https://www.nayapatrikadaily.com/news-details/95901/2022-09-16
ठूला सरकारी अस्पतालले बिरामीलाई दिँदैनन् सरकारले तोकेका ९८ प्रकारका नि:शुल्क औषधि
- नि:शुल्क औषधि किन्न वीर अस्पतालले स्वास्थ्य मन्त्रालयबाट वार्षिक ६० लाख रुपैयाँ बुझ्छ, तर बिरामीले नि:शुल्क पाउँदैनन्
- विपन्न बिरामीको भिड लाग्ने वीर र शिक्षण अस्पतालमा ९८ प्रकारकै औषधि छन्, तर नि:शुल्क दिँदैनन्, बेच्छन्
वीर अस्पतालको फार्मेसी । अस्पतालमा भएका तीन फार्मेसीमध्ये एउटा दुई महिनादेखि बन्द छ ।
सरकारले सर्वसाधारणका लागि ९८ प्रकारका औषधि नि:शुल्क गरेको छ । सरकारी तथा आधारभूत स्वास्थ्य संस्थामा ती औषधि बिरामीले नि:शुल्क र सहजै पाउनुपर्छ । तर, देशका ठूला सरकारी अस्पतालहरूले नै सर्वसाधारणलाई यो सुविधा दिएका छैनन् ।
०७२ को संविधानले हरेक नागरिकले नि:शुल्क स्वास्थ्य सेवा पाउनुपर्ने व्यवस्था गरेपछि त्यसैमा टेक्दै र स्वास्थ्य मन्त्रालयले ०७८ देखि ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्ने स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) बनाई सबै सरकारी स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो । प्रोटोकलमा ठूला अस्पतालले पनि पालिकासँग समन्वय गरेर ती औषधि नि:शुल्क दिनुपर्ने उल्लेख थियो । तर, नागरिकको स्वास्थ्य सुविधाको यो व्यवस्था न अस्पतालले कार्यान्वयन गरेका छन्, न त सम्बन्धित स्थानीय तहहरूले नै ध्यान दिएका छन् ।
राजधानी काठमाडौंमै रहेका ठूला सरकारी अस्पतालले समेत सिटामोलको पैसासमेत बिरामीलाई तिराउँछन् । उपचारका लागि विपन्न नागरिकहरूको भीड लाग्ने वीर र शिक्षण अस्पताल हाकाहाकी भन्छन् – हामीसँग ९८ प्रकारकै औषधी छन् तर, स्थानीय सरकारले रकम उपलब्ध नगराएका कारण विरामीलाई नि:शुल्क दिँदैनौं । ०७८ मा प्रोटोकल बन्नुअघि ७० प्रकारका औषधि नि:शुल्क दिने सरकारको निर्णय पनि पूर्ण कार्यान्वयन भएको थिएन । नागरिकलाई पनि कुन–कुन औषधि नि:शुल्क पाइने हो भन्नेसम्म थाहा छैन ।
‘९८ प्रकारका औषधि नि:शुल्क दिनुपर्ने नियम साना स्वास्थ्य संस्थाका लागि मात्रै होइन, सरकारी अस्पतालका लागि पनि हो,’ स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. नरेन्द्र खनालले भने, ‘यसमा गल्ती स्थानीय सरकारको नै छ, किनकि उनीहरूले बजेट दिएर भए पनि सरकारी अस्पतालमा ९८ प्रकारका औषधि नि:शुल्क रूपमा पाउने व्यवस्था गर्नुपर्छ ।’
उनका अनुसार मन्त्रालयले स्थानीय आधारभूत स्वास्थ्य संस्थाबाहेक ठूला अस्पतालमा पनि ९८ प्रकारका औषधि नि:शुल्क पाउनुपर्ने निर्देशन दिएको थियो । तर, देशको जेठो र विपन्न बिरामीको भिड लाग्ने वीर अस्पतालले समेत बिरामीलाई ती औषधिको पैसा तिराउने गरेको छ । अस्पतालले भने सम्बन्धित स्थानीय सरकारले आर्थिक सहायता उपलब्ध नगराएका कारण बिरामीसँग पैसा लिनुपरेको जवाफ दिएको छ ।
