Wednesday, January 5, 2022

कृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकारकृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकार

 https://www.onlinekhabar.com/2022/01/1060851

कृषि पेशामा निराशा : गोठदेखि ओठसम्म किसान रुवाउँदै सरकार

१९ पुस, काठमाडौं । नेपालमा आलु बाली विकासको लागि सरकारले काम थालेको ४९ वर्ष भयो । २०२९ सालमा शुुरू भएको ‘राष्ट्रिय आलु बाली विकास कार्यक्रम’ अहिले पनि चालु छ । ‘कृषकको आय आर्जनका साथै मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने’ कार्यक्रमको उद्देश्य थियो ।

तर, आलु बाली विकास कार्यक्रम चलेको पाँच दशक बित्दा चालु आर्थिक वर्षको मंसीरसम्मको पाँच महीनामा मात्रै नेपालले भारत र बंगलादेशबाट रु.५ अर्ब २७ करोडको आलु किन्यो । भन्सार विभागले गत साता सार्वजनिक गरेको पाँच महीनाको वैदेशिक व्यापार विवरण अनुसार नेपालले प्रति महीना औसत रु.१ अर्ब ७१ करोड बराबरको तरकारी मात्रै किनिरहेको छ ।

२०७८ मंसीर अन्तिम साता कृषिजन्य वस्तुको आयात-निर्यातबारे राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार, धान, चामल, मकै, तरकारी, फलफूल जस्ता कृषि उपज खरीदमा नेपालले पछिल्ला वर्षहरूमा वाषिर्क रु.२ खर्बभन्दा धेरै खर्च गरिरहेको छ ।

कृषिमा ६०.४ प्रतिशत जनसंख्या आश्रति रहे पनि बेसारदेखि चामलसम्म आयात गर्नुपर्ने अवस्था देखिएको भन्दै योजना आयोगले कृषि उपज आयातमा बाहिरिइरहेको ठूलो रकमप्रति चिन्ता व्यक्त गरेको छ ।

कृषि उपजको आयात मात्रै होइन मुलुकमा सरकार, व्यवसायी, दल र ती निकट बिचौलियाबाट कृषकमाथि भइरहेको घोषित/अघोषित अन्याय पनि बढ्दो छ । गोठदेखि ओठसम्मको कृषि चक्रमा सरकारले किसानलाई नरुवाउने कुनै ठाउँ छैन । कृषिप्रधान मुलुकको सरकार यसरी किसान विरुद्ध किन लाग्छ ? कृषिविज्ञ मदन राई भन्छन्, ‘जवाफदेही राज्य नहुनु भनेको पीडक हुनु नै हो ।’

कृषकले भोग्ने पीडाका शृंखला

आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा सर्लाही, रौतहट, कपिलवस्तु, महोत्तरी र पर्साका किसानले चिनी मिललाई बिक्री गरेको उखुको पैसा अहिलेसम्म पनि पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका अनुसार, यहाँका किसानले मात्रै उद्योगहरूबाट पाउनु पर्ने बक्यौता रु.१३ करोड बराबर छ ।

उखु बेचेको पैसा नपाउँदा किसान ऋणमा डुबेको संघर्ष समितिका सचिव हरिश्याम राय यादव बताउँछन् । करीब पाँच हजार किसानको रु.१ अर्ब १६ करोड उखुको बक्यौता पाउन चार वर्षमा पाँच पटक काठमाडौंमा आन्दोलन गर्नु परेको थियो । एक कृषकले त आन्दोलनकै क्रममा ज्यान गुमाएको यादवले बताए ।

‘उद्योगीहरूबाट रु.१ अर्ब उठाउन किसान सडकमा भोकै लडेपछि मात्रै सरकार वार्ता गर्न आउँथ्यो’ यादव भन्छन्, ‘दिनुपर्ने जति पैसा नदिई अपुग पैसा दिलाएर आन्दोलन तुहाउन सरकार आफैं लाग्यो ।’

कृषि पेशामा लागेर आफ्नै पसिनाले उब्जाएको बाली बिक्री गरेको रकम पाउन पनि मर्नुपर्ने अवस्था आएपछि किसानलाई उखु खेतीप्रति वितृष्णा बढेको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । एउटै फसलको मूल्य उठाउन पाँच हजार किसानले चार वर्षदेखि संघर्ष गरिरहेको र अवस्था अझै नसुधि्रएको उनको भनाइ छ ।

