Monday, July 11, 2011

सक्कली रुद्राक्ष नेपालमा

Gorakhaa Patra BaaTa Savaara
शनिवार
सक्कली रुद्राक्ष भारतमा नक्कली नेपालमा
सुरेन्द्र सुवेदी

भोजपुरको नेपालेडाँडा- २ मजुवामा पहिलो पटक २७ मुखे रुद्राक्ष फल्यो । यसअघि २९ मुखे दाना फले पनि २७ मुखे फलेको थिएन । जर्मन राईको बारीमा फलेका २७ मुखे रुद्राक्ष -दाना) १८ लाख ५० हजार रुपैयाँमा बिक्री भयो । दाना किनबेचका अगुवा व्यापारी गोविन्द कटुवालले राईबाट दाना खरिद गरे ।

रुद्राक्ष व्यवसायी कटुवालले २७ मुखे दाना काठमाडौं ल्याएर बिक्री गरे । उनले बिक्री गरेको मूल्य भने खुलाउन चाहेनन् । उनका निकट भन्छन्,'यो दानाबाट कटुवालले झण्डैं खरिद मूल्यबराबर मुनाफा गरे ।' राजधानीको पशुपतिनाथमा बिक्री गरेको २७ मुखे दाना -रुद्राक्ष) भारत निकासी भयो । भारत पुगेर के, कतिमा बिक्री भयो, त्यो खुल्न सकेको छैन ।

संखुवासभाको खाँदबारी- ३ गुवाबारीका सुमन कार्कीले यो वर्ष १४ मुखे दाना फलाए । उनको बारीमा फलेको उक्त दाना २० हजार रुपैयाँमा बिक्री भयो । दाना खरिद गर्ने व्यापारीले काठमाडौं पुर्‍याएर के, कतिमा बिक्री गरे अझै पत्तो छैन ।

जति धेरै मुख भयो उति नै रुद्राक्षको मूल्य वृद्धि हुँदै जान्छ । मुख धेरै र ठूलो आकारको रुद्राक्ष बहुमूल्य मानिन्छ । संखुवासभा र भोजपुरमा दुई मुखेदेखि २१, २७, २९ र ३२ मुखे दाना फलिसकेका छन् । ३० र ३१ मुखे भने भेटिएको छैन ।

नेपालमा उत्पादन भएको दाना मुख्यतः भारत निकासी हुन्छ । यहाँ उत्पादन भएको दाना राजधानी काठमाडौं पुर्‍याएर भारतका व्यापारीलाई बिक्री गरिन्छ । सोख र आत्मा शान्तिका लागि दानाको माला लगाउने चलन छ । 'राषि, रोग, पेशाका आधारमा दाना छनोट गर्दै सुन, चाँदी र कालो धागोमा उनेर दानाको माला लगाउने गरिन्छ ।' रुद्राक्ष महिमा पुस्तकमा उल्लेख छ ।

रुद्राक्ष मध्यपहाडी क्षेत्रमा पाइने वनस्पति हो । यो समुन्द्री सतहको करिव ५ सय मिटरदेखि १५०० मिटरसम्म पाइन्छ ।

रुद्राक्षसम्वन्धी पुस्तकहरुका अनुसार रुद्राक्ष २७ मुखेसम्म हुुन्छ । तर, संखुवासभा र भोजपुरमा २९ र ३२ मुखे पनि पाइएका छन् । हालैको खोज अनुसार संसारभरि ३८ मुखसम्मका रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् । सामान्यतया १ देखि १४ मुखेमात्र सर्वसुलभ उपलव्ध हुन्छन् । संखुवासभा र भोजपुरको उत्तरी क्षेत्रमा वर्षेनी १४ मुखेभन्दा ठूला दाना फलिरहेका छन् ।

रुद्राक्ष पश्चिम नेपालको कास्की स्याङ्गजा, पाल्पा, गुल्मी र पूर्वी नेपालको भोजपुर, संखुवासभा र धनकुटामा बढी उत्पादन हुन्छ । नेपाल, भारत, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जंगलमा प्रशस्तै पाइन्छ । विश्वभरमा यसका जम्मा १२३ प्रजाति पाइएका छन् ।

