Thursday, August 13, 2020

रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर

 https://www.onlinekhabar.com/2020/08/889115

रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर !


प्रतिकात्मक तस्वीर

अहिले पूर्व-पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी टेन्डरको चर्चा छ । यो टेन्डर नौलो विकास प्रक्रियाका कारण नभई सेटिङका कारण चर्चित बनेको छ ।

विवादकै बीचमा आज र भोलि नै टेन्डर खोलिँदैछ । त्यसपछि टेन्डरको ‘मूल्याङ्कन’ हुनेछ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले ५४ वटा बोलपत्रको मूल्याङकन एक महिनामा हुने बताइसकेका छन् ।




सीमित कम्पनी मात्र सहभागी हुन सक्नेगरी टेन्डर गरिन लागेकाले यसमा सेटिङ भएको स्पष्टै भएको छ । नेपालमा सेटिङ भएका ठेक्काको बनावटी मूल्याङ्कन गर्ने चलन बसेको छ । यस्ता कुन ठेक्का, कसले पाउने भनेर पहिले नै तय गरिएको हुन्छ ।

टेन्डर स्पेसिफिकेसनबाटै अरूलाई दाबी विरोधको ढोका पनि बन्द गरिएको हुन्छ । शक्ति केन्द्रहरूको आशीर्वाद प्राप्त कम्पनीहरूका लागि खोलिने यस्ता ठेक्कामा कुन नम्बरको ठेक्का कस-कसले, कति मूल्यको टेन्डर हाल्दैछ भन्ने सूची पहिल्यै सम्बन्धित सरकारी अड्डाका हाकिमका हातमा पुगेको हुन्छ । ‘मूल्याङ्कन’को कागजात पनि टेन्डर नखोल्दै तयार भइसकेको हुन्छ ।

अहिले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्मको प्रस्तावित रेलमार्गको ट्रयाकबेड बनाउने (माटो भर्न) गरिएको ठेक्कामा यही शैली अवलम्बन गरिएको छ ।

नेपालमा प्रतिस्पर्धा नै नहुने अवस्था सिर्जना गरेर अर्बौंको ठेक्का हत्याउने धन्दा १० वर्षयता मौलाएको छ । यसमा निर्माण क्षेत्रका सिन्डिकेटवाला कम्पनीहरूको एकछत्र रजगज छ । यस्ता ठेकेदार कम्पनीहरूले उपल्लो तहका राष्ट्रसेवक र नेताहरूलाई पट्याएर आफ्नो दुनो सोझ्याउँछन् ।

कतिपय नेताहरू नै सेटिङमा अग्रसर हुन्छन् । राष्ट्रसेवक कर्मचारीलाई यति, सम्बन्धित मन्त्री र नेतालाई यति भनी भाग पुर्‍याएर यस्तो सेटिङ गरिन्छ ।

अहिले रेलमार्गको ठेक्कामा गरिएको सेटिङमा नेकपा र कांग्रेस दुवै पार्टीको ‘सहमति’ रहेको उनीहरूले साँधेको मौनताले देखाइरहेको छ । तालुकदार भौतिक पूर्वाधार मन्त्रालयको हतारो रेल विभागमै देखिरहेको छ । सबैजना लागत अनुमानभन्दा एक प्रतिशत कममा परियोजना आ-आफ्ना ठेकेदारलाई दिएर लाभ लिन हतारिएका छन् ।

को हुन् अगुवा ?

ठेक्कामा मौलाएको सेटिङले स्वच्छ प्रतिस्पर्धा हुन दिएको छैन । यसले मध्यम पुँजी भएका ठेकेदारहरूलाई प्रतिस्पर्धामा आउन रोकेर देशलाई अर्बौं घाटा लगाइरहेको छ ।

कांग्रेस सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन, राप्रपाका नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन, कांग्रेस नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा, कांग्रेस सांसद जिपछिरिङ लामाको लामा कन्स्ट्रक्सन, रमेश शर्माको शर्मा एण्ड कम्पनी र ऋषि सुवेदीको तुँदी कन्स्ट्रक्सन ठूला ठेक्का ‘फिक्सिङ’ गर्नेमा अगाडि देखिन्छन् ।

यिनीहरूको सिन्डिकेटमा अहिले बलराम महतो, याल्जे शेर्पा लगायत उदीयमान व्यवसायीहरू मिसिएका छन् । खासखास राष्ट्रसेवक र राजनीतिक दलहरू शीर्ष तहका नेता नरिझाई नेपालमा कोही ‘उदीयमान व्यवसायी’ बन्न सक्दैनन् ।

नेपालमा ठेकेदार, कर्मचारी र नेता मिलेर आयोजनाहरूका फरक प्रकृतिका कामलाई पहिले एउटै प्याकेज बनाएर विकृति निम्त्याउँछन् । एउटैमा ठूला वा स-साना प्याकेजमा बाँडेर ठेक्का आह्वान गर्दा सिन्डिकेटवाला कम्पनी मात्र योग्य हुने तारतम्य मिलाइएको हुन्छ ।

फरक-फरक कामको ठूलो प्याकेजको टेन्डर हाल्न मध्यमस्तरका कम्पनीहरूको नियमअनुसार तोकिएको वाषिर्क कारोबार रकम नै पुग्दैन । साना प्याकेजमा भने अनुभव धेरै मागेर बाहिर पारिन्छ । अहिलेको विवादास्पद रेल्वेको ठेक्कामा पनि यही शैली अपनाइएको छ ।

लिक बिछ्याउनुअघि माटो भर्न रेलमार्गकै काम गरेको दक्षता मागिएको छ । जबकि रेलमार्गभन्दा राजमार्ग र विमानस्थलमा माटो भर्ने काम गर्न जटिल मानिन्छ । यस्तो काम गरेका धेरै कम्पनी नेपालमा छन् । तिनीहरूलाई रोक्न रेल विभागले रेलमार्गमै माटो भरेको अनुभव मागेर माथि उल्लेख भएकासहित १८ वटा कम्पनीले मात्र प्रतिस्पर्धा गर्नसक्ने अवस्था सिर्जना गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको वाषिर्क प्रतिवेदन २०७४ ले पनि यो शैलीको प्रष्ट चित्र उतारेको छ ।

सेटिङको नाङ्गो उदाहरण

लेखक घिमिरे

सार्वजनिक खरिद ऐनअनुसार सबैैभन्दा कम मूल्य कबुल (लो बिड) गर्ने कम्पनीलाई ठेक्का दिनुपर्छ । यसबाट लो बिडमा ठेक्का पारेर काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति मौलाएको छ ।

यसलाई कारण देखाएर ठूला ठेकदारहरूको मिलोमतोमा धेरैवटा कामको ठूलो प्याकेज बनाएर ठेक्का लगाइन्छ । त्यस्तो टेन्डरको डकुमेन्ट नै यस्तो बनाइन्छ कि त्यसमा मिलेका कम्पनीहरू मात्र बोलपत्र हाल्न योग्य हुन्छन् । त्यसपछि ती कम्पनीहरू मिल्छन् र भागबण्डा मिलाएर ठेक्का हाल्छन् ।

बोलपत्रमा लागत अनुमान हाराहारीकै रकम उल्लेख हुन्छ । केहीले लागत अनुमानभन्दा केही कम र केहीले बढी पारेर टेण्डर हाल्छन् । सबै प्याकेजमा टेण्डर हाले पनि भाग लगाएर लगभग समानुपातिक ढंगले ठेक्का हात पार्छन् ।

जस्तो- अहिले ट्रयाकबेडका लागि गरिएको टेन्डरमा ५४ वटा ठेक्का छन् । अब यसमा एउटा कम्पनीले आफ्नो आर्थिक क्षमताअनुसार २ देखि ४ वटा ठेक्का पाउने निश्चित छ । मिलोमतो होइन भन्ने पार्न एकाध कम्पनीलाई अर्को आयोजनामा ‘सेट’ गराउनेगरी थोरै संख्याको ठेक्का दिइन्छ । यस्तोमा कुनै एक वा दुईवटा कम्पनीले ठेक्का पाउँदैनन् ।

खरिद अनुगमनसम्बन्धी प्रतिवेदन २०७४ ले पनि यस्तो गोरखधन्दाको पुष्टि गरेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालय, तहाचलले ठूलो प्याकेज बनाइएको पाँच आयोजनाको टेण्डर प्रक्रियाको अध्ययन गरेर यो पुष्टि गरेको थियो ।

गल्छी-त्रिशुली-मैलुङ स्याफ्रुबेसी रसुवागढी सडकको ८२ किलोमिटर खण्ड स्तरोन्नतिका एउटै प्याकेज बनेको थियो । ३ अर्ब ६८ करोडको फरक-फरक कामका लागि एउटै प्याकेज बनाएर २०७३ जेठ १६ गते टेन्डर आह्वान भएको थियो ।

त्यसमा तीन कम्पनीले टेन्डर हालेर कोभेक-टुन्डी-रसुवा जेभीले ३ अर्ब ६३ करोडमै ठेक्का पायो । अन्य दुई कम्पनीले कबुल गरेको रकम योभन्दा थोरै मात्र बढी थियो ।

धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौंडा सडकखण्डको पुल निर्माणका लागि पनि त्यसै गरियो । फरक-फरक रूपमा बनाउनेगरी तयार पारिएका ८९ वटा पुललाई २ प्याकेजमा बाँडियो । सडकलाई पनि त्यसैगरी दुई खण्डमा बाँडेर प्याकेज बनाइयो । यो सडकको पूर्व खण्डमा ४३ र पश्चिम खण्डमा ३६ वटा पुलको प्याकेज थियो ।