वीर अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्ने नियम कार्यान्वयन नगरिएको बताए । ‘हामीकहाँ भएका फार्मेसीमा नि:शुल्क दिने भनिएका ९८ प्रकारकै औषधि छन्, तर हामीले नि:शुल्क दिँदैनौँ,’ उनले भने, ‘कहिलेकाहीँ इमर्जेन्सीमा आएका बिरामीको उपचार नपाएर तत्काल ज्यान जाने अवस्था छ भने मात्र केही औषधि नि:शुल्क प्रयोग गर्छौँ ।’ उनका अनुसार वीर अस्पताललाई नि:शुल्क औषधि किन्न स्वास्थ्य मन्त्रालयले वार्षिक ६० लाख रुपैयाँ दिने गरेको छ । तर, पैसा पाइएन भन्ने अस्पतालले उक्त रकम अन्यन्त्रै प्रयोग गर्ने गरेको छ । मेडिकल स्टोर प्रमुख पनेरूले यसबाहेक ९८ प्रकारका औषधि किन्न पालिकाले पनि आर्थिक सहयोग नगरेको जानकारी दिए ।
वीर मात्रै होइन, कान्ति बाल, परोपकार प्रसूतिगृह, त्रिवि शिक्षण, निजामती, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालले पनि सरकारले नि:शुल्क प्रदान गर्ने भनेका औषधिको शुल्क असुल्छन् । यी सबैजसो स्वास्थ्य संस्थामा सरकारले नि:शुल्क दिने भनेका औषधि भने पाइन्छ । प्रसूतिगृहले त झन् आमा तथा बच्चाका लागि नि:शुल्क वितरण गर्नुपर्ने भिटामिन र फोलिकएसिडमा समेत पैसा लिने गरेको छ । तर, यी अस्पतालहरू स्थानीय सरकारले आर्थिक सहायता नगरेसम्म ९८ प्रकार औषधि आफूहरूले नि:शुल्क प्रदान गर्न नसक्ने जवाफ दिन्छन् ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले ९८ प्रकारका औषधि उपलब्ध गराउनका लागि स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए । ‘हामीकहाँ ती ९८ प्रकारकै औषधि पाइन्छन्,’ उनले भने, ‘तर, नि:शुल्क दिने गरेका छैनौँ । स्थानीय सरकारले आर्थिक सहयोग नगरेसम्म सकिँदैन ।’
निजामती अस्पताल प्रमुख विधाननिधि पौडेलले पनि औषधि किन्ने रकम वा औषधि नै दिए आफूहरूले नि:शुल्क वितरण गर्ने बताए । मन्त्रालयले हामीलाई नि:शुल्क वितरण गर्न त भनेको छ, तर हाम्रो अस्पताल सामान्य प्रशासन मन्त्रालयमातहत पर्छ,’ उनले भने, ‘त्यसैले मन्त्रालय वा महानगरले औषधि किन्ने रकम दियो भने हामीले उक्त नियम पालना गर्छौँ ।’
स्वास्थ्य मन्त्रालयले ठूला अस्पतालबाटै नियम पालना नभएको जनाएको छ । ‘ठूला अस्पतालले नै ९८ प्रकारका नि:शुल्क औषधि दिँदैनन् । सरकारी अस्पतालले नै सरकारको नियम अटेरी गर्नु राम्रो होइन । ठूला अस्पतालले पालिकाको सहायता लिएर वा आफ्नै खर्चबाट भए पनि नि:शुल्क दिनुपर्छ,’ मन्त्रालयका सहायक सूचना अधिकारी माधवकुमार श्रेष्ठले भने, ‘हामीले पटक–पटक यो नियम कार्यान्वयन गर्न अस्पतालहरूलाई निर्देशन दिँदै आइरहेका छौँ ।’
यी हुन् नि:शुल्क वितरण गर्न भनिएका ९८ प्रकारका औषधि
केमा प्रयोग गर्ने ?
