Wednesday, August 4, 2021

किन खेर फालिँदै छ लौठसल्लाबाट लाभ लिने अवसर?

 https://www.himalkhabar.com/news/125271

किन खेर फालिँदै छ लौठसल्लाबाट लाभ लिने अवसर?

जुद्धबहादुर गुरुङ सोमबार, १८ साउन, २०७८

223  Shares   

औषधीय तत्त्व पाइने बहुमूल्य वनस्पति लौठसल्लाको व्यवस्थित संकलन, बिक्री र निर्यातबाट देशले मनग्गे आर्थिक फाइदा लिनसक्ने सम्भावना भए पनि यसको संरक्षण, प्रशोधन, बजार व्यवस्थापनमा ध्यान दिइएको छैन।

जुद्धबहादुर गुरुङ

सन् १९९३ को फेब्रुअरीको कुरा हो, तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषको तर्फबाट हाम्रो टोली अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको जैविक विविधता सम्बन्धी तथ्याङ्क संकलन गर्न कास्कीको घान्द्रुकस्थित एक्यापको प्रधान कार्यालय गएको थियो। हामी पुग्दा कार्यालय भवन निर्माण हुँदै थियो। स्थानीय गुरुङ सिकर्मीहरूले वनबाट लौठसल्लाको छिप्पिएको रूख ल्याएर भवन निर्माणमा प्रयोग गरेका रहेछन्। सिकर्मीका साथमा गएका स्थानीयवासीले लौठसल्लाको पात भैंसीलाई खुवाएछन्। 


लौठसल्लाको पात खाएका पाँच वटा भैंसी मरेपछि स्थानीयवासीको एक टोली गुनासो गर्न एक्याप कार्यालयमा आयो। त्यस घटनाले गम्भीर बनायो। लौठसल्लाको यो प्रजातिमा पक्कै पनि विषालु रसायन हुनसक्ने अनुमान गरेँ।


मेरा मित्र ओवी खनाल काठमाडौं विश्वविद्यालयमा रसायनशास्त्रका प्राध्यापक थिए। केही महीनापछि काठमाडौं आउँदा उनलाई सो घटना सुनाए। उनले लौठसल्लाको रसायन विश्लेषण गर्न नमूना चाहिने बताएपछि नमूना संकलन मैले गर्ने सल्लाह भयो। 


विश्वभर १३ प्रजातिका लौठसल्ला पाइन्छन्। उत्तर र दक्षिण अमेरिकामा ४ र यूरोपमा १ प्रजातिका पाइन्छन् भने एसियामा सबभन्दा बढी आठ प्रजाति पाइन्छन्। तीमध्ये तीन प्रजाति नेपालमा पाइन्छन्।

त्यस्तो सल्लाह भएको करीब दुई महीनापछि फ्रान्सेली वैज्ञानिकहरूले यो लौठसल्लाको सारतत्त्व (ट्याक्सोल) क्यान्सरको उपचारका लागि प्रभावकारी औषधि भनी पत्ता लागेको खबर बीबीसीले प्रसारण गरेको तिनै साथीले सुनाए। उक्त खबरपछि यस वनस्पतिको अझ अनुसन्धान गर्नुपर्ने महसूस भयो। तर, त्यसवेला नेपालमा रसायन विश्लेषण गर्ने प्रयोगशालाको सुविधा, स्रोत र सीप थिएन।


लौठसल्लाको प्रयोग

लौठसल्लालाई नेपालका विभिन्न ठाउँमा तालिसपत्र, वार्मी सल्ला, सिलिङ्गे, मछिन्द्रपाती लगायत भिन्न–भिन्न नामबाट चिनिन्छ। ट्याक्सस प्रजातिमा पर्ने यो वनस्पतिलाई अंग्रेजीमा ‘यिउ’ भनिन्छ। 