सडकको पूर्वी खण्ड (१३७ किमी) मा ७ अर्ब ४५ करोडको लागत अनुमान गरिएकोमा ७ अर्ब ३६ करोडमा जेडआईईसी-शर्मा-लामा जेभीले ठेक्का पायो । पश्चिमखण्ड (११३ किमी) मा ७ अर्ब १९ करोड लागत अनुमानमा आहृवान भएको ठेक्का रेनकेन-कालिका-स्वच्छन्द जेभीले ७ अर्ब १० करोडमा हात पार्‍यो ।

पूर्वी खण्डको ३६ वटा पुलका लागि ६ अर्ब ३६मा चिनियाँ कम्पनी जेडआईईसीसहित शर्मा-लामा जेभीले ठेक्का पाए । यसको लागत अनुमान ६ अर्ब ४३ करोड रुपैयाँ थियो ।

पश्चिम खण्डमा ४३ पुलको ठेक्का कोभेक-टुन्डी-रसुवा जेभीले हत्यायो । ३ अर्ब ८७ करोडको लागत अनुमान गरिएको यो ठेक्का ३ अर्ब ८५ करोडमा यो कम्पनीले पायो ।

यो पाँच वटा टेण्डरमा कभेक-टुन्डी-रसुवा जेभी, रेनकेन-कालिका-स्वच्छन्द जेभी, जेडआईईसी-शर्मा-लामा जेभी, शर्मा-लामा जेभी र जेडआईईसी-एएनके-लुम्बिनी जेभी छन् । सबै ठेक्कामा तीन वटा मात्र टेण्डर परेका छन् तर सबै कम्पनीको भागमा ठेक्का परेको छ । बोलपत्रमा सहभागी सबैको कबुल रकममा ठूलो अन्तर छैन, अनुमानित लागतको आसपास नै छ ।

सार्वजनिक खरिद अनुगमनसम्बन्धी प्रतिवेदन २०७४ ले भनेको छ- बोलपत्र कागजातमा बोलपत्रदाताको योग्यता निर्धारणमा एकै किसिमको प्रवृत्ति देखिनु, सबै बोलपत्रमा एकै संख्यामा बोलपत्र बिक्री हुनु, एउटै संख्यामा बोलपत्र दाखिल हुनु, एउटा बोलपत्रमा लागत अनुमानभन्दा केही कम र बाँकी २/२ मा बढी रकमको बोलकबोल हुनु, निश्चित बोलपत्रदाता मात्र बारम्बार दोहोरिनु र बोलपत्रमा सहभागी सबै बोलपत्रदाताले कुनै न कुनै ठेक्का प्राप्त गर्नु आदि कुनै आकस्मिक संयोजन नभई सुनियोजित र योजनाबद्ध कार्यको परिणाम भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तो मिलेमतो अन्य ठूलो आयोजनाहरूमा पनि देखिएको छ । मुगु-हुम्ला जोड्ने सडकमा कालिका कन्स्ट्रक्सनले ठेक्का हात पार्दा यो सूत्र लगाइएको थियो ।

ठेक्का निकाल्दा ‘अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव अनिवार्य’ भनेर कालिका कस्नट्रक्सनलाई यो सडकमा रेड कार्पेट बिछ्याइएको थियो । कालिका अमेरिकामा पनि काम गरिरहेको कम्पनी हो ।

कानुननै ठेकेदार अनुकूल 

ठेकदार सांसदहरूले कानुन नै आफू अनुकूल बनाउने गरेका छन् । सार्वजनिक खरिद नियमावली २०६३ ले विदेशी कम्पनी आउन सुरुमा १ अर्ब रुपैयाँको ‘थ्रेसहोल्ड’ राखेको थियो । यो थ्रेसहोल्डलाई ६० करोड बनाउन प्रस्ताव संसदमा पुगेपनि पछि नियमावली संशोधनका नाममा सांसद रहेका ठूला ठेकेदारहरूको लविङबाट २ अर्ब पुर्‍याइयो ।

२ अर्बभन्दा साना आयोजनामा विदेशी कम्पनी आउन नपाएपछि ठेक्का हात पार्न नेपालको ठेकेदार सिन्डिकेटलाई स्वतः सजिलो भयो । त्यसपछि मिलेमतो झन् बढ्दा सरकारले १६ साउन २०७६ मा नियमावलीको आठौं संशोधनमा त्यसलाई उल्टयाएर एक अर्बमै झारेको छ । तर ठूला ठेकेदारको सिन्डिकेटलाई यसले धेरै फरक पारेको छैन ।

 

सफेद चिनीको धमिलो कथा

 https://www.onlinekhabar.com/2020/08/889234

सफेद चिनीको धमिलो कथा



यो सानो लेखमा चिनीको उत्पादन, आयात, विक्री वितरण गर्ने निकाय, उपभोक्ता र नियमन गर्ने निकायहरुवीचको अन्तरसम्वन्ध एवम् चिनी आपूर्तिको सिलसिलामा बराबर दोहोरिने अस्वस्थ खेलका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ।

चिनी लगभग सबै नेपालीको दैनन्दिन आवश्यकताको वस्तु भैसकेको छ। कोही कसैका घरमा वा बासस्थानमा पुग्दा वा भेट्न जाँदा वा ईष्टमित्र र पाहुना आउँदा पहिलो सत्कार गुलियो चियाबाटै गर्ने चलन छ। भलै हिजोआज मधुमेह रोगका कारण कतिपयले चिनी नराखी चिया खाने गर्छन्।




तर, सबैजसो नेपालीहरुको चाडपर्व, जस्तै- तीज, दशैँ, तिहार, छठ, माघे संक्रान्ति, नयाँवर्ष, विवाह, व्रतवन्ध आदिमा सेलरोटी, अर्सा, अनारसा र गुलिया मिठाइहरुको बढी मात्रामा प्रयोग हुनेगर्छ। यसैले चिनी आम नेपालीहरुका लागि अत्यावश्यक वस्तुका रुपमा रहेको छ भन्नुमा अत्युक्ति हुने छैन।

वार्षिकरुपमा नेपालमा करीव साढे दुई लाख टन चिनी खपत हुन्छ। यसबाट सरदरमा एकजना व्यक्तिले एक वर्षमा आठ किलो चिनी उपभोग गर्ने तथ्यांकले देखाउँछ।
नेपालमा चिनी उत्पादनको इतिहास धेरै पुरानो छैन।

परम्परागतरुपमा आम जनताले उखुको रसबाट खुदो, सख्खर, भेली जस्ता वस्तुहरु उत्पादन गरी गुलियोको आवस्यकता पूरा गरीआएको पाइन्छ। छिमेकी मुलुक भारतमा धेरै अगाडि चिनी मिलको स्थापना भएको भएतापनि नेपालमा भने सन् १९४७ मा पहिलोपल्ट बिराटनगरमा मोरंग सुगर मिलको स्थापना गरिएको थियो।

त्यसपछि प्रजातन्त्रको वहालीपश्चात् क्रमश: चिनी आपूर्ति गर्ने अन्य उद्योगहरु स्थापना गर्ने क्रम शुरु भयो। पछि सरकारी स्तरमा वीरगञ्जमा र नवलपरासीमा चिनी उद्योगहरु खोलिए भने निजी स्तरमा विभिन्न मिल स्थापना गरिए। अहिले नेपालमा १४/१५ वटा निजी क्षेत्रका चिनी उद्योग सञ्चालनमा छन्।

चिनीको आपूर्ति गर्नका लागि स्वदेशमै उत्पादन बढाउने र आयात गर्ने दुईवटा विकल्प रहेका छन्। मागको तुलनामा स्वदेशी उतपादन पर्याप्त नहुँदा वर्षेनी ठूलै परिमाणमा चिनीको आयात गर्नुपर्ने हुन्छ। अहिले पनि वार्षिकरुपमा झन्डै अढाई लाख टनको माग हुने गरेकोमा स्वदेशी उत्पादनवाट करीव १ लाख ८० हजार टन आपूर्ति हुने र बाँकी ७० हजार टन आयातबाट पूरा गर्नुपर्ने हुन्छ।

विगतमा पञ्चायतकालदेखि नै नेपालमा चिनी आपूर्तिका लागि भारत सरकारसँग सहयोग लिने प्रचलन रहेछ। नेपाल भारतवीच सम्पन्न व्यापार सन्धिको प्रोटोकलमा निकासीमा बन्देज लागेका वा कोटा लगाइएका वस्तु एक-अर्का मुलुकलाई आवश्यक पर्ने भएमा आवश्यक भएको मुलुकले निश्चित परिमाण तोकी अनुरोध गर्ने र त्यस्तो अनुरोधका आधारमा निकासी कोटा छुट्याउने प्रवन्ध मिलाएको देखिन्छ। यसअनुसार हरेक वर्ष नेपालबाट कोटाको चिनी माग गर्ने र त्यसरी प्राप्त हुने चिनी राज्यका तर्फबाट ढुवानी गर्ने प्रवन्ध मिलाउने गरिँदै आएको थियो। अझ त्यसमा पनि एक कदम अगाडि बढेर केही वर्षसम्म त नेपालले भारत सरकारले लेवीमा उठाएको सहुलियत मूल्यको चिनी पनि प्राप्त गर्ने गरेको देखिन्छ। यस्तो प्रवन्धलाई भने २०५४/५५ सालतिर वाणिज्य मन्त्रालयले रोकेको थियो।