- जेन्टामाइसिन – नवजात शिशुमा हुने संक्रमण तथा निमोनिया
- एन्टासिट – ग्यास्ट्रिक, पेट पोल्दा
- फुरोसेमाइड – हर्ट फेलियर, मिर्गौलामा समस्या हुँदा
- एम्लोडिपिन – उक्त रक्तचाप
- लोसार्टान – उच्च रक्तचाप
- निफेडिपिन – उच्च रक्तचाप
- बिसिजी खोप – क्षयरोगविरुद्ध
- एस्पिरिन – शरीर दुख्दा, टाउको दुख्दा, माइग्रेन
- बेन्जाथिन बेन्जाइलपेनिसिलिन – बाथ तथा मुटुरोग भएमा
- सेफ्ट्रियाकजोन – कडा इन्फेक्सन, टाइफाइड र निमोनिया
- आर्टिमिसिमिन – मलेरिया
- सेफिक्सिम – मिर्गौला, पिसाब, घाँटी र फोक्सोमा संक्रमण हुँदा
- सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो
- नाइट्रोफ्युरानटिन – पिसाब तथा अन्य संक्रमणमा
- डेक्सामेथासोन – दम र एलर्जी तथा कमन मेडिसिन
- आइरन ट्याब्लेट – गर्भवती र रक्तअल्पता भएकालाई
- म्याग्नेसियम सल्फेट – गर्भवती महिलामा उच्च रक्तचाप हुँदा
- मेथाइल्डोपा – गर्भावस्थामा हुने रक्तचाप
- ग्लिमिपिराइड – मधुमेह
- मेटफर्मिन – मधुमेह
- हाइड्रोकर्टिसोन – दम, एलर्जी, आनाफाइलाक्सिस रियाक्सन
- साल्बुटामोल – दम
- अक्सिजन – दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई
- प्रेड्निसोलोन – दम, एलर्जी, बाथ हुँदा
- जापानिज इन्सेफ्लाइटिस – बच्चालाई दिने खोप
- ओआरएस – झाडापखाला लाग्दा
- नर्मल स्लाइन – रगतको कमी, पखाला, पानीको मात्रा कमी
- पारासिटामोल – ज्वरो कम गर्न
- भिटामिन ए – भिटामिनको कमी हुन नदिने पोषण
- भिटामिन बी कम्प्लेक्स – भिटामिनको कमी पोषण
- भिटामिन के वान – नवजात शिशुलाई दिने भिटामिन
- जिंक सल्फेट– निमोनिया, पखाला, कुपोषण हुन नदिन
- डक्सिसाइक्लिन – स्क्रब टाइफस संक्रमण, श्वासप्रश्वासमा समस्या र महिलाको तल्लो पेट दुख्दा
- रिसपेरिडोन – मानसिक रोगीलाई
- पिसिभी खोप – निमोनिया
- र्यानिटिडिन – ग्याट्राइटिस हुँदा
- प्यारिडोक्सिन – टिबीका बिरामीलाई भिटामिन
- फ्लुजेटिन – मानसिक स्वास्थ्य, डिप्रेसन
- सिप्राफ्लोक्सासिन – पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो आदिमा
- एड्रेनालिन – एलर्जी, एनाफाइलाक्सिस (रियाक्सन)
- अल्बेन्डाजोल – जुका पर्दा
- एमिट्रिप्टिलिन – एन्जाइटी, डिप्रेसन, न्युरोप्याथिक पेन, माइग्रेनलगायत हुँदा
- एमोक्सिसिलिन – घाँटीको संक्रमण, निमोनिया, पिनास भए
- एम्पिसिलिन – घाँटीको संक्रमण, श्वासप्रश्वाससम्बन्धी संक्रमण र बच्चामा हुने संक्रमणमा
- आर्टेसुनेट – कडा मलेरियाले बेहोस हुँदा
- एट्रोपिन – अर्गानोफस्फोरस पोइजनिङ
- एजिथ्रोमाइसिन – यौनजन्य र घाँटीको संक्रमण, छाला, पिनास, कान पाकेमा, श्वासप्रश्वासमा संक्रमण, स्क्रब टाइफस, हैजा आदि हुँदा
- कालामिन लोसन – चिलाउँदा तथा ठेउला आउँदा
- क्याल्सियम ग्लुकोनेट – बर्थिङ सेन्टरमा प्रयोग हुने, अचेत भएका बिरामीलाई आकस्मिक रूपमा सेवा गराउने
- कार्बामाजिपिन – छारेरोग, न्युरोप्याथिक पेन, माइग्रेनमा
- सेट्रिजिन – एलर्जी तथा छालाको समस्या
- चारकोल एक्टिभेटेड – विषादी खाएका बिरामीमा प्रयोग
- क्लोरहेक्सिडिन – मुख संक्रमण, शिशुको नाभीमा लगाउने मल्हम
- क्लोक्विन – मलेरिया, बाथ हुँदा
- क्लोट्रिमाजोल – छालाको संक्रमण, योनिमा संक्रमण तथा फंगल इन्फेक्सन भए
- क्लोब बयल – दाँत दुख्दा
- क्लोक्सासिलिन – छालाको संक्रमणमा
