Thursday, February 9, 2012

स्वास्थ्यसेवा सुधारका उपाय

माघ २५ - डा. सुमन कर्माचार्य
रामेछाप, मन्थलीको तामाकोशी सहकारी अस्पतालमा एघार वर्षका एक बालक दुर्घटनाका कारण मस्तिष्क चोट लागेर आए । जाँचपड्तालपछि उनलाई तुरुन्त काठमाडौं पुर्‍याउनुपर्ने भयो, तर एम्बुलेन्सको व्यवस्था गर्न सकिएन । काठमाडांै पुग्न ८ घन्टाको बाटो थियो । रातको बेला थियो, ढिलै भए पनि राति नै पठाइयो, तर उनको बाटोमै मृत्यु भयो । अर्का एक वयस्कको दुर्घटनाका कारण दिमागभित्र गम्भीर चोट लागेको थियो । उनी खर्च गर्नसक्ने थिए, तुरुन्त  हेलिकप्टर चार्टर गरेर काठमाडौं पुर्‍याएर आकस्मिक शल्यक्रियापछि बाँच्न सफल भए । यी यस्ता केही उदाहरण हुन् र नेपालको हरेक कुनाकन्दराका कथा । हालसम्म जनताको जीवन पैसामा तौलनपर्ने अवस्था

छ । पैसा हुनेहरू पैसाले बाँच्छन्, नहुनेहरू कर्मले ठगेको भन्दै मर्नुपर्ने अवस्था छ । धेरै महँगा सभा, गोष्ठी र नेताका बेतुकका भाषणका लागि हेलिकप्टरमा लाखौं खर्चने सरकारसँग बजेट हुन्छ, तर एक निरीह जनता गाउँको कन्दरामा मृत्यु भोग्न विवश छ । संविधानमा लेखिएअनुसार स्वास्थ्यसेवा पाउनुपर्ने र बाँच्न पाउने जनताको नैसर्गिक अधिकार हो, तर यो लेख्नलाई जति सजिलो छ, व्यवहारमा लागू गर्न उत्तिकै गाह्रो छ । ग्रामीण भेगसम्म स्वास्थ्यसेवा पुर्‍याउनु ज्यादै चुनौतीपूर्ण छ । भौगोलिक विकटता, छरिएर रहेका बस्ती र घरहरू, तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको अभाव, भएका स्वास्थ्यकर्मीहरू पनि ग्रामीण भेगसम्म गएर सेवा प्रदान गर्न अनिच्छुक, अनिच्छा हुनमा सहुलियत नगन्य हुनु, उचित मूल्यांकन गर्ने परिपाटीको कमी, नातावाद-कृपावादको बोलाबालाले दुर्गम जाने र काम गर्ने स्वास्थ्यकर्मीहरू वृत्तिविकासबाट टाढा रहनुपर्ने यथार्थ हो । एक त योजनाकारहरू वस्तुगत समस्याहरूप्रति अनभिज्ञ छन् भने अर्को त स्वास्थ्य मन्त्रालय राजनीतीकरणको दलदलमा फँसेको छ । यी धेरै यथार्थ मध्येका केही यथार्थ हुन्, जसले कुनाकन्दराका जनताका लागि आधुनिक स्व्ाास्थ्यसेवा भनेको 'आकाशको फल, आँखा तरी मर' भनेजस्तो भएको छ ।

ग्रामीण भेगसम्म आधुनिक स्वास्थ्यसेवा पुर्‍याउन केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । पहिलो, जिल्ला र चुनाव क्षेत्रसम्म कुशल जनरल प्राक्टिसनरहरू सकेसम्म त्यही भेगका जेहन्दार छात्रछात्राहरूबाट उत्पादन गरेर निश्चित अवधिसम्म सोही स्थानमा काम गर्नका लागि व्यवस्था गर्नुपर्छ । उनलाई पालो दिन अरू छात्रछात्राहरूलाई क्रमशः पढ्नका लागि तयार गरिराख्ने र निश्चित अवधि काम गरिसकेकाहरूलाई पुनः वृत्तिविकास र सुगम क्षेत्रका अस्पतालहरूमा राख्ने चाँजो मिलाउनुपर्छ । दोस्रो, जिल्ला र चुनाव क्षेत्रमा रहेका स्वास्थ्यकर्मी र चिकित्सकहरूद्वारा सञ्चालन गर्न सकिने घुम्ती अस्पतालको व्यवस्था गरी निश्चित समयको फरकमा कुनाकन्दरासम्म जाने व्यवस्था मिलाउनुपर्छ । पछिल्लो समय दुर्गम स्थानहरूमा पनि धुले सडकहरू बनेकाले त्यसको उपयोग गरी जनतालाई पायक पर्ने स्थानहरूमा स्व्ाास्थ्यसेवा

