Tuesday, January 1, 2019

पेन्सनसहितको सामाजिक सुरक्षा योजना आजबाट शुरु, सारस लुम्बिनीको नगरपन्छी

http://lokaantar.com/samachar/62189
पेन्सनसहितको सामाजिक सुरक्षा योजना आजबाट शुरु, सारस लुम्बिनीको नगरपन्छी
24 Shares

मंसिर ११, २०७५ काठमाडौं– सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै हुुनुहुन्छ ।
सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।

ADVERTISEMENT

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको सञ्चयकोषबापत १० प्रतिशत रकम, उपदानबापत ८ दशमलव ३३ प्रतिशत आफैँले र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी कुल ३१ प्रतिशत रकम कोषमा अनिवार्य जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । श्रमिकले कुनै कारण पारिश्रमिक नपाउने अवस्था आई नियमित रूपमा कोषमा रकम जम्मा गर्न नसक्ने भए तीन महिनासम्मको रकम सूचीकृत रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ ।
तर, त्यस्तो रकम रोजगारदाताले सम्बन्धित श्रमिकको पारिश्रमिक, भत्ता वा अन्य सुविधाबाट कट्टा गर्न सक्नेछ । श्रमिक नयाँ रोजगारदाताकहाँ काम गर्न गए पुरानो रोजगारदाताले समाजिक सुरक्षा योजनाबापतको रकम सम्बन्धित खातामा स्थानान्तरण गर्नुपर्नेछ ।, नयाँ पत्रिकामा खबर छ ।
सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवातः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभएको छ ।
सन्देशमा उहाँले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ  ।
यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भन्नुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय
सरकारले स्वीकृत नलिई विदेश भ्रमण गएको भन्दै खानेपानी तथा सरसफाई सचिव गजेन्द्र ठाकुरलाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ठाकुरलाई स्वीकृति विना विदेश भ्रमण गरेको, मेलम्ची खानेपानी विषयमा पटक–पटक प्रधानमन्त्री केपी ओली, र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई गलत सूचना प्रवाह गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओली र मन्त्री मगरलाई साउनमा मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने भन्दै उनले गत दशैंमै घरघरमा पानी र्पुयाउने बताउँदै आएका थिए । गत भदौ १२ गते उनी एउटा नीजि कम्पनीको निमन्त्रणामा बेलायत भ्रमणमा गएका थिए ।
करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित
प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ सोमबार बहुमतले पारित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको सो विधेयकलाई सभामुख सरोजकुमार यादवले निर्णयणार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले पारित भएको थियो ।
विधेयकको पक्षमा सत्ताधारी दल सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली काङ्गे्रस तथा विपक्षमा नेकपाका प्रदेशसभा सदस्य रहेका थिए । मुख्यमन्त्री राउतले कर्मचारी समायोजनसम्बन्धी विधेयक अध्यादेशमार्फत ल्याउने सङ्घीय सरकारको प्रक्रिया असंवैधानिक रहेको आरोप लगाउँदै प्रदेशमा करारमा कर्मचारी भर्ना गर्दा योग्य तथा सक्षम व्यक्तिलाई भर्ना गरिने प्रतिवद्धता व्यक्त गरे ।
सर्भेक्षकविरुद्ध मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय, सप्तरीका सर्भेक्षक दीपेन्द्रप्रसाद यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको क्षेत्रफल र नक्शा संशोधन गर्ने कार्यका लागि सेवाग्राहीसँग रु दश हजार घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले केही दिनपहिले पक्राउ गरेको थियो ।
आयोगले बिगो असुल गरी कैद सजाय समेतको माग गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । आयोगले सोमबार नै बिपी मदन प्राथमिक विद्यालय, सुनसरीमा कार्यरत शिक्षक सुकलदेव खङ्गको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता
एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।
विकास सहायतासम्बन्धी समझदारीपत्रमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गरे । साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।
सारस लुम्बिनीको नगरपन्छी घोषित 
लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ । लुम्बिनीमा सोमबारदेखि शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो ।
‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलो पटक आयोजना गरेको महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाई नगरपन्छी घोषणा गरे ।