विश्वभर १३ प्रजातिका लौठसल्ला पाइन्छन्। उत्तर र दक्षिण अमेरिकामा ४ र यूरोपमा १ प्रजातिका पाइन्छन् भने एसियामा सबभन्दा बढी आठ प्रजाति पाइन्छन्। तीमध्ये तीन प्रजाति नेपालमा पाइन्छन्। वनस्पति विभागका दस्तावेजहरूमा नेपालमा ट्याक्सस वालिचियाना, ट्याक्सस कोन्टोर्टा र ट्याक्सस माइरेई प्रजातिका लौठसल्ला पहिचान भएको उल्लेख छ।


सन् २०११ को आधुनिक आनुवंशिक प्रविधिको अध्ययन हुनुअघिसम्म भने नेपालका लौठसल्लाहरूलाई ट्याक्सस बकाटा भनेर चिनिन्थ्यो। आनुवंशिक प्रविधिको अध्ययनपछि वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाले २०७३ सालमा प्रकाशन गरेको नेपालका लौठसल्ला पुस्तकमा नेपालमा लौठसल्लाका तीन प्रजाति ट्याक्सस वालिचियाना, ट्याक्सस कोन्टोर्टा र ट्याक्सस माइरेई रहेको उल्लेख गरियो।


यद्यपि विज्ञहरूको बीचमा नेपालमा पाइने लौठसल्लाका प्रजातिबारे विवाद छ। नेपालमा दुई प्रजातिका लौठसल्ला– ट्याक्सस वालिचियाना र ट्याक्सस कोन्टोर्टा मात्र पाइने र ट्याक्सस माइरेई नयाँ प्रजाति नभई वालिचियानाकै एक प्रकार भएको कतिपय वनस्पतिविद्को दाबी छ। 


उच्च पहाडी तथा हिमाली भेकमा पाइने लौठसल्लालाई परम्परागत रूपमा औषधिदेखि काठ, कृषि औजार लगायत प्रयोजनमा उपयोग गरिँदै आएको पाइन्छ। लौठसल्लाको रातो फल खाने गरिन्छ भने यसको पात चियाका रूपमा प्रयोग गरिन्छ।


तस्वीर स्रोतः ‘नेपालका लौठसल्ला’ पुस्तक ।

ग्रामीण भेकका स्थानीयहरूले टाउको दुख्ने, पखाला, खोकी, रिंगटा लाग्ने जस्ता समस्यामा लौठसल्लाको बोक्रालाई घरेलु औषधिका रूपमा प्रयोग गर्ने गरेका छन्। लौठसल्लाको बोक्रा विगतमा युनानी तथा आयुर्वेद औषधालयमा प्रयोग हुने गरेको थियो। यस्तै, आधुनिक चिकित्सामा लौठसल्लाकोे सारतत्त्व (ट्याक्सोल) स्तन, पाठेघर, अन्ननली, टाउको, फोक्सो, छाला लगायत अंगहरूमा लाग्ने क्यान्सरको उपचारमा उपयोग गरिन्छ। यस्तो बहुउपयोगीताको कारण लौठसल्लाको व्यापारिक महत्त्व पछिल्लो दशकमा बढेको छ।


नेपालमा पाइने करीब १३ हजार प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजाति गैरकाष्ठ वन पैदावर तथा जुडीबुटीका रूपमा प्रयोग हुँदै आएका छन्। जसमध्ये लौठसल्ला पनि एक हो। यस वनस्पतिको उचित उपयोग र आर्थिक उपार्जनका लागि व्यवस्थित रूपमा प्रयोग गरिनु आवश्यक छ।

यसैगरी, लौठसल्ला अन्य प्रजातिका काठभन्दा बलियो हुने भएकाले घर निर्माण, फर्निचरका सामान, कृषि औजारका बिँड, हलो, ठेकी, मदानी आदि बनाउन प्रयोग हुँदै आएको छ। साथै, सुगन्धित धूप बनाउन र सजावटमा पनि लौठसल्लाको प्रयोग गरिन्छ।