- पिल्स – परिवार नियोजनको साधन
- कोट्रिमोक्साजोल – छाला, घाँटी, पिसाब संक्रमण भए
- एमडिटी कम्बिप्याक – कुष्ठरोग
- डेक्सट्रोज – ग्लुकोज
- डाइजेपाम – छारेरोग, ब्याकपेन, निद्रा नलागे, एन्जाइटी आदि हुँदा
- डाइक्लोफिन्याक – अत्यधिक पेन, बाथरोग, जोर्नी र ब्याक पेन
- एफआइपिभी खोप – पोलीविरुद्ध
- फ्लुकोनाजोल – योनिमा संक्रमण, छालामा संक्रमण, तल्लो पेट दुखेमा
- फोलिक एसिड – गर्भावस्था
- जेन्सन भायोलेट – पोलेको, चोटपटक, टाउकोमा संक्रमण
- एचपिभी खोप – प्यापिलोमा भाइरस
- एचआरजेटई – क्षयरोग
- हायोसिन ब्युटोब्रोमाइड – वाकवाकी, दुखाइ, पेट दुखाइ
- आइब्रुप्रोफेन – जोर्नी र मांसपेशी दुखाइ
- लेभोनरजेस्ट्रेल – परिवार नियोजन, गर्भनिरोधक चक्की
- लिग्नोकाइन – दुखाइ कम गर्ने
- लिग्नोसाइन विथ एड्रेनालिन – दाँत निकाल्न प्रयोग हुने एनेस्थेसिया
- मिजल्स रुबेला खोप – मिजल्स रुबेला
- मेड्रग्सिप्रोजेस्ट्रोन – परिवार नियोजन
- मेटोक्लोप्रोमाइड – वाकवाकी, बान्ता
- मेट्रोनिडाजोल – आउँ तथा मासी हुँदा
- मिफेप्रिस्टोन – गर्भपतनमा
- मिजोप्रोस्टल – उच्च रक्तस्राव
- नियमाइसिन – छालामा संक्रमण भए
- ओरल पोलियो खोप – पोलियोविरुद्ध
- अक्सिमेटाजोलिन – नाक बन्द हुँदा वा रगत बगेमा
- अक्सिटोसिन – रक्तस्राव रोक्न
- पेन्टाभ्यालेन्ट खोप – डिप्थेरिया, इन्फ्लुइन्जा बी, टिटानास
- पर्मेथ्रिन – लुतोमा
- फेनिरमिन – एलर्जिक रिक्याक्सन
- फेनोबार्बिटल – छारेरोग
- पोभिडिन आयोडिन – छाला तथा घाउ निसंक्रमण, घाउ सफा गर्ने
- प्रालिडोक्सिम सोडिएम – पोइजनिङ
- प्रिमाक्विन – मलेरिया हुँदा
- रिंगर ल्याक्टेट – रक्तस्राव, झाडापखालामा
- रोटाभाइरस खोप – रोटाभाइरस खोप
- सिल्भर सल्फाडियाजिन – पोलेकोलगायत घाउमा लगाउने मल्हम
- टिटानस डिप्थेरिया – टिटानसविरुद्ध
- टिटानस टक्साइड – टिटानसविरुद्ध
- टेट्रासाइक्लिन – आँखाको संक्रमण
- टिनिडाजोल – आउँ तथा मासी पर्दा
- सोडियम भाल्पोरेट – छारेरोगमा
काठमाडौंमा ३५ र ललितपुरमा ४० प्रकारका औषधि मात्रै आधारभूत स्वास्थ्य संस्थाबाट नि:शुल्क वितरण
काठमाडौं महानगरले एक वर्षभित्र ९८ प्रकारकै औषधि अनिवार्य रूपमा नि:शुल्क उपलब्ध गराउने
काठमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य संस्थाबाट जम्मा ३५ प्रकारका मात्रै औषधि नि:शुल्क वितरण गर्ने गरेको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले अन्य कतिपय औषधि जिल्ला स्वास्थ्य कार्यालयले पनि दिएकाले महानगरले ३५ प्रकारका औषधि मात्रै वितरण गरेको बताए ।
‘साना स्वास्थ्य संस्थाबाट हामीले ३५ प्रकारका औषधि वितरण गर्दै आएका छौँ,’ त्रिपाठीले भने, ‘अबको एक वर्षभित्रमा महानगरभित्रका ठूला–साना निजी र सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि अनिवार्य वितरण सुरु गर्छौँ, त्यसका लागि बजेटको व्यवस्था पनि गर्छौँ ।’
त्यस्तै, ललितपुर महानगरपालिकाले पनि ४० प्रकारका औषधि नि:शुल्क वितरण गर्दै आएको छ । ‘हामीले आधारभूत स्वास्थ्य संस्थाबाट ४० प्रकारका औषधि नि:शुल्क दिएका छौँ । अन्य औषधि स्वास्थ्य कार्यालयले पनि वितरण गर्दै आइरहेको छ,’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले भने, ‘बरु यहाँका ठूला सरकारी र निजी अस्पतालमा भने यो नियम कार्यान्वयन छैन ।’
No comments:
Post a Comment