बक्यौता रकम माग गर्दै आन्दोलित भएका उखु किसान । तस्वीर : अनलाइनखबर फाइल

नेपालमा ४१ जिल्लाको ७१ हजार ६२५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिन्छ । जसमध्ये तराईका ११ जिल्ला व्यावसायिक उखु खेतीका लागि प्रख्यात छन् । असोज, कात्तिक, माघ र फागुनमा तराई क्षेत्रमा उखु रोपिन्छ ।

किसानले ट्याक्टरले जोतेर ट्रेन्च प्रविधिमा उखु खेती गरिरहेका छन् । बीउ रोप्ने पहिलो वर्ष अलि धेरै दुःख र खर्च भए पनि दोस्रो वर्षदेखि उखु खेतीका लागि खासै मिहिनेत गर्नु नपर्ने उनीहरू बताउँछन् ।

किसानका भनाइमा, एक बिघा जमीनमा उखु लगाउन बीउ, मल, ज्याला समेत गरेर पहिलो वर्ष रु.१ लाख ५० हजार खर्च हुन्छ । प्रतिबिघा ६०० देखि ९०० क्वीन्टलसम्म उखु उत्पादन हुने भएकाले सबै खर्च कटाएर पनि किसानले वर्षमा एक बिघामा रु.५० हजार हाराहारी आम्दानी गर्न सक्छन् ।

किसानको आम्दानी निश्चित गर्न सरकारले उखुको मूल्य तोक्छ । तर, हरेक वर्ष कृषि मन्त्रालय ठीक समयमा उखुको मूल्य तोक्ने निर्णय गर्दैन । किसानको हितमा मूल्य तोक्नुपर्ने मन्त्रालय उखुको प्रति क्वीन्टल मूल्य निर्धारण गर्न आफ्नो क्षेत्राधिकार बाहिर गएर उद्योगीसँग वार्ता गर्छ ।

उखु उत्पादक किसान महासंघका अध्यक्ष मैनालीका भनाइमा, गत वर्ष कृषि मन्त्रालयले उखुको मूल्य तोकेर दुई महीनाभित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दियो । भुक्तानीका लागि ‘दुई महीना’ कुर्नुपर्ने सरकारी निर्णयको महासंघले विरोध गर्‍यो । जिल्लाका मिलहरूले १५ दिनमै भुक्तानी दिने गरी किसानसँग समझदारी गरे । यसरी किसानले समयमै भुक्तानी पाए ।

महासंघ अध्यक्ष मैनाली प्रश्न गर्छन्, ‘१५ दिनमै किसानले पैसा पाउने अवस्था रहँदारहँदै सरकारले उद्योगीलाई दुई महीना समय किन र कसरी दिएको ? किसानका लागि देशमा कहाँ छ सरकार ?’

यस वर्ष पनि मिल चल्ने दिन (१५ पुस) सम्म पनि सरकारले उखुको मूल्य निर्धारण गरेन । त्यसैले किसानहरू पछि मूल्य तोके बमोजिम हुने गरी मीललाई उधारोमा उखु दिन बाध्य भए । नगदेबालीको फसल भनेर प्रचारित उखु उधारोमा बिक्री गर्न सरकारले बाध्य बनाएपछि यो खेतीबाट बाहिरिनुको विकल्प नदेखेको कृषकहरू बताउँछन् ।

*** ***

किसानलाई मौसमी अवस्थाबारे सल्लाह दिन सरकारका दुई वटा निकाय छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल कृषि अनसुन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले यो काम गर्दै आएका छन् । तर, ३१ असोज २०७८ देखि लगातार चार दिन परेको बेमौसमी वषर्ाबाट किसानले भित्र्याउन ठिक्क पारेको १ लाख ११ हजार ६०० हेक्टर खेतको धानबालीमा ठूलो क्षति पुग्यो ।

किसानको फसल सुरक्षित गर्न सरकारले लाखौं खर्च गरेर राखेका यी केन्द्रहरूले किसानलाई अपुष्ट र दोधारे सूचना प्रवाह गरेका थिए । २८ असोज २०७८ मा केन्द्रले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा सामान्यदेखि भारी वषर्ाको पूर्वानुमान गरिए पनि धान किसानलाई अस्पष्ट सुझाव दिइयो । जसमा साताभरि नै भारी, मध्यम र सामान्य वषर्ा हुन्छ भनियो तर धान काट्ने, नकाट्ने सम्बन्धमा कुनै स्पष्ट सुझाव दिइएन ।

