Wednesday, October 26, 2022

गुठीको जग्गा किनबेच तथा भोगचलन गर्न पाइन्छ ?

 https://clickmandu.com/2022/10/217359.html

गुठीको जग्गा किनबेच तथा भोगचलन गर्न पाइन्छ ?






काठमाडौं । गुठी भन्नाले कुनै मठ वा कुनै देवी–देवताको पर्व पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी–पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरण, बाग बगैंचा, जंगल, पुस्ताकलय, पाठशाला, औषधीलय, चिकित्सालय घर, इमारत वा संस्था बनाउने, चलाउन वा त्यसको संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरु कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडेको जग्गालाई गुठीको जग्गा सम्झनुपर्छ ।

त्यस्तै, सरकारले कसैले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति हितग्राहीको लागि अरु कसैबाट सञ्चालन र व्यवस्थापन गर्ने गरी आवश्यक बन्दोबस्त गरेकोमा गुठी स्थापना भएको मानिनेछ ।

जसमा सरकारले मुलुकी देवानी (संहिता)ऐन २०७४ अनुसार गुठी दुई प्रकारको रहेको उल्लेख छ । सरकारले सार्वजनिक गुठी र निजी गुठी गरी दुई प्रकारको हुने ऐनमा समावेश गरेको छ ।

आर्थिक विकासका पूर्वाधार वा अन्य विकास सम्बन्धी कामको लागि प्रयोग हुने कोषको स्थापना, सञ्चालन तथा प्रयोग गर्ने, निम्न आय भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको अवसरको सिर्जना तथा विकासको कार्य गर्न आवश्यक कोषको स्थापना तथा सञ्चालन गर्ने र सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने जस्ता ठाउँलाई सार्वजनिक गुठी भनिन्छ ।

त्यसैगरी विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता सर्वसाधारणको लागि उपयोगी हुने शैक्षिक तथा प्राज्ञिक संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने, अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनको लागि चिकित्सालय स्थापना गरी सञ्चालन गर्ने, प्राकृतिक, ऐतिहासिक वा साँस्कृतिक सम्पदाको संरक्षण वा त्यस्तो कार्यको प्रवद्र्धन गर्ने, वन्य जन्तु, जलचर वा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गर्ने, विभिन्न वर्ग, समूह वा समुदायको हित संरक्षण, कल्याण वा उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने, खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, सेवामुखी कल्याणकारी कार्य गर्ने, उद्दार कार्य सञ्चालन गर्ने, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर वा त्यस्तै अन्य धार्मिक कृत्य गर्ने, सार्वजनिक हितको लागि अन्य सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्न प्रयोग भएको गुठी सार्वजनिक गुठी मानिन्छ । ।

तर, कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पु¥याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मनिन्छ । सार्वजनिक र निजी दुवै उद्देश्य पूरा गर्नको लागि कुनै गुठी स्थापना भएकोमा त्यस्तो गुठी सार्वजनिक गुठी भनिन्छ ।

कुनै गुठी स्थापना गर्न चाहने व्यक्तिले विवरणहरू खुलाई पञ्जिकाधिकारी समक्ष निवेदन दिई गुठी सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले व्यवस्था गरेको छ । उक्त गुठी स्थापनाका लागि सम्पत्तिको सम्पूर्ण विवरणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ ।

कुनै व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति निजको मौखिक व्यवहार, आचरण वा निजको शेष पछि प्रभावकारी हुने गरी दान बमोजिम गुठीको रूपमा सञ्चालन तथा व्यवस्थापन हुने व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवहार, आचरण वा दान बमोजिम नै गुठी स्थापना भएको मानिनेछ ।

तर कानून बमोजिम हक हस्तान्तरण हुन रजिष्ट्रेशन पारित गर्नु पर्ने सम्पत्तिको हकमा तत्सम्बन्धी लिखत पारित भएको हुनु पर्नेछ ।

कुनै विदेशी व्यक्तिले गुठी स्थापना गर्न चाहेमा प्रकृया पूरा गरी निवेदन दिनु पर्नेछ । त्यसरी स्थापना गर्ने गुठीमा विदेशी व्यक्ति संस्थापक हुन सक्नेछ ।

तर दफा ३१५ को उपदफा (२) को खण्ड (ठ) बमोजिमको उद्देश्य पूरा गर्न विदेशी व्यक्तिले गुठी स्थापना गर्न सक्ने छैन ।स्थापना भएको गुठीको सञ्चालकमध्ये कम्तीमा एक तिहाई सञ्चालक नेपालमा स्थायी बसोबास गरेको नेपाली नागरिक हुनु पर्नेछ।

त्यस्तै, सरकारले दर्ता गरेर मात्रै गुठी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । तर, निजी गुठी दर्ता बिना पनि सञ्चालन गर्न सकिनेछ ।

नेपालमा गुठी स्थापना गर्ने विदेशी व्यक्तिले तीन महिनाभित्र कम्तीमा दश लाख अमेरिकी डलर बराबरको चल सम्पत्ति नियमित बैङ्किङ्ग प्रक्रिया (रेगुलर बैङ्किङ्ग च्यानल) बाट नेपाल ल्याई गुठी सञ्चालकको जिम्मा लगाउनु पर्नेछ । उक्त चल सम्पत्ति जिम्मा लगाएको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।

सम्पत्ति सञ्चालन र व्यवस्थापन गर्दा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोबाहेक अचल सम्पत्ति वा त्यसको कुनै अंश सम्बन्धित पञ्जिकाधिकारीको पूर्व स्वीकृति बिना बिक्री गर्न, बन्धकी दिन वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न सकिने छैन।

संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) र (२) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ ।

लगानी गर्दा तत्काल लगानी गर्ने कूल रकमको कम्तीमा २५ प्रतिशत रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र, बचतपत्र (टे«जरी बिल) वा नेपाल सरकारबाट जमानत प्राप्त ऋणपत्र खरिद गरेर, बढीमा २५ प्रतिशत रकम वाणिज्य बैङ्कको मुद्दति खातामा जम्मा गरेर, १० प्रतिशत रकम विकास बैङ्कको मुद्दति खातामा जम्मा गरेर, बढीमा पाँच प्रतिशत रकम वाणिज्य बैङ्कको साधारण शेयर खरिद गरेर, बढीमा १० प्रतिशत रकम वित्त कम्पनीको मुद्दति खातामा जम्मा गरेर र बढीमा पाँच प्रतिशत रकम सूचीकृत पब्लिक लिमिटेड कम्पनीको खुला रूपमा कारोबार हुने साधारण शेयर खरिद गरेर सो अनुपातमा लगानी गर्न सकिनेछ ।

लगानी सम्बन्धमा गुठी सञ्चालकले समय समयमा अनुगमन गर्नु पर्नेछ र त्यसरी अनुगमन गर्दा एक क्षेत्रमा भएको लगानीको प्रतिफल कम हुने देखिएमा लगानीका शर्त बन्देजको अधीनमा रही त्यस्तो लगानी झिकी बढी प्रतिफल हुने अर्को क्षेत्रमा लगानी गर्न सकिनेछ ।

सरकारले हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुने व्यवस्था गरेको छ । गुठी सञ्चालकले गुठीको सम्पत्ति हितग्राहीको हित प्रतिकूल हुने गरी आफ्नो वा अरू कसैको लागि भोगचलन वा प्रयोग गर्न हुँदैन ।

गुठीको सम्पत्ति उपयुक्त ढंगबाट व्यवस्थापन नभएमा, ठगी वा जालसाजी भएमा, हिनामिना भएमा वा गुठीको उद्देश्य पूरा नगरी गुठी सम्पत्तिको अन्यत्र उपयोग भएमा कुनै संस्थापक वा हितग्राहीले संस्थापनापत्रमा उल्लिखित व्यवस्थाको अधीनमा रही गुठी सम्पत्ति त्यसरी हिनामिना हुनबाट रोक्न अदालतमा उजुरी गर्न सक्नेछ । तर सार्वजनिक गुठीको हकमा जोसुकैले पनि उजुरी गर्न सक्नेछ ।

गुठी सम्पत्ति व्यवस्थापन नभएको, ठगी, जालसाज वा हिनामिना भएको वा अन्यत्र उपयोग भएको ठहर भएमा अदालतले हिनामिना गर्नेबाट बिगो असुल उपर गर्नेछ र गुठी सञ्चालकले त्यसरी हिनामिना गरेको रहेछ भने निजबाट त्यस वापत क्षतिपूर्ति समेत भराउन सक्नेछ ।

त्यसैगरी निजी गुठीको हकमा करार गर्न योग्य भएको हितग्राहीले गुठी सम्पत्तिबाट प्राप्त गर्ने आफ्नो हक, लाभ, सुविधा वा हित गुठी सञ्चालक र पञ्जिकाधिकारीलाई लिखित रूपमा सूचना दिई आंशिक वा पूरै त्याग गर्न सक्नेछ । गुठी सम्पत्ति दर्ता स्रेस्तामा गुठी जनाई संस्थापनापत्रमा उल्लेख भए बमोजिमको व्यक्तिको नाममा रहनेछ र संस्थापनापत्रमा स्वामित्व रहने व्यक्ति उल्लेख नभएकोमा हितग्राही व्यक्तिको नाममा रहनेछ ।

गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि पूर्ववत रूपमा व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ । सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेको सम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्न सकिनेछ । संस्थापना भएका गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिद बिक्रि गर्न सकिनेछ ।

खरिद गरि लिने व्यक्तिले जुन प्रयोजनका लागि गुठी संस्थापना भएको हो सोही उद्देश्य र प्रयोजनका निमित्त सम्पत्ति प्रयोग गर्नु पर्नेछ ।

सरकारी जग्गा प्राप्त गरी कुनै खास प्रयोजनका लागि उपदफा (१) बमोजिमको गुठी संस्थापना वा सञ्चालन गरेको भए त्यस्तो जग्गा जुन प्रयोजनका लागि गुठी सञ्चालन भएको थियो ।