ढुवानी र बिक्रीमा चलखेल

चिनी ढुवानीमा पञ्चायतकालदेखि नै चलखेल हुने गरेको हो। यो विकृति पछिसम्म पनि कायम रह्यो। भारतबाट सहुलियत मूल्यको चिनी ल्याउने, तर ढुवानी र बिक्री वितरणमा अपारदर्शी चलखेल गर्ने परिपाटी रहन गयो ।

विसं.२०५१ सालमा तत्कालीन आपूर्ति मन्त्रीले उपप्रधानमन्त्रीको मौखिक आदेश भन्दै एउटा अमूक व्यवसायीलाई ढुवानी गर्न दिने ठेक्काको फाइल सदर गरेका थिए। चिनीको ढुवानीमा त्यसबखत केडिया समूहको बोलवाला थियो।

चिनीको कारोबारमा संलग्न हुने प्रमुख निकायमा सरकारी संस्थानहरु पनि पर्छन्। सरकारी संस्थानले बाहिरबाट खरिद र ढुवानीको प्रवन्ध गर्ने एवम् वितरण प्रकृया पारदर्शी नहुँदा आम जनताले प्रश्न गर्ने ठाउँ रहिरहेकै छ।

सरकारले आम जनतालाई सुविधा पुगोस् भन्ने उद्येश्यले भन्सार छुटमा चिनी ल्याउने प्रवन्ध गरेता पनि आम जनताले खासैरुपमा यो सुविधा उपयोग गर्ने भन्दा पनि केही सीमित व्यक्तिले यसबाट फाइदा लिएको पाइन्छ। बजारमा दुई मूल्यका वस्तु उपलब्ध हुने अवस्थामा कम मूल्यको उही वस्तुको कालोबजारी हुने र कृत्रिम अभाव सिर्जना गर्ने सम्भावना अधिक रहन्छ। एकातिर सरकारी संस्थानहरुको अकुशलता र अपारदर्शी काम कारबाही, अर्कोतिर निजी क्षेत्रका व्यवसायीहरुको बजारलाई आफ्नो पकडमा राख्ने र महंगी बढाएर बढी नाफा आर्जन गर्ने प्रवृत्तिका कारणबाट पनि बजार व्यवस्थामा विकृति मौलाएको पाइन्छ।

केही वर्ष अगाडिको घटनामा सरकारले भन्सार छुटमा नेशनल ट्रेडिङ्ग लिमिटेडमार्फत झिकाएको चिनी सरल मूल्यमा आम उपभोक्तालाई बिक्री गर्नुपर्नेमा त्यहाँका महाप्रवन्धक समेतको मिलेमतोमा थोकमा व्यापारीलाई बिक्री गरी अनुचित कार्य गरे/गराएको भनी कारबाहीसमेत गरिएको थियो। यसरी गुपचुपरुपमा सस्तो मूल्यको वस्तु व्यापारीलाई बिक्री गर्दा अनुचित ढंगबाट साँठगाँठ हुने कुरा त स्पष्टरुपमा बुझ्न सकिने नै भयो।

उद्योगी र व्यापारीको दाउ

नेपालमा चिनी उद्योग सञ्चालन गर्ने र आयात गर्ने करीव एउटै वर्ग छ। उनीहरु कहिले स्वदेशी उद्योगलाई संरक्षण गर्न पर्यो भनी भन्सार महसुल बढाइदिन शक्तिकेन्द्रमा हारगुहार गर्छन् भने कहिले आयातमा प्रतिवन्ध लगाइदिन माग गर्दछन्।

सरकारको पनि आपूर्ति सम्वन्धी विस्तृत रणनैतिक योजना नहुँदा व्यापारी र उद्योगपतिको दबावमा तत्काल पटके निर्णय गरी भन्सार महसुल वृद्धि गर्ने तथा आयातमा प्रतिवन्ध लगाउने परिपाटीले गर्दा उद्योगीलाई त पाइदा पुग्ने नै भयो । तर, यसबाट आम उपभोक्ता भने मारमा पर्ने निश्चित छ।

उद्योगीले आन्तरिक उत्पादनको मूल्य बढाउन पाउने, सरकारले पनि थप राजस्व उठाउन पाउने, तर किसानले भने उद्योगबाट उखु बिक्रीवापतको रकमसमेत नपाएर वर्षौं  झुलाइदिने जस्तो विडम्बनाको स्थिति कहिलेसम्म राख्ने हो ?

गत वर्ष चिनी आयातमा भन्सार महसुल वृद्धि र आयातमा प्रतिबन्ध लगाइएको कारणबाट उपभोक्ताले किलोको ६० रुपैयाँ पर्ने चिनीको मूल्य प्रतिकिलो ९० रूपैयाँसम्म तिर्नुपरेको थियो। उद्योगीको अनुरोधमा सरकारले लिएको निर्णयबाट बजारमा चिनीको मूल्य अस्वाभाविकरुपमा बढेपछि उद्योगीले सरकारलाई झुक्याए भनी प्रधानमन्त्रीज्यूले सार्वजनिक रुपमा नै कवुल गर्नुभएको कुरा स्मरणीय छ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको क्षेत्रीय कार्यालयबाट अखाद्य वस्तु हो भन्दाभन्दै गत फागुन महिनामा ७२ मेट्रिक टन चिनी जलेश्वर भन्सारबाट जाँचपास गरी भित्र्याइएको र राजस्व अनुसन्धान विभागले तीनवटा ट्रकमा राखिएको त्यस्तो चिनी बरामद गरेकोमा पछिबाट गुणस्तर नियन्त्रण विभागले नै सो चिनी खान योग्य छ भनी सिफारिस गरेको विषयले मिडियामा व्यापक चर्चा पाएको थियो।

आम जनताले यो विषयलाई कसरी बुझ्ने ? कुन कुरालाई साँचो मान्ने ? कुनलाई झूठो ? जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारी निकायको यस्तो व्यवहारका साथै आम उपभोक्ताको स्वास्थ्यलाई दाउमा राख्ने काम स्वीकार्य हुन सक्तैन।

नेपालका चिनी उद्योगसँग सम्बन्धित अर्को विषय संरक्षणबाट प्राप्त लाभको बाँडफाँटसँग सम्बन्धित छ। उद्योगीको अनुरोधमा सरकारले ४० प्रतिशत भन्सार महसुल लगाएर एकातिर स्वदेशी उद्योगलाई संरक्षण प्रदान गरेको छ भने आयातमा समेत प्रतिबन्ध लगाएर थप संरक्षण प्रदान गरेको छ ।

यसबाट उद्योगीले आन्तरिक उत्पादनको मूल्य बढाउन पाउने, सरकारले पनि थप राजस्व उठाउन पाउने, तर किसानले भने उद्योगबाट उखु बिक्रीवापतको रकमसमेत नपाएर वर्षौं  झुलाइदिने जस्तो विडम्बनाको स्थिति कहिलेसम्म राख्ने हो ?

यस्तो परिस्थितिमा उद्योग घाटामा छ भन्दै सरकारसँग थप सुविधा माग गर्नु कति युक्तिसंगत होला ? ४० प्रतिशतसम्मको संरक्षण दरमा उद्योग चलाउन नसक्नेले कसरी गरीखालान् वा नेपालमा त्यस्ता उद्योग किन चलाउने भन्ने प्रश्न पनि त्यतिकै सान्दर्भिक छ।

के गर्न उपयुक्त हुन्छ ?

नेपाल सरकारले २०६९ सालमा आपूर्ति नीति जारी गर्यो। नीतिले चिनीलाई अत्यावश्यक खाद्य वस्तुका रुपमा वर्गीकरण गरी विपन्न जनताका लागि रासनकार्डको माध्यमबाट सहुलियतरुपमा उपलब्ध गराउने साथै स्वदेशी चिनी उत्पादकहरुबाट निश्चित परिमाणमा र उत्पादन मूल्यमा लेवीको चिनी उठाउने र बिक्री वितरण गर्ने भनी उल्लेख गरेको भएता पनि यसतर्फ खासै काम भएको पाइँदैन।

भनाइ र गराइमा देखिने भिन्नताको यो एउटा उदाहरण मात्र हो। नीतिमा भनिएका कुराहरु व्यवहारमा नल्याइएका यस्ता उदाहरण अनगिन्ती छन्।

मुलुकमा बेलाबखत आइपर्ने प्राकृतिक प्रकोप, महामारी एवम् आर्थिक नाकावन्दी जस्ता अवस्थाका लागि विचार गरी आपूर्ति व्यवस्थालाई भरपर्दो र निरन्तर तुल्याइराख्न खाद्यान्न लगायत खास-खास वस्तु, जस्तै- चामल, गहुँ, मकै, दाल, दूध, चिनी, औषधि, पेट्रोलियम पदार्थ आदि जस्ता वस्तु उत्पादन, आयात, भण्डारण तथा विक्री-वितरण सम्बन्धी रणनैतिक योजना एवम् कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ।

सामान्य ढंगमा नीति प्रकाशन गरेर सरकारको दायित्व पूरा भएको ठान्ने प्रवृत्तिमा सुधार ल्याउन जरुरी छ। नीति र रणनीतिलाई व्यवहारमा उतार्न तदनुरुपको संगठन, जनशक्ति, प्रभावकारी नियमनकारी संयन्त्र र स्रोत साधनको जरुरत पर्छ।