बुलेटिनमा केन्द्रका अधिकारीहरूले आफू जोगिने गरी यस्तो भाषा लेखेका थिए- ‘आगामी साता अधिकांशदेखि धेरै भूभागमा हल्कादेखि भारी वषर्ाको संभावना भएकोले पाकेको धानलाई मौसमको अनुकूलता हेरी भित्र्याउनू ।’

किसानले समयमा रासायनिक मल नपाउने विषय नेपालको लागि सामान्य भएको छ । देशैभरका किसान हरेक सिजन र बालीका लागि मलको माग गर्दै लाइनमा बस्न र कतिपय बेला आन्दोलन गर्न समेत बाध्य छन्

कृषि मन्त्रालय अन्तर्गतकै जलवायु प्रकोप समुत्थान निर्माण राष्ट्रिय आयोजनाका निर्देशक शिव नन्दन प्रसाद साह जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाका आधारमा उक्त सूचना किसानलाई पठाएको बताउँछन् । धेरै धान उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार किसानलाई मोबाइलमा त्यो अस्पष्ट सूचना पठाइयो । त्यही सूचनाको आधारमा धान काट्दा किसानले ठूलो क्षति भोगे ।

बेमौसमी वर्षाको क्षति भोगेका किसानले अहिलेसम्म राहत पाएका छैनन् । २३ कात्तिक २०७८ मा अनलाइनखबरसँगको कुराकानीमा कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भनेका थिए ‘अबको एक महीनामा बाढी पीडित किसानको बैंक खातामै सरकारी राहत पुग्छ ।’ तर, दुई महीना बित्दा पनि किसानले एक रुपैयाँ राहत पाएका छैनन् ।

एक लाख ११ हजार ६०९ हेक्टर क्षेत्रफलमा लगाइएको झण्डै रु.११ अर्ब ८७ करोड ५१ लाख बराबरको ४ लाख २४ हजार ११३ टन धान बालीमा क्षति पुर्‍याएको सरकारकै प्रतिवेदनले देखाएको छ । ११ कात्तिक २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले पीडित किसानलाई रु.५ अर्ब ५२ करोड राहत दिने घोषणा गरे पनि किसानले अहिलेसम्म राहत रकम पाएका छैनन् ।

*** ***

किसानले समयमा रासायनिक मल नपाउने विषय नेपालको लागि सामान्य भएको छ । देशैभरका किसान हरेक सिजन र बालीका लागि मलको माग गर्दै लाइनमा बस्न र कतिपय बेला आन्दोलन गर्न समेत बाध्य छन् ।

कृषि मन्त्रालयकै विवरण अनुसार देशमा वाषिर्क ७ देखि १२ लाख मेट्रिकटन रासायनिक मलको माग छ, तर सरकारले मुश्किलले तीन लाख मेटि्रक टन मल ल्याउँछ, त्यो पनि समयमा आइपुग्दैन । गत वर्षदेखि त त्यो परिमाणको मल पनि नेपाल भित्रिन सकेको छैन ।

२०७८ असार र साउनमा मल ल्याउने ठेक्का पाएको कम्पनीले समयमै आपूर्ति गर्न नसक्दा हाहाकार मच्चियो । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका अनुसार असार र साउनको लागि रु.७ अर्ब ५६ करोडभन्दा धेरै रकमको १ लाख ३० हजार मेटि्रक टन रासायनिक मल ल्याउन ठेक्का पाएको जोशी बिज प्रालिले समयमै मल ल्याएन ।

कृषि सामग्री कम्पनी लिमिटेडबाट ठेक्का पाएको ६० हजार मेटि्रक टन युरिया र साल्ट ट्रेडिङको २० हजार मेटि्रक टन डीएपी मल ल्याइपुर्‍याउने समय ठेकेदार कम्पनीले गुजार्‍यो । समयमै मल नल्याउने कम्पनीलाई साल्ट ट्रेडिङले कुनै कारबाही पनि गरेन ।

उल्टो कृषि सामग्री कम्पनीको कारबाहीबाट बच्न मल नल्याउने ठेकेदारले अदालतको सहारा लियो । ३१ जेठ २०७८ भित्र नेपाल भित्रिसक्नुपर्ने ६० हजार मेटि्रक टन युरिया मल नल्याएको जोशी बिजलाई कम्पनीले स्पष्टीकरण सोधेपछि उसले सर्वोच्च अदालतमा रिट दायर गर्‍यो । अदालतको आदेशका कारण अहिलेसम्म ऊ माथि कुनै कारबाही प्रक्रिया अघि बढेको छैन । हिजो मात्रै गुणस्तरहीन मल ल्याएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी बिज विरुद्ध मुद्दा दर्ता गरेको छ ।