त्यस्तो उद्देश्य र प्रयोजन पूरा गर्न प्रयोग गर्नु पर्नेछ र त्यस्तो जग्गा गुठी राख्ने वा निजका सन्तान वा हकवालाले भोगचलन गर्न पाउने छैन । व्यक्तिले त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा नगरेमा जुन व्यक्तिले त्यस्तो उद्देश्य र प्रयोजन पूरा गरेको छ सोही व्यक्तिले त्यस्तो जग्गा भोगचलन गर्न पाउनेछ ।

त्यस्तै, कुनै लिखत नभई उपदफा (१) बमोजिमको गुठी कसैले निरन्तर रूपमा १६ वर्ष वा सोभन्दा बढी अवधि देखि सञ्चालन गर्दै आएको रहेछ भने त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा गरी त्यसको सम्पत्ति निजले भोगचलन गर्न सक्नेछ ।

Thursday, September 15, 2022

ठूला सरकारी अस्पतालले बिरामीलाई दिँदैनन् सरकारले तोकेका ९८ प्रकारका नि:शुल्क औषधि

 https://www.nayapatrikadaily.com/news-details/95901/2022-09-16

ठूला सरकारी अस्पतालले बिरामीलाई दिँदैनन्  सरकारले तोकेका ९८ प्रकारका नि:शुल्क औषधि

- नि:शुल्क औषधि किन्न वीर अस्पतालले स्वास्थ्य मन्त्रालयबाट वार्षिक ६० लाख रुपैयाँ बुझ्छ, तर बिरामीले नि:शुल्क पाउँदैनन्
- विपन्न बिरामीको भिड लाग्ने वीर र शिक्षण अस्पतालमा ९८ प्रकारकै औषधि छन्, तर नि:शुल्क दिँदैनन्, बेच्छन्

वीर अस्पतालको फार्मेसी । अस्पतालमा भएका तीन फार्मेसीमध्ये एउटा दुई महिनादेखि बन्द छ । 

ad

सरकारले सर्वसाधारणका लागि ९८ प्रकारका औषधि नि:शुल्क गरेको छ । सरकारी तथा आधारभूत स्वास्थ्य संस्थामा ती औषधि बिरामीले नि:शुल्क र सहजै पाउनुपर्छ । तर, देशका ठूला सरकारी अस्पतालहरूले नै सर्वसाधारणलाई यो सुविधा दिएका छैनन् । 

०७२ को संविधानले हरेक नागरिकले नि:शुल्क स्वास्थ्य सेवा पाउनुपर्ने व्यवस्था गरेपछि त्यसैमा टेक्दै र स्वास्थ्य मन्त्रालयले ०७८ देखि ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्ने स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) बनाई सबै सरकारी स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो । प्रोटोकलमा ठूला अस्पतालले पनि पालिकासँग समन्वय गरेर ती औषधि नि:शुल्क दिनुपर्ने उल्लेख थियो । तर, नागरिकको स्वास्थ्य सुविधाको यो व्यवस्था न अस्पतालले कार्यान्वयन गरेका छन्, न त सम्बन्धित स्थानीय तहहरूले नै ध्यान दिएका छन् । 

राजधानी काठमाडौंमै रहेका ठूला सरकारी अस्पतालले समेत सिटामोलको पैसासमेत बिरामीलाई तिराउँछन् । उपचारका लागि विपन्न नागरिकहरूको भीड लाग्ने वीर र शिक्षण अस्पताल हाकाहाकी भन्छन् – हामीसँग ९८ प्रकारकै औषधी छन् तर, स्थानीय सरकारले रकम उपलब्ध नगराएका कारण विरामीलाई नि:शुल्क दिँदैनौं । ०७८ मा प्रोटोकल बन्नुअघि ७० प्रकारका औषधि नि:शुल्क दिने सरकारको निर्णय पनि पूर्ण कार्यान्वयन भएको थिएन । नागरिकलाई पनि कुन–कुन औषधि नि:शुल्क पाइने हो भन्नेसम्म थाहा छैन । 

‘९८ प्रकारका औषधि नि:शुल्क दिनुपर्ने नियम साना स्वास्थ्य संस्थाका लागि मात्रै होइन, सरकारी अस्पतालका लागि पनि हो,’ स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. नरेन्द्र खनालले भने, ‘यसमा गल्ती स्थानीय सरकारको नै छ, किनकि उनीहरूले बजेट दिएर भए पनि सरकारी अस्पतालमा ९८ प्रकारका औषधि नि:शुल्क रूपमा पाउने व्यवस्था गर्नुपर्छ ।’ 

उनका अनुसार मन्त्रालयले स्थानीय आधारभूत स्वास्थ्य संस्थाबाहेक ठूला अस्पतालमा पनि ९८ प्रकारका औषधि नि:शुल्क पाउनुपर्ने निर्देशन दिएको थियो । तर, देशको जेठो र विपन्न बिरामीको भिड लाग्ने वीर अस्पतालले समेत बिरामीलाई ती औषधिको पैसा तिराउने गरेको छ । अस्पतालले भने सम्बन्धित स्थानीय सरकारले आर्थिक सहायता उपलब्ध नगराएका कारण बिरामीसँग पैसा लिनुपरेको जवाफ दिएको छ । 

वीर अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्ने नियम कार्यान्वयन नगरिएको बताए । ‘हामीकहाँ भएका फार्मेसीमा नि:शुल्क दिने भनिएका ९८ प्रकारकै औषधि छन्, तर हामीले नि:शुल्क दिँदैनौँ,’ उनले भने, ‘कहिलेकाहीँ इमर्जेन्सीमा आएका बिरामीको उपचार नपाएर तत्काल ज्यान जाने अवस्था छ भने मात्र केही औषधि नि:शुल्क प्रयोग गर्छौँ ।’ उनका अनुसार वीर अस्पताललाई नि:शुल्क औषधि किन्न स्वास्थ्य मन्त्रालयले वार्षिक ६० लाख रुपैयाँ दिने गरेको छ । तर, पैसा पाइएन भन्ने अस्पतालले उक्त रकम अन्यन्त्रै प्रयोग गर्ने गरेको छ । मेडिकल स्टोर प्रमुख पनेरूले यसबाहेक ९८ प्रकारका औषधि किन्न पालिकाले पनि आर्थिक सहयोग नगरेको जानकारी दिए । 

वीर मात्रै होइन, कान्ति बाल, परोपकार प्रसूतिगृह, त्रिवि शिक्षण, निजामती, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालले पनि सरकारले नि:शुल्क प्रदान गर्ने भनेका औषधिको शुल्क असुल्छन् । यी सबैजसो स्वास्थ्य संस्थामा सरकारले नि:शुल्क दिने भनेका औषधि भने पाइन्छ । प्रसूतिगृहले त झन् आमा तथा बच्चाका लागि नि:शुल्क वितरण गर्नुपर्ने भिटामिन र फोलिकएसिडमा समेत पैसा लिने गरेको छ । तर, यी अस्पतालहरू स्थानीय सरकारले आर्थिक सहायता नगरेसम्म ९८ प्रकार औषधि आफूहरूले नि:शुल्क प्रदान गर्न नसक्ने जवाफ दिन्छन् । 

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले ९८ प्रकारका औषधि उपलब्ध गराउनका लागि स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए । ‘हामीकहाँ ती ९८ प्रकारकै औषधि पाइन्छन्,’ उनले भने, ‘तर, नि:शुल्क दिने गरेका छैनौँ । स्थानीय सरकारले आर्थिक सहयोग नगरेसम्म सकिँदैन ।’

निजामती अस्पताल प्रमुख विधाननिधि पौडेलले पनि औषधि किन्ने रकम वा औषधि नै दिए आफूहरूले नि:शुल्क वितरण गर्ने बताए । मन्त्रालयले हामीलाई नि:शुल्क वितरण गर्न त भनेको छ, तर हाम्रो अस्पताल सामान्य प्रशासन मन्त्रालयमातहत पर्छ,’ उनले भने, ‘त्यसैले मन्त्रालय वा महानगरले औषधि किन्ने रकम दियो भने हामीले उक्त नियम पालना गर्छौँ ।’ 

स्वास्थ्य मन्त्रालयले ठूला अस्पतालबाटै नियम पालना नभएको जनाएको छ । ‘ठूला अस्पतालले नै ९८ प्रकारका नि:शुल्क औषधि दिँदैनन् । सरकारी अस्पतालले नै सरकारको नियम अटेरी गर्नु राम्रो होइन । ठूला अस्पतालले पालिकाको सहायता लिएर वा आफ्नै खर्चबाट भए पनि नि:शुल्क दिनुपर्छ,’ मन्त्रालयका सहायक सूचना अधिकारी माधवकुमार श्रेष्ठले भने, ‘हामीले पटक–पटक यो नियम कार्यान्वयन गर्न अस्पतालहरूलाई निर्देशन दिँदै आइरहेका छौँ ।’ 

यी हुन् नि:शुल्क वितरण गर्न भनिएका ९८ प्रकारका औषधि

केमा प्रयोग गर्ने ? 

