Saturday, August 24, 2019

११ सुरुङमार्गको अध्ययन गर्न साढे ५८ करोड बजेट

https://www.abhiyandaily.com/newscategory-detail/356504
११ सुरुङमार्गको अध्ययन गर्न साढे ५८ करोड बजेट
Aug 25, 2019
समाचार

author avatarहिमा वि.क.
काठमाडौं । मुलुकभर ११ ठाउँमा बन्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि चालू आर्थिक वर्षमा रू. ५८ करोड ६० लाख बजेट विनियोजन गरिएको छ । ११ मध्ये पाँच ठाउँको डीपीआर र ६ ठाउँको सम्भाव्यता अध्ययन गरिने सडक विभागले बताएको छ ।
बुटवल–पाल्पा सडक खण्डमा बन्ने सिद्धबाबा सुरुङमार्गको डीपीआर तयार गरी खरीद प्रक्रियासमेत अघि बढाउने योजना  छ । वर्षेनि पहिरोका कारण उच्च जोखिममा रहेको सिद्धबाबा सुक्खा पहिरोको समेत जोखिममा रहेको क्षेत्र हो । 
डीपीआर बन्ने अन्य सुरुङमार्गमा कोटेश्वर–जडीबुटी खण्ड, टोखा–छहरे–गुर्जे भन्ज्याङ खण्ड, नारायणगढ–दाउन्ने खण्ड र बीपी लोकमार्गको खुर्काेट–चियाबारी खण्ड रहेको विभागले जानकारी दिएको छ । 
सम्भाव्यता अध्ययन गरिने ६ सुरुङमार्गमा बिपीनगर–खुटिया–दिपायल, गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ, गोदावारी कुण्ड–काभ्रे मानेचौर, कुलेखानी–भीमफेदी, पोखरा–बाग्लुङ हेम्जा (नयाँपुल) लामाबगर र नारायणगढ–बुटवल दाउन्ने खण्ड रहेका छन् । 
विभागले वार्षिक कार्यक्रममा नयाँ बानेश्वरमा अन्डरपास वे निर्माण गर्न रू. ४ करोडसमेत विनियोजन गरेको छ । विभागका सिनियर डिभिजनल इन्जिनीयर अर्जुन सुवालले टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन सकेर डीपीआर बनाउने तयारी शुरू गरिने बताए ।
यस्तै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको प्रक्रिया चालू आवमा नै शुरू गरिने विभागले बताएको छ । २०२२ सम्ममा बनाइसक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गका लागि जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ ।
यातायात सेवालाई भरपर्दाे बनाउने र खासगरी लामो दूरी छोट्याएर कम दूरीमै गन्तव्यमा पुर्‍याउने उद्देश्यले उक्त ठाउँमा सुरुङमार्ग बनाइन लागेको विभागले बताएको छ । 
यसैगरी विभागले काठमाडौंका कोटेश्वर, जडीबुटी, बानेश्वर, गौशाला, चाबहिल, थापाथली र कालिमाटी चोकमा फ्लाई ओभर वा सब–वे बनाउने भएको छ । सुवालका अनुसार यी स्थानमा दुईमध्ये जे उपयुक्त हुन्छ, त्यो संरचना बनाउन सम्भाव्यता अध्ययन गरिनेछ ।

No comments:

Post a Comment