नेपालमा पाइने करीब १३ हजार प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजाति गैरकाष्ठ वन पैदावर तथा जुडीबुटीका रूपमा प्रयोग हुँदै आएका छन्। जसमध्ये लौठसल्ला पनि एक हो। यस वनस्पतिको उचित उपयोग र आर्थिक उपार्जनका लागि व्यवस्थित रूपमा प्रयोग गरिनु आवश्यक छ। तर, संकटापन्न प्रजातिको संरक्षणका लागि भएको महासन्धि ‘साइटिस’को पक्ष राष्ट्रको हैसियतले व्यापारमा सहजता ल्याउन सरकारले प्रयोग गर्न उपयुक्त हुने ‘नन–डिट्राइमेन्ट फाइन्डिङ’ प्रतिवेदन तयार गर्नुपर्छ।


समुदाय र सरकारको प्रयास

नेपालमा तीन दशकदेखि लौठसल्लाको व्यापार हुन थालेको दस्तावेजहरूले देखाउँछन्। यसको पात, दाउरा, लाँक्रा वा हाँगाबाट बोक्रा संकलन गर्न भारतको डाबर लगायत जडीबुटीसँग सम्बद्ध कम्पनीहरू सक्रिय छन्। सिन्धुपाल्चोक र ताप्लेजुङ जिल्लाका किसानले लौठसल्लाको व्यावसायिक खेती गर्नुका साथै बिरुवा उत्पादन नर्सरीको समेत शुरूआत गरेका छन्।


लौठसल्ला देशका अधिकांश स्थानमा सामान्यतया उपोष्णदेखि समशीतोष्ण हावापानी भएका ठाउँमा खासगरी २३०० देखि ३४०० मिटरसम्मको उचाइमा पाइन्छ। अपवादमा १५०० मिटरसम्मको उचाइमा समेत पाइए पनि उच्च हिमाली भेकमा खासगरी २६०० देखि २८०० मिटरको उचाइमा अधिक पाइन्छ।

कर्णाली क्षेत्रका जुम्ला, मुगु लगायत जिल्लाहरूमा लौठसल्लाको सामान्य व्यापार हुने गरेका छन्। हेटौंडा बजार नजिक यसको प्रशोधन कारखाना पनि स्थापना भएको छ। केही किसान पात संकलन गरी व्यापारमा पनि लागेका छन्। यो प्रजाति साइटिसमा सूचीकृत भएकाले वनस्पति विभागले यस प्रजातिको नन–डिट्राइमेन्ट फाइन्डिङ तयार गर्नुपर्ने कानूनी बाध्यताका कारण हालै मात्र कन्जरभेसन डेभलपमेन्ट फाउन्डेसन काठमाडौंको प्राविधिक सहयोगमा अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ।


त्यसका आधारमा वनस्पति विभागले ‘नेपालमा साइटिसमा सूचीकृत अधिक व्यापारमा रहेको लौठसल्लाको जनसंख्याको अवस्था अध्ययन प्रतिवेदन, २०७८’ तयार भएको छ। प्रतिवेदन अनुसार, देशका ४२ जिल्लाको करीब दुई लाख ९६ हजार ३७ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका लौठसल्ला पाइन्छन्। 


लौठसल्ला देशका अधिकांश स्थानमा सामान्यतया उपोष्णदेखि समशीतोष्ण हावापानी भएका ठाउँमा खासगरी २३०० देखि ३४०० मिटरसम्मको उचाइमा पाइन्छ। अपवादमा १५०० मिटरसम्मको उचाइमा समेत पाइए पनि उच्च हिमाली भेकमा खासगरी २६०० देखि २८०० मिटरको उचाइमा अधिक पाइन्छ। उच्च भेकको बाक्लो कोणधारी जंगलमा अन्य प्रजातिका वनस्पतिहरूसित मिश्रित रूपमा पाइने, गाढा हरियो रङको मसिनो वा सुइरो आकारको पात, अग्लो रूख र बीच भागमा खाल्डो भएको रातो फल लौठसल्लाको पहिचान हो। यसको रूख प्रजाति स्थानविशेष अनुसार ५ मिटरदेखि ३० मिटर अग्लो हुन्छ। मनाङ जिल्लामा यस प्रजातिका रूख २ हजार वर्ष बाँचेको पाइएको छ।