  • जेन्टामाइसिन – नवजात शिशुमा हुने संक्रमण तथा निमोनिया
  • एन्टासिट – ग्यास्ट्रिक, पेट पोल्दा 
  • फुरोसेमाइड – हर्ट फेलियर, मिर्गौलामा समस्या हुँदा
  • एम्लोडिपिन – उक्त रक्तचाप
  • लोसार्टान – उच्च रक्तचाप
  • निफेडिपिन – उच्च रक्तचाप
  • बिसिजी खोप – क्षयरोगविरुद्ध 
  • एस्पिरिन – शरीर दुख्दा, टाउको दुख्दा, माइग्रेन
  • बेन्जाथिन बेन्जाइलपेनिसिलिन – बाथ तथा मुटुरोग भएमा 
  • सेफ्ट्रियाकजोन – कडा इन्फेक्सन, टाइफाइड र निमोनिया
  • आर्टिमिसिमिन – मलेरिया 
  • सेफिक्सिम – मिर्गौला, पिसाब, घाँटी र फोक्सोमा संक्रमण हुँदा
  • सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो
  • नाइट्रोफ्युरानटिन – पिसाब तथा अन्य संक्रमणमा 
  • डेक्सामेथासोन – दम र एलर्जी तथा कमन मेडिसिन
  • आइरन ट्याब्लेट – गर्भवती र रक्तअल्पता भएकालाई 
  • म्याग्नेसियम सल्फेट – गर्भवती महिलामा उच्च रक्तचाप हुँदा
  • मेथाइल्डोपा – गर्भावस्थामा हुने रक्तचाप 
  • ग्लिमिपिराइड – मधुमेह
  • मेटफर्मिन – मधुमेह
  • हाइड्रोकर्टिसोन – दम, एलर्जी, आनाफाइलाक्सिस रियाक्सन
  • साल्बुटामोल – दम 
  • अक्सिजन – दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई
  • प्रेड्निसोलोन – दम, एलर्जी, बाथ हुँदा 
  • जापानिज इन्सेफ्लाइटिस – बच्चालाई दिने खोप
  • ओआरएस – झाडापखाला लाग्दा
  • नर्मल स्लाइन – रगतको कमी, पखाला, पानीको मात्रा कमी
  • पारासिटामोल – ज्वरो कम गर्न
  • भिटामिन ए – भिटामिनको कमी हुन नदिने पोषण
  • भिटामिन बी कम्प्लेक्स – भिटामिनको कमी पोषण
  • भिटामिन के वान – नवजात शिशुलाई दिने भिटामिन 
  • जिंक सल्फेट– निमोनिया, पखाला, कुपोषण हुन नदिन
  • डक्सिसाइक्लिन – स्क्रब टाइफस संक्रमण, श्वासप्रश्वासमा समस्या र महिलाको तल्लो पेट दुख्दा
  • रिसपेरिडोन – मानसिक रोगीलाई
  • पिसिभी खोप – निमोनिया
  • र्‍यानिटिडिन – ग्याट्राइटिस हुँदा
  • प्यारिडोक्सिन – टिबीका बिरामीलाई भिटामिन 
  • फ्लुजेटिन – मानसिक स्वास्थ्य, डिप्रेसन
  • सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो आदिमा 
  • एड्रेनालिन – एलर्जी, एनाफाइलाक्सिस (रियाक्सन)
  • अल्बेन्डाजोल – जुका पर्दा 
  • एमिट्रिप्टिलिन – एन्जाइटी, डिप्रेसन, न्युरोप्याथिक पेन, माइग्रेनलगायत हुँदा 
  • एमोक्सिसिलिन – घाँटीको संक्रमण, निमोनिया, पिनास भए
  • एम्पिसिलिन – घाँटीको संक्रमण, श्वासप्रश्वाससम्बन्धी संक्रमण र बच्चामा हुने संक्रमणमा
  • आर्टेसुनेट – कडा मलेरियाले बेहोस हुँदा 
  • एट्रोपिन – अर्गानोफस्फोरस पोइजनिङ
  • एजिथ्रोमाइसिन – यौनजन्य र घाँटीको संक्रमण, छाला, पिनास, कान पाकेमा, श्वासप्रश्वासमा संक्रमण, स्क्रब टाइफस, हैजा आदि हुँदा 
  • कालामिन लोसन – चिलाउँदा तथा ठेउला आउँदा
  • क्याल्सियम ग्लुकोनेट – बर्थिङ सेन्टरमा प्रयोग हुने, अचेत भएका बिरामीलाई आकस्मिक रूपमा सेवा गराउने
  • कार्बामाजिपिन – छारेरोग, न्युरोप्याथिक पेन, माइग्रेनमा 
  • सेट्रिजिन – एलर्जी तथा छालाको समस्या 
  • चारकोल एक्टिभेटेड – विषादी खाएका बिरामीमा प्रयोग
  • क्लोरहेक्सिडिन – मुख संक्रमण, शिशुको नाभीमा लगाउने मल्हम
  • क्लोक्विन – मलेरिया, बाथ हुँदा
  • क्लोट्रिमाजोल – छालाको संक्रमण, योनिमा संक्रमण तथा फंगल इन्फेक्सन भए 
  • क्लोब बयल – दाँत दुख्दा
  • क्लोक्सासिलिन – छालाको संक्रमणमा
  • पिल्स – परिवार नियोजनको साधन
  • कोट्रिमोक्साजोल – छाला, घाँटी, पिसाब संक्रमण भए
  • एमडिटी कम्बिप्याक – कुष्ठरोग
  • डेक्सट्रोज – ग्लुकोज 
  • डाइजेपाम – छारेरोग, ब्याकपेन, निद्रा नलागे, एन्जाइटी आदि हुँदा
  • डाइक्लोफिन्याक – अत्यधिक पेन, बाथरोग, जोर्नी र ब्याक पेन
  • एफआइपिभी खोप – पोलीविरुद्ध
  • फ्लुकोनाजोल – योनिमा संक्रमण, छालामा संक्रमण, तल्लो पेट दुखेमा
  • फोलिक एसिड – गर्भावस्था
  • जेन्सन भायोलेट – पोलेको, चोटपटक, टाउकोमा संक्रमण 
  • एचपिभी खोप – प्यापिलोमा भाइरस
  • एचआरजेटई – क्षयरोग
  • हायोसिन ब्युटोब्रोमाइड – वाकवाकी, दुखाइ, पेट दुखाइ
  • आइब्रुप्रोफेन – जोर्नी र मांसपेशी दुखाइ 
  • लेभोनरजेस्ट्रेल – परिवार नियोजन, गर्भनिरोधक चक्की
  • लिग्नोकाइन – दुखाइ कम गर्ने
  • लिग्नोसाइन विथ एड्रेनालिन – दाँत निकाल्न प्रयोग हुने एनेस्थेसिया 
  • मिजल्स रुबेला खोप – मिजल्स रुबेला 
  • मेड्रग्सिप्रोजेस्ट्रोन – परिवार नियोजन
  • मेटोक्लोप्रोमाइड – वाकवाकी, बान्ता
  • मेट्रोनिडाजोल – आउँ तथा मासी हुँदा
  • मिफेप्रिस्टोन – गर्भपतनमा
  • मिजोप्रोस्टल – उच्च रक्तस्राव
  • नियमाइसिन – छालामा संक्रमण भए
  • ओरल पोलियो खोप – पोलियोविरुद्ध
  • अक्सिमेटाजोलिन – नाक बन्द हुँदा वा रगत बगेमा 
  • अक्सिटोसिन – रक्तस्राव रोक्न
  • पेन्टाभ्यालेन्ट खोप – डिप्थेरिया, इन्फ्लुइन्जा बी, टिटानास
  • पर्मेथ्रिन – लुतोमा
  • फेनिरमिन – एलर्जिक रिक्याक्सन
  • फेनोबार्बिटल – छारेरोग
  • पोभिडिन आयोडिन – छाला तथा घाउ निसंक्रमण, घाउ सफा गर्ने
  • प्रालिडोक्सिम सोडिएम – पोइजनिङ
  • प्रिमाक्विन – मलेरिया हुँदा
  • रिंगर ल्याक्टेट – रक्तस्राव, झाडापखालामा
  • रोटाभाइरस खोप – रोटाभाइरस खोप
  • सिल्भर सल्फाडियाजिन – पोलेकोलगायत घाउमा लगाउने मल्हम
  • टिटानस डिप्थेरिया – टिटानसविरुद्ध
  • टिटानस टक्साइड – टिटानसविरुद्ध
  • टेट्रासाइक्लिन – आँखाको संक्रमण
  • टिनिडाजोल – आउँ तथा मासी पर्दा
  • सोडियम भाल्पोरेट – छारेरोगमा

काठमाडौंमा ३५ र ललितपुरमा ४० प्रकारका औषधि मात्रै आधारभूत स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण
काठमाडौं महानगरले एक वर्षभित्र ९८ प्रकारकै औषधि अनिवार्य रूपमा नि:शुल्क उपलब्ध गराउने

काठमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य संस्थाबाट जम्मा ३५ प्रकारका मात्रै औषधि नि:शुल्क वितरण गर्ने गरेको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले अन्य कतिपय औषधि जिल्ला स्वास्थ्य कार्यालयले पनि दिएकाले महानगरले ३५ प्रकारका औषधि मात्रै वितरण गरेको बताए । 

‘साना स्वास्थ्य संस्थाबाट हामीले ३५ प्रकारका औषधि वितरण गर्दै आएका छौँ,’ त्रिपाठीले भने, ‘अबको एक वर्षभित्रमा महानगरभित्रका ठूला–साना निजी र सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि अनिवार्य वितरण सुरु गर्छौँ, त्यसका लागि बजेटको व्यवस्था पनि गर्छौँ ।’ 

त्यस्तै, ललितपुर महानगरपालिकाले पनि ४० प्रकारका औषधि नि:शुल्क वितरण गर्दै आएको छ । ‘हामीले आधारभूत स्वास्थ्य संस्थाबाट ४० प्रकारका औषधि नि:शुल्क दिएका छौँ । अन्य औषधि स्वास्थ्य कार्यालयले पनि वितरण गर्दै आइरहेको छ,’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले भने, ‘बरु यहाँका ठूला सरकारी र निजी अस्पतालमा भने यो नियम कार्यान्वयन छैन ।’ 

