हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार मनाइँदै आइएको अन्तराष्ट्रिय कुष्ठरोग दिवस यसवर्ष भोलि १६ गते परेको छ । यसवर्ष मनाइने यो दिवस ५८ औँ अन्तर्राष्ट्रिय कुष्ठरोग दिवस हो ।
नेपालमा सन् २००९ मै कुष्ठरोग निवारण भएको घोषणा भइसकेको छ । प्रति १० हजारमा एक जना भन्दा कम कुष्ठरोगी भएमा कुष्ठरोग निवारण भएको मानिन्छ । नेपालले यो लक्ष्य पार गरेको एक वर्ष भइसकेको छ । यद्यपि नयाँ कुष्ठरोगी पत्ता लाग्न र दर्ता हुन छाडेको छैन । नेपाल कुष्ठरोग नियन्त्रण विभागका अनुसार विश्वमा वाषिर्क १७ लाख कुष्ठरोगी पत्ता लाग्ने गरेका छन् । नेपालमा आ.व.२०६६/०६७ मा तीनहजार १५७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नयाँ कुष्ठरोगीमध्ये बालबालिका ६.७२ प्रतिशत र महिला ३२.६ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यसै वर्ष उपचारमा रहेका कुष्ठरोगीहरू पि.आर. दर -प्रति दश हजार) ०.७७ रहेको छ जवकि विश्वको पि.आर.दर ०.२८ मात्र रहेको छ । यसको अर्थ नेपालले विश्वको पि.आर.दरलाई पछ्याउने क्रममा छ ।
कुष्ठरोग प्राचीन कालदेखि नै पहिचानमा रहेको रोग हो । यसलाई हिन्दु लगायत क्रिश्चियन, वौद्ध धर्म र यससँग सम्बन्धित अन्य धार्मिक पुस्तकहरूमा महारोगको रूपमा व्याख्या गरिएको छ । पहिले पूर्वजन्मको पाप वा देवी देवताको श्रापका कारण कुष्ठरोग लाग्छ भन्ने मान्यता थियो । औषधिको पहिचान नभएको त्यस अवस्थामा अरूलाई पनि सर्छ भन्ने डरले वन तथा ओडारमा छुट्टै राखी खाना समेत त्यहिँ लगेर दिने चलन थियो । तल्कालीन सरकारले समेत कुष्ठरोगीहरू जम्मा गरी निश्ििचत स्थानमा लगेर आधारभूत आवश्यकताको व्यवस्था सोही स्थानमा गरिदिने व्यवस्था थियो । यसको नमुना खोकनामा अझै देख्न सकिन्छ । हाल यस मान्यतामा निकै कमी आएको तथापि वर्षौ पूर्वदेखि कायम रहँदै आएको यस्ता मान्यताको अवशेष अझै केही न केही कायमै छ भन्नु पर्दछ । । रोगीलाई दया, माया र उपचारको सट्टा हेला, तिरस्कार, सामाजिक भेदभावका र सामाजिक बहिस्कार गर्ने प्रवृत्तिका कारण कुष्ठरोगीहरू कष्टकर जीवन जिउँदै आएका छन् ।
कुष्ठरोग अन्य रोग जस्तै हो । कुष्ठरोग सूक्ष्म कीटाणुद्वारा लाग्ने रोग हो । यो दैवी श्राप वा पूर्वजन्मको पापले हुने रोग होइन । सुरुकै अवस्थामा नियमित रूपमा औषधी उपचार गरेमा पूर्णतया निको हुन्छ र अरूलाई सर्दैन । यो रोगले प्रायः गरेर छाला र स्नायुमा असर गर्दछ जसले गर्दा छालामा नचिलाउने, लाटो, फुस्रो दाग देखा पर्ने, छाला बाक्लो हुने, शरीरमा गिर्खाहरू देखा पर्ने, कानको लोती बाक्लो हुने र स्नायूमा असर गर्नाले हात, खुट्टा झम्झमाउने, स्नायु नसा दुख्ने, हात खुट्टा लाटो हुनेे र पछि गएर हात खुट्टाका मांसपेशीहरू कमजोर बनाइदिन सक्छ । यस्तो भागमा चोटपटक लाग्नाले घाउ हुनसक्छ । हात खुट्टा झर्ने, अपाङ्गता हुने, शरीर कुरूप हुने कुष्ठरोगको लक्षण होइन यस्तो कुष्ठरोगको किटाणुहरूले असर पारेको भागमा चोटपटक लागेर त्यसको उचित उपचार नहुँदा हुने गर्दछ । कुष्ठरोग धेरै कम मात्रामा सर्ने रोग हो र सबै कुष्ठरोग सर्ने खालको हुँदैन । उपचार नगरेका कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउनाले यो रोग श्वास प्रवास वा घाउ भएको छालामा प्रत्यक्ष सम्पर्क भएर सर्न सक्छ । तर उपचार गरी रहेका वा उपचार पूरा गरेका व्यक्तिबाट यो रोग सर्दैन ।