चिनी आपूर्तिमा देखिएका विकृतिका सन्दर्भमा उद्योगी, किसान र सरकारी निकायवीच आरोप-प्रत्यारोप चल्ने गरेको छ । तथापि यसको स्थायी समाधान खोज्ने प्रयास भएको देखिँदैन।

चिनी आपूर्तिमा क्रमश: आत्मनिर्भर हुने नीति अंगीकार गर्ने हो भने यसको शुरुआत उखु खेती र यसमा निर्भर कृषकलाई सहयोग पुर्याउने कार्यक्रमबाट गर्नुपर्ने हुन्छ। यससँगै सरकारले चिनी उद्योगको उत्पादन लागत र आम उपभोक्तासम्म पुर्याउँदा हुन आउने मूल्य, सीमापारको बजार मूल्य र स्वदेशी बजारमा सोको प्रभाव आदि जस्ता विषयलाई मिहीन ढंगमा केलाएर उखु खेतीको प्रवर्धन, चिनी उत्पादन, आयात, ढुवानी, वितरण र उपभोगसँग सम्बन्धित समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने रणनैतिक कार्यक्रम बनाई लागू गर्नु पर्दछ।

दोश्रो, आपूर्ति व्यवस्थालाई निरन्तर एवम् प्रभावकारी तुल्याइराख्न गोदाम र ढुवानी प्रवन्ध कुशल हुनु पर्दछ। नेपालमा अहिले गोदाम र रसद (लजिष्टिक) व्यवस्थालाई नियमन गर्ने कानूनको पनि अभाव छ भने अत्यावश्यक वस्तु आपूर्तिका लागि संघीय सरकार लगायत प्रदेश र स्थानीय सरकारसमेतले यथेष्ट मात्रामा भण्डारण व्यवस्था मिलाउन सकेको पाइँदैन।

यसैले गोदाम दर्ता, निर्माण र नियमन सम्बन्धी कानून ल्याउनुका साथै अत्यावश्यक वस्तुको माग, उत्पादन, उपलब्ध परिमाण एवं गुणस्तरसमेतको अद्यावधिक सूचना राख्ने र निरन्तर निगरानी गर्ने परिपाटी मिलाउनुपर्छ।

तेस्रो, वितरण प्रणालीमा सुधारका लागि जोड दिनुपर्छ। हामीकहाँ अत्यावश्यक वस्तुसँग सम्बन्धित सार्वजनिक वितरण प्रणालीको राम्रो विकास हुन सकेको छैन।

सरकारले दशैँ, तिहार, छठको अवसर पारेर केही समय सहुलियत पसल सञ्चालन गर्ने गरेता पनि यो केवल राजधानी र केही शहरी क्षेत्रमा मात्र सीमित रहेको छ।

विपन्न समुदायलाई लक्षीत गरी सहुलियत रुपमा वर्षैभरि खाद्य पदार्थ (चिनी समेत) उपलब्ध गराउने गरी सहकारी संस्थाहरुलाई परिचालन गर्न सकिन्छ। अहिलेको हचुवा परिपाटीको सट्टा अत्यावश्यक वस्तुको आपूर्तिलाई सरल र दिगो तुल्याउन सार्वजनिक वितरणसम्बन्धी एकीकृत योजनासहितको कार्यक्रम तथा सांगठनिक परिपाटीको प्रवन्ध मिलाउन उचित हुनेछ।

चौथो, बजारमा बलाबखत खडा गरिने कृत्रिम अभाव, अनुचित मूल्य वृध्दिदर र एकाधिकारको अन्त्य गर्नका लागि सरकारी एवं सार्वजनिक निकायहरुले निश्चित परिमाणमा चिनीलगायतका खाद्यवस्तुको भण्डारण गर्ने प्रवन्ध मिलाउनुपर्छ।

संस्थानहरुले आवश्यक परेका बखत सहुलियत मूल्यमा खाद्यवस्तु बजारमा छोड्ने हुँदा यसबाट निजी क्षेत्रको एकाधिकारलाई नियन्त्रणमा राख्न सकिन्छ।

पाँचौं, वस्तुको मूल्य, गुणस्तर र उपभोक्ता अधिकारका विषयमा आम उपभोक्तालाई प्रशिक्षित गर्न जरुरी हुन्छ । नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने र गुणस्तरहीन वस्तु वा सेवाबाट क्षती पुगेको व्यक्तिलाई क्षतिपूर्ति पाउने हक हुनेछ भनी उल्लेख गरेको छ।

यो हक प्रचलन गराउन उपभोक्ता संरक्षण ऐन, प्रतिस्पर्धा तथा बजार संरक्षण ऐन, खाद्य ऐनजस्ता नियमनकारी प्रवन्ध गरिएको भएता पनि सोको प्रभावकारी कार्यान्वयन भएको देखिन्न।

नियमनकारी निकायहरुवीच राम्रो समन्वय नहुँदाको परिणामस्वरुप गलत क्रियाकलाप गर्नेहरु खासै दण्डित हुन परेको छैन। यसैले बजार अनुगमन लगायत गलत व्यापारिक क्रियाकलापलाई नियन्त्रण गर्न एउटा बलियो र प्रभावकारी एकीकृत संस्थाको स्थापना गर्न उपयुक्त हुन्छ।

यसैगरी, उपभोक्तालाई उनीहरुको हकअधिकार र कर्तव्यका बारेमा प्रशिक्षित गर्ने, भएका ऐन कानूनको प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने र प्रदेश एवं स्थानीय तहलाई उपभोक्ताको भलाइप्रति बढी जिम्मेवार बनाउनु पर्दछ।

(ओझा नेपाल सरकारका पूर्वसचिव हुन् )

 

कोरोना संक्रमितको औषधिमा कालोबजारी !

 https://www.onlinekhabar.com/2020/08/889290

कोरोना संक्रमितको औषधिमा कालोबजारी !



२९ साउन, काठमाडौं । ‘हेलो सरकार ! कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी औषाधि ‘रेमडिसिभिर’ को कालोबजारी मौलाइसक्यो । बिरामीको ज्यान बचाउन भारु. ५००० पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न चिकित्सकहरु बाध्य भइरहेका छन् ।’

कोरोना संक्रमितको उपचारमा खटिएका वीरगञ्जका डा. निरज सिंहले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन्, ‘औषधि व्यवस्था विभागमा दर्ता गरेर आयात गर्न दिने हो भने रु.८००० सम्ममा रेमडिसिभिर किनेर बिरामीले आफ्नो ज्यान जोगाउन सक्छन् । यस्तो सानो कुरा पनि वीरगञ्जबाट मैले भन्नुपर्छ ?’




नारायणी अस्पताल अन्तरगतको गण्डक कोभिड अस्पतालमा कार्यरत डा. सिंहजस्तै कोभिड-१९ संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको पनि यही गुनासो छ ।

‘रेमडिसिभिर’ इन्जेक्सनको विभिन्न देशमा तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । तर, कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा रहेकाहरुमा प्रभावकारी देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलले गत मेमा जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड-१९‘ मा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन पाइने उल्लेख छ ।

चिकित्सकहरुका अनुसार पछिल्लो समय भेटिएका लक्षण भएका संक्रमित मध्ये कतिपयको स्वास्थ्य जटिल बनेकाले ‘क्रिटिकल केयर’सहित उपचार गर्नुपर्ने अवस्था छ । र, उनीहरुको उपचारमा प्रभावकारी हुनसक्ने औषधि रेमडिसिभिर नै हो ।

तर, संक्रमितका आफन्तले व्यक्तिगत रुपमा ल्याएर रेमडिसिभिर प्रयोग गरेका छन् । साउन ७  गते संक्रमण पुष्टि भएका विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई पनि रेमडिसिभर औषधि चलाइएको थियो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका उनका लागि रेमडिसिभर कोलकत्ताबाट मगाइएको थियो । ११ भाइल औषधि ल्याउन भारतको कोलकाताबाट बिराटनगरसम्म प्लेन चार्टर गरिएको थियो भने त्यहाँबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो ।

डा. कार्कीले जस्तै केही संक्रमितले व्यक्तिगत पहलमै रेमडिसिभिर मगाएर प्रयोग गर्दै आएका छन् । अहिले विभिन्न अस्पतालमा गरेर डेढ दर्जनभन्दा बढी संक्रमितलाई रेमडिसिभिएर दिइएको त्यहाँ कार्यरत चिकित्सकहरु बताउँछन् ।

वीर अस्पतालका चिकित्सक डाक्टर ध्रुव गैरे पनि कोरोना संक्रमणले सिकिस्त छन् । ५ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत उनलाई पनि रेमडिसिभिर चलाइएको छ ।

हृयाम्स अस्पतालका एक चिकित्सकको अनुसार त्यहाँ रहेका संक्रमितका लागि पनि  रेमडिसिभिर मगाइएको छ । मेडसिटी अस्पतालमा उपचाररत एक संक्रमित सिकिस्त भएपछि रेमडिसिभिर चलाइएको छ भने ग्राण्डी अस्पतालमा रहेका संक्रमितका लागि रेमडिसिभिर मगाइएको त्यहाँ कार्यरत एक चिकित्सक बताउँछन् ।

उपत्यका बाहिर नेपालगञ्ज र वीरगञ्ज लगायतका स्थानमा पैसा तिर्न सक्नेहरुले रेमडिसिभिर ल्याएर उपचार गराइरहेका छन् । ८ हजार रुपैयाँ पर्ने एक डोज औषधिलाई ब्लाक मार्केटमा २० हजारदेखि १ लाख तिर्नेहरु समेत भेटिएका छन् ।

