Monday, April 12, 2021

नेपाली नागरिकताका व्यावहारिक सवाल

 https://rajdhanidaily.com/id/37837/

नेपाली नागरिकताका व्यावहारिक सवाल

डा. डिजन भट्टराई र मधुसूदन भट्टराई,
facebook sharing button 85



मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको हुन्छ । कानुनतः यी प्रश्नको उत्तर खोज्नु र आफ्नो नागरिकलाई नागरिकता प्रदान गर्नु राज्यको दायित्व हो । नागरिक पहिचान व्यक्तिको नैसर्गिक हक हो । मानवीय पहिचानका विविध स्वरूप हुन्छन्, जसमध्ये कुनै पनि देशको नागरिकताले कानुनी रूपमा उसको पहिचानलाई वैद्यता दिन्छ । पृथ्वीमा जन्मिएपछि कुनै पनि मानिस अनागरिक हुनुहँुदैन भन्ने विश्वव्यापी मान्यता छ । सोहीअनुरूप नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिनेछैन भनी लेखिएको छ । यस धाराको अन्तर्यलाई गहिरिएर विश्लेषण गर्ने हो भने नागरिक भन्नाले नागरिकता प्राप्त गरेको व्यक्ति मात्र नभएर नागरिकता प्राप्त गर्ने हैसियत भएको व्यक्तिसमेतलाई जनाउँछ । नेपालको संविधान तथा कानुनअनुसार मूलतः वंशज, अंगीकृत, सम्मानार्थ र गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था रहेको छ । उपर्युक्त व्यवस्था मध्ये वंशजका आधारमा दिइने नागरिकतामा नै व्यावहारिक कठिनाइहरू धेरै देखिन्छन् । नेपाली नागरिकताका सम्बन्धमा नेपालको संविधानको भाग २, धारा १० देखि १५ सम्ममा भएका मुख्य व्यवस्था विचारणीय छन् ।

संवैधानिक व्यवस्था 
 यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नागरिकता पाएको व्यक्ति वंशजको आधारमा नागरिक हुने,
 कुनै व्यक्तिको जन्म हुँदाका बखत बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजका आधारमा नागरिक हुने,
 यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्तिका सन्तानले बाबु र आमा दुवै नेपालका नागरिक रहेछन् भने निज बालिक भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने,
 नेपालभित्र फेला परेको पितृत्व र मातृत्व ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहरिने,
 नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुने,
 विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेकोे रहेनछ भने निजले संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने,
 नेपाली पुरुषले विदेशी महिला विवाह गरी ल्याएमा निजलाई कानुनबमोजिम अंगीकृत नागरिकता प्रदान गरिने,

व्यावहारिक सवाल
मौजुदा संवैधानिक व्यवस्थाका अतिरिक्त पनि नागरिकता लिनका लागि बाबु पक्षका तीन पुस्ताभित्रका व्यक्तिले आएर सनाखत गर्नुपर्छ । मानव जीवन सधैं कानुनी परिभाषाभित्र मात्र समेटिन सक्दो रहेनछ । लेखकद्वयसँग गृह प्रशासनको प्रतिनिधित्व गर्दै नागरिकता प्रदान गर्ने क्रममा प्रत्यक्ष रूपमा कानुनले नसमेट्ने अनेक व्यावहारिक सवालहरूको अनुभव छ । जसमध्ये केही प्रतिनिधि सवालहरूको चर्चा गर्नु उपयुक्त देखिन्छ ।

विश्वका प्रायः मुलुकमा नागरिकता प्राप्तिको विषय जटिल छ, किनकि यसको सोझो सम्बन्ध राष्ट्रिय सुरक्षासँग जोडिएको छ