यसको मुख्य सिजन भदौंदेखि मंसिर महिनासम्म भएपनि बाँकी समयमा पनि यसको व्यापार चलिरहन्छ । रुद्राक्षबाट वर्षेनी २० करोडबढी रुपैयाँ संखुवासभा र भोजपुर जिल्लामा भित्रने गरेको छ । अलैचीपछि रुद्राक्ष नै संखुवासभा र भोजपुर जिल्लामा रकम भित्र्याउने नगदेबाली बनिरहेको छ ।

भोजपुरको दिङलामा षडानन्द गुरुले रुद्राक्षको बिरुवा भारतबाट ल्याएर रोपेपछि यसले संखुवासभासम्म फैलने अवसर पाएको हो । अहिले भोजपुर भन्दा संखुवासभामा यसको उत्पादन बढी हुन्छ । खाँदबारीमा लाग्ने शनिबारे हाटमा मुख्य व्यापार र चर्चा रुद्राक्ष -दाना) को नै रहने गरेको छ । 'शनिबारमात्र ५० लाख रुपैयाँको कारोबार हुन्छ ।' दाना व्यापारी सूरज गौतमले भने, साताका ६ दिन पनि दैनिक १० लाख रुपैयाँभन्दा बढीकै कारोवार हुन्छ ।

दाना निकाशीकर्ताले संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्ष भारतको बनारससम्म पुर्‍याउने गरेका छन् । दाना ०६४ मा सात करोड र ०६५ मा १५ करोड रुपैयाँको व्यापार भएको यसमा आवद्ध व्यापारीहरुको भनाइ छ । ०६६ मा २० करोड र ०६७ मा त्यसकै हाराहारीमा रकम भित्रेको छ भने चालु वर्ष २०६८ मा ३० करोड रुपैयाँ भित्रने जानकारहरुको भनाइ छ ।

मुख र आकारले यसको मूल्य निर्धाण गर्छ । साथै ठूलो अकारमा भए मूल्य थपिँदै जान्छ । भोजपुर र संखुवासभामा पनि प्राय सबैका गलामा दाना झुण्डिएको देख्न पाइन्छ । रुखमा फुल खेल्न लागेपछि त्यसको गोठालो नै लाग्ने चलन छ । मानिसहरु फूलमै दानाको मुख चिन्न सक्ने हुन्छन् । त्यसैले २४ घण्टानै रुखको निगरानी गरिरहनु पर्ने कृषकहरुको भनाइ छ ।

पूर्व क्षेत्रमा फलेको रुद्राक्ष कृषकका बगानदेखि नै किनबेच सुरु हुन्छ । कृषकले स्थानीय व्यापारीलाई, ती व्यापारीले गाउँसँगै रहेका व्यापारिक केन्द्रका व्यापारीलाई हुँदै दाना निकासी व्यापारीसम्म पुग्ने गर्छ । यसमा काठमाडौंदेखिका व्यापारीले लगानी गरेका हुन्छन् । असोज नलाग्दै ५-७ करोड रुपैयाँ काठमाडौका व्यापारीले रकम पठाइदिन्छन् । त्यो रकमले राजधानीसम्म दाना निकासी गर्ने व्यापारीले धमाधम रुद्राक्ष खरिद गर्दै भण्डारन गर्छन् । र, काठमाडौं पुर्‍याउँछन् । वर्षेनी भारतबाट करिव १० करोड भारतीय रुपैयाँ अगि्रम रुपमा आउने गरेको व्यापारीहरुको भनाइ छ ।

रुद्राक्षको व्यापार ५-६ वर्षदेखि सुरु भएको हो । त्यसअघि यसको व्यापार थिएन । भनिन्छ भोजपुरका युवा गोविन्द बस्नेतले भारतमा पुगेर दानाको व्यापार अध्ययन गर्दै संकलन थालेपछि व्यापार एक्कासी चम्किएको हो । रुद्राक्ष राम्रो मूल्यमा किनबेच हुन थालेपछि कृषकहरु खेतीयोग्य जमिन मासेर दानाका बिरुवा लगाउन थालेका छन् ।