Thursday, August 18, 2022

सामाजिक सुरक्षा कोष : विशेष सापटी सुरु

 https://gorkhapatraonline.com/news/22348

सामाजिक सुरक्षा कोष : विशेष सापटी सुरु

blog

काठमाडौँ, भदौ २ गते ।  सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी रकम प्राप्त थालेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कोषमा योगदान गर्नुभएका विनयकुमार महतो र पवनबाबु प्रधानलाई विशेष सापटी योजनाअन्तर्गतको रकम प्रदान गर्नुभएको हो । 

श्रममन्त्री कुँवरले कोषमा लगातार तीन वर्ष (३६ महिना) योगदान गर्नुुभएका महतो र प्रधानले विशेष सापटी योजनाअन्तर्गत अवकाश कोषमा जम्मा भएको ८० प्रतिशत रकम मोबाइल एपबाट प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले सोल्टी होटलबाट भर्खर अवकाश हुनुभएका केशव खड्कालाई अवकाश कोषमा जम्मा भएको रकम पनि मोबाइल एपबाटै प्रदान गर्नुभयो । 

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा लगातार तीन वर्ष योगदान गरेका र निर्देशिकाले तोकेको मापदण्ड पूरा गरेका योगदानकर्ताले बुधबारदेखि उक्त सेवा लिन सक्ने जानकारी दिनुभयो । उक्त सेवाका लागि योग्य भएका तीन जना योगदानकर्ताले मोबाइल एपबाट आवेदन दिएर विशेष सापटी योजनाअन्तर्गत दुई जनाले र अवकाश कोषमा जम्मा भएको रकम एक जनाले रकम लिनुभएको हो । 

पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपियाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था 

उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । निर्देशिकाअनुसार कोषमा कम्तीमा तीन वर्ष  योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी लिन पाउनेछन् । 

यस्तै कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था कोषमा गरिएको छ । 

घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था निर्देशिकामा छ । 

निर्देशिकाले तीन विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख रुपियाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने व्यवस्था गरेको छ ।

शैक्षिक सापटी 

निर्देशिकाले योगदानमा आधारित सामाजिक सुरक्षामा योगदान गर्नेले शैक्षिक सापटी सेवा लिन सक्ने व्यवस्था गरिएको छ । कोषमा कम्तीमा तीन वर्ष योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिका आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको हो । 

उक्त निर्देशिकाअनुसार यस प्रकारको सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोराछोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । उक्त रकम ३५ लाख रुपियाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने व्यवस्था निर्देशिकामा गरिएको छ । 

सो निर्देशिकाअनुसार विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, छात्रावास खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, भ्रमण तथा बीमा खर्च उक्त सापटीमा रहने व्यवस्था गरिएको छ । एक पटक लिएको सापटी चुक्ता गरिसकेका योगदानकर्ताले शैक्षिक सापटीबापत पुनः अर्को सापटी पनि लिन सक्ने व्यवस्था कोषले गरेको छ । 

श्रममन्त्री कुँवरले गएको साउन १ गते सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र नियमावली २०७५ अनुसार सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्थाबमोजिम तयार गरिएको निर्देशिका श्रममन्त्री कुँवरले स्वीकृत गर्नुभएको हो । 

मोबाइल एप शुभारम्भ

श्रममन्त्री शेरबहादुर कुँवरले स्वचालित विद्युतीय प्रणालीमा आधारित योगदानकर्ता सापटी सेवा प्रवाह एवं सामाजिक सुरक्षा कोष एपको शुभारम्भ गर्नुभयो । उहाँले एपमार्फत योगदानकर्ताले सहज तरिकारले प्रविधिमैत्री सेवा लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कुँवरले सूचना तथा प्रविधिमा आएको विकासलाई प्रभावकारी रूपमा उपयोग गरी श्रम बजारलाई थप व्यवस्थित र मर्यादित बनाउनेतर्फ सरोकार सबैको ध्यान जानुुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कोषका अनुसार यस एप कार्यान्वयनमा जाँदा योगदानकर्ता आफूले लिन चाहेको सापटीका निम्ति कागजातसहित कोषको कार्यालयमा जानुपर्ने झन्झट अन्त्य हुनुका साथै कोषबाट प्रदान गरिने अन्य सेवा सुविधासमेत मोबाइल एपमार्फत नै सहज रूपमा प्राप्त गर्न सकिनेछ । 

यस एपमार्फत कोषका योगदानकताले कोषमा जम्मा भएको आफ्नो रकमका बारेमा जानकारी पाउन, आफ्नो केवाईसी भर्न, अवकाश हुँदा योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटी आवेदन दिन र अस्पतालमा उपचारका लागि योग्य रहे नरहेकोबारे जानकारी लिन सकिनेछ ।    




Tuesday, August 9, 2022

जोखिममा स्वास्थ्य बिमा

 https://www.nayapatrikadaily.com/news-details/93029/2022-08-10

जोखिममा स्वास्थ्य बिमा

संसारभर सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा पनि सरकारले नै सञ्चालन गर्छन्, तर नेपालमा स्वास्थ्य बिमा निजी कम्पनीमातहत लैजाने सरकारको घोषणाले नागरिक स्वास्थ्य पहुँचबाटै वञ्चित हुने जोखिम

स्वास्थ्यमा नागरिकको पहुँच संवैधानिक अधिकार हो । यसकै सुनिश्चितता बढाउन सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बोर्ड नै गठन गरेर स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको छ । तर, यो  कार्यक्रम निजी बिमा कम्पनीमातहत लैजाने सरकारको घोषणाले नागरिक स्वास्थ्य पहुँचबाटै वञ्चित हुने जोखिम बढेको छ ।

ad

चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा स्वास्थ्य बिमा कार्यक्रम दिगो बनाउन भन्दै सरकारले निजी बिमा कम्पनीमार्फत सञ्चालनको तयारी गरिने घोषणा गरेको थियो । बोर्डले उत्साहजनक काम नगरेका कारण यस्तो योजना बनाएको सरकारको भनाइ थियो । 

तर, बिमाविज्ञ डा. रवीन्द्र घिमिरे सरकारले भनेअनुसार निजी कम्पनीमार्फत सञ्चालन गर्ने हो भने स्वास्थ्य बिमा असफल हुने बताउँछन् । ‘विश्वभर सामाजिक सुरक्षाका काम सरकारले नै गर्छन् । यसमा बिमा पनि पर्छ । तर, यो कार्यक्रमलाई निजी कम्पनीमार्फत सञ्चालनमा लैजाने हो भने नागरिक स्वास्थ्यको पहुँचबाट वञ्चित हुन सक्छन्,’ उनले भने । 

स्वास्थ्य बिमा कार्यक्रम हत्याउन निजी बिमा कम्पनी सक्रिय बनेका छन् । सरकारले अनिवार्य गरेको यो कार्यक्रमबाट सजिलै आम्दानी हुने भएकाले कम्पनीहरूले आफूलाई दिनुपर्ने भन्दै बारम्बार बिमा समिति र सरकारसँग लबिङ गर्दै आएका छन् । बिमा समितिका वर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाल र पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंसमेत निजी बिमा कम्पनीकै मतहत लैजानुपर्ने पक्षमा छन् । निजी कम्पनी र बिमा समितिकै प्रभावमा सरकारले बजेटबाट अप्रिय कदम चालेकाले आलोचना भएको छ । 

निजी कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नु आत्मघाती हुने बिमा अभियन्ता पदम अवस्थीको चेतावनी छ । ‘सरकारले नागरिकलाई दिएको अनुदानमा समेत निजी बिमा कम्पनीहरूले आँखा गाडेका छन् । सरकारले नै कार्यक्रम सञ्चालन गर्दा उनीहरूको केही हिस्सा आम्दानी खोसिएकाले हत्याउन खोजेका छन्,’ बिमाको क्षेत्रमा अनुसन्धानसमेत गर्दै आएका अवस्थीले भने, ‘स्वास्थ्य बिमा सामाजिक कार्य हो, जसले नागरिकको घरघरमा पुगेर बिमा गराएको छ । तर, निजी कम्पनीका लागि बिमा व्यापार हो । उनीहरूले भोलिका दिनमा सरकारले दिने अनुदानमा व्यापार गर्नेछन् ।’ 

बिमा समितिका कार्यकारी प्रमुख राजुरमण पौडेलले स्वास्थ्य बिमा अब बिमा समितिअन्तर्गत सञ्चालन हुने बताए । त्यसो त सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुअघि नै निजी बिमा कम्पनीहरूले स्वास्थ्य बिमा पोलिसी बिक्री गर्दै आएका छन् । तर, कम्पनीहरूले बिक्री गरेका स्वास्थ्य बिमा पोलिसीमा आमनागरिकको पहुँच भने छैन । कम्पनीहरू सहरकेन्द्रित र नाफामुखी हुने हुँदा सामाजिक सुरक्षाअन्तर्गतको बिमा कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसक्ने बोर्डको दाबी छ ।

बिमा बोर्डले १३ अर्ब भुक्तानी नदिएको अस्पतालहरूको आरोप, पाँच अर्ब मात्रै भुक्तानी बाँकी रहेको बोर्डको दाबी 
स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएर नागरिकको उपचार गरेका अस्पतालले बिमा बोर्डबाट १३ अर्ब भुक्तानी लिन बाँकी रहेको दाबी गरेका छन् । वीर, बिएन्डबी, टिचिङलगायत अस्पतालले पत्रकार सम्मेलन नै गरेर बोर्डले रकम भुक्तानी नगरेको आरोप लगाएका हुन् । रकम भुक्तानी नभएसम्म स्वास्थ्य बिमा कार्यक्रम नै सञ्चालन नगर्ने चेतावनी उनीहरूको छ । नेपाल बिमक संघका महासचिव एवं नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले अस्पताललाई भुक्तानी गर्न बाँकी रहेको रकम बोर्डले निकासा गरेपछि मात्रै कम्पनीहरूले कार्यक्रम सञ्चालन गर्न सक्ने बताए । 