पछिल्लो समय ‘ब्लाक मार्केट’बाट मगाउँदा पनि पाउन छाडेको गुनासो संक्रमितका आफन्तहरुले क्रिटिकल केयरमा कार्यरत चिकित्सकहरु गरेका छन् । उपत्यकाको एक कोभिड अस्पतालमा क्रिटिकल केयर हेरिरहेका एक चिकित्सक भन्छन्, ‘आईसीयूमा उपचाररत संक्रमित सिकिस्त हुनासाथ रेमडिसिभिर चाहिन्छ, तर बास्तविक मूल्यभन्दा धेरै बढी पैसा तिर्छु भन्दा पनि पाइन्न ।’

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा संक्रमितको उपचारमा गरिरहेका डा. निरज सिंहका अनुसार त्यहाँ भर्ना भएका ५ संक्रमितलाई रेमडिसिभिर प्रयोग गरिएको छ । उनीहरुमध्ये ४ जनाको अवस्था सुधार आयो भने एक जनालाई बचाउन सकिएन ।

साउन महिनामा मात्र वीरगञ्जमा १८ जना संक्रमितको ज्यान गयो, जसमध्ये १३ जनाको अस्पतालमा थिए । ‘उनीहरुका आफन्तले पनि रेमडिसिभिर ल्याउन सकेको भए केहीलाई बचाउन सकिन्थ्यो’ डाक्टर सिंह भन्छन्, ‘सबैको परिवारले यो औषधि ल्याउन सक्दैनन् । त्यसैले सरकारले औषधि ल्याउन ढिला गर्नु भएन ।’

इमर्जेन्सी फिजिसियन डाक्टर विश्वराज दवाडीका अनुसार संक्रमणको कारण गम्भीर अवस्थामा पुगेका कयौं बिरामीलाई रेमडिसिभिरले पुनर्जीवन दिएको छ । ‘भन्दाभन्दै सरकारले यो औषधि ल्याउन एकदम ढिलो गरेको छ, जसको कारण मर्नु नपर्ने मानिस मरिरहेका छन्’ डाक्टर दवाडी भन्छन्, ‘नियमित बेलामा जस्तो टेण्डर गरेर लामो प्रकिया अपनाउँदा औषधि आउन ढिलो यो र कालोबजारी मौलाउँछ र  पैसा नहुने गरीबहरु मर्न बाध्य हुन्छन् ।’

दिनहुँ संक्रमितको मृत्यु भएको तथा आईसीयू र भेण्टिलेटरमा राख्नुपर्ने केस बढिरहँदा सरकारले रेमडिसिभिएर ल्याउन ढिलो गर्दा संक्रमितको मृत्युदर झनै बढ्ने उनी बताउँछन् ।

डाक्टर दवाडी भन्छन्, ‘सरकारले नल्याएपछि व्यापारीले लुकाएर ल्याएपछि पैसा बढी लिने नै भए । त्यो पनि लाख रुपैयाँ तिर्छु भन्दा पनि नपाउने अवस्था आइसक्यो ।’

क्लिनिकल ट्रायलका मात्र ल्याउने तयारी

ढिलै भए पनि औषधि व्यवस्था विभागले रेमडिसिभिर खरिदका लागि मंगलबार टेण्डर निकालेको छ । बिहीबारसम्म ३ वटा कम्पनीले औषधि ल्याउन निवेदन दिएका छन् ।

तर, विभागले क्लिनिकल ट्रायलका लागि यो औषधि खरिद गर्न लागेको विभागका महानिर्देशक नारायण ढकाल बताउँछन् । युरोपियन देशहरुमा पनि क्लिनिकल ट्रायल भएकाले नेपालमा पनि त्यसकै लागि ल्याउन लागिएको उनले बताए । ‘ट्रायलमै रहेकाले यसलाई अहिले कोरोनाको औषधि भन्न मिल्दैन’ उनले भने, ‘ट्रायल भन्दैमा बिरामीले उपचार नपाउने भन्ने हुँदैन ।’

क्लिनिकल ट्रायलको प्रभाव र असरबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अध्ययन गर्नेछ । ‘हामीले अनुमति दिएपछि परिषदले औषधिको परिमाण खरिदकर्ता कम्पनीहरुसँग माग गर्छ, त्यसपछि हामीले भन्सारका लागि पत्र लेख्छौं’ ढकाल भन्छन्, ‘हाम्रो तर्फबाट काम रोकिन्न, तर खरिदकर्ताले कति समय लाउलान् ?’

संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी भने अरु देशमा प्रभावकारी देखिएको औषधिलाई क्लिनिकल ट्रायल भनेर लामो प्रकिया अपनाउँदा आईसीयूमा उपचाररत रेमडिसिभिर आवश्यकता पर्ने बिरामीले उपचार नपाउने त होइन भन्ने शंका गर्छन् ।

उनको अनुसार यो औषधि अमेरिका, जापान कोरिया लगायतका देशमा आईसीयूमा उपचाररत कोरोना संक्रमितहरुमा प्रयोग गरिएको छ र यसको प्रभाव राम्रो छ । नेपालले पनि फास्ट ट्रयाकबाट औषधि ल्याएर आवश्यक बिरामीमा प्रयोग गर्नुपर्ने उनको तर्क छ । डाक्टर अधिकारी सोध्छन्, ‘सरकारले ढिला गर्दा बचाउन सकिने नागरिकको मृत्यु भयो भने त्यसको जिम्मेवार को हुन्छ ?’

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी विश्वले नै प्रभावकारी मानेको औषधिलाई नेपालमा प्रयोग गर्न ढिलोसुस्ती गर्नु राज्यको गैरजिम्मेवारी भएको बताउँछन् ।

उनका अनुसार औषधि ल्याउन ढिलासुस्ती गर्दा कालोबजारी त मौलाउँछ नै, पैसा तिर्न नसक्नेहरुले पनि उपचार पाउँदैनन् । ‘स्वास्थ्य मन्त्रालयका हाकिमहरु, मन्त्रिपरिषदका सदस्यहरु अथवा प्रधानमन्त्री नै संक्रमित भएर यो औषधि प्रयोग गर्नुपर्ने भयो भने उनीहरुले जसरी पनि प्रयोग गरेरै छाड्छन्, ब्लाकमै ल्याएर भए पनि आफू बाँच्छन्’ डाक्टर सुवेदी भन्छन्, ‘उनीहरुलाई आवश्यक नपर्दा उनीहरुको लापरवाहीको कारण पैसा नहुने जनताहरु मर्ने भए ।’

आईसीयूमा बस्नुपर्ने संक्रमितसँगै मृत्युदर बढिरहेको बेला यो औषधि फास्ट ट्रयाकमा ल्याएर प्रयोग गर्नुपर्ने डाक्टर सुवेदीको तर्क छ । औषधि ल्याउन ढिलासुस्ती गर्दा बचाउन सकिने मानिसको पनि मृत्युदर बढ्दै जाने उनी बताउँछन् । ‘पदमा बस्नेहरुले महामारीको संवेदनशीलता बुझेनन्, उनीहरुले पेशागत जिम्मेवारी नबुझ्दा कालोबजारी त मौलायो नै बाँच्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुले अकालमा ज्यान गुमाउनु पर्नेभयो’ डाक्टर सुवेदी भन्छन्, ‘तर राज्य गम्भिर हुने हो भने अझै  पनि समय छ ।’

के हो  रेमडिसिभिर ?

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ । अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोभिड-१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

यो एन्टिभाइरल इबोलाका बिरामीमा पनि प्रयोग गरिएको थियो । नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अरु औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको छ  । यो परीक्षणलाई ‘एडप्टेड कोभिड-१९ टि्रटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

पहिलो एसीटीटी ट्रायलको रुपमा कोभिड-१९ संक्रमित भएको ‘डाइमण्ड प्रिन्सेस’ नामक पानी जहाजबाट यात्रा गरेर क्वारेन्टिनमा बसेकाहरुमा यो एन्टिभाइरल प्रयोग गरिएको थियो ।

विभिन्न क्लिनिकल ट्रायलको निष्कर्षअनुसार रेमडिसिभिर औषधिले जटिल अवस्थामा पुगेका बिरामीको स्वास्थ्यमा आंशिक सुधार ल्याउँछ, तर पूर्ण निको भने पार्दैन । त्यसैले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्न थालिएको छ ।

एकजना कोरोना संक्रमित बिरामीलाई पाँच दिनसम्म कम्तिमा ६ डोजमा रेमडिसिभिर औषधि दिनुपर्ने चिकित्सकहरु बताउँछन् । सुईको माध्यमबाट ६ डोज रेमडिसिभिर औषधि दिँदा झण्डै एक लाख खर्च लाग्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालका अनुसार अहिलेसम्म कुनै पनि नेपाली कम्पनीले रेमडिसिभिर औषधि उत्पादन गरेका छैनन् ।

====================================================

Cipla and privately held Indian drugmaker Hetero Labs on Sunday gained approval to sell generic versions of remdesivir in the country. Hetero expects to price a similar 100 milligram dose of the treatment at 5,000 to 6,000 rupees.

Cipremi was priced at INR4,000 ($53.4) per vial, and is the cheapest version. 

===========================================================

Indian Government data at the end of July showed about 0.3% of the country's active coronavirus patients were on ventilators, while 1.6% on intensive care unit support and 2.3% on oxygen support.

