जलस्रोतको धनी देश नेपालमा लोडसेडिङ किन बारम्बार हुन्छ ? प्रजातान्त्रिक १२-१३ वर्षेकालदेखि नेपालमा लोडसेडिङ मौलाएको छ। त्यसअघि नेपालमा यति धेरै जलविद्युत आयोजना सञ्चालनमा थिएनन् तर पनि लोडसेडिङ यति विधि थिएन (अहिले आठ घण्टा लोडसेडिङ छ) हुनसक्छ विद्युतिकरण पनि कम थियो तर भएको स्थानमा यति धेरै आपूर्ति बन्द हुने गरेको थिएन। नेपालमा शहरिकरण पनि बढ्दो गतिमा छ। पञ्चायतबाट बहुदलमा फड्को मार्दा नगरपालिका पनि धेरै थपिएका छन्। महानगरपालिका र उपमहानगरपालिका समेत बनेका छन्।
निश्चय नै कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक सामानहरु यस अवधिमा नेपालमा सहर त के गाउँ-गाउँसम्म पुगे। घर-घरमा कम्प्युटर, मोवाइल फोन पुगे, रेडियो, टेप पुगे। धेरै नेपालीले टीभी किन्न सके। केहीका घरमा लुगा धुने मेसिन र फ्रिज पुगे। म:म पसल चल्ने ठाउँमा साइबर खुले। त्यस्ले निश्चय नै खपत पनि बढायो नै। तर के यतिले नै बढायो त धान्नै नसक्ने गरी बिजुलिको खपत ? यस्ता विद्युतीय साधनले खपत गर्ने तुलनामा ठूला उद्योगहरूले कयौं गुणा बढी बिजुली उपयोग गर्छन्। के बिजुलीको विकाससँगै सोही अनुरुप औद्योगिकरण भएको छ देशमा ? १२ वर्षे द्बन्दकालमा भएका उद्योग कति बन्द भए कति पलायन भए। नयाँ उद्योग बन्न क्रमश: ठप्प छ।
विद्युत उत्पादन १२ वर्षे द्वन्दकालमा पनि भैरहेकै थियो। नयाँ योजनाहरु पनि थपिरहेका थिए र छन् पनि। चिलिमे (२२.१), पुवाखोला (६.२), कालिगण्डकि ए (१४४), भोटेकोशी (३६), खिम्ति (६०), मोदी (१४), झिम्रुक (१२), कुलेखानि दोस्रो (३२) मेघावाट जस्ता साना ठूला आयोजनाहरु यसै समयमा सञ्चालनमा आएका आयोजनाहरु हुन। यसका अतिरिक्त साना जलविद्युत (माइक्रो हाइड्रो) पनि धेरै स्थापना भए। विगत १२ वर्षे कालमा नेपालमा विद्युत उत्पादन करिब करिब ६-७ गुणा भन्दा बढी भएको छ। बिजुलीको खपत गर्ने कारक औद्योगिकरण मानिन्छ। ग्रामिण र गाह्रर्स्थ उपयोग विद्युतका मूल खपतकर्ता हैनन् भन्ने विद्यमान यथार्थ हो।
अधिकांश ग्रामीण उपभोगता १५ युनिट भन्दा कम खपत गर्छन्। प्राधिकरणको २० युनिट न्युनतमको बिल चुक्ता गर्छन्। कति गाउँमा खम्बा छ, तार छ। महिनामा १ -२ पटक बिजुली आउँछ। खपत ५ युनिट भन्दा कम छ। विकासको गतिसँग जोडिएको यान्त्रिकरण अर्को बिजुली खपत गर्ने कारण हुन सक्छ। के हामी यान्त्रिकरणको युगमा प्रवेश गरेका छौ ? त्यो पनि हैन जस्तो लाग्छ। त्यसो भए केले प्राधिकरणलाई बारबार यसरी चुनौति दिएको छ ?