स्वास्थ्य बिमा बोर्डले भने गत चैतयताको पाँच अर्ब मात्रै भुक्तानी बाँकी रहेको दाबी गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने, ‘अस्पतालहरूको करिब पाँच अर्ब रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी छ । गत चैतदेखिको रकम रोकिएको हो । अस्पतालहरूले पठाएको दाबी रकम र कागजपत्रको बोर्डले रुजु गर्नुपर्छ । अस्पतालले आज दाबी गरेर भोलि नै बोर्डले भुक्तानी गर्न सक्दैन ।’ 

ऐनअनुसार अस्पतालले बिमितको उपचार भएको सात दिनभित्र बोर्डको सफ्टवेयरमा उपचारबापत उठेको रकमको विवरण दाखिला गराउनुपर्छ । १५ दिनभित्र आवश्यक कागजपत्र बोर्डमा बुझाउनुपर्छ । सो दाबी बोर्डको दाबी शाखामा जान्छ । शाखामा स्वास्थ्य प्राविधिकविज्ञको समिति छ, जसले दाबीको चेकजाँच गर्छ । उपचारका लागि बोर्डले नै प्याकेज र खर्चको सीमा तोकेको छ । सोहीअनुसार खर्च भए–नभएको परीक्षण गरेपछि मात्रै दाबी लेखा शाखामा जान्छ । तर, केही अस्पतालले भने वर्षौँपछि पनि दाबी गरेका छन् । कसैले बोर्डले तोकेभन्दा फरक मूल्य दाबी गरेका छन् । यस्ता अस्पताललाई सूचीबाट हटाउने कामसमेत भएको बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले बताए । गत वर्ष झापास्थित एडभान्स मल्टिस्पेसियालिटी हस्पिटललाई सूचीबाट हटाएको थियो । अस्पतालले ऐनविपरीत दाबी गरेपछि कारबाहीमा परेको हो । अन्य शंका लागेका अस्पताललाई पनि बोर्डले निगरानीमा राखेको छ । 

स्वास्थ्य बिमा कोषमा बिमितहरूबाट ११ अर्ब संकलन

आठ वर्षमा सरकारले कति बजेट विनियोजन गर्‍यो र अस्पताललाई कति भुक्तानी भयो ?
स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कोषमा १० अर्ब ९१ करोड रुपैयाँ संकलन भएको छ । यो रकम बोर्डले बिमा सुविधा प्रदान गरेबापत बिमितहरूसँग संकलन गरेको हो । यसअघि बोर्डले प्रिमियमबापत संकलन गरेको रकम जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा संकलन गथ्र्यो । तर, स्वास्थ्य बिमा ऐनले स्वास्थ्य बिमा कोष खडा गरी प्रिमियम रकम कोषमा नै जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार बोर्डले गत आवमा स्वास्थ्य बिमा कोष खडा गरी कोलेनिकामा जम्मा भएको रकम कोषमा जम्मा गर्न थालेको हो ।

बोर्डको तथ्यांकअनुसार हालसम्म आठ आर्थिक वर्षमा १० अर्ब ९१ करोड प्रिमियम रकम संकलन भएको छ । त्यस्तै, सरकारले हालसम्म २९ अर्ब नौ करोड बजेट विनियोजन गरेको छ । कुल खर्च २६ अर्ब २२ करोड रुपैयाँ छ । जसमध्ये २१ अर्ब ६ करोड सेवा प्रदायक अस्पताललाई भुक्तानी भएको छ । गत आव ०७८/७९ मा बोर्डले अस्पतालहरूलाई सरकारले विनियोजन गरेको बजेटभन्दा बढी अर्थात् १० अर्ब पाँच करोड भुक्तानी गरेको थियो । सरकारले आठ अर्ब ५० करोड विनियोजन गरेको थियो । 

बोर्डका कार्यकारी निर्देशक डा. बसौलाका अनुसार अपुग भएको रकम बोर्डको बिमा कोषमा रहेको रकमबाट भुक्तानी गरिएको हो । ‘अघिल्ला आवहरूको भुक्तानी हुन बाँकी रकम धेरै थियो । म नियुक्त भएपछि बाँकी रकम छिटो–छिटो भुक्तानी गरेँ । त्यसैले, सरकारले विनियोजन गरेको रकम अपुग भयो,’ उनले भने, ‘अपुग भएको रकम तीन अर्ब ५० करोड अर्थ मन्त्रालयसँग माग गरेका थियौँ । तर, मन्त्रालयले गत वैशाखमा एक अर्ब पठायो । बाँकी रकम कोषबाट लिइएको हो ।’ सुरुवातको समयमा बोर्डले खर्च गर्न नसकेको रकम सरकारको कोषमा नै फिर्ता गरिन्थ्यो । संकलन भएको प्रिमियम रकम कोलेनिकामा जम्मा गर्नुपथ्र्यो । बोर्डले प्रयोग गर्न पाउँदैनथ्यो । तर, गत वर्षदेखि बोर्डले बिमा कोष ऐन जारी गरेर कोष खडा गरेपछि प्रिमियमबापत संकलन भएको रकम कोषमा जम्मा गर्ने र खर्च गर्ने अधिकार बोर्डले नै पाएको छ । बोर्डले हाल ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ । 

नि:शुल्क स्वास्थ्य बिमामा लक्षित आठ प्रकारका व्यक्ति 
स्वास्थ्य बिमा बोर्डले आठ प्रकारका व्यक्तिलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत लक्षित वर्गमा राखेको छ । जसमध्ये ज्येष्ठ नागरिक (७० वर्षमाथिका), गरिबीको प्रमाणपत्र लिएका, कडा खालको कुष्ठ रोग, टिबी, एचआइभी भएका र शारीरिक रूपमा अशक्त व्यक्तिलाई नि:शुल्क बिमा गर्दै आएको छ । त्यस्तै, स्वास्थ्य स्वयंसेविकालाई ५०% रकममा बिमा गर्दै आएको छ । 

Monday, August 8, 2022

खुला विश्वविद्यालयको एक वर्षे बिएडमा नि:शुल्क शैक्षिक कार्यक्रम

 https://kantipurtv.com/news/2022-08-02/20220802220501.html

खुला विश्वविद्यालयको एक वर्षे बिएडमा नि:शुल्क शैक्षिक कार्यक्रम

श्रावण १७, २०७९

सामुदायिक विद्यालयका प्राविधिक शिक्षकका लागि खुला विश्वविद्यालयले एक वर्षे बिएडको नि:शुल्क शैक्षिक कार्यक्रम सुरु गर्ने भएको छ । शिक्षा मन्त्रालयको सहयोगमा शिक्षकहरुको वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालयले नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

शिक्षा मन्त्रालयअन्तर्गत देशभरका ४ सय ८४ सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको पठाइ हुन्छ । सिभिल, इलेक्ट्रिकल, कम्युटर, बालीविज्ञान, पशुविज्ञान, इन्जिनियरिङलगायतका विषय पढाउन इन्जिनियरिङ्मा उच्चशिक्षा हासिल गरेका ९ हजार ३ सय ५६ शिक्षक कार्यरत छन् । त्यसैगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभिटीअन्तर्गत ५ सय ७२ वटा सामुदायिक विद्यालयमा ३ हजार ४ सय शिक्षक छन । एकवर्षे बिएड वा १० महिने तालिमको अभावमा प्राविधिक धारका शिक्षकसँग शिक्षण सिकाइसम्बन्धी ज्ञान कमी हुन्छ । शिक्षकको स्थायी लाइसेन्सको अभावमा वृत्ति विकास र स्थायित्वमा समस्याकै कारण उनीहरुको सहयोगका लागि शिक्षा मन्त्रालयसँग सहकार्यमा नेपाल खुला विश्वविद्यालयले एक वर्षे बिएड प्रोफेसनल कोष निशुल्क सञ्चालन गर्न लागेको हो । त्यसका लागि भर्नासमेत आव्हान भइसकेको छ ।

एक वर्षे विएड अध्ययन गर्न चाहनेलाई शिक्षक विद्यार्थीलाई मन्त्रालयले प्राविधिक सहयोगस्वरुप १० हजार रुपैयाँसमेत दिने छ । यसबाट प्राविधिक धारका शिक्षकमा शिक्षण सिकाई प्रभावकारी मात्र नभई वृत्तिविकासदेखि स्थायित्वमा समेत सहयोग पुग्ने छ । सरकारले १० वर्षदेखि प्राविधिक विषयको पठनपाठन शुरु गरे पनि शिक्षकको स्थायित्व नहुने भएपछि धेरैले वीचमै छाडेर जाने समस्या छ । त्यही कारण अहिले शिक्षक अभाव छ ।

जलविद्युत् जति भारतलाई

 https://nepalihimal.com/article/18754

साउन २०७९ | 17/07/2022

जलविद्युत् जति भारतलाई

Share:
    
- रमेश कुमार
नेपालका नदीमा एकपछि अर्को जलविद्युत् आयोजना बनाउने अनुमति र द्विपक्षीय विद्युत् व्यापारमा हात माथि पारिरहेको भारत ऊर्जामा आफूप्रतिको निर्भरता बढाउने गरी कसरी हावी हुँदै छ?