कार्यक्रममा  सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन अमेरिकाका अध्यक्ष जर्ज आरचीबोल्डले लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएकाले सोको संरक्षण जरुरी भएको बताए ।
डा.केसीको चेतावनी
विभिन्न मागहरु राख्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले १६ औं पटक अनसन बस्ने चेतनावनी दिएका छन् । डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै आफूसँग सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाहि गर्नुपर्ने लगायतका विभिन्न ३ बुदे माग राख्दै अनसन बस्ने चेतावनी दिएका हुन् ।
उनले जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन आफूले बारम्बार सत्याग्रह र आन्दोलन गरेपनि सम्झौता अनुसारको ऐन जारी हुन नसकेको भन्दै आगामी पुस २ गतेदेखि अनसन बस्ने चेतावनी दिए ।
कार्यविधिसहित कार्यालय खोल्ने निर्णय
गण्डकी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न कार्यविधिसहित कार्यालय खोल्ने निर्णय गरेको छ । बैठकले एक दर्जनभन्दा बढी कार्यविधिसँगै छ पूर्वाधार र सात खानेपानीकासहित १३ वटा कार्यालय खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
कार्यविधिमा बालीका मुख्य क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन, प्रशोधन केन्द्र तथा टिस्युकल्चर ल्याब स्थापना, साना तथा आधुनिक सिँचाइ कार्यक्रम सञ्चालन, कृषि यान्त्रीकरण तथा ग्रिनहाउस निर्माण सहयोग कार्य सञ्चालन, कोल्ड स्टोर, चिस्यान केन्द्र र कोल्ड रुम स्थापना कार्यक्रम रहेका छन् ।
यसैगरी गरीब लक्षित विपद्, उद्धार तथा राहत वितरण, दुग्ध किसान केन्द्र स्थापना सहयोग, साझेदारीमा पशु बधशाला तथा बधस्थल निर्माण सुधार सहयोग र मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन, जनता आवास, साझेदारी सडक र जलस्रोत तथा सिँचाइसम्बन्धी कार्यविधि छन् ।
चिकित्सा शिक्षा छलफल सकियो
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथिको दफाबार छलफल सकेको छ । दुई दिन लगाएर विधेयक माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गरिएको हो ।
संशोधनकर्ता सांसदहरुसँगको दफावार छलफल सोमबार सकिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिए । सामुहिक र छुट्टाछुट्टै गरी २२ वटा संशोधन दर्ता भएको थियो । आइतबार प्रस्तावना र दफा १६ सम्म छलफल भएको थियो । उपसमितिले प्रतिवेदन बुझाएपछि समितिले विधेयक संसदमा दर्ता गर्नेछ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने गरी काम सक्ने समितिले जनाएको छ ।
५ सय कर्मचारीलाई कारवाहीको सिफारिस
राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समयमा हाजिर नहुने र तोकिएको पोशाक नलगाउने पाँच सय सरकारी कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । चालू आर्थिक वर्षका ४ महिनामा गरेको अनुगमनबाट पाँच सय जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको हो ।
यसरी कारवाहीका लागि सिफारिस भएका कर्मचारीमध्ये ३ सय ६८ जना तोकिएको पोशाक नलगाउने छन् । यस्तै १ सय ६२ जना कार्यालय समयमा हाजिर नहुने खालका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव एवम् प्रवक्ता विष्णुप्रसाद लामिछानेका अनुसार काठमाडौं, लतिलपुर, भक्तपुर, काभ्रे, धादिङ लगायत जिल्लामा गरिएको अनुगमनका क्रममा कर्मचारीहरू कार्यालय समयमा हाजिर नहुने तथा तोकिएको पोशाक नलगाएको अवस्थामा भेटिएका थिए ।
ए डिभिजन लिग
सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत सोमबारबाट चौथो चरणका खेल शुरु भएका छन् । सोमबार भएका खेलमा त्रिभुवन आर्मी, रुस्लान थ्री स्टार र नेपाल पुलिस विजयी भएका छन् ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले सिएमजी संकटा विरुद्ध फराकिलो जित निकालेको छ । आर्मीले संकटालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै रुस्लान थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितपछि थ्री स्टार ४ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । पुलिसले च्यासल युथ क्लबलाई २–० ले  पराजित गरेको हो । लिगको पुलिसको यो दोस्रो जित हो । जितसंगै पुलिसले ४ खेलबाट ७ अंक जोडेको छ । च्यासलको यो दोस्रो हार हो । च्यासलले ४ खेलबाट ४ अंक जोडेको छ ।
मंसिर ११, २०७५ मा प्रकाशित

No comments:

Post a Comment