प्राधिकरणको जवाफमा नेपालमा उत्पादनको तुलनामा माग बढी भएको कारणले लोडसेडिङ् गर्नु परेको हो। भर्खर मात्रै बनेका १४४ मेघावाटको कालिगण्डकि ए र ६० को खिम्ति आउनु अघिको तुलनामा लोडसेडिङ् ह्वात्तै बढेको छ यस बीचमा। यो अवधिमा करिब करिब साना ठूला गरी ३०० मेगावाटका विद्युत आयोजना सञ्चालनमा आए। अर्थात विगत ५ वर्षभित्र उत्पादन दोब्बर भयो। उत्पादन सँगसँगै दोब्बर बनेको लोडसेडिङलाई कसरी बुझ्ने हामीले ? प्राधिकरणको अर्को तर्क छ हिमनदीमा जाडोको मौसममा पानीको बहाव घट्छ। नदिनाला सुख्खा हुन्छन्। यो ध्रुवसत्य हो कि वर्षा नहुँदा नदीको बहाव घट्छ फेरि यो पनि आजदेखि हैन पहिलेदेखि नै हुँदै गरेको छ। प्रकृतिको नियमित प्रकृया मात्र हो जुन निरन्तर चल्छ। तर स्थापनाकालमा प्राधिकरणले यो आयोजना बनेपछि १० वर्ष लोडसेडिङ हुँदैन भनेर डङ्का पिट्छ। के प्राविधिकहरुले हचुवाको भरमै योजना तर्जुमा गर्छन् र हुनजान्छ यस्तो ? नत्र हिउँद वर्षाको तात्विक फरक किन योजनाले समेट्दैन ? यो जान्दा जान्दै बैकल्पिक आयोजना किन बन्दैन ? ल ठीक छ हिउँदमा उत्पादन घट्यो। बर्षा याममा चाहीँ हरदरम आएको छ बिजुलि? यो पनि छैन। करिब ५ वर्ष अघि ६० मेगावाटको खिम्ती बन्द हुँदा प्राधिकरणले देशभर पटक पटक गरी २० मिनेट अन्धकार बनाएको थियो। किन भयो यस्तो ? खिम्ति यौटा बन्द हुँदा देशै अन्धकार हुनु पर्छ र ? कहिले कुलेखानीको सरोवरमा बालुवा भरिएर उत्पादन घट्यो भन्छ प्राधिकरण त कहिले खोला सुक्यो भनेर। वर्षा लागे पनि वर्षालाई दोष हिउँद लागे खोलालाई दोष। अहिले विश्व तापमानमा वृद्धिसँगै हिउँ पग्लेको अनुसन्धानका ठेलीहरु आएका छन्। अब प्राधिकरणको भागमा विश्व तापमानको वृद्धिले गर्दा नेपालमा बिजुली उत्पादन घटेको हो भन्ने निश्कर्ष मात्र बाँकी रहने हो कि ?
भुल्न नहुने तथ्य के पनि हो भने सरदर जलविद्युत उत्पादन लागत प्रति किलोवाट (आयोजना स्थापना गर्न) ९०० -१२०० अमेरिकी डलर लाग्ने गर्छ। तर नेपालमा मध्य मर्स्याङ्दीको लागत ३००० देखि ३२०० डलर पुग्ने भएको छ। लागतमा सरदर २००० डलर भन्दा माथि खर्च गरिरहेको छ प्राधिकरण। त्यो कसरी सम्भव भैरहेको छ ? नेपालमा किन प्रतिकिलोवाट ८०० भन्दा बढी महँगो हुने गर्छ ?
केही समय अघि सञ्चारमाध्यमले प्रतियुनिट ३१ रुपैया पर्ने डिजल इञ्जिन राख्न र कमिसन खान प्राधिकरणले विद्युत भारमा गोलमाल देखाएको तथ्य बाहिर ल्याएको थियो। हाल उत्पादन अपुग हैन प्रसारण लाइन क्षमताको कमीले लोडसेडिङ हुने गरेको तर्क पनि बाहिर आउन थालेको छ जुन पहिले सुनिएको थिएन। आफ्नो अकर्मण्य लुकाउन र कमिसनमा मोटाउन बारबार नाटक त गरिरहेको छैन प्राधिकरण ? नत्र कसरी हुनै नसक्ने गरी लोडसेडिङ तन्काइरहेको छ ? अहिलेको नेपालको विद्युत उत्पादनमा यति धेरै लोडसेडिङ गर्नु पर्दै पर्दैन। प्राधिकरणको यो बहुलट्ठी तथ्याङ्क मिथ्याङ्क मात्र हो भन्ने तर्कमा म चाहीँ सतप्रतिशत विश्वास गर्छु। तपाईहरुलाई कस्तो लाग्छ ?
No comments:
Post a Comment