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा २०७९ जेठ २ गते अरुण–४ निर्माण गर्न समझदारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलज पा

जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मा प्रतिस्पर्धा विना नै भारतीय सरकारी कम्पनी न्याशनल हाइड्रोइलेक्ट्रिसिटी पावर कर्पोरेशन (एनएचपीसी) लाई दिने निर्णय गर्‍यो। गत चैतमा भारत भ्रमणका वेला प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको वचन पछ्याउँदै एनएचपीसीले यो आयोजनाको निर्माण अघि बढाउन लगानी बोर्डमा गत जेठमा प्रस्ताव गरेको थियो।

देउवाले स्थानीय तहको चुनाव प्रचारका क्रममा वैशाख २७ मा गृहजिल्ला डडेल्धुरा पुगेर ‘चिनियाँ लगानीका आयोजनाको विद्युत् भारतले नकिन्ने भएकाले पश्चिम सेती भारतीय कम्पनीलाई दिइन लागेको’ खुलाएका थिए। देउवाले भूराजनीतिक विषय उप्काएको यो त्यही आयोजना हो, जसबाट चिनियाँ कम्पनी थ्री गर्जेजले २०७५ सालमा हात झिकेको थियो।

पारदर्शिता सुनिश्चित हुने आधार नभईकनै र प्रतिस्पर्धा विना नै सरकारले भारतीय कम्पनीलाई पश्चिम सेती सुम्पिएको हो। जबकि, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले प्रतिस्पर्धाका आधारमा आयोजना अघि बढाउने मर्म बोकेको छ। ऐनको दफा ८ ले ‘प्रतिस्पर्धात्मक रूपमा कार्यान्वयन गर्ने गरी छनोट गरिएका परियोजनाहरूको पारदर्शिता, स्वच्छता र प्रतिस्पर्धाको सुनिश्चितता हुने गरी प्रस्तावकसँग वार्ता गरी सम्झौता गर्ने वा गराउनुपर्ने’ भनी लगानी बोर्डको काम, कर्तव्य र अधिकार तोकेको छ। तर, बोर्डले ‘वार्ताद्वारा कार्यान्वयन गर्न सकिने’ भन्ने कानूनी छिद्र समाएर यो आयोजना एनएचपीसीलाई दिन मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो।

पश्चिम सेतीसँगै सरकारले ४५० मेगावाट क्षमताको सेती नदी-६ जलविद्युत् आयोजना पनि एनएचपीसीलाई नै दिने प्रक्रिया अगाडि बढाएको छ। एनएचपीसीले लगानी बोर्डमा यो आयोजनाको समेत विकास गर्न आफू इच्छुक रहेको प्रस्ताव गरिसकेको छ। जस अनुसार, यी दुवै आयोजना सँगसँगै विकास गर्न उक्त कम्पनीलाई दिने/नदिने विषय वार्ताबाट टुङ्गो लगाउने लगानी बोर्डका प्रवक्ता अमृत लम्साल बताउँछन्। यी आयोजनाबाट तीन प्रतिशत मात्रै निःशुल्क बिजुली दिने प्रस्ताव भारतीय अधिकारीहरूले गरेको जानकार स्रोत बताउँछ।

देउवा नेतृत्वको सरकारले एकपछि अर्को
ठूला आयोजना भारतीय सरकारी
स्वामित्वका कम्पनीको हातमा
सुम्पिइरहेको छ, त्यो पनि विना प्रतिस्पर्धा।
देउवा नेतृत्वको सरकारले एकपछि अर्को ठूला आयोजना भारतीय सरकारी स्वामित्वका कम्पनीको हातमा सुम्पिइरहेको छ, त्यो पनि विना प्रतिस्पर्धा। यी दुई आयोजनाभन्दा अघि जेठमै सरकारले अरुण-४ जलविद्युत् आयोजना पनि भारतको सरकारी स्वामित्वकै सतलज जलविद्युत् निगमको पोल्टामा हालिदिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल (लुम्बिनी) भ्रमणका वेला जेठ २ गते अरुण-४ निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

४९० मेगावाट क्षमताको यो आयोजनाको अनुमतिपत्र प्राधिकरणसँगै थियो। तर, पारदर्शिता र प्रतिस्पर्धाको सुनिश्चितता विना नै यो आयोजना निर्माणमा पनि ५१ प्रतिशत शेयर सतलजले लगानी गर्ने गरी सम्झौता गरियो। योे सम्झौता यति गुपचुप गरियो कि, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेपछि मात्रै नागरिकले यसबारे जानकारी पाए।

विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २४ ले प्राधिकरणले सरकारको पूर्व स्वीकृत नलिई रु.एक लाखमाथिको कुनै चल-अचल सम्पत्ति बेचबिखन, हस्तान्तरण वा नामसारी गर्न नपाउने व्यवस्था गरेको छ। तर, कानून मिचेर मन्त्रिपरिषद्को निर्णय विना नै प्राधिकरणले विदेशी कम्पनीलाई आयोजना निर्माण गर्न भित्र्यायो। राज्यको यति ठूलो सार्वजनिक सम्पत्तिको कारोबारमा कुन प्रक्रिया अपनाइएको थियो भनेर समेत जानकारी दिइएन। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम आफूले समझदारी गरेको हिमाललाई बताएका छन्।

सरकारले आठ वर्षदेखि ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् ओगटेर बसेको तर वित्तीय व्यवस्थापन गर्न नसकेको भारतीय कम्पनी जीएमआर समूह (ग्रान्धी मल्लिकार्जुना राव) लाई थप दुई वर्ष म्याद थप्ने प्रस्ताव अगाडि बढाएको छ। सन् २०१४ सेप्टेम्बरमा लगानी बोर्ड र जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने शर्त सहित परियोजना विकास सम्झौता (पीडीए) गरिए पनि कम्पनीले आठ वर्ष भइसक्दा लगानीको स्रोत टुङ्गो लगाउन सकेको छैन।

बरु, सन् २०१६ मा पुष्पकमल दाहाल नेतृत्वको सरकार र सन् २०१७ मा देउवा नेतृत्वको सरकारले यसको म्याद थप्दै आएका थिए। सन् २०१८ यता अन्योलमा परेको परियोजनालाई अहिले फेरि देउवा नेतृत्वको सरकारले म्याद थप्न लागेको छ।

यति मात्र होइन, देउवा सरकार थप जलविद्युत् आयोजना पनि भारतीय कम्पनीको पोल्टामा हाल्न लालायित देखिन्छ। भारतीय कम्पनी एनएचपीसीले ४८० मेगावाटको फुकोट कर्णाली आयोजनाको निर्माणका लागि पनि प्रस्ताव गरिसकेको छ। अहिले यसको अनुमतिपत्र सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीसँग छ। तर, यो आयोजना पनि भारतीय कम्पनीको हातमा सुम्पिने प्रपञ्च भइरहेको कम्पनी स्रोत बताउँछ।

“एनएचपीसीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ, सम्भवतः ५१ प्रतिशत शेयर उक्त कम्पनीलाई दिने गरी टुङ्गो लाग्नेछ,” स्रोत भन्छ। त्यसै गरी, एक हजार ९०२ मेगावाटको मुगु कर्णाली आयोजना निर्माणका लागि पनि एनएचपीसीले प्रस्ताव गरेको छ।

भारतका पछिल्ला आयोजना प्रस्तावहरूले पुष्टि गर्छन्- ऊ लामो समयदेखि मध्य पहाडका चेप भएर बग्ने नेपालका नदीहरूमा विद्युत् आयोजना निर्माण गर्न रणनीतिक रूपमा प्रवेश गरिरहेको छ। त्यसको अर्को उदाहरण अरुण नदी बेसिन हो। अरुण नदीमा २०७४ सालमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो बनाउन अनुमति पाएको भारतीय सरकारी कम्पनी सतलज पावरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ६७९ मेगावाट क्षमताको तल्लो अरुण पनि हात पारेको थियो।

गत महीना अरुण-४ पनि सतलजले पाएपछि अरुण नदीमा मात्रै भारतीय कम्पनीका हातमा दुई हजार मेगावाट क्षमताभन्दा बढीका आयोजना पुगेका छन्। देशको पश्चिमी क्षेत्रमा पश्चिम सेती, सेती-४, माथिल्लो कर्णाली सहित दुई हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पनि भारतीय कम्पनीका हातमा पुगेका छन्।

पूर्व मन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवाली सरकारले भारतीय कम्पनीलाई एकपछि अर्को आयोजना सुम्पिनुलाई ‘मुग्लानी साहुलाई चढाइएको नजराना’ को संज्ञा दिन्छन्। उनी यस्तो प्रपञ्च ऐन विपरीत मात्रै होइन, सोझै संविधान विपरीत रहेको दाबी गर्छन्। नेपालको संविधान, २०७२ मा प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड सम्बन्धी सन्धि वा सम्झौतालाई संसद्को दुई तिहाइ बैठकले अनुमोदन गर्नुपर्ने उल्लेख छ। यस्ता सन्धि, सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति सङ्घीय कानून बमोजिम हुने व्यवस्था गरिएको छ।

“संविधान र कानून मिचेर एकपछि अर्का
आयोजना भारतलाई दिइरहनुले यो
भूराजनीतिक खेल भएको बुझिन्छ।”
कतिपय जानकारहरू भने बगिजाने खोलामा भारतीय कम्पनीले लगानी गरेर विद्युत् उत्पादन गर्दा नेपाललाई लाभ नै हुने तर्क गर्छन्। त्यसैमध्येका एक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अरुण-४ मा नेपालले पाएको सुविधा कसैले नदिने दाबी गर्छन्। यो आयोजनामा नेपालले मासिक २१.९ प्रतिशत निःशुल्क विद्युत् र ४९ प्रतिशत लगानीको अवसर पाउनेछ।

टाढिंदै उत्तर, नजिकिंदै दक्षिण

एक वर्षअघि केपी ओली नेतृत्वको सरकार ढलेर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि यसको विदेश नीतिको प्राथमिकता फेरिएको छनक नेपालको जलविद्युत् आयोजनाहरूबारे सरकारले गरेका एकपछि अर्को निर्णयले देखाउँछ। अहिले आयोजनाहरूमा भारतीय कम्पनीको प्रवेश भइरहेको छ भने चिनियाँ कम्पनी किनारामा धकेलिएको देखिन्छ। जलस्रोतविद् ज्ञवाली भन्छन्, “संविधान र कानून मिचेर एकपछि अर्का आयोजना भारतलाई दिइरहनुले यो भूराजनीतिक खेल भएको बुझिन्छ।”