लौठसल्ला पाइने क्षेत्र

नेपालमा पाइने तीन प्रजातिका लौठसल्लामध्ये ट्याक्सस वालिचियाना पश्चिम राप्ती नदीदेखि पूर्वी महाभारत पर्वत श्रृंखलाको पहाडी क्षेत्रका लगभग २४ जिल्लामा २२०० मिटरदेखि ३५०० मिटरसम्म पाइन्छ।


यो प्रजाति पाइने जिल्लाहरू बागलुङ (पूर्वी भेक), पर्वत, म्याग्दी, कास्की, लमजुङ, गोरखा (तल्लो भेक), धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङ हुन्। 


उल्लिखित जिल्लाहरूमा ट्याक्सस वालिचियाना प्रजातिको लौठसल्लाले लगभग ९६ हजार ६९५ हेक्टर क्षेत्रफल ओगटेको छ। 




यसैगरी, ट्याक्सस कोन्टोर्टा प्रजातिको लौठसल्ला बूढीगण्डकी नदीदेखि पश्चिमतर्फको महाभारत पर्वत शृंखलामा पर्ने गोरखा, बाग्लुुङ, मनाङ, मुस्ताङ, रोल्पा, रुकुम, सल्यान, डोल्पा, डोटी, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, मुगु, अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला लगायत करीब १९ जिल्लामा पाइन्छ। सामान्यतया २००० मिटरदेखि ३४०० मिटर उचाइको पहाडी क्षेत्रमा पाइने यो प्रजातिको बोट लगभग ५ देखि ३० मिटर अग्लो हुन्छ। 


यो प्रजातिको लौठसल्ला उल्लिखित १९ जिल्लाका लगभग एक लाख ७४ हजार २८७ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको छ। 


लौठसल्ला विकट भूगोलमा हुने र रूख पनि अग्ला हुने भएकाले परम्परागत ढंगले पात संकलन गर्न कठिन छ। अव्यवस्थित संकलनका कारण कतिपय ठाउँमा यो वनस्पति मासिने, प्राकृतिक वासस्थानमा संख्या घट्ने जोखिम पनि छ। यसैले प्रविधिको प्रयोग गरी पात संकलन गर्ने विधि अवलम्बन गर्न जरुरी छ।

ट्याक्सस माइरेई प्रजातिलाई स्थानीय भाषामा बाह्रपाते लौठसल्ला भनिन्छ। यो १४०० मिटरदेखि २४०० मिटर उचाइमा पाइन्छ। यसको रूख लगभग ५ देखि ३० मिटर अग्लो र १५० सेमी गोलाइ हुन्छ। यो प्रजाति मध्यनेपालका पहाडी भेकका खासगरी कोशी नदीदेखि पश्चिम र नारायणी नदीदेखि पूर्वको महाभारत शृंखलामा पर्ने ६ जिल्ला धादिङ, काभ्रे, काठमाडौं, ललितपुर, मकवानपुर र सिन्धुलीमा मात्र सीमित भएको उल्लेख छ।


अन्त्यमा, लौठसल्ला एक जैविक प्राकृतिक स्रोत हो। महत्त्वपूर्ण औषधीय गुण भएको यो वनस्पतिको बढ्दो माग अनुसार बजार व्यवस्थापन आवश्यक छ। यसका पात बर्सेनि संंकलन गरी बिक्री–वितरणबाट आर्थिक लाभ लिन सकिन्छ। यसका लागि आवश्यक कानून तथा नियम बनिसकेको छ। अध्ययनले हरियो पातको दिगो संकलन गर्न सिफारिश गरे अनुसार बर्सेनि ६० करोड ८५ लाख १२ हजार ३५५ किलो संकलन गर्न सकिन्छ। यसबाट तीन वर्षअघिको बजारमूल्य अनुसार प्रतिकेजी रु.१४० को दरले करीब रु.८५ अर्ब १९ करोड १७ लाख २९ हजार ७८४ आम्दानी हुन्छ। 


