कान्तिपुर साप्ताहिक बाट
एसएलसीपछि रोजगारमुखी शिक्षा हासिल गर्ने चाहना राख्नेहरूका लागि सर्टिफिकेट इन जेनरल मेडिसिन रोजाइ बन्न सक्छ। एसएलसी पछिको यो तीन वर्षे कोर्स गरिसकेपछि हेल्थ असिस्टेन्ट अर्थात् एचए बन्न सकिन्छ। एचएलाई 'स्वस्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति' मानिन्छ। एचए उत्तीर्णले विभिन्न मेडिकल कलेजबाट पब्लिक हेल्थमा ब्याचलर गर्न सक्छन् भने पाटन एकेडेमी अफ मेडिकलबाट एमबीबीएस अध्ययनको अवसरसमेत प्राप्त गर्न सक्छन्।
एसएलसी उत्तीर्ण विद्यार्थीले एचएको अध्ययन गर्न सक्छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि एचए अध्ययनको ढोका खुल्छ। सर्टिफिकेट इन जेनरल असिस्टेन्टसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरिसकेपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा रोजगारीको अवसर पाइन्छ। यस्ता जनशक्तिले हेल्थ पोस्टमा प्रमुखका रूपमा समेत काम गर्न सक्छन्। एचएलाई प्राइभेट क्लिनिक, हेल्थकेयर सेन्टर, जिल्ला अस्पताल, नर्सिङ होम तथा अस्पतालमा स्वस्थ्य सहायकका रूपमा काम गर्न सक्षम मानिन्छ।
क्लिनिकल, प्रिभेन्टिभ तथा प्रमोटिम क्षेत्रमा यस्ता जनशक्ति आवश्यक हुन्छ। रोग प्रतिरोध एवं शारीरिक स्वास्थ्य कायम राख्न गरिने विभिन्न स्वास्थ्य कार्यक्रममा एचएको महत्त्वपूर्ण भूमिका हुन्छ। कुनै पनि रोगविरुद्धको खोप, फेमेली प्लानिङ, हेल्थ एजुकेसन क्याम्पियन जस्ता कार्यक्रम सञ्चालनमा उनीहरूले अगुवाइ गर्न सक्छन्। उनीहरू समुदायमा स्वास्थ्य समस्या पहिचान गरी त्यसको समाधानका लागि कार्यक्रम बनाउन र सञ्चालन गर्न योग्य हुन्छन्। एनजीओ, आइएनजीओमार्फत यस्ता कार्यक्रमहरू सञ्चालन भैरहेका हुन्छन्, जहाँ एचए गरेकाहरूले रोजगारी पाउने संभावना हुन्छ।
सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गरेकाले बिरामीको समस्या पहिल्याउन, भाइटल साइन लिन एवं स्वास्थ्य परीक्षण गर्न सक्छन्। प्रोभिजनल डाइनोसिसका साथै बिरामीका लागि इसेन्सियल औषधी (स्वास्थ्य मन्त्रालयले तोकेको) सिफारिस गर्न समेत पाउँछन्। ग्रामीण क्षेत्रका 'डाक्टर' रूपमा चिनिने एचएले सामान्य विरामीको राम्रो उपचार गर्न सक्छन्।
एचएको अध्ययन सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूमार्फत गर्न सकिन्छ। राजधानीलगायत विभिन्न ४४ वटा शिक्षालयबाट सर्टिफिकेट इन जेनरल असिस्टेन्टको कोर्स गर्न सकिन्छ। सीटीईभीटीको आंगिक कलेज अफ हेल्थ साइन्स भरतपुरबाट यो कोर्स गर्न ३० देखि ४० हजार खर्च लाग्छ भने अन्य सम्बन्धन प्राप्त शिक्षालयबाट दुईदेखि तीन लाखसम्म खर्च लाग्छ। एसएलसी उत्तीर्ण विद्यार्थीले एचएका लागि आवेदन दिन सक्छन्। उनीहरूलाई प्रवेश परीक्षामा सामेल गराइन्छ। प्रवेश परीक्षामा एसएलसी सरहको अंग्रेजी, गणित तथा विज्ञानका अब्जेटिक प्रश्नहरू सोधिन्छ। मेडिकल साइन्सका लागि महत्त्वपूर्ण हुने भएकाले यिनै विषयमा आधारित प्रश्नहरू सोधिने सीटीईभीटी पाठ्यक्रम विकास विभागका निर्देशक शिवशंकर घिमिरे बताउँछन्।
एचए गरिसकेपछि एमबीबीएस तथा ब्याचलर अफ पब्लिक हेल्थ अर्थात् बीपीएच गर्न सकिने भएकाले यसतर्फ युवा आकर्षण बढ्दो छ। पाटन एकेडेमी अफ मेडिकल कलेजमा एमबीबीएसका लागि आवेदन दिन सकिन्छ। एचए उत्तीर्ण गरेर एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण पछि केही महिनाको प्रि-मेडिकल साइन्सको कोर्स गराइन्छ। त्यसो त विज्ञानमा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेकाले पनि त्यहाँ प्रवेश पाउन सक्छन्। त्यसैगरी कुनै पनि मेडिकल कलेजको प्रवेश परीक्षा उत्तीर्ण गरेर ब्याचलर अफ पब्लिक हेल्थ अध्ययन गर्न सकिन्छ।
तीन वर्षे कोर्समा के पढ्ने ?