गत चैतमा देउवा नेतृत्वको सरकारले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी कचौपा समूह (सीजीजीसी) बाट खोसेर आफैंले बनाउने निर्णय गरेको थियो। २०७५ सालमा ओली नेतृत्वको सरकारले यो आयोजना निर्माणको जिम्मा कचौपालाई दिएको थियो।

पछिल्ला वर्षहरूमा बूढीगण्डकी आयोजना निरन्तर राजनीतिक स्वार्थको शिकार बन्दै आएको छ। २०७४ जेठमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो परियोजना विना प्रतिस्पर्धा कचौपालाई दिने निर्णय गरेको थियो। तर, त्यसपछि बनेको देउवा नेतृत्वको चुनावी सरकारले २०७४ कात्तिकमा उक्त निर्णय उल्ट्याएर सरकार आफैंले आयोजना बनाउने निधो गर्‍यो। आम निर्वाचन जितेर प्रधानमन्त्री बनेका ओलीले फेरि २०७५ असोजमा सोही चिनियाँ कम्पनीलाई उक्त आयोजना निर्माण सुम्पिएका थिए।

बूढीगण्डकीका विषयमा एकपछि अर्को सरकारले अस्थिर निर्णय लिनुमा यसको जरो भने भूराजनीतिक स्वार्थसँग जोडिन्छ। पहिलो पटक २०७४ जेठमा यो आयोजना निर्माणका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीजीजीसीलाई जिम्मा दिंदादेखि नै यसमा भूराजनीति छिरेको अनुमान भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङ उपस्थित थिइन्।

जसै, दाहालका उत्तराधिकारीका रूपमा सिंहदरबार पुगेका देउवा नेतृत्वको सरकारले सीजीजीसीलाई आयोजना निर्माणबाट बेदखल गर्ने निर्णय गर्‍यो, चिनियाँ राजदूत यु होङले सरकारी निर्णयप्रति कूटनीतिक मर्यादा नै मिचेर आक्रोश पोखिन्। त्यति मात्रै होइन, चीनको विदेश मन्त्रालयको दक्षिणएशिया मामिलाका उपप्रमुखले बेइजिङस्थित तत्कालीन नेपाली राजदूत लीलामणि पौड्याल समक्ष पनि गम्भीर असन्तुष्टि पोखेको स्रोत बताउँछ।

अरुण–३ जलविद्युत् आयोजना निर्माणस्थल।
तस्वीर स्रोत: सतलज पावर

गत चैतमा देउवा सरकारले फेरि चिनियाँ कम्पनीलाई आयोजनाबाट बेदखल गरेपछि चीन यसप्रति असन्तुष्ट भएको बुझ्न कठिन छैन। गत वैशाखमा चिनियाँ राजदूत हउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बूढीगण्डकीप्रति लक्षित गर्दै ‘सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुनु गलत भएको’ भन्दै यसले लगानीकर्ता मारमा परेको बताएकी थिइन्।

परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई पनि एउटा सरकार आउँदा कुनै छिमेकीतिर र अर्को आउँदा अर्कैतिर ढल्कने नीति घातक रहेको बताउँछन्। उनी भन्छन्, “छिमेकी मुलुक जोडिने जलविद्युत् आयोजनाहरूबारे सरकार फेरिएपिच्छे गर्ने तजबिजी निर्णय कूटनीतिका दृष्टिले राम्रो होइन।”

सरकार सम्बद्ध एक स्रोतले हिमाललाई बताए अनुसार, गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणकै क्रममा भारतीय अधिकारीहरूले पश्चिम सेती र अरुण-४ आयोजना निर्माणको जिम्मा दिन प्रधानमन्त्रीलाई दबाब दिएका थिए। “प्रधानमन्त्रीले यी आयोजना भारतीय कम्पनीलाई नै दिने भनेर त्यतिवेलै प्रतिबद्धता जनाउनुभएको थियो,” स्रोत भन्छ।

खासमा नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई भारतीय बजारमा प्रवेश दिने विषय यी दुई आयोजनासँग जोडिएर आएका थिए। नेपालको विद्युत् भारतीय बजारमा बिक्रीको बाटो खोल्ने हो भने पश्चिम सेती र अरुण-४ को अनुमतिपत्र भारतीय कम्पनीलाई दिनुपर्ने शर्त भारतीय पक्षबाट राखिएको स्रोतको दाबी छ। त्यसपछिका घटनाक्रमले त्यस्तो दाबीलाई पुष्टि गर्छन्।

“छिमेकी मुलुक जोडिने जलविद्युत्
आयोजनाहरूबारे सरकार फेरिएपिच्छे गर्ने
तजबिजी निर्णय कूटनीतिका दृष्टिले राम्रो
होइन।”
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा लामो समयदेखि भारतले रोकिराखेको नेपालको विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतले अनुमति दिएको थियो। त्यसपछिका महीनाहरूमा एकपछि अर्को आयोजना नेपालले भारतीय कम्पनीको हातमा सुम्पिँदै गएको छ। “त्यो बकाइदा लेनदेनको समझदारी थियो,” स्रोत भन्छ।

दक्षिणी ऊर्जा निर्भरता

गत चैत तेस्रो साता प्रधानमन्त्री देउवाको भारत भ्रमणमा नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रमा समझदारी भयो। त्यस लगत्तै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् भारतीय एक्सचेन्ज बजारमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पनि दियो। नेपालको विद्युत् प्रणालीका लागि यो महत्त्वपूर्ण उपलब्धि त थियो, तर भारतले लेनदेनमा चलाखीपूर्वक यस्तो निर्णय लिएको बुझ्न कठिन थिएन।

पहिलो, नेपालमा भारतीय कम्पनीलाई ठूला जलविद्युत् आयोजनाको अनुमति दिने शर्तमा मात्रै यस्तो समझदारी भएको थियो। दोस्रो, भारतले नेपाललाई दिएको विद्युत् निर्यातको सुविधा सधैंका लागि होइन, हरेक वर्ष नवीकरण गर्नुपर्छ। अर्थात्, भारतले अनिच्छा देखाएको दिन यस्तो सम्झौता नवीकरण हुनेछैन। तेस्रो, ती आयोजनाका विद्युत्ले मात्रै भारतीय बजारमा बिक्रीको अनुमति पाएका छन्, जसमा चीन प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छैन।

नेपालले पछिल्ला वर्षहरूमा नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा निर्यातका लागि इच्छा जनाउँदै आए पनि भारतले विभिन्न अवरोध जारी राखेर रोक्दै आएको छ। भारतले किन्न नमानेपछि गत वर्षायाममा नेपालको करीब ५०० मेगावाट विद्युत् खेर गएको थियो। भारतले शर्त सहित यो वर्ष ३६४ मेगावाट विद्युत् किन्न सहमति त जनाएको छ, तर त्यस्तो विद्युत् उत्पादन गर्ने आयोजनामा चीन कतै पनि जोडिनु हुँदैन।

२०७७ फागुनमा अन्तर्देशीय विद्युत् व्यापार कार्यविधि (कन्डक्ट अफ बिजनेस रुल- सीबीआर) जारी गर्दै भारतले सीमा जोडिएका देशसँग ऊर्जा व्यापार सम्झौता भएका मुलुकबाट विद्युत् आयात र निर्यात गर्न सकिने व्यवस्था गरेको थियो। अर्थात्, यस्तो द्विपक्षीय सम्झौता नभएका देशका व्यक्ति र कम्पनीको लगानी भएका आयोजनाको विद्युत् भारतले नकिन्ने कार्यविधि बनाएको थियो। नेपालमा ऊर्जा व्यापार सम्झौता नभएका पाकिस्तान र चीनको लगानीका आयोजनाबाट भारतले विद्युत् नकिन्ने प्रष्ट पारेको थियो।

नेपालमा पाकिस्तानी लगानीका आयोजना नभए पनि चिनियाँ लगानीका आयोजना बनिरहेका छन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता गरेका करीब एक हजार मेगावाट क्षमताभन्दा बढीका चिनियाँ लगानीका आयोजना निर्माणाधीन र निर्माण शुरू हुने क्रममा छन्। तर, ती आयोजनाको विद्युत् भारतले नकिन्ने पक्कापक्की जस्तै छ।

चिनियाँ लगानी मात्रै होइन्, चिनियाँ ठेकेदार भएका आयोजनाको विद्युत् समेत भारतले आफ्नो बजारमा प्रवेश निषेध गरेको छ। उदाहरणका लागि, नेपालको आफ्नै लगानीमा निर्माण भएको र निर्माणका तीन ठूला ठेक्कामा भारतीय कम्पनीहरू नै संलग्न रहेको माथिल्लो तामाकोशी (४५६ मेगावाट) आयोजनाको विद्युत् समेत भारतले आफ्नो बजारमा भित्रन रोकिरहेको छ।

यो आयोजनाको सिभिलतर्फको निर्माणमा चिनियाँ कम्पनी सिनो हाइड्रो संलग्न रहेको कारण देखाउँदै भारतले अत्तो थापेको हो। सरकारले एकपछि अर्को भारतीय कम्पनीलाई नेपालमा आयोजना निर्माणको अनुमति दिंदा माथिल्लो तामाकोशीको विद्युत् भारतीय बजारमा प्रवेश अनुमति दिनुपर्ने शर्त तेर्स्याउन सक्नुपर्ने भए पनि त्यस्तो अवसर गुमिसकेको छ।

अहिले भारतले उसको बजारमा बिक्रीका लागि अनुमति दिएका आयोजनामा पनि चिनियाँ कम्पनी संलग्न नभएको सुनिश्चितता खोजेर मात्रै अनुमति दिएको छ। यसले भारतले भविष्यसम्मै नेपालमा चिनियाँ लगानीका आयोजना कार्यान्वयन हुन रोक्न खोजेको सङ्केत गर्छ। गत वर्ष भारतीय सहयोगमा बनेका नेपालका दुई आयोजना त्रिशूली र देवीघाटको विद्युत् पहिलो चरणमा भारतको बजारमा प्रवेश अनुमति दिएर आफ्नो संलग्नता बाहेकका आयोजनाको विद्युत् खरीद नगर्ने सङ्केत गरेको थियो।