तर, लौठसल्ला विकट भूगोलमा हुने र रूख पनि अग्ला हुने भएकाले परम्परागत ढंगले पात संकलन गर्न कठिन छ। अव्यवस्थित संकलनका कारण कतिपय ठाउँमा यो वनस्पति मासिने, प्राकृतिक वासस्थानमा संख्या घट्ने जोखिम पनि छ। यसैले प्रविधिको प्रयोग गरी पात संकलन गर्ने विधि अवलम्बन गर्न जरुरी छ। हाल सिफारिश गरिएको कुल परिमाणको न्यूनतम २० प्रतिशत मात्र संकलन गर्न सके पनि रु.१७ अर्ब ३ करोड ८३ लाख ४५ हजार बराबरको कारोबार हुने अनुमान गर्न सकिन्छ। यसले रोजगारी सिर्जना मात्र नगरी विदेशिएको पूँजीलाई प्रतिस्थापन गरेर कुल गार्हस्थ्य उत्पादनमा वन स्रोतको योगदान पनि उल्लेखनीय बढ्नेछ। 


सरकारले लौठसल्लाको पातको प्रतिकेजी रु.३० का दरले राजस्व संकलन गर्दा करीब रु.३ अर्ब ६५ करोड १० लाख ७४ हजार संकलन हुने प्रक्षेपण गर्न सकिन्छ। यो रकम वन तथा वातावरण मन्त्रालयको जडीबुटी, काठ, दाउरा बिक्रीबाट प्राप्त हुने वार्षिक रोयल्टी भन्दा चार गुणा बढी हो।


अर्कोतिर, सरकारी वा निजी क्षेत्रको लगानीमा लौठसल्लाको हरियो पात प्रशोधन उद्योग स्थापना गर्न सके देशमा रोजगारी सिर्जना हुनुका साथै मनग्गे आर्थिक उपार्जन गर्न सकिन्छ। वैज्ञानिक दस्तावेजहरूका अनुसार, सामान्यतया १० हजार केजी पात प्रशोधनबाट एक केजी सारतत्त्व उत्पादन हुन्छ। 


उदाहरणका लागि, वार्षिक कुल परिमाण पातलाई प्रशोधनमा ल्याउन सकेको अवस्थामा लगभग ६० करोड ८५ लाख १२ हजार ३५५ केजी पात प्रशोधन गर्दा लगभग ६० हजार ८५१ केजी सारतत्त्व उत्पादन गर्न सकिन्छ। यसको २० प्रतिशत मात्र प्रयोगमा ल्याउन सके लगभग १२ हजार १७० केजी सारतत्त्व उत्पादन गर्न सकिन्छ। विश्व बजारमा आजभन्दा १५ वर्षअघि नै एक केजी सारतत्त्वको मूल्य करीब २ लाख अमेरिकी डलर थियो। यो अंकले हामीले सारतत्त्वको व्यवस्थित रूपमा निर्यात गरेर कति विदेशी मुद्रा भित्र्याउन सक्छौं भन्ने तस्वीर देखाउँछ।


विडम्बना के छ भने, लौठसल्लाको पात उचित विधिबाट संकलन नगरिँदा यसबाट लाभ लिने अवसर खेर गइरहेको छ। त्यसैले नीति निर्माता, राजनीतिक नेतृत्वका साथै सरोकारवालाहरूले यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ। लौठसल्लालाई देशको आर्थिक प्रणालीमा समावेश गरी राष्ट्रिय अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनु सरोकारवाला सबैको दायित्व हो।


गुरुङ वातावरणविद् हुन्।


सोमबार, १८ साउन, २०७८, ०७:०७:०० मा प्रकाशित

थप सामग्री : https://www.himalkhabar.com/news/125271

No comments:

Post a Comment