Tuesday, July 19, 2022

सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति

 https://ekantipur.com/pradesh-1/2022/07/19/16582418856682647.html

सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति

छात्रवृत्तिका लागि धरौटी र भर्ना शूल्कका रुपमा १०/१० हजार रुपैयाँ भने बुझाउनु पर्ने प्रावधान

कान्तिपुर संवाददाता

काँकडभिट्टा — भारतको एक विश्वविद्यालयले एक सयभन्दा बढी नेपाली विद्यार्थीलाई ५ करोड भारतीय रुपैयाँ बढीको अध्ययन छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष भर्नामा उक्त रकम बराबरको छात्रवृति उपलब्ध गराउने भएको हो ।

युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा छात्रवृत्तिबारे जानकारी गराएका हुन् । उनले नेपाली विद्यार्थीलाई लक्षित गरी यति ठूलो राशिको छात्रवृत्ति कार्यक्रम पहिलो पटक ल्याइएको जनाए । उनका अनुसार विश्वविद्यालयले प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई छात्रवृत्ति लक्षित गरेको हो । ‘छात्रवृत्तिका लागि ११ साउन ११ भित्र आवेदन भरेर युनिभर्सिटीमा पठाउनु पर्ने र १३ साउनमा हुने अनलाइन परीक्षामा सहभागी बन्नु पर्ने हुन्छ,’ भट्टराईले भने । छात्रवृत्तिका लागि धरौटी र भर्ना शूल्कका रुपमा १०/१० हजार रुपैयाँ भने बुझाउनु पर्ने प्रावधान छ । विद्यार्थीले युनिभर्सिटीको होस्टेल वा पेइङ गेस्ट (पीजी) शुल्क आफै तिर्नुपर्ने उनले जनाए । ‘अध्ययनमा लाग्ने सम्पूर्ण खर्च विश्वविद्यालयले व्यहोर्छ,’ उनले थपे ।




यो विश्वविद्यालय सन् २०१० मा वरिष्ठ डा. एनएन दत्ताले च्यारिटी ट्रस्ट स्थापना गरी सञ्चालन गर्दै आएका छन् । हाल यहाँ अध्ययनरत आठ हजारभन्दा बढीमध्ये दुई हजार हाराहारीमा नेपाली विद्यार्थी छन् । यो विश्वविद्यालयमा अध्ययन गर्नेहरुले त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीबाट समकक्षता प्राप्त गर्ने भट्टराईले जनाए । अघिल्लो पटक भूकम्पका बेला ४० विद्यार्थीलाई विश्वविद्यालयले ४० लाख बढीको छात्रवृत्ति उपलव्ध गराएको थियो । सन् २०१७ मा काठमाडौंमा रोजगार मेलाको आयोजना गरी ३ सय ५० भन्दा बढीलाई रोजगार दिएको दाबी भट्टराईले गरे ।



प्रकाशित : श्रावण ३, २०७९ २०:२९

No comments:

Post a Comment