Severe cases likely amounted to under 3% of all infections, said Giridhara Babu, an epidemiologist at the Public Health Foundation of India.

==================================================== 

Drug firm Glenmark Pharmaceuticals on Monday said it has cut price of its antiviral drug Favipiravir, under the brand name FabiFlu, for the treatment of patients with mild to moderate COVID-19, by 27 per cent to Rs 75 per tablet.

Glenmark Pharmaceuticals had launched FabiFlu last month at a price of Rs 103 per tablet.

Fabiflu 200mg Strip Of 34 Tablets

By GLENMARK PHARMACEUTICALS
34 Tablet(s) in Strip
FabiFlu tablet is used for the treatment of mild to moderate COVID-19 disease in adults under restricted emergency use.
Priced at Rs 3,500 for 34 tablets, the dosage is 200 mg X 9 tablets on day one 
and 200 mg X 4 tablets a day for 14 days. 
Favipiravir has shown clinical improvement of up to 88 per cent in mild to moderate COVID-19 cases.

 

 

============================

https://www.firstpost.com/health/covid-19-treatment-fabiflu-by-glenmark-hcq-remdesivir-and-other-drugs-that-are-being-used-to-treat-coronavirus-patients-8515091.html 

Favipiravir: The Japanese Flu drug

Remdesivir: The Ebola drug 

Hydroxychloroquine: Anti-malaria drug

Tocilizumab: Rheumatoid arthritis drug

Ivermectin: Anti-parasitic drug    

 

कौसी खेती गर्ने हो ? ५ सय घरधुरीलाई अनुदान दिइने

 https://www.onlinekhabar.com/2020/08/888966

 

कौसी खेती गर्ने हो ? ५ सय घरधुरीलाई अनुदान दिइने


प्रदेश सरकारले कौसी खेती गर्ने ५ सय घरधुरीलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटले एक वर्षभरिमा ५ सय घरधुरीलाई अनुदान दिएर कौसी खेतीमा आकर्षित गर्न लागिएको प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख निर्मल गदालले जानकारी दिए ।

केन्द्रका अनुसार काठमाडौं उपत्यकामा कौसी खेती गर्न सकिने करिब एक लाख रोपनी क्षेत्रफल खाली छ । यही खाली कौसीको उपयोग गर्नका लागि वाग्मती प्रदेश सरकारले गत वर्षदेखि अनुदानको व्यवस्था गरेको छ ।




गत आर्थिक वर्षमा चार करोड २ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा यस वर्ष १२ लाख रुपैयाँ विनियोजन भएको केन्द्रका वागवानी विकास अधिकृत रविकुमार केसीले जानकारी दिए । केन्द्रले पुष्प व्यवसाय, कौसी खेती र प्राङ्गारिक कृषिको क्षेत्रमा काम गर्ने गरेको छ ।

प्राङ्गारिक कौसी खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वन कार्यविधि, २०७६ ले व्यवस्था गरेको मापदण्ड पूरा गरी कुल लागतको ५० प्रतिशतसम्म अनुदान दिने योजना बनाएको प्रदेश सरकार अन्तर्गत्को कृषि ज्ञान केन्द्रका कार्यक्रम प्रमुख गदालले जानकारी दिए ।

यो पनि पढ्नुहोस घरमै करेसाबारी, आफ्नै उत्पादनको सागसब्जी

केन्द्रले यसवर्ष कुल ५ सय घरमा कौसी खेती गराउने लक्ष्य लिएको छ । जसका लागि प्रतिघरधुरी २० हजारको सामान खरिद गर्नुपर्ने हुन्छ । जसमध्ये केन्द्रले १० हजार रुपैयाँ अनुदानमा दिने योजना बनाएको केन्द्रका वागवानी विकास अधिकृत केसीले जानकारी दिए ।

कौसी खेतीको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि दुई वटा कार्यक्रम तयार पारेको छ । जस अनुसार पहिलो कार्यक्रममा काठमाडौं उपत्यकाका ३ जिल्लामा कौसी खेती गर्नेलाई अनुदानको व्यवस्था गर्ने र दोस्रोमा बुढानीलकण्ठमा रहेको एउटा बस्तीमा कौसी खेतीको विकास गर्ने । दोस्रो योजना अनुसार तीन जिल्लाका कुल ५०० परिवारलाई अनुदान दिने लक्ष्य लिइएको छ । जसका लागि २५÷२५ जनाको समूह बनाएर एक जनालाई प्रतिनिधि पठाउन सकिन्छ । यस्तो अनुदान घरबेटी वा भाडामा बस्नेले समेत पाउने केसीले जानकारी दिए ।

प्राङ्गारिक कौसी खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वन कार्यविधि, २०७६ ले काठमाडौं उपत्यका र चितवनको शहरी भेगमा पहिलो चरणमा कौसी खेती प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्ने र दोस्रो चरणमा प्रभावकारिताको आधारमा प्रदेशको अरू भेगमा समेत कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ ।

कार्यविधि अनुसार गमलामा आधारित कौसी खेतीको लागि बढीमा १० हजारसम्म अनुदान पाउन सकिन्छ भने हाइड्रोपोनिक्स प्रविधिबाट तरकारी खेती गर्दा बढीमा २५ हजार रुपैयाँसम्म अनुदान पाउन सकिनेछ । यस्ता प्रविधि प्रदान गर्ने आपूर्तिकर्ताले छनौट भएका सेवाग्राहीलाई तालिम दिनुपर्ने उल्लेख छ ।

यो पनि पढ्नुहोस इनडोर गार्डेनिङ : गमलामा तरकारी रोप्ने सही तरिका

केन्द्रका अनुसार साझेदारले सम्झौताअनुसार काम सम्पन्न गरेपछि केन्द्रको कार्य सम्पन्न प्राविधिक प्रतिवेदनको सक्कल बिल भर्पाइहरू र साझेदार सहित कौसी खेतीको फोटोको आधारमा केन्द्रले साझेदारको खातामा वा साझेदारले सम्बन्धित आपूर्तिकर्ताको खातामा भुक्तानीको लागि सिफारिस भई आएमा आपूर्तिकर्ताको बैङ्क खातामा मार्फत् भुक्तानी दिइनेछ ।

यो योजना भाडामा बस्ने र घरबेटी दुवैका लागि लागू हुने भए पनि विशेषगरी पहिलो चरणमा घरबेटीसँग समन्वय गरेर मात्र डेरावालहरूले यस योजनामा सहभागी हुन पाउने केन्द्रले जनाएको छ । केन्द्रले सो योजना अनुसार लगाएको तरकारीले ५ जनाको परिवारलाई पुग्ने केन्द्रले जनाएको छ ।

यस कार्यक्रम अनुसार आवश्यक सामग्री तथा प्रविधि एवं बिउ तथा बिरुवा, बालीको लागि आवश्यक पर्ने प्राङ्गारिक मलहरू तथा आवश्यक थप संरचना निर्माणका लागि केन्द्रले सहजीकरण गर्ने बताइएको छ ।

Thursday, July 30, 2020

के कालापानी काल्पनिक हो ?

https://www.himalkhabar.com/news/116217

के कालापानी काल्पनिक हो ?

हिमालखबर
2.2k Shares
facebook sharing button
sharethis sharing button

के कालापानी काल्पनिक हो ?
भारतले अहिले भन्दै आएको कालीनदी र कालापानी वास्तवमा क्रमशः खा यंक्ति (नदी) र तिल्सी हो । स्थानीयहरुलाई कालापानी भन्ने कहाँ पर्छ थाहा छैन ।
(३१ जेठमा प्रतिनिधिसभाको दुई तिहाईले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ मानचित्र पारित गर्‍याे । त्यससता नेपालीसँग पश्चिमी भागमा चुच्चोसहितको नयाँ मानचित्र छ । तर, दार्चुलावासी गोपालसिंह बोहराले झण्डै एकदशकअघि १६ असोज–१५ कार्तिक २०६८ को हिमाल खबरपत्रिकामा प्रकाशित एक लेखमार्फत विवादित भूमि नेपालको भएको प्रमाण प्रस्तुत गर्दै नयाँ नक्शाको प्रारुपसेमत तयार पारेका थिए । पहिलो संविधानसभामा तत्कालिन नेकपा (एमाले)का तर्फका समानुपातिक सभासद, माओवादी लडाकु समायोजन गर्न गठित ‘विशेष समिति’ सचिवालयका सदस्य, सेनाका पूर्व सहायक रथी समेत रहेका बोहराले आफू रहँदै सरकारले मान्यता दिएको नयाँ नक्शा जारी गरेको ऐतिहासिक क्षण भने देख्न पाएनन् । ६ माघ २०७१ मा उनको निधन भयो ।)
गोपालसिंह बोहरा
नेपालका राष्ट्रप्रमुखदेखि गाविसस्तरसम्मका कार्यालयमा गलत सीमा बुझाउने नक्सा झुण्ड्याइएको छ। सुगौली सन्धिअनुसार, लिम्पियाधुरा महाकाली नदीको मुहान र महाकालीको पश्चिम तटसम्म नेपालको भू–भाग हो। तर, अहिले महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने तथ्यलाई नै गोलमटोल पारिएको छ।

