Monday, January 4, 2021

नवीकरण फेल भएका प्राइभेट फर्म पुनः सञ्चालनको बाटो खुल्यो

 https://www.karobardaily.com/news/125294

नवीकरण फेल भएका प्राइभेट फर्म पुनः सञ्चालनको बाटो खुल्यो




सरकारले नवीकरण फेल भएका प्राइभेट फर्महरूलाई पुनः सञ्चालन हुन पाउने व्यवस्था गरेको छ । लामो समयदेखि कानुनी रूपमा फेल भएका फर्मलाई प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली संशोधन गरेर पुनः सञ्चालन गर्न पाउने व्यवस्था गरिएको हो । हालै बसेको मन्त्रिपरिषद् बैठकले प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली नियमावलीको तेह्रौं संशोधन गर्ने निर्णय गरेर सो व्यवस्था गरेको हो ।
प्राइभेट फर्म रजिस्ट्रेशन नियमावली संशोधन गर्ने निर्णय भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएसँगै फर्मले पुनः नवीकरण गर्न पाउने विभागको भनाई छ । यस निर्णयले झण्डै दुई लाख नवीकरण फेल भएका प्राइभेट फर्महरूलाई पुनः सञ्चालनको अवसर मिलेको विभागले जानकारी दिएको छ । नेपाल सरकारका तोकिएका निकायमा दर्ता नगरी व्यवसायिक प्रकृतिका प्राइभेट फर्महरू सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था रहेको छ । सोहीअनुसार प्राइभेट फर्म रजिष्ट्रेसन नियमावली २०३४ संशोधन गरेसँगै आगामी २०७८ असार मसान्तसम्म नवीकरण छुटेका सवै निजी फर्महरूलाई आवश्यक कागजपत्रसहित नवीकरण गर्ने अवसर दिइएको हो । विभागका प्रवक्ता शिवराज सेढाइले नियमावली संशोधन गरेर कानुनी रूपमा फेल भएका प्राइभेट फर्म पुनः सञ्चालन गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।
प्राइभेट फर्म रजिष्ट्रेसन ऐनअनुसार विभागमा मात्रै करिब ५ लाख फर्म दर्ता रहेको र त्यसमा झण्डै आधा फर्महरू नवीकरण फेल भएकाले तिनीहरूलाई अवसर दिइएको उनले जानकारी दिए । २०७८ असार मसान्तसम्म नवीकरण गर्न छुटेका सबै निजी फर्महरूले आवश्यक कागजातसहित नवीकरण गर्न विभागमा निवेदन दिन सक्ने पनि उनले बताए । औधौगिक फर्महरू घरेलु कार्यालयहरूमा दर्ता हुन्छन् भने व्यापारिक फर्म बाणिज्य विभाग र त्यसका मातहतका कार्यलयमा दर्ता हुन्छन् । ती फर्महरू पहिलो पटक दर्ता गरिसकेपछि पाँच वर्षसम्म नवीकरण नगरी चलाउन पाइन्छ । छैटौं वर्ष भरी जरिवाना तिरेर नवीकरण गर्न पाउँछन् । छैटौं वर्ष पनि नवीकरण नगरेपछि कानुनी रूपमै फेल हुन्छन् । पाँच वर्ष पूरा गरेपछि दुई वर्षमा फर्म नवीकरण गर्नुपर्ने हुन्छ । नवीकरण गर्दा फर्मले साविकको दस्तुर तिर्नुपर्ने छ । पुँजीको अनुपातमा तेव्बर जरिवाना गरी पुन नवीकरण गर्न सकिने विभागले जानकारी दिएको छ ।

No comments:

Post a Comment