कुष्ठरोग उपचारपछि निको हुने रोग हो । यसको लागि विश्व स्वास्थ्य संगठनले बहुऔषधी उपचार -एम.डि.टी.) विधि लागू गरेको छ । हाल यो औषधि प्रत्येक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्र र उपस्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध छ । औषधीले शरीरमा भएका रोग ल्याउने किटाणुलाई मार्ने काम गर्छ त्यसैले रोग अरूलाई सर्दैन र शरीरमा अरू बढी हानि नोक्सानी हुन दिँदैन । उपचार भई सकेको कुष्ठ प्रभावित व्यक्तिहरूमा समेत हात खुट्टा, नसाले काम नगर्ने भई लाटो हुने भएकोले यस्ता अङ्गले गर्नु पर्ने काममा सावधानी अपनाउनु पर्ने हुन्छ । औषधी सेवनले रोग निको भए पनि यसले शरीरका अङ्गहरूमा पारेको असर भने रहिरहन्छ ।
कुष्ठरोगले मानिसको ज्यान त लिँदैन तर शारीरिक रूपमा अपाङ्गता बनाउन सक्छ । मानिसको जीविका चलाउन काम गरी खाने हात खुट्टा र आँखामा यसले असर पार्ने भएकोले शारीरिक अशक्तता गराउँछ । यो भन्दा कुष्ठ प्रभावित व्यक्तिलाई समाजले गर्ने तिरस्कार तथा भेदभाव गम्भीर प्रकृतिको छ । कुष्ठ प्रभावित व्यक्तिलाई सामाजिक गतिविधिहरूमा सहभागी हुन रोक लाग्दछ । यतिमात्र होइन परिवारबाट समेत अलगिन पुग्दछ । कुष्ठ प्रभावित व्यक्ति आफै मात्र नभई उसको छोरा नाति समेतलाई कुष्ठरोगीको फलानो नातेदार भन्ने उपनाम जोडिन पुग्छ । व्यक्तिलाई रोग लागी निको भएपछि सो रोगसँग व्यक्तिको नाम जोडिँदैन तर एक पटक कुष्ठरोग लागेको व्यक्तिलाई उसको जीवनभर कुष्ठरोगी भन्ने गरिन्छ । जुन राम्रो होइन । यस्तो व्यवहारले कुष्ठ प्रभावित व्यक्तिमा आत्मग्लानी हुन्छ र मानसिक रोगको समेत सिकार बन्न पुग्दछ ।
नेपालले कुष्ठरोग निवारण भएको घोषणा गरेको एक वर्ष भइसकेको छ अब कुष्ठरोग नेपालीहरूको जनस्वास्थ्यको समस्याको रूपमा त छैन तर नँया कुष्ठरोगीको सङ्ख्या घटाउने र हालसम्म कुष्ठ प्रभावित व्यक्तिहरूको समाजमा पुनःस्थापना गर्नु आजको मुख्य दायित्व भएको छ । उसलाई आˆनो शरीरमा थप क्षति हुन नदिन नियमित रूपमा कसरत तथा स्याहार सुसार गर्नु पर्दछ । समाजबाट अलग्यार होइन आˆनै समाजमा क्षमता अनुसारको आयआर्जन तथा जीविकोपार्जनको बाटो बनाउनुपर्दछ । परिवार र समाजबाट सहयोग, सद्भाव, माया आवश्यक पर्दछ । कुष्ठरोग किटाणुको कारणले हुने भएकाले जुनसुकै व्यक्तिलाई पनि कुष्ठरोग लाग्न सक्छ । कुष्ठ प्रभावित व्यक्ति र उनका परिवारको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि कार्यक्रम र जीवनस्तर रूपान्तरणका गराउन आर्थिक सामाजिक पुनस्र्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्दछ । कुष्ठ प्रभावित व्यक्तिहरूले सम्मानजनक जीवन जीउन पाउनु उनीहरूको मौलिक अधिकार हो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय दस्तावेज अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी, २००६ मा नेपालले हस्ताक्षर गरी सकेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । त्यस्तै नेपाल सरकारको अपाङ्गता सम्बन्धी वर्गीकरण, २०६३ तथा अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र बितरण निर्देशिका, २०६५ मा अपाङ्गताको प्रकारमा कुष्ठरोगी उल्लेख गरिएता पनि यस सम्बन्धी जानकारी सम्बन्धित पक्षहरूमा नभएकोले कुष्ठ प्रभावित व्यक्तिहरू अपाङ्गता परिचय पत्र पाउनबाट बन्चित भएका छन्
No comments:
Post a Comment