 बाबु पक्षका तीन पुस्ताका कोही पनि व्यक्ति नभएका,
 बाबु नागरिकता नबनाई हराएको वा मृत्यु भएको, आमा अर्काे विवाह गरी गएकी र बाबु पक्षका तीन पुस्ताका अन्य कोही पनि नभएका,
 बाबु ठेगान नभएका, आमासँग मात्र बसेका एक वा एकभन्दा बढी सन्तान,
 बाबु ठेगान नभएको, आमा ठेगान भएकी तर आमाको मृत्यु भएको वा विवाह गरी अन्यत्र गएको वा हराएको,
 आमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी, उतै गर्भधारण गरी बच्चा जन्माएकी र बच्चालाई लिएर नेपाल आएकी, निजको बाबुको ठेगान नरहेको,
 कतिपय पिछडिएको जाति जनजाति वा समुदायमा कसैको पनि नागरिकता नरहेको,
 बाबुआमाको सानैमा मृत्यु भएको, निजको नजिकको बाबुपक्षका कोही पनि नातेदार नभएका । बाबुआमाको नागरिकता नभएको तर निजको बाबुआमाको नाम थाहा भएको,
 नेपालमा जन्मिएका नेपालमा नै बसोबास गरिरहेका, निजको बाबु विदेशी भएको आशंका भएका तर विदेशी भएको प्रमाणित नभएको,
 बाबु थाहा भएको तर बाबुआमाको विवाह दर्ता नभएको अथवा बाबुले स्वीकार नगरेका सन्तान,
 बाबुआमाको जन्मको नागरिकता भएका सन्तानले पनि नागरिकता नपाएको अवस्था छ । विशेषतः तराईमा यो ठूलो समस्याका रूपमा रहेको छ । तर, संविधानमा नै यस्ता नागरिकलाई वंशजको नागरिकता दिने भनेर उल्लेख भइसकेकाले नागरिकता ऐन संशोधन विधेयक संसद्बाट पारित हुनेबित्तिकै समस्याको समाधान हुन्छ ।

खोज्दै जाँदा यस्ता समस्याको फेहरिस्त निकै लामो हुन्छ । उल्लिखित समस्या प्रतिनिधि समस्या मात्रै हुन् । यसबाहेक पनि नागरिकता जारी गर्ने सन्दर्भमा धेरै व्यावहारिक जटिलता आइपर्दछन् । उल्लिखित सवाल नागरिकता नभएका नेपाली नागरिकको हो । यिनीहरूलाई नेपाली नागरिकता नदिए उनीहरू अनागरिक भएर नै मर्नुपर्ने अवस्था एकातर्फ देखिन्छ भने अर्काेतर्फ उनीहरूमा राज्यप्रतिको अपनत्व बोध नहुने भएकाले राज्यप्रति विद्रोही बन्ने खतरा देखिन्छ ।

कानुनले नसमेट्ने, राष्ट्रिय सुरक्षाको सवालमा पनि थप संवेदनशीलता खडा गर्न सक्ने, भावना, विवेक र कानुनको तराजुमा राख्दा पनि जटिलता कम नहुने प्रकृतिका नागरिकता सम्बन्धी समस्याहरू रहनुले नेपाली नागरिकताको विषय आजसम्म पनि पूर्णतः स्पष्ट र वस्तुनिष्ठ हुन नसकेको पो हो कि ! यसर्थ यो विषयमा पर्याप्त अध्ययन अनुसन्धान गरी संसद्मा विचाराधीन नागरिकता ऐन संशोधन विधेयकमा सम्बोधन गरिनु जरुरी छ । माथि उल्लिखित कतिपय समस्यालाई प्रहरी सर्जिमिन तथा गाउँ सर्जिमिन तथा अन्य बुझ्नुपर्ने प्रमाण बुझेर प्रमुख जिल्ला अधिकारीहरू स्वयं नै थप सक्रिय भई नागरिकता दिने गरिएको पाइन्छ । यस्ता प्रकृतिका नागरिकतामा कानुनबमोजिमका कागजात निर्माण गरेर प्रक्रिया पु¥याई नागरिकता प्रदान गरेको अवस्था छ ।

