Monday, January 27, 2020

जडीबुटी निकासी वृद्धि सोमवार, माघ १३, २०७६

https://www.karobardaily.com/news/economy/28377
दार्चुला- दार्चुलाबाट वार्षिक अढाइ लाख क्विन्टल जडीबुटी निकासी हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने डेढ दर्जन बढी प्रकारका जडीबुटी निकासी हुने गरेका हुन् । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत जिल्लाको जडीबुटी नेपालगञ्ज र काठमाडौं निकासी हुने गरेको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत झण्डै १६ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेका छन् भने बहुमूल्य जडीबुटी यार्सागुम्बा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्र निकासी हुन्छ । जिल्लाबाट आर्थिक वर्ष २०७१-०७२ मा दुई लाख ४५ हजार ५२३ किलो जडीबुटी निकासी भएको छ । यस्तै २०७२-०७३ मा तीन लाख ४८ हजार १०८ किलो जडीबुटी निकासी भएको छ । आर्थिक वर्ष २०७३-०७४ मा एक लाख ९४ हजार ९६३ किलो, आव २०७४-०७५ मा तीन लाख ५५ हजार २१४ किलो तथा २०७५-७६ मा एक लाख ४९ हजार ९६२ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्यांक छ ।
अहिले जिल्लामा अपि नाम्पा संरक्षण क्षेत्रभित्र साविकका २१ गाविस तथा डिभिजन वन कार्यालयअन्तर्गत २० गाविस समेटिएका छन् । दुवै कार्यालयमार्फत समान किसिमका जडीबुटीसमेत निकासी हुने गरेका छन् । दुवै क्षेत्रमा हुने जडीबुटीलाई दुवै कार्यालयले छोडपूर्जी जारी गर्ने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरसिंह धामीले बताए ।
तथ्यांकअनुसार पाँच वर्षमा जिल्लाबाट तेजपात पाँच लाख १५ हजार ५५९ किलो, पाषणवेद एक लाख ५९ हजार ६२४ किलो, रिठा तीन लाख ६१ हजार ८२ किलो, सतुवा ३४ हजार ६८० किलो, चिराइतो १४ हजार ६९७ किलो, सुगन्धवाल चार हजार १०३ किलो, टिमुर चार हजार ६७ किलो निर्यात गरिएको छ । यसैगरी साधारण च्याउ २४ हजार ९१८ किलो, वनलसुन १८ हजार सात किलो, गुच्चीच्याउ ५७० किलो, सेतकचिनी १९ हजार ४२५ किलो, काउलो नौ हजार ३१४ किलो, दालचिनी ११ हजार ३५६ किलो, कचुर एक हजार ९४६ किलो, अमला पाँच हजार ५२० किलो तथा अल्लो २९ हजार ४९५ किलो निर्यात गरिएको छ ।
यस्तै चुत्रो ८९ हजार २०० किलो, कुट्की १२ हजार २०९ किलो र सबैभन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा तीन हजार ८४० किलोग्राम निकासी भएको छ । जडीबुटीका हिसाबले अपि नाम्पा संरक्षण क्षेत्र ठूलो छ । संरक्षण क्षेत्रभित्र ७० प्रकारका जडीबुटीको पहिचान भए पनि हालसम्म ३५ प्रकारका जडीबुटीको मात्रै निकासी हुने गरेका कार्यालयले जनाएको छ ।
जिल्लामा करोडौं मूल्यका जडीबुटी उत्पादन भएर निर्यात भए पनि जडीबुटी संरक्षणतर्फ भने सरोकारवालाको ध्यान गएको छैन । हरेक वर्ष सबै प्रकारका जडीबुटी संकलनका लागि अनुमति दिँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका जडीबुटी व्यापारी प्रेमसिंह कार्कीले बताए ।
जडीबुटीको क्षेत्रमा दुई सरकारी कार्यालय भए पनि संरक्षण तथा प्रवद्र्धनमा ध्यान नदिएको उनको भनाइ छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहता पनि जडीबुटी संरक्षण एवं प्रवद्र्धनका लागि सरोकारवालाको चासो नपुगेको स्वीकार गर्नुहुन्छ । “मैले कार्यालय प्रमुख भएर आएर हेर्दा जडीबुटीको क्षेत्रमा खासै लगानी भएको देखिनँ”, उनले भने, “जडीबुटी खेती, संरक्षण प्रवद्र्धनका लागि माग पनि आउँदैन ।”
उनले परिषद्का सदस्यले पनि जडीबुटी क्षेत्रमा लगानीका लागि बजेट विनियोजन नगर्ने गरेको बताए । स्थानीयस्तर र सामुदायिक वनमार्फत जडीबुटी संरक्षणका लागि माग आउनुपर्नेमा उनले जोड दिए । जिल्लाको सबै क्षेत्रमा जडीबुटी पाइन्छ । यसलाई व्यवस्थित बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मंगलसिंह ठगुन्नाको जोड छ । “पर्याप्त स्रोतसाधन छन्, हामीले नै व्यवस्थित कार्ययोजना बनाएर लागू गराउन लाग्नुपर्छ”, उनले भने ।

No comments:

Post a Comment