पुनस्र्थापना गराउन सहयोग गरे झैं नेपालमा राजसंस्था पुनस्र्थापना गराउन अत्यन्त सूक्ष्मरूपमा मार्गचित्र बनाइरहेको बुझिन्छ । यसबारे केही संकेत पाएपछि पुष्पकमल दाहालले गणतन्त्र धरापमा परेको विश्लेषण गर्न थालेका छन् ।
केही महिनाभित्रै वर्तमान संविधान बौरिन्छ कि भन्ने झीनो आशामा कतिपय नेताले अपरिपक्व विचार व्यक्त गरिरहेका छन् । अञ्चल अस्पतालको साइनबोर्ड र सवारी साधनका नम्बर प्लेटमा मात्र ‘अञ्चल' भन्ने शब्द सीमित भए झैं ‘संघीयता' पनि सरकारी कागजपत्रमा मात्र सीमित देखिन्छ । धर्म निरपेक्षतालाई राइस क्रिस्चियनबाहेक अरूले स्वीकार गरेकै छैनन् ।
गणतन्त्र भन्ने शब्द अर्थ न बर्थ ‘कान्छी मट्याङ्ट्याङ' जस्तो भएको छ । राजतन्त्रकालमा भन्दा हजारौं गुणा महँगी, बेरोजगार, भ्रष्टाचार, बेथिति र विदेशी हस्तक्षेप बढ्नु अग्रगमन हो भने त्यस्तो अग्रगमन चाहिएन भन्दै युवा वर्गले सामाजिक सञ्जालहरूमा आक्रोश व्यक्त गरिरहेका छन् । विदेशीको दाना खानेहरूले बाध्यतावश संक्रमणकाल टुंगिन्छ भनेर झूटो बोलेका छन् । बितेका दस वर्षमा गणतन्त्रका नाममा धेरै मानिस मारिएका छन् । अर्बौं रुपैयाँ दुरुपयोग भएको छ र राष्ट्र झन् अस्थिर बन्दै गृहयुद्धको दैलोमा पुगेको छ । यो त सिनेमाको ट्रेलर मात्र हो ।
राष्ट्रलाई अर्को सुडान र काबुल बन्न नदिन सत्ता, विपक्ष र दलको आवरणमा बसेका प्रत्येक व्यक्ति चिन्नैपर्छ । प्रेस, मानव अधिकार, बुद्धिजीवी, नागरिक समाज आदिका नाममा राष्ट्रलाई कमजोर बनाउनेहरूलाई ‘एलेन्डे' बनाइदिने हो भने मात्र नेपाल सुरक्षित रहन सक्छ । नत्र कुनै पनि दिन राष्ट्रको अस्तित्व धुलिसात् हुने देखिन्छ