आमाको नामबाट नागरिकता दिने सन्दर्भ:
संविधानमा लेखिइसकेको छ, तैपनि आमाको नामबाट नागरिकता किन नपाउने ? यो आम प्रश्न हो । झट्ट हेर्दा सामान्य लाग्ने यो प्रश्न कानुनको अपर्याप्ततामा मात्र नभई व्यावहारिक जटिलताको चाङमा पनि उभिएको छ । नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भनी नेपालको संविधानमा स्पष्टसँग लेखिएको छ । तर अहिले नेपालमा आमाको नामबाट नागरिकता दिने सन्दर्भ बेला बखत जटिल देखिन्छ । त्यसैले यस विषयमा विवाद र बहससमेत हुने गरेको छ । मानवअधिकार र समानताका दृष्टिले हेर्दा आमाको नामबाट सहज नागरिता प्रदान नहुनु र बाबु नै खोजिनुले राज्यले पितृसत्तालाई संरक्षण गरिरहेको आरोपसमेत लाग्ने गरेको छ । तर नेपालको भौगोलिक अवस्थिति तथा भारतसँगको खुला सिमाना र सांस्कृतिक अन्तरघुलनका कारण गैरनेपालीले नागरिकता लिन नसकुन भन्नेतर्फ पनि सजग हुनुपर्ने अवस्था छ । यो विरोधाभासपूर्ण सन्दर्भमा बाबुको पहिचान नभएको भन्ने आधारमा आमाको नामबाट नागरिकता लिने दिने विषय पक्कै पनि जटिल छ ।

नेपाली नागरिकता नपाएका अनागरिक भएर नै मर्नुपर्ने अवस्था सिर्जना हुँदा उनीहरूमा राज्यप्रतिको अपनत्व बोध नहुने र उल्टै राज्यप्रति विद्रोही बन्ने खतरा देखिन्छ

सर्वाेच्च अदालतले २०६७ फागुन १५ गते सविना दमाईको हकमा गरिएको फैसलाका आधारमा कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीले विषय वस्तुलाई बुझेर आमाको नाम मात्र नागरिकतामा राखी आमाको सनाखतका आधारमा नागरिकता जारी गरेको पाइन्छ भने कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीले अझै पनि कानुनी रूपमा स्पष्ट नभएको भनेर नागरिकता जारी नगरेको अवस्था पनि छ । तर यस विषयमा गहिरोसँग अनुसन्धान गरी आमाको सनाखतका आधारमा नागरिकता प्रदान गर्दा उपयुक्त हुन्छ । त्यसको लागि कानुनी रूपमा नै निश्चित विधि निर्माण गरिनुपर्छ । आमाको नामबाट नागरिकता उपलब्ध गराउने सन्दर्भमा बाबुतर्फको वंशजलाई अबमुल्यन गरिनु हुन्न । तत्कालको नेपाली सामाजिक संरचनामा बाबुको नाम नागरिकतामा अनिवार्य गरिनु धेरै अर्थमा महत्वपूर्ण र रणनैतिक पनि छ । यो विषय बाबुबाट सन्तानले नैसर्गिक रूपमा प्राप्त गर्ने सामाजिक तथा आर्थिक अधिकारसँग पनि जोडिएको छ । महिलाले आफ्नो अधिकारलाई स्थापित गर्न मात्रै बाबुको नाम बिनाको नागरिकता सन्तानलाई दिलाइनु पर्छ भन्ने दाबी पूर्ण रूपमा ठीक होइन । श्रीमान्सँग सम्बन्ध विच्छेद भयो, बाबुले गैरजिम्मेवारीपन देखायो, अर्थात् उसको अनुहार नै हेर्न नसक्ने गरी रिस उठ्यो भन्दैमा सन्तानले आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्ने तर्कलाई अहिले नै नेपालको सन्दर्भमा सही मान्न सकिँदैन ।