रुद्राक्ष संखुवासभा र भोजपुरबाहेक सिन्धुली, काभ्रे र पोखरामा पनि उत्पादन हुन्छ । तर, ती स्थानमा उत्पादित दाना गुणस्तरको नहुने व्यापारीहरुकेा भनाइ छ । ती स्थानमा ८-१० प्रतिशत, संखुवासभामा ३५- ४० प्रतिशत, भोजपुर, धनकुटामा १- २ प्रतिशत र बाँकी अमेरिकाको टेक्सास र भारतमा उत्पादन हुन्छ ।

भारतमा यसको व्यवसायिक खेती सुरु भएको छ । नेपालमा उत्पादित दाना भारतमा

८० प्रतिशत निकाशी हुने गरेको छ भने बाँकी तेश्रो विश्वका मुलुक पुग्ने गर्छ ।

भारतमा त्र[mतिम दाना बनाउँदै सस्तोमा बिक्री गर्न थालेपछि नेपालको सक्कली रुद्राक्षको मूल्यमा ह्रास आएको जानकारहरुको दावी छ ।

भारत र इन्डोनेसियाबाट नक्कली आयात

नेपालका रुद्राक्ष बिक्रेता भारत र इन्डोनेसियाबाट नक्कली रुद्राक्ष आयात गर्छन् । भारतमा प्लास्टिकबाट बनाइएका रुद्राक्ष नेपालमा ल्याएर बिक्री गर्ने चलन छ । रुद्राक्षलाई सिद्धि गरिएको र मनोकांक्षा पूरा हुने विश्वास दिलाएर नक्कली पनि बिक्री गरिन्छ । पशुपति क्षेत्रको अग्रवाल रुद्राक्ष भण्डारका सञ्चालक सुनिल अग्रवाल पछिल्लो समय नक्कली रुद्राक्षको बिगबिगी भएको बताउँछन् । उनी भारत र इन्डोनेसियाबाट झण्डै २० प्रतिशत नक्कली रुद्राक्ष आउने तर्क राख्छन् ।

रुद्राक्षको कारोबार गर्ने दुई दर्जनभन्दाबढी पसल पशुपति क्षेत्र र राजधानीका अन्य स्थानमा छन् । ती अधिकांश रुद्राक्ष नक्कली भएको कुरा सार्वजनिक नगर्न व्यापारी आग्रह गर्छन् । सत्य बोल्दा पनि आफूलाई अन्य व्यापारीले नराम्रो दृष्टिले हेर्ने भन्दै केहीले नाम बताउन चाहेनन् ।

नेपालमा फलेको रुद्राक्षका ४, ५ र ६ मुखेलाई १४, २१, २९, ३२ मुखे बनाउने कारखाना नै रहेको सुनिल अग्रवालले बताए । पशुपति क्षेत्रमा कारखाना रहेपनि कारखानासम्म पुग्न सकिएन । भारत र इन्डोनेसियामा उत्पादन भएका दाना उतै खपत हुने र नक्कली भने नेपाल निर्यात गर्ने ठूलै गिरोह रहेको पशुपति भण्डारी स्टोरका शम्भु भण्डारी बताउँछन् ।

नेपालबाट भने अधिकांश सक्कली रुद्राक्ष विदेश निकासी हुने गरेको छ । बिदेश पुगेपछि त्यसबाट अन्य मुख भएका नक्कली बनाउने र पुनः नेपाल निर्यात गर्ने चलन पनि रहेको व्यापारीहरु बताउँछन् ।

इन्डोनेसियामा उत्पादन हुने रुद्राक्ष सानो आकारको हुन्छ । त्यसलाई मानिसहरु मन पराउँदैनन् । ठूलो आकारको नेपालमा उत्पादन हुने नै सबैको आकर्षण केन्द्र रहेको पशुपति क्षेत्रमा रुद्राक्ष भण्डार सञ्चालन गरेका अमित चापागाईले बताए ।