नेपाल–भारत दुवैतिर ‘ब्यास’ भनिने महाकाली नदीको उपल्लो उपत्यकामा नेपालका नौ गाउँ छन्। समुद्री सतहबाट १० हजारदेखि १३ हजार फीट उचाइमा पर्ने यी गाउँमा ६ महिना हिउँ पर्नेहुँदा त्यहाँका बासिन्दा हरेक साल बेसीतिर ‘कुन्चा’ (बसाइँ) झर्छन्।
कैलाश पर्वतदेखि दक्षिणको ब्यास उपत्यकाको वर्णन कैलाशखण्ड महात्म्य, नेपालखण्ड महात्म्य, उत्तराखण्ड महात्म्य र स्कन्दपुराणमा पनि छ। प्राचीनकालदेखि नै कैलाश र मानसरोवर जाने बाटो भएकाले ब्यासलाई ‘स्वर्ग जाने द्वार’ पनि भनिन्छ।

अपी, नम्पा र सैपाल हिमालको उत्तरमा छ, ब्यास। ऐतिहासिक युरोप–चीन ‘सिल्क रोड’ ब्यास उपत्यकाको उत्तरी सीमामा पर्ने तिब्बतको पुराङ्ग काउण्टीहुँदै गएको थियो। उहिले पुराङ्ग काउण्टीको व्यापार मण्डी ताक्लाकोटबाट नेपाल र भारत प्रवेश गर्न लिपुलेक भञ्ज्याङ्ग प्रयोग हुन्थ्यो। यही भञ्ज्याङ्ग भएर परम्परागत नेपाल–भारत हिमालपार व्यापार हुन्थ्यो। नेपाल–तिब्बत आउजाउका लागि १० हजार ८५० फिटको लिम्पियाधुरा, १७ हजार ४०० फिटको लेलोङ्ग र १६ हजार फिटको तिङ्कर भञ्ज्याङ्ग भन्दा १६ हजार ८०० फिटको लिपुलेक बढी चल्तीको नाका थियो।

भारतको छेतो हुँदै पुग्न सकिने व्यास गाविसमा अहिले छाँगरु र तिङ्कर गाउँ मात्र आवाद छन्। छेतोमा भारतीय सेनाको एक गुल्म र अर्ध–सैनिक बल एसएसबीको टुकडी तैनाथ छ। छेतोभन्दा माथि ‘नोटिफाइड’ इलाका पर्ने हुँदा धार्चुलाको सब–डिभिजनल मजिस्ट्रेटबाट विशेष अनुमतिपत्र लिएर मात्र आवतजावत गर्न पाइन्छ। छेतो काटेपछि भारतकै गब्र्याङ्ग गाउँ आउँछ। अङ्ग्रेजको समयमा सम्पन्न भएकाले ‘छोटा बेलायत’ भनिने गब्र्याङ्गलाई अहिले भूस्खलनले उजाड बनाएको छ।

नेपाल र भारतका विशाल उब्जाउ मैदानका सिंचाइ स्रोत हिमालय पर्वत हुन्। हिमालय क्षेत्र अक्षय जलस्रोतले भरिपूर्ण छ। यही हिमालयका ढलान र उपत्यकामा ब्यासी (शौका) समुदायको बसोबास छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला र नेपालको दार्चुला जिल्लाको व्यास गाविसमा विभिन्न थरका ब्यासीहरू छन्।
यस क्षेत्रमा शताब्दीयौंदेखि बस्दै आएका ब्यासीहरूले लिम्पियाधुराबाट निस्कने नदीलाई काली र अहिले भारतले कालीनदी भनेर दाबी गरेको नदीलाई ‘खा यंक्ति’ (खा नदी) भन्थे, भन्छन्। तर पछिल्ला दशकमा भारतले ‘खा यंक्ति’लाई काली र ‘तिल्सी’लाई कालापानी भनेर स्थापित गरेको छ। ब्यास उपत्यकाका नेपालीहरू आफ्नै देशको सिमाना थाहा पाउनबाट बञ्चित भएका छन्।
काल्पनिक कालापानी

मार्च १९५९ मा तिब्बती धर्मगुरु दलाई लामा भारत निर्वासित हुनुअघिसम्म ब्यास उपत्यका र सीमावर्ती भारतीय गाउँहरूबीच राम्रो सम्बन्ध तथा स्वतन्त्र आवागमन थियो। खेतीपातीमा काम गर्नेदेखि बौद्ध तीर्थयात्रीसम्मका तिब्बतीहरू नेपाल र भारत दुवैतिर डुलेर फर्किन्थे। दलाई लामाको पलायनपछि यसमा अवरोध आयो। लुक्दै–भाग्दै भारत पस्ने तिब्बतीले लिपुलेक र तिङ्कर भञ्ज्याङ्ग प्रयोग गर्न थाले, जसमा नेपालले चासो नदिए पनि भारतले निगरानी बढायो। सन् १९६२ को भारत–चीन युद्धपछि अवस्था झनै बिग्रेर गयो।

६८ वर्षअघि छाँगरुमा जन्मेको यो पङ्क्तिकारले अनेकौं पटक तिब्बतको ताक्लाकोट र कैलाश मानसरोवरको भ्रमण गरेको तथा त्यसका आधारमा त्यस क्षेत्रको नक्सासमेत बनाएको छ (हे. स्केच)। नैनीताल (भारत) हाईस्कूल बोर्डको परीक्षा दिएपछि अप्रिल १९५९ मा घर फर्केको पङ्क्तिकार बुबासँग तिब्बत गएर करिब एक महिनामा गाउँ फर्कंदा तिल्सी (हाल भारतीय फौजको ब्यारेक रहेको काल्पनिक कालापानी) मा उत्तर–प्रदेश राज्यको ‘आम्र्ड कन्स्टेबुलरी’का १०–१२ जवान प्रहरी तीनवटा पाल टाँगेर बसेका थिए। उनीहरूले ‘कहाँ के रहनेवाले हो ? कहाँ से आए हो ? उधर क्यों गए ?’ भन्दै कडिकडाउ गरे। त्यसपछि गाउँ पुगेर तिल्सीमा भारतीय सुरक्षाकर्मी बसेको सुनाउँदा कसैले गम्भीरतापूर्वक लिएनन्।
यात्रीहरूले तिर्खा मेटाउने र रीतअनुसार ढुङ्गामाथि ढुङ्गा थप्दै आएको तिल्सीस्थित पानीको सानो मूललाई कालीको उद्गम मानिएको छ । लिम्पियाधुराबाट निस्कने पानी पार्वतीतालहुँदै कालीमा बगेको झैं पार्न तिल्सीको मूल थुनेर सानो कृत्रिम ताल बनाइएको छ । पार्वतीतालमा जस्तै तिल्सीमा पनि काली मन्दिर बनाइएको छ ।
त्यसबेला पंकौवामा गुन्जी र एरखा तथा पंखामा गब्र्याङ्गवासीका खेतहरू थिए। बाली लगाउने र उठाउने समयमा गाउँलेहरू त्यहीँ बस्थे। तिल्सीमा चट्टानमुनि पानीको सानो मूल थियो। यात्रीहरू त्यहीँ तिर्खा मेटाउँथे र स्थानीय परम्पराअनुसार ढुङ्गामाथि ढुङ्गा थपेर हिँड्थे। अहिले त्यहाँ बसेका भारतीय फौज नेपाल सरकारको सहमतिमा बसेका हुन् कि आफैं, त्यो नेपाल सरकारलाई नै थाहा होला।
स्थानीय बासिन्दाले १९६२ मा चीनबीच लडाईं हुने भएपछि यस क्षेत्रका ठाउँ–ठाउँमा बङ्कर खन्दै भारतीय फौज परिचालित भएको देखेका थिए। १९६५ सम्म यस भेगमा नेपालीको आवतजावतमा बन्देज पनि भएन। तर त्यसपछि, भारतीयहरू तिब्बत जान छाडेसँगै, नेपालीहरूको आवतजावतमा पनि बन्देज लगाइयो। स्थानीयवासीले थुप्रै पटक गुनासो गरे पनि नेपाल सरकार मौन रह्यो।

सूर्यबहादुर थापा नेतृत्वको पहिलो मन्त्रिमण्डलमा वन सहायकमन्त्री बनाइएका मेरा गाउँका स्वर्गीय बहादुरसिंह ऐतवाल नेपाली भू–भागमा विदेशी फौज बसेकोमा सरकारको ध्यानाकर्षण गराउने प्रयास त गर्नुभो, तर त्यससँगै उहाँ पद खोसुवामा पर्नुभो। त्यसपछि त उहाँलाई आफ्नो गाउँ जाँदा भारतीय बाटो प्रयोग गर्न समेत बन्देज लाग्यो। उहाँ कैयन् दिनसम्म निर्जन र अप्ठ्यारा बाटा छिचोल्दै गाउँ–जिल्ला ओहोरदोहोर गर्नुहुन्थ्यो। त्यसबेला काठमाडौंमा भएको वास्तविकता पूर्वप्रधानमन्त्री थापालाई पक्कै थाहा हुनुपर्छ।

आफ्नै गाउँमा चार कक्षा छिचोलेको पङ्क्तिकारले पाँच कक्षादेखि नैनीतालमा पढेको हो। त्यसबेला नैनीताल अल्मोडा जिल्लामा पथ्र्यो। भारतीयहरू ‘कालीनदी कुटी से निकल्ती है’ भन्थे र नक्सासमेत त्यसैअनुसार कोर्न सिकाउँथे। कुटी गाउँभन्दा माथि प्राचीनकालदेखि प्रसिद्ध ज्योलीकाङ्ग (पार्वतीताल) र काली मन्दिर छन्। लिम्पियाधुराबाट निस्कने पानी पार्वतीताल हुँदै कालीनदीमा आउने गाउँलेहरू बताउँथे। कालो चट्टानबाट कालीनदी निस्किन्छ भन्ने स्थानीय किम्बदन्ती छ।