बच्चा जन्मिनु प्राकृतिक कुरा हो । विवाह गरेर वा औपचारिक सम्बन्धबाट मात्रै बच्चा जन्मिन्छ भन्ने छैन । कुनै अपरिचितसँग भएको अनौपचारिक सम्बन्धले पनि बच्चा हुन सक्छ । बच्चा जन्मिइसकेपछि उसले आत्मसम्मानपूर्वक बाँच्न पाउने, आफ्नो पहिचानलाई स्थापित गर्न पाउने अधिकारलाई कुनै पनि बहानामा वा कुनै पनि कानुनी कारणले बन्देज लगाउन पाइँदैन । २१औं शताब्दीमा मानवअधिकारलाई उच्च सम्मान गर्दै बाबु पहिचान नभएका नागरिकलाई बिना कुनै झन्झट, पहिचान र आत्मसम्मानमा कुनै ठेस नपुग्ने गरी नागरिकता जारी हुनुपर्छ । त्यही कुरालाई मध्यनजर गरेर नै नेपालको संविधानमा बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता जारी गर्न सक्ने व्यवस्था राखिएको हो । यसलाई संसद्मा विचाराधीन नागरिकता ऐनको संशोधन विधेयकले सम्बोधन गर्ने नै छ ।

सामान्यतः आमाले सन्तानको बाबुको पहिचान गर्न नसक्ने अवस्था हुँदैन तर बाबु पहिचान नहुने केही अवस्था रहन्छन् । कुनै महिला बोल्न पनि सक्दिनन् तथा लेख्न पनि सक्दिनन् तर उनले कुनै औपचारिक सम्बन्धबाट बच्चा जन्माइन् भने, कुनै महिला सामुहिक वा कुनै पनि प्रकृतिको बलात्कारबाट बच्चा जन्माउन विवस भइन् भने, कुनै महिलाको मानसिक अवस्था ठीक छैन तर त्यही अवस्थामा औपचारिक सम्बन्धबिना नै बच्चा जन्माइन् भने, कुनै महिलाले बिनाकुनै पहिचानको व्यक्तिसँग औपचारिक सम्बन्धबिना नै गर्भधारण गरेर बच्चा जन्माएँ भनेर अधिकार प्राप्त अधिकारीसमक्ष लिखित घोषणा गरिन भने त्यस्तो अवस्थामा बिना कुनै सर्त आमाको नामबाट बच्चालाई नागरिकता दिइनुपर्छ । यस सन्दर्भमा हुने अनुसन्धान पद्धति पनि आमा र बच्चाको आत्मसम्मानमा कति पनि चोट नपुग्ने प्रकृतिको हुनुपर्छ ।

नागरिकता परिचयपत्र मात्र होइन
नागरिकता कुनै पनि देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा तथा अखण्डतासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो । यसको संवेदनशीलतालाई विश्वभर उत्तिकै प्राथमिकताका साथ हेरिन्छ । यो नागरिकको हैसियत प्रदान गर्ने राज्यबाट जारी भएको पहिचान पत्र पनि हो । यो राज्य र नागरिकबीचको सम्बन्ध कायम गराउने कानुनी आधार पनि भएकाले यो राज्य र जनता दुबवका लागि उत्तिकै महत्वपूर्ण छ । कुनै पनि देशको नागरिकले आफ्नै देशमा नागरिकता सम्बद्ध कानुनले सम्बोधन नगरेकै आधारमा अनागरिक हुनुहुँदैन ।

यस्ता विषयलाई राज्यले गम्भीरतापूर्वक अध्ययन, अनुसन्धान गरी गैरनागरिकले कुनै पनि हालतमा नागरिकता पाउन नसक्ने र नागरिक आफ्नै देशमा नागरिकताविहीन हुनु नपर्ने अवस्थाको सिर्जना गर्नु पर्छ । नागरिकता नागरिकको परिचयपत्र हो, तर यो परिचयपत्र मात्र होइन । विश्वका प्राय मुलुकमा नागरिकता प्रप्तिको विषय जटिल छ, किनकि यसको सोझो सम्बन्ध राष्ट्रिय सुरक्षासँग जोडिएको छ । तथापि कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट यो वा त्यो वहानामा वञ्चित गर्नुहँुदैन, यसतर्फ उच्च संवेदनशीलता र प्राथमिकता राज्यको अहं दायित्व हो र हुनुपर्दछ ।

No comments:

Post a Comment