Thursday, July 15, 2021

ऊर्जा उत्पादनमा सरकार असफल

 https://www.karobardaily.com/news/147621

ऊर्जा उत्पादनमा सरकार असफल




आर्थिक वर्ष २०७७-०७८ मा लक्ष्य अनुसारको विद्युत् उत्पादनमा सरकार असफल भएको छ । सरकारले बजेटमार्फत १ हजार ३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि १३१ मेगावाट मात्र उत्पादन गर्न सफल भएको हो ।
गत वर्षको बजेटमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो साञ्जेन, मध्य भोटेकोसी तथा निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी यति धेरै उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि ४५६ मेगावाटको माथिल्लो तामाकोसीको १५२ मेगावाटका दुई युनिट १९७ मेगावाटको भने हाल उत्पादन परीक्षण भइरहेको छ । परीक्षण उत्पादनलाई पूर्ण उत्पादनको रुपमा गणना गर्ने गरिएको छैन ।
नेपाल विद्युत् प्राधिकरणले भने गत वर्ष २५ मेगावाटको सोलारमार्फत बिजुली उत्पादन गर्ने लक्ष्य राखेकोमा १२ मेगावाटको सोलार परियोजना मात्र पूरा भएको छ । यसैगरी विद्युत् प्राधिकरणले सहायक कम्पनीद्वारा निर्माणाधीन ४५६ माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र १४.८ मेगावाटको माथिल्लो साञ्जेन गरी ६८३ मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर एक मेगावाट पनि उत्पादन हुन सकेन । निजी क्षेत्रले करिब ५ सय ९२ मेगावाट उत्पादन गर्ने लक्ष्य राखेकोमा ११९ मेगावाट मात्र उत्पादन गर्न सफल भयो ।
प्राधिकरणका अनुसार, गत वर्ष ९९७ किलोवाटको सेन्चुरी इनर्जी प्रालिद्वारा प्रवद्र्धित हाँडीखोला सुनकोसी ए, ३ मेगावाटको रावा इनर्जी डेलभपेन्ट प्रालिद्वारा प्रर्वद्धित अपर रावा, ११.८८० मेगावाटको हिमालयन हाइड्रो पावरद्वारा प्रवद्र्धित नामार्जुन मादी, ८.५ मेगावाटको रिडी हाइड्रोपावर डेलभमेन्ट कम्पनीको बुटबल सोलार परियोजना, ५ मेगावाटको मनकामना इन्जिनियरिङको घट्टेखोला र ३ मेगावाटको एभरेष्ट सुगर एण्ड केमिकल इडष्ट्रिजको एभरेष्ट सुगर एवं केमिकलबाट विद्युत् उत्पादन भएको छ । यसैगरी ४.५ मेगावाटको सिभिल हाइड्रोपावर कम्पनी लिमिटेडको विजयपुर २ खोला स्मल, १० मेगावाटको इको पावर डेलभेप्मेन्ट कम्पनीको मिथिला सोलार पीभी इलेक्ट्रिक प्रोजेक्ट, ८ मेगावाटको तस्कर पिखुवा हाइड्रोपावर कम्पनीको तास्कर पिखुवा, २२.२०० मेगावाटको शिवश्री हाइड्रो पावर कम्पनीको अपर चाकु ए र ४२ मेगावाटको रोवष्ट इनर्जी लिमिटेडको मिस्त्री खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएको छ ।
कोरोना महामारीबीचमै आएको बजेटमा समेत १ हजार ३ सय मेगावाट गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो । विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले गत वर्ष लक्ष्यभन्दा कम १३१ मेगावाट मात्र विद्युत् उत्पादन भएको बताए । “विद्युत् प्राधिकरणले त्रिशुलीमा निर्माण गरिरहेको २५ मेगावाटमध्ये १२ मेगावाट उत्पादन भएको छ, सहायक कम्पनीले निर्माण गरिरहेका कुनै आयोजनाहरु पूरा भएनन्, निजी क्षेत्रले भने ११९ मेगावाट उत्पादन गरेको छ,” उनले भने, “४५६ मेगावाटको माथिल्लो तामाकोसीका दुई युनिटबाट परीक्षण उत्पादन सुरु भएको छ, ३५ मेगावाटका अन्य दुई र १० मेगावाटको सोलार आयोजनाको पनि परीक्षण उत्पादन भइरहेको छ ।”
परीक्षण उत्पादनलाई पूर्ण रुपमा उत्पादन भएको भनेर गणना गर्न नमिल्ने भएकाले १३१ मेगावाट मात्र उत्पादन भएको उनी बताउँछन् । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवाल परीक्षण उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएकाले यसलाई पनि उत्पादन मान्दा फरक नपर्ने बताउँछन् । “परीक्षण उत्पादनसहित हामीले लक्ष्यको एक तिहाई उत्पादन गर्न सफल भएका छौं, कोरोना र यसको कारणले सिर्जित अवस्थामा पनि भएको यो उत्पादनलाई सकारात्मक रुपमा लिनुपर्छ” उनले भने । कोरोनाको कारण विदेशबाट आवश्यक उपकरण ल्याउन नसकिएको, जनशक्ति व्यवस्थापनमा समस्या परेको तथा केही आयोजनाहरुमा बाढी पहिरोका कारण पनि समस्यामा परेकाले लक्ष्यअनुसार उत्पादन गर्न नसकेको उनी बताउँछन् ।

No comments:

Post a Comment