दिनुपर्छ । उपचार गर्न मिल्ने र अपरेसन सेवा चाहिने रोगीका लागि तथ्यांक संकलन गरेर सदरमुकाम या जिल्लामा भएका अस्पतालहरूमा विशेषज्ञ सेवा उपलब्ध गराउने तर मुटु, मस्तिष्क, मृगौला, क्यान्सरजस्ता जिल्ला तहमा सम्भव नहुने रोगीका लागि सरकारले विशेष बजेट र संयन्त्र तयार गरी सहरका अस्पतालहरूमा उपचार गर्ने व्यवस्था गर्नुपर्छ । तेस्रो, स्वास्थ्य मन्त्रालय र विभागलाई राजनीतिक दलहरूको चलखेल मुक्त गराउनुपर्छ । चौथो, स्वास्थ्य संस्थाहरू र यी कार्यहरूको व्यवस्थापन चुस्त राख्नुपर्छ । जनताको प्रत्यक्ष संलग्नताबाट सञ्चालित सबैको उत्तिकै सहभागिता र जवाफदेहिता हुने मोडल हाल स्वास्थ्य सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाहरूले गरेका  छन् । सरकारको मोडल असफल प्रायः भइसकेको छ र यही संयन्त्र र संरचनामा स्वास्थ्यसेवा सुदृढ हुन्छ भन्ने कुरामा धेरैले आश गर्न छाडिसकेका छन् । हाल नेपालमा गाउँ-गाउँमा रहेका सहकारी संस्था र केही स्वास्थ्य सहकारीहरूका माध्यमबाट सरकारले सहजीकरण गरी स्वास्थ्य कार्यक्रमहरूलाई लानसक्ने हो भने ग्रामीण तहसम्म स्वास्थ्यसेवा पुर्‍याउन सम्भव छ । रामेछाप जिल्लाका सन्दर्भमा तामाकोशी सहकारी अस्पतालले मोडलको रूपमा विकास गरिसकेको छ । पछिल्लो समयमा यसले गरिबहरूको निःशुल्क उपचार गर्ने बन्दोबस्त, स्वास्थ्य बिमा योजना, दुर्गम बस्तीहरूमा रोगीहरूको उपचार, शल्यक्रियाका लागि छनोट र जिल्लामा नै  निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको सफल उदाहरण यस अस्पतालसँग छ । हेलिकप्टर चार्टर गर्नुपर्ने रोगीका लागि तुरुन्त पैसाको व्यवस्था गरी रोगीको ज्यान जोगाएको उदाहरण पनि छन् ।

अब रह्यो कुरा आकस्मिक बिरामीका लागि के गर्ने ? यसका लागि जिल्लामा उपचार सम्भव भएका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन बाटो पुगेका स्थानहरूमा एम्बुलेन्सको व्यवस्था र नपुगेका स्थानहरूमा स्ट्रेचरको व्यवस्था गर्नुपर्छ । हरेक गाउँमा विभिन्न प्रयोजनका लागि निर्मित र सञ्चालित क्लब, सहकारी संस्था, गैरसरकारी संस्थामा स्वयम्सेवक समूहहरू गठन गरी आकस्मिक कोषको व्यवस्था गर्नुपर्छ । रगत बगेर मृत्यु हुनसक्ने रोगीका लागि कमसेकम हरेक जिल्ला सदरमुकाममा इमर्जेन्सी ब्लड बैंकको व्यवस्था गर्नुपर्छ । केही समयभित्र नै ज्यान जानसक्ने मुटु र मस्तिष्क चोट भएका रोगीहरू र आकस्मिक दुर्घटनाका रोगीहरूका लागि हरेक विकास क्षेत्रमा एउटा एम्बुलेन्स हेलिकप्टरको व्यवस्था गर्नुपर्छ । यो सेवाका लागि नेपाली सेनाको संयन्त्रले पनि मद्दत पुर्‍याउन सक्छ । जसरी बैंकको पैसाको सुरक्षाका लागि हेलिकप्टरबाट सेनाको हेलिप्याडमा सेनाको मद्दतले काम हुन्छ, त्यसैगरी नागरिकको ज्यानको सुरक्षा गर्दा के फरक पर्ला र ?

प्रकाशित मिति: २०६८ माघ २६ ०९:३७

No comments:

Post a Comment