रुद्राक्ष करबाट सडक

संखुवासभाको एक सामुदायिक वनमा उत्पादन भएको रुद्राक्ष खरिदबिक्रीका लागि लगाएको टेन्डरको रकमले सडक निर्माण गरिएको छ । स्यावुन- १ राकाबुङ्ग भुसुने सामुदायिक वन उपभोक्ता समितिले दाना -रुद्राक्ष) मा कर लगाएपछि सडक खन्ने रकमको व्यवस्था भएको हो ।

समुदायिक वनबाट आय भएको चार लाख रुपैयाँबाट सडक खनिएको हो । वनमा रहेको दाना टिप्ने र बिक्रीका लागि बोलपत्र आह्ावन गरेर जम्मा भएको रकमले सडक खनिएको छ ।

संखुवासभा जिल्लामा रहेका २ सय ६८ सामुदायिक बनमध्ये यो वन समूह आर्थिक रुपले सक्षम छ । वनको आयस्ताले खाँदबारीको बडरेनी-नारदेभञ्ज्याङ्गसम्मको ३० किलोमिटर सडक निर्माण गरिएको छ । यो सडक आगामी हिउँदभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । यो खण्डमा हिउँदमा यातायात सञ्चालन हुन्छ । रुद्राक्षबाट सडक खनेको उदाहरणमात्र हैन केही विद्यालयले यसकै आयले भौतिक पूर्वाधार पनि निर्माण गरेका छन् ।

रुद्राक्ष नर्सरी र प्रहरी

रुद्राक्षको माग बढ्दै गएपछि वन कार्यालयले व्यवसायिक खेतिका लागि नर्शरीबाट बिरुवा उत्पादन गर्न थालेको छ । कृषकलाई निः शुल्क उपलब्ध गराउन नर्शरी अवधारणा ल्याइएको हो । रुद्राक्षका दानाबाट बिरुवा उत्पादन गर्दै कृषकलाई मागअनुसार उपलब्ध गराउन थालिएको छ ।

यसैवर्ष सुरु गरिएको नर्सरीबाट १५ हजार बिरुवा उत्पादन भए । ती सबै कृषकले लगेर रोपेका छन् । वन कार्यालय रुद्राक्ष बिरुवाको माग निरन्तर रहेको भन्दै आगामी वर्षहरुमा पनि नर्सरीलाई निरन्तरता दिने लक्ष्यमा छ । संखुवासभा र भोजपुरबाहिरका व्यक्ति यी स्थानमा आएपछि चिनोको रुपमा रुद्राक्षका बिरुवा लिएर जाने गरेका छन् । घरमा लगेर रोप्न भन्दै आन्तरिक पर्यटक, कर्मचारी र राजनीतिकर्मीले बिरुवा लिएर जाने गरेका हुन् ।

दाना जोगाउन प्रहरी

भोजपुरको दिङला क्षेत्रका कृषकले आफ्ना बारीमा फलेको दाना चोरबाट जोगाउन प्रहरीको सहयोग लिन थालेका छन् । कृषकले दैनिक प्रहरी गस्ति गराएर दानाको सुरक्षा गरेका हुन् । प्रहरीसँग समन्वय गर्दै दाना फलेपछि केही प्रतिशत प्रहरीलाई दिने शर्तमा प्रहरी परिचालन गरिएको हो ।

रुद्राक्षमा कर

संखुवासभा जिविसले २०६५ सालदेखि दाना निकासी कर संकलन सुरु गरेको छ । जिविसका अनुसार दानाबाट वर्षेनी पाँच लाख रुपैयाँ कर संकलन हुन थालेको छ । दाना कारोवार गर्ने व्यवसायीलाई क, ख र ग श्रेणीमा विभाजन गरेर १, ५ र १० हजार रुपैयाँ दरमा एकामुष्ट रकम लिँदै निकासी अनुमति दिने गरिएको छ । संखुवासभा र भोजपुरमा दाना किनबेच गर्ने करिव दुई सय ७५ व्यवसायी छन् ।