लिम्पियाधुरानिर हिमाच्छादित पर्वत छ, जसलाई ‘छोटा कैलाश’ भन्ने गरिन्छ। कैलाश मानसरोवर जान नसक्नेहरू यसैको दर्शन गर्छन्, पार्वतीतालमा नुहाउँछन् र काली मन्दिरमा पूजा गर्छन्।

अहिले कुटी र पार्वतीतालमा बाह्रै महिना भारतीय फौज बस्छ। गुन्जी गाउँनिरको मनिलाथाङ्गमा भारतले विभिन्न सरकारी कार्यालय बनाएको, हेलिकप्टरबाट निर्माण उपकरण पुर्‍याएको र यस क्षेत्रमा सडक निर्माण तीव्र बनाएको छ। तर, यसबारे नेपाल सरकारले मौनता साँधिरहेको छ।
लिम्पियाधुरा कालीनदीको उद्गमस्थल निर्धारित हुँदा कुटी, नाबी र गुन्जी नेपालमा पर्छन्। यी तीन गाउँका बासिन्दाले नेपाल सरकारलाई तिरो तिरेको स्थानीय पाकाहरू अझ्ै सम्झ्न्छन्। नेपाल सरकारले चाह्यो भने पुराना अभिलेख केलाएर तथ्य एकीकृत गर्न सक्छ। सरकारी स्तरबाट प्रयास भयो भने, हाम्रो पुस्ताले पढ्दाका पाठ्यपुस्तकहरू लखनऊ, मुरादावाद वा आगरामा अझै फेला पार्न सकिन्छ। ती पाठ्यपुस्तकले सुगौली सन्धिमा उल्लेख भएको कालीनदीको उद्गम अहिले भन्ने गरिएको कालापानी होइन, कुटी हो भन्ने पुष्टि गर्न सघाउँछन्।
सुगौली सन्धिअनुसार लिम्पियाधुरा महाकाली नदीको मुहान र महाकालीको पश्चिमी तटसम्म नेपाली सीमा कायम– क । खा नदी नै कालीनदी हो भन्ने भारतीय दाबी मान्दा पनि ख अनुसार सीमा कायम हुनुपर्ने । तर अहिले ग अनुसारको नक्सा सर्वत्र चलाइएको छ ।
भारतले ‘खा यंक्ति’लाई कालीनदी भन्ने गरे पनि तिल्सी पुगेर पानीको मात्रा हेर्नासाथ त्यो आँखामा धूलो छ्याप्ने प्रपञ्च हो भन्ने जो–कोहीले बुझ्हिाल्छ। त्यहाँको अनुपम प्राकृतिक उपहार ‘ॐ’ पहाडलाई आफ्नो भूभागमा पार्न पूर्वपट्टि रेखाङ्कन समेत गरेको भारतले तिल्सीको मूल थुनेर सानो कृत्रिम ताल बनाएको छ।
लिम्पियाधुराबाट निस्कने पानी पार्वतीतालहुँदै कालीनदीमा बगेको स्थानीयवासीको भनाइ विपरित तिल्सीको मानवनिर्मित तालबाट कालीनदी बनेको देखाउन यो काम गरिएको हो। तिल्सीमा पार्वतीतालमा जस्तै काली मन्दिर पनि बनाइएको छ।

भारतले गब्र्याङ्गबाट कालीनदीको पश्चिम किनाराहुँदै रोङ्गकाङ्ग र नपल्च्यु गाउँ जाने बाटो १९६२ को भारत–चीन युद्धपछि खनेको हो। त्यसअघि भारतीयहरू नेपालको बाटो हुँदै ‘खा’ नदीको पुल तरेर जान्थे। तिब्बत जाने भारतीय व्यापारी र तीर्थयात्रीहरूको अनुगमन तथा कागजात तयार गर्न अहिले पिथौरागढ जिल्लामा पर्ने मनिलाथाङ्गमा भारतीय सरकारी कार्यालयहरू बनाइएको छ, जबकि सुगौली सन्धि अनुसार यो नेपाली भूमि हो। अब नेपाल सरकारले ‘लिपुलेक भञ्ज्याङ्ग त्रि–देशीय सिमाना बिन्दु होइन’ भन्नुपर्छ।
वास्तविक मानचित्र

यो आलेखमा कालीनदीको माथिल्लो उपत्यकाको वस्तुगत तथ्य उतार्न खोजिएको हो। माथि नै भनियो, सुगौली सन्धिअनुसार नेपालको सिमाना कालीनदीको पश्चिम तटसम्म हो। तर कालीलाई साझा नदी भन्न थालिएको धेरै भइसक्यो। यसो भन्न थाल्नुअघि दुई देशबीच कुन–कुन समयमा के–कस्ता ‘गोप्य’ सम्झौता–सहमति भए, नेपाली जनतालाई थाहा छैन। त्यस्तै, तिल्सीमा भारतीय फौज राख्ने र लिपुलेक पनि दिने सहमति भएको छ भने त्यसबेलाका सरकारी पदाधिकारीहरूले जानकारी दिनुपर्छ।

नेपालले आफ्नो देशको सिमानाको वास्तविकताबारे उदासीन भएर बस्न मिल्दैन, कालीको वास्तविक मुहान निक्र्योल गर्न विज्ञहरूको टोली गठन गर्नुपर्छ। केही वर्षअघि नेपाली पक्ष विना गृहकार्य भारतसँग कालीनदीबारे छलफल गर्न देहरादुन पुगेको थियो। नेपाली टोलीसँग प्रमाणहरूको कमी त थियो नै, ऊ अडान राख्न पनि नसक्ने अवस्थामा रहेको टिप्पणी भारतीय वार्ताकारमध्ये एकले पङ्क्तिकारसँग गरेका थिए। अब कदापि त्यस्तो हुनुहुँदैन।

नेपालको वर्तमान मानचित्रलाई मान्यता दिने निकाय कुन हो ? कैयन् स्थानमा सीमा विवाद नसुल्झिएको अवस्थामा नेपालले भारतमा प्रकाशित मानचित्रहरूलाई प्रयोगमा ल्याउन मिल्छ ? सुगौली सन्धिअनुसार नेपालको नक्सा यहाँ दिइएको नक्सा ‘क’ अनुसार हुनुपर्ने हो (हे.अघिल्लो पृष्ठको नक्सा)।
‘खा’ नदी नै कालीनदी भन्ने भारतको दाबी मान्दा पनि नक्सा ‘ख’ अनुसार सिमाना हुनुपर्छ। तर अहिले जताततै ‘ग’ अनुसारको नक्सा चलाईंदैछ। नेपाल सरकारले कि जनतालाई यो नक्सा स्वीकार्नुको आधार बताउनुपर्छ कि गलत मानचित्रलाई तुरुन्त सच्याउनुपर्छ।

नेपाल र भारत प्राचीनकालदेखिका मित्र हुन्। धर्म, संस्कृति, भाषा आदिबाट प्रगाढ रूपमा बाँधिएका यी दुई देशबीच जनस्तरमा त विश्वमा कतै नभएको अनुपम सम्बन्ध छ। यस्तो सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ भन्नेमा कसैको विमति छैन। तर सीमामा किचलो राखेर सम्बन्ध सुमधुर हुँदैन, बरु बिग्रन्छ। कालीको उद्गमस्थलसम्बन्धी विवाद तत्काल सुल्झाउनु नेपाल र भारत दुवैको हितमा छ। राष्ट्रिय स्वाभिमान र छिमेकी राष्ट्रसँगको सुसम्बन्धका लागि पनि यसलाई यथासक्य सुल्झाउन सकिएन भने अबको पुस्ताले देशको पश्चिमी सीमाको तथ्य नै जान्न पाउने छैन।

(१६ असोज–१५ कार्तिक २०६८ को हिमाल खबरपत्रिका मा प्रकाशित। )

Uttam Nepal
It's a great article. Dear editor, plz. publish it in international newspaper in english.
LikeReply21w
Sagar Mani Gnawali
A great Article !!! Love it
LikeReply1w
Dan Singh Bohra
Thats the fact
LikeReply1w
Khadaksingh Rajput
Government of Nepal should awake up now.
LikeReply1w
Border Nepal Buddhi
I had edited and done everything on his book entitled Kalapani : Katha Ra Byatha and it was published on 2072 BS in the name of his wife Dr. Sadhana Bohara after Gopal Sing Bohara's death.
LikeReply1w
Dilli Bhattaraiनेपाल–भारत दुवैतिर ‘ब्यास’ भनिने महाकाली नदीको उपल्लो उपत्यकामा नेपालका नौ गाउँ छन्। समुद्री सतहबाट १० हजारदेखि १३ हजार फीट उचाइमा पर्ने यी गाउँमा ६ महिना हिउँ पर्नेहुँदा त्यहाँका बासिन्दा हरेक साल बेसीतिर ‘कुन्चा’ (बसाइँ) झर्छन्। कैलाश पर्वतदेखि दक्षिणको ब्यास उपत्यकाको वर्णन कैलाशखण्ड महात्म्य, नेपालखण्ड महात्म्य, उत्तराखण्ड महात्म्य र स्कन्दपुराणमा पनि छ। प्राचीनकालदेखि नै कैलाश र मानसरोवर जाने बाटो भएकाले ब्यासलाई ‘स्वर्ग जाने द्वार’ पनि भनिन्छ।