भारतले अहिले नेपालका निजी जलविद्युत् आयोजनाहरूसँग समेत लगानी तथा ठेक्कापट्टामा चिनियाँ कम्पनी संलग्न भए/नभएको तथ्याङ्क मागेर चिनियाँ संलग्नताको आयोजनाको विद्युत् भारतीय बजारमा छिर्न नदिने योजनामा काम गरिरहेको छ। अहिले थुप्रै आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार संलग्न छन्।

भारतको यो नीतिले निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् भारतीय बजारमा बिक्री हुन रोकिने मात्र होइन, बजारको सुनिश्चितताको अभावमा नेपालको जलविद्युत् आयोजनामा भविष्यमा पनि चिनियाँ लगानी निरुत्साहित हुनेछ। यसअघि, बजारको सुनिश्चितता नहुने देखेरै पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेको थियो। अस्ट्रेलियन कम्पनी स्नोई माउन्टेन इन्जिनीयरिङ कम्पनी (स्मेक) ले डेढ दशक अड्काएर पनि यो आयोजना अघि बढाउन नसक्नुमा भारतीय अरुचि समेत कारण मानिन्छ।

भारतीय बजार ताके पनि भारतले यो परियोजनाको विद्युत् किन्न चासो नदेखाएपछि स्मेकले परियोजनाबाट हात झिकेको थियो। यसअघि, नर्वेली कम्पनी एसएन पावरले पनि भारतीय बजारमा प्रवेश असम्भव देखेपछि तामाकोशी तेस्रो (६५० मेगावाट) बाट हात झिकेको थियो। यसले नेपालका जलविद्युत् आयोजना विकास गर्न भारतीय कम्पनी मात्रै सक्षम रहेको सन्देश बाँकी देशका लगानीकर्तालाई दिइरहेको एक जलविद्युत् लगानीकर्ता बताउँछन्।

अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले नेपालको विद्युत् उत्पादनको चरित्र आफैंमा उतारचढावयुक्त छ। जेठपछि ६ महीनासम्म नेपालमा मागभन्दा धेरै विद्युत् उत्पादन हुन्छ भने हिउँदका महीनाहरूमा मागका तुलनामा थोरै उत्पादन हुन्छ। त्यसैले वर्षायाममा देशभित्र खपत भएर बचेको विद्युत् निर्यात गर्नुपर्ने हुन्छ भने हिउँदमा माग थेग्न आयात गर्नुपर्छ।

जस्तै- नेपाल विद्युत् प्राधिकरणले अहिले वर्षायाममा देशभित्र खपत भएर बचेको करीब ३५० मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ। जबकि, हिउँदका महीनाहरूमा भारतबाटै आयात गर्नुपर्छ। यही असन्तुलनका कारण भारतले नेपालको विद्युत् प्रणालीमा आफ्नो हात माथि पारेर लाभ उठाइरहेको छ।

प्राधिकरणका अनुसार, अहिले देशमा जलविद्युत् आयोजनाहरूको जडित क्षमता दुई हजार १०० मेगावाट नाघिसकेको छ। अहिले करीब दुई हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन्, जसको निर्माण अबका दुई वर्षभित्र सकिने अनुमान छ। त्यस्तै, थप तीन हजार मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापनको चरणमा भएकाले केही वर्षभित्रै यी आयोजना निर्माण सकिएर राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछन्।

यी आयोजनाको विद्युत् किन्न प्राधिकरणले शुरूमै सम्झौता गरिसकेको छ। तर, महत्र्वपूर्ण के भने, देशभित्रै उत्पादन हुने यो परिमाणको विद्युत् खपत हुनेमा शङ्का कायम छ। अहिले औसत विद्युत् माग एक हजार ५५० मेगावाट मात्रै रहेको विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन्।

यसको अर्थ, नेपालले खपत गरेर बचेको विद्युत् भारतीय बजारमा बिक्री गर्नुपर्छ। तर, भारतले शर्त तेर्स्याएर चिनियाँ संलग्न परियोजनाको विद्युत् नलिने वा कोटा तोक्ने अत्तो थापिरहने हो भने देशको विद्युत् खेर जाने जोखिम छ। यसले विद्युत् प्राधिकरण र जलविद्युत् आयोजना दुवैलाई मर्का पार्छ।

जलस्रोतविद् दीपक ज्ञवाली त प्रकारान्तरले भारतले नेपालको जलविद्युत् क्षेत्रलाई भुटानी मोडलमा लैजान खोजेको बताउँछन्। उनी भन्छन्, “भारतले चतुर्‍याइँपूर्वक नेपालको ऊर्जा प्रणालीलाई आफ्नो प्रभावमा राख्न चाहिरहेको छ।” उनी भारतले ऊर्जालाई रणनीतिक स्रोत मानेकाले यहाँको विद्युत्लाई भविष्यमा पनि भारतीय बजार उपलब्ध नहुने तर्क गर्छन्।

नेपालको चीनसँग जोड्ने प्रसारण लाइन नभएको तथा प्रसारण लाइन निर्माण गरिए पनि चिनियाँ बजारमा विद्युत् पठाउन असम्भवप्रायः छ। बाङ्लादेशतर्फ विद्युत् निर्यातको सम्भावना भए पनि यसका लागि पनि भारतीय सहमति नै आवश्यक पर्छ। भारतीय कम्पनी जीमएआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बाङ्लादेश निर्यात गर्नका लागि बजार सुनिश्चितताको प्रक्रिया अघि बढाउन पहल शुरू गर्दा भारत सरकारले अर्घेल्याइँ जारी राखेको छ।

जसले गर्दा नेपालको विद्युत्को एकाधिकारप्राप्त बजार भारत मात्र देखिन्छ। भारतले नेपालसँगको विद्युत् सहकार्यमा नेपाललाई सजिलो पर्ने निर्णय गर्न आनाकानी गर्दै आएको छ। जस्तो कि, नेपालमा वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका वेला सोही परिमाणमा ल्याउने नेपाली अधिकारीहरूको इनर्जी ब्याङ्किङको प्रस्तावमा भारतले लामो समय आलटाल गर्दै आएको छ।

२०७६ असोजमा भारतको ब्याङ्लोरमा भएको नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदलको सातौं बैठकले इनर्जी ब्याङ्किङको व्यवस्था गर्नेबारे सहमति गरेको थियो। तर, पूर्व सहमति भइसकेको विषयबाट पनि भारत पछाडि हटेको छ।

भारतीय चासोः विद्युत्भन्दा पानी

वातावरणीय दृष्टिले नवीकरण ऊर्जामा जोड दिनुपरेका कारण भारतले पछिल्लो समय नेपालको जलविद्युत् आयोजनाहरूमा चासो देखाए पनि उसको पहिलो प्राथमिकतामा नेपालको ठूलो जलस्रोत भएको ज्ञवाली बताउँछन्। पानीको बाँडफाँड सम्बन्धी गण्डक, कोशी, महाकाली सन्धिमा भारतले चलाखीपूर्वक आफ्नो हात माथि पारेको जानकारहरूले बताउँदै आएका छन्।

पछिल्लो समय सन् २०१८ मा भारतको नीति आयोगले सार्वजनिक गरेको एक प्रतिवेदनले झण्डै ६० करोड भारतीयले खानेपानीको समस्या भोगिरहेको देखाएको थियो। आयोगले दिल्ली सहितका २१ शहरमा सन् २०३० सम्ममा जमीनमुनिको पानी रित्तिने भयावह अवस्था आउन सक्ने जोखिम औंल्याएको थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सन् २०१९ को हिन्दू कुश हिमालय मूल्याङ्कन प्रतिवेदनमा अहिले भइरहेको कार्बन उत्सर्जन नघटाए सन् २१०० सम्ममा हिन्दू-कुश हिमालय क्षेत्रका हिमालमा हिउँ पग्लिएर कालापत्थर मात्र बाँकी रहने चेतावनी दिएको थियो। हिमालमा हिउँ रित्तिनुको अर्थ हो, तल्लो तटीय क्षेत्रमा पर्ने नेपाल सहित भारतका शहरहरूमा भविष्यमा पानीको चर्को सङ्कट आउनेछ।

यसै पनि, भारतका मुख्य नदी नेपालबाट बगेर जाने नदीको प्रणालीमा आबद्ध छन्। भारतको ठूलो नदीमध्येको गङ्गा नदीमा बहने पानीको झण्डै दुई तिहाइ स्रोत नेपालका नदी हुन्। भारतको कृषियोग्य भूमिमा सिंचाइका लागि गङ्गा नदीको महत्र्वपूर्ण भूमिका छ। भारतले पछिल्ला वर्षहरूमा दीर्घकालीन पानी सङ्कट हेरेर राष्ट्रिय नदी जडान योजना नै अघि सारेको छ।

यस्तो पृष्ठभूमिमा भारतको चासो सधैं नेपालको पानीमा रहँदै आएको जानकारहरू बताउँछन्। पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मी भन्छन्, “भारतको चासो नेपालको जलविद्युत्मा भन्दा पानीमा रहेकोमा शङ्का छैन। बिजुली उत्पादनका अनेकौं विकल्प छन्, पानीको छैन।”

नेपालको पानीमा विगत लामो समयदेखि चासो राख्दै आएको भारतकै कारण कैयौं परियोजना अघि नबढेका वा भारतीय हात माथि हुनेगरी कार्यान्वयन भएको आलोचना हुने गर्छ। जानकारहरूले भारतले नेपालमा बाँध बाँधेर नियमित प्रवाह हुने पानी लगेर सिँचाइ र खानेपानी सङ्कट टार्न लामो समयदेखि काम गरिरहेको बताउने गरेका छन्।