रुद्राक्ष औषधि

आयुर्वेदिक दृष्टिले रुद्राक्ष महाऔषधि मानिन्छ । यो उष्ण क्षेत्रमा हुने अमिलो फल पनि हो । अमिलो र भिटामिन सी युक्त भएकोले रक्त सोधक तथा रक्त विकार नाशक हो । तातो हुनाले रुद्राक्षले चिसोबाट हुने सबै रोगका लागि उपयोगी मानिन्छ ।

उच्च रक्तचाप भएका रोगीलाई रुद्राक्ष एक वरदान मानिन्छ । रुद्राक्षले एक्युपे्रसरको काम गर्छ त्यसैले रक्तचापलाई नियन्त्रणमा राख्छ । रुद्राक्ष दाना वा माला हृदयसम्म पुग्नु पर्छ अर्थात दानाले हृदयलाई स्पर्ष गर्नुपर्छ । रुद्राक्षले रोगीको गर्मी आफूमा लिएर बाहिर फाल्ने विश्वास गरिन्छ ।

रुद्राक्षको दाना पानीमा घोटेर घाउहरुमा लगाउँदा निको हुन्छ । रुद्राक्षलाई साँझमा पानीमा राखेर बिहान त्यो पानी खालिपेटमा पिउनाले हृदय रोग र कब्जियत ठीक हुन्छ । रुद्राक्ष दूधमा उमालेर पिउनाले स्मरण शक्ति वढ्ने, खोकी निकोहुन्छ ।

रुद्राक्षको मुखमा पूजा गरिन्छ । माला बनाएर लगाइन्छ । औषधिको रुपमा पनि प्रयोग गरिन्छ । मान्यताअनुसार घरमा रुद्राक्षको पूजा गर्नाले लक्ष्मीको बास हुन्छ । रुद्राक्ष लगाउने व्यक्तिलाई भूत, प्रेतले हैरान पार्न सक्दैनन् । र, रुद्राक्षको पूजा गर्ने व्यक्ति स्वतः स्वर्ग जाने विश्वास गरिँदै आइएको छ । रुद्रको आँखाबाट खसेको आँशुले बनेको रुद्राक्ष साक्षात् शिव रुप मानिन्छ ।

