काठमाडौ, चैत्र ३ - महाकाली सन्धिको १४ वर्षपछि भारतले पहिलो पटक टनकपुर ब्यारेजको पानी नेपाललाई दिन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गरेको छ । टनकपुर ब्यारेजदेखि भारतीय भूमि हुँदै नेपालसम्म नहर निर्माणका लागि भारतले हालै नेपाल सरकारसमक्ष प्रस्ताव गरेको हो ।
सिँचाइ विभागका महानिर्देशक अनिलकुमार पोखरेलका अनुसार प्रस्तावमा नेपालले भनेकै डिजाइनमा भारतले टनकपुर ब्यारेजदेखि नेपाली सीमासम्मको १ दशमलव २ किलोमिटर मुख्य नहर बनाइदिनेछ । टनकपुरको पोखरीबाट पानी निकास हुने पींध (सिल लेभल) कति मिटर उचाइमा राख्ने भन्ने विवाद दुई देशबीच महाकाली सन्धिदेखि नै छ । नेपालले समुद्र सतहदेखि २४१ दशमलव ५ मिटरमा सिल लेभल हुनुपर्ने अडान राख्दै आएको छ । भारतले सन्धिअघि नै संरचना निर्माण भइसकेकाले २४५ मिटर हुनुपर्ने अडान राखेको छ ।
दुई देशबीचको यो प्राविधिक मुद्दा छिनोफानो नहुँदा महाकाली सन्धिअन्तर्गत नेपालले पाउनुपर्ने पानी हालसम्म उपयोग गर्न सकेको छैन । नेपाली भूमि अतिक्रमण गरी बनेको टनकपुर ब्यारेजबाट वर्षायाममा १ हजार र हिउँदमा तीन सय क्युसेक पानी नेपालले पाउने सन्धिमै उल्लेख छ ।
भारतले नहरका लागि गरेको प्रस्ताव र नेपालले तीन वर्षअघि राष्ट्रिय अडानमा आधारित -२४१ दशमलव ५ मिटर) भएर आफ्नो भूभागमा मुख्य नहर खन्न थालिसकेको छ । 'सिल लेभलमा हाम्रो राष्ट्रिय अडान कायमै छ,' महानिर्देशक पोखरेलले आइतबार कान्तिपुरसित भने, 'उसले पठाएको नहरको डीपीआर आगामी संयुक्त बैठकमा छलफल हुनेछ ।'
नेपाल र भारत सीमा नदी महाकालीको पानी लगेर भारतले निर्माण गरेको टनकपुर ब्यारेज र विद्युतगृह सञ्चालन गर्ने नेसनल हाइड्रोपावर कर्पोरेसनले 'टनकपुर ब्यारेजदेखि नेपाल र भारत सीमासम्म सिँचाइ नहर निर्माणसम्बन्धी' प्रस्ताव गरेको हो । पानीको सतहभन्दा अग्लो हुने गरी उसले गरेको निकाससम्बन्धी प्रस्तावलाई नेपालले विवादका रूपमा उठाउँदै आएको छ ।
टनकपुर विद्युतगृह सञ्चालनका लागि भारतले २४१ दशमलव ५ मिटरको सिल लेभल बनाएको छ । भारतले पानीमा ठगी नगरोस् भनी नेपालले भारतकै सिल लेभल मागेको हो ।
मुलुकको राजनीतिलाई प्रभावित पारेको बहुचर्चित महाकाली सन्धि भएकै डेढ दशक पुग्न लागिसक्दा पनि यही सिल लेभलको विवाद भएको देखाउँदै भारतले उक्त नहर बनाएको छैन । नहरै नभएका कारण नेपालले सन्धिअनुसार पाउनुपर्ने एक हजार क्युसेक पानी उसैले एकलौटी बनाएको छ ।
पोखरामा गत मंसिर पहिलो साता सम्पन्न सचिवस्तरीय बैठकपछि बस्न लागेको जेएसटीसीको मुख्य एजेन्डा महाकाली सन्धिअन्तर्गत टनकपुर ब्यारेजमार्फत नेपालले पाउने पानीको छिनोफानो रहेको सिँचाइ मन्त्रालय स्रोतले जनायो । दुई देशबीचका प्राविधिक मुद्दाहरू यही निकायले टुंग्याएर सचिव तथा मन्त्रीस्तरीय उपल्लो निकायलाई सिफारिस गर्छन् । भारतले नेपाललाई सोध्दै नसोधी सन् १९८९ ताका टनकपुर ब्यारेज बनाउँदा नेपालतर्फ सिँचाइ हुने संरचना निर्माण गरेको थियो । टनकपुर ब्यारेजदेखि ३ सय मिटरमाथि पर्ने उक्त संरचनामार्फत पानी निकास हुने उचाइ समुद्र सतहबाट २४५ मिटर छ ।
भारतले टनकपुर विद्युतगृहमा बिजुली उत्पादन गर्न र आफ्नो भूभागमा सिँचाइ गर्न २४१ मिटर उचाइबाट पानी लगिरहेको छ । भारतले भनेजस्तो गरी पानी आउन टनकपुर ब्यारेजको पोखरी सतह २४६ दशमलव ५ मिटर हुनुपर्छ ।
No comments:
Post a Comment