सर्टिफिकेट इन जेनरल मेडिसिनअन्तर्गत पहिलो वर्षमा विभिन्न ९ वटा विषय पढ्नुपर्छ। यसमा अंग्रेजी, नेपाली, समाजशास्त्र, एनाटोमी एन्ड फिजियोलोजी, फिजिक्स, केमेस्ट्रि, जुलोजी, वोटानी तथा म्याथमेटिक्स एन्ड कम्प्युटर एप्लिकेसन छन्। पहिलो वर्षको अधिकांश कोर्स सिद्धान्तमा आधारित छ भने दोस्रो वर्ष सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा पनि लिनुपर्छ। दोस्रो वर्ष १० वटा विषय पढ्नुपर्छ। मेडिसिन, सर्जरी, क्लिनिकल, फार्माकोलोजी एन्ड फार्मेसी, इन्भाइरोमेन्टल हेल्थ, हेल्थ एजुकेसन, फेमेली हेल्थ, ईपीडीमीयोलोजी एन्ड कम्युनिटी डिजिज, बेसिक मेडिकल प्रोस्युडर तथा फस्ट एडजस्ता विषयमा प्रयोगसहितको कोर्स गराइन्छ। तेस्रो वर्ष पनि यिनै विषयको थप गहन अध्ययन एवं प्रयोग गर्नुपर्छ। यो वर्ष खासगरी मेडिसिन, सर्जरी, हेल्थ म्यानेजमेन्टलगायत इमरजेन्सी, मेडिसिन, सर्जरी (इएनटी) समेटिएको छ। अध्ययनका साथै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि दिइन्छ। तेस्रो वर्ष समुदायमा गएर स्थलगत अध्ययन गर्नुपर्ने हुन्छ।
सीटीईभीटीअन्तर्गतका शिक्षालयहरूले मात्र सर्टिफिकेट इन जेनरल मेडिसिनको कोर्स गराउँदै आएका छन् जुन यसप्रकार छन्
शिक्षालय कोटा
लाइफ लाइन हस्पिटल प्रालि, झापा ४०
मानसरोवर इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड इन्स्टिच्युट, झापा ४०
कोसी हेल्थ इन्स्टिच्युट, माइस्थान, विराटनगर ४०
विराट हेल्थ कलेज एन्ड रिसर्च सेन्टर, विराटनगर ४०
न्यूरो अस्पताल प्रालि, विराटनगर ४०
मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी मोरङ ४०
युनिक एजुकेसन एकेडेमी, राजविराज ४०
छिन्नमस्ता एजुकेसन एकेडेमी, राजविराज ४०
विरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड डेन्टल टेक्नोलोजी, धनुषा ४०
मोडेल टेक्निकल अफ मेडिकल साइन्स, जनकपुर ४०
केयर मेडिकल सेन्टर प्रालि, धनुषा ४०
नेसनल ह्युमेन रिसोर्स डेभलपमेन्ट एकेडेमी, जनकपुर ४०
इन्स्टिच्युट अफ कम्युनिटी टेक्निकल एजुकेसन, रौतहट ४०
द हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीरगन्ज ४०
मोडेल कलेज अफ टेक्निकल एजुकेसन, वीरगञ्ज ४०
कलेज अफ मेडिकल साइन्स, भरतपुर ४०
नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर ४०
एनपीआई नारायणी सामुदायिक हस्पिटल एन्ड रिसर्च सेन्टर, भरतपुर ४०
मनमोहन मेमोरियल हस्पिटल, ललितपुर ४०
मार्टस मेमोरियल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी ४०
इवामुरा कलेज अफ हेल्थ साइन्सेस प्रालि, भक्तपुर ४०
नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, काठमाडौ ं४०
नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, बौद्ध काठमाडौं ४०
होलीभिजन टेक्निकल क्याम्पस, बानेश्वर काठमाडौं ४०
अल नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स, चाबहिल, काठमाडौं ४०
सहिद स्मारक जनस्वस्थ्य कोपरेटिभ, काठमाडौं ४०
शंकरापुरा एकेडेमी, जोरपाटी, काठमाडौं ४०
लर्डवुद्ध कलेज गोंगबु, काठमाडौं ४०
ओम समाज शैक्षिक प्रतिष्ठान ४०
बीपी मेमोरियल हेल्थ इन्स्टिच्युट धापासी, काठमाडौं ४०
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि, काठमाडौं ४०
पोखरा टेक्निलक हेल्थ मल्टिपर्पोज इन्स्टिच्युट, पोखरा ४०
धौलागिरि टेक्निकल एजुकेसन सेन्टर, बाग्लुङ ४०
कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, नवलपरासी ४०
मायादेवी टेक्निकल इन्स्टिच्युट, बुटवल ४०
रम्भादेवी कलेज अफ मेडिकल साइन्स, बुटवल ४०
सुर्खेत एजुकेसन डेभलोपमेन्ट एकेडेमी, सुर्खेत ४०
कैलपाल हस्पिटल एन्ड कलेज प्रालि, नेपालगन्ज ४०
कलेज अफ अलाइड हेल्थ साइन्स प्रालि, नेपालगन्ज ४०
नेपालगन्ज टेक्निकल कलेज, नेपालगन्ज ४०
बागेश्वरी एकेडेमी अफ हेल्थ साइन्स, धनगढी ४०
शैलेश्वरी फार वेस्ट स्कुल अफ हेल्थ साइन्स टेक्नोलोजी, धनगढी ४०
फरवेष्ट स्कुल अफ मेडिसिन प्रालि, महेन्द्रनगर ४०
No comments:
Post a Comment