संखुवासभा र भोजपुरका बजारमा रुद्राक्षको मूल्य

एक मुख े अनमोल

दुई मुखे ३ हजारदेखि ५ हजार रुपैयाँ

तीन मुखे ७० रुपैयाँदेखि ५ सय रुपैयाँ

चार मुखे प्रति किलोग्राम २०० रुपैयाँ

पांच मुखे प्रति किलोग्राम २०० रुपैयाँ

छ मुखे प्रति किलोग्राम २०० रुपैयाँ

सात मुखे ३५ रुपैयाँदेखि २ सय रुपैयाँ

आठ मुखे ५ सयदेखि १ हजार रुपैयाँ

नौ मुखे ५ सय देखि एक हजार रुपैयाँ

दश मुखे ५ सयदेखि १ हजार रुपैयाँ

एघार मुखे ६ सयदेखि एक हजार २ सय रुपैयाँ

बाह्र मुखे १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँ

तेह्र मुख े ३ हजारदेखि ५ हजार रुपैयाँ

चौध मुखे १० हजारदेखि २० हजार रुपैयाँ

पन्ध्र मुखे ८ हाजर ५ सयदेखि १५ हाजर रुपैयाँ

सोह्र मुखे ७ हजारदेखि १२ हजार रुपैयाँ

सत्र मुखे २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँ

अठ्ठार मुखे ५० हजारदेखि १ लाख ४० हजार रुपैयाँ

उन्नाईस मुखे ५ लाखदेखि १२ लाख ७५ हजार रुपैयाँ

बीस मुखे २ लाखदेखि ५ लाख रुपैयाँ

एक्काईस मुखे १२ लाखदेखि १५ लाख रुपैयाँ

बाईस मुखे ३ लाख ५० हजारदेखि ६ लाख रुपैयाँ

तेईस मुखे ९ लाखदेखि १६ लाख रुपैयाँ

चौबीस मुखे ५ लाखदेखि ७ लाख रुपैयाँ

पच्चीस मुखे ७ लाख ५० हजारदेखि ११ लाख रुपैयाँ

छब्बीस मुखे ५ लाख ५० हजारदेखि ७ लाख रुपैयाँ

सत्ताईस मुखे १२ लाखदेखि २७ लाख रुपैयाँ

अठ्ठाईस मुखे ९ लाखदेखि २० लाख रुपैयाँ

उनन्तीस मुखे २० लाख रुपैयाँदेखि माथि

बत्तीस मुखे २१ लाख रुपैयाँमाथि

-तीस मुखे र एकतीस मुखे हालसम्म फेला परेको छैन ।)

रुद्राक्ष लगाउने उचित समय

हिन्दु धर्मग्रन्थहरुका अनुसार रुद्राक्ष चन्द्र र सूर्य ग्रहण, संक्रान्ति, बैशाख, आमावस्य, तीर्थाटन, गंगातट -नदीको किनार), महाशिवरात्री, दिपावली, पूज्य इष्टदेवको साथ, पूज्य गुरुदेवका साथ, कुम्भ पर्व, गंगा पर्व वा कुनै महान् नदीका छेऊछाऊ, नवरात्रीमा , अयन र अन्य कुनै शुभ दिन लगाउनु उचित हुन्छ ।

हिन्दु धर्म ग्रन्थहरुले रुद्राक्ष लगाउन कुनै समय र वाध्यता अर्थात निश्चित निमयमा बस्न उल्लेख गरेका छैनन् । तर, रुद्राक्ष लगाउने व्यक्तिले मासु, माछा, अण्डा र मध्यपान नगर्नु उचित मानिन्छ । रुद्राक्ष लगाएपछि धार्मिक मान्यता अंगाल्दै गएमा यसको प्रभाव छिटो देखा पर्ने ग्रन्थहरुले उल्लेख गरेका छन् ।

दानालाई एक मिनट उमाल्ने र पुनः एक मिनट तातो पानीमा छोपेर राख्ने । यसरी उमाल्दा नक्कली दाना भए फुट्छ । र, जोडेको केमिकल देखिन्छ । दाना उस्ताको उस्तै रहेमा सक्कली हो । दाना दायाँ र बायाँ घुम्छ । तामाको दुई वटा टुक्रा लिनुपर्छ । एक टुक्रामा दाना ठाडो पारेर राख्ने माथिबाट अर्काे टुक्राले हल्का दबाउँदा दाना घुम्छ । नघुमेमा दाना नक्कली हो । तपाईलाई शंका लागेमा तत्काल घरेलु परीक्षण गर्न सक्नुहुन्छ ।

सिपालु कालीगढ एक पटक देखेको दाना जस्ताको तस्तै बनाउने गर्छन् । उनमा भएको प्राकृतिक सीपले कालीगढले दानाबनाउँदा पनि दाना चिन्नेहरु झुकिन्छन् । मानिसहरु ४, ५ र ६ मुखे रुद्राक्षलाई काट्दै एकदेखि २१ मुखेसम्म बनाउछन् ।

मुख- मुख अलगअलग भएपछि त्यसलाई सुपर ग्ल्यु वा यस्तै सोलुसनले जोड्ने गरेको पाइन्छ । बाँसको जरालाई रुद्राक्षको आकार दिएर रातो गुलावी गङ दिएर नक्कली दाना बनाउने गरिन्छ ।

रुद्राक्ष -दान) सानो साइजमा थोरैमात्र पाइन्छ । अति ठूलो र अति नै सानो दानाको मूल्य बढी हुन्छ । रुद्राक्ष रुखमा अधिकांश ४, ५ र ६ मुखे दाना फलेको हुन्छ । त्यसैले यो अति नै सस्तो हुन्छ । यी मुख भएका रुद्राक्ष किलोको हिसावमा किनबेच गरिन्छ ।


1 comment:

  1. Wah Kyaa gajab bho Nepal maa Aba Maile pani Kheti garna suru garnu parchha ki kyaa ho

    ReplyDelete