२०७८ असार र साउनमा मात्रै होइन गहुँ र तरकारी सिजनलाई चाहिने मल पनि सरकारले ल्याउन सकेन । नेपालका दुई कम्पनी मार्फत ठेक्का लगाएको १ लाख ८८ हजार ५०० मेटि्रक टन मल भित्रिने कुनै संकेत छैन । कृषि सामग्री कम्पनीले ठेक्का लगाएको १ लाख १३ हजार ५०० मेटि्रक टन र साल्ट ट्रेडिङबाट आउनुपर्ने ७५ हजार मेटि्रक टन मल आउने अझै टुंगो छैन । तर यसरी मल ल्याउने जिम्मेवारी बोकेका कम्पनी र त्यसलाई ठेक्का दिन सरकारी निकाय यसप्रति गम्भीर छैनन् ।

धानमा बाला लागेन

यो वर्ष भक्तपुरको चाँगुनारायण ६, सूर्यविनायक ४ र ७ तथा काठमाडौंको बूढानीलकण्ठका करीब ७०० रोपनी खेतमा लगाएको धानमा बाला लागेन । ‘डिवाइ २८’ जातको धानको बीउ लगाएका किसानले बाला नलागेको कुरा काट्ने बेला हुन आँट्दा मात्रै थाहा पाए ।

समुद्री सतहबाट ७०० मिटरसम्मका भित्री मधेशका लागि सिफारिश गरिएको धानको बीउ बिक्रेताको असावधानीका कारण काठमाडौं उपत्यकामा लगाइएकोले बाला नलागेको थाहा भयो ।

बीउ बिक्रीका लागि सरकारबाट विशेष अनुमति लिनुपर्छ र त्यसरी अनुमति लिने कम्पनी नेपालमा एउटा मात्रै छ, त्यो हो- ‘काष्ठमण्डप ट्रेड पोइन्ट ।’ सरकारले यसरी गैरजिम्मेवार ढंगले बीउ बेच्ने एउटा कम्पनीलाई समेत नियमनको दायरामा राख्न नसक्दा बाला नलाग्ने धानको बीउ लगाउने करीब २८०० किसानले ६ महीना आफ्नो श्रम र पसिना खेर फाले । तर उनीहरूले कुनै क्षतिपूर्ति पाउने/नपाउने भन्ने विषय अझै टुंगिएको छैन ।

१३.५ प्रतिशत जनसंख्या पलायन, बढ्यो परनिर्भरता

कृषकको निराशा मुलुकको उत्पादन तथ्याङ्कमा पनि देखिन थालेको छ । पछिल्लो समय एकाध बाहेकका नगदे कृषि उपजको उत्पादन खस्किंदै गएको सरकारी तथ्याङ्कमा उल्लेख छ । यसमा नेपालले प्रमुख खाद्यान्न बाली मानेको धान, गहुँ, मकै, कोदो लगायतको उत्पादन र आयात दुवै बढेको छ । नगदे बालीमा तेलहन, दलहन, उखु, जुट र आलुलगायत छन् ।

आव २०७५/७६ मा २६ लाख ३०७ हेक्टर क्षेत्रफलमा २ लाख ८० हजार ५३० मेटि्रक टन तेलजन्य वस्तु उत्पादन भएकोमा २०७६/७७ मा तेलहन बालीको क्षेत्रफल र उत्पादन दुवै घटेको छ । यो वर्ष २५ लाख ८ हजार १४१ हेक्टर क्षेत्रफलमा मात्रै तेलहन बाली लगाइएको छ र उत्पादन पनि २ लाख ७८ हजार ३२५ मेटि्रक टन मात्रै छ ।

आर्थिक वर्ष २०७५/७६ मा ७१ हजार ६२५ हेक्टरमा ३५ लाख ५७ हजार ९३४ मेटि्रक टन उखु उत्पादन भएकोमा २०७६/७७ मा उखु खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै घटेको छ । यो वर्ष ६८ हजार ५६५ हेक्टरमा मात्रै उखु खेती गरिएको छ भने उत्पादन पनि ३४ लाख १७६ मेटि्रक टनमा झरेको छ ।

बीउ, मल, अनुदान, राहतदेखि बाली भित्र्याउने बेलासम्म सरकारले निर्वाह गर्नुपर्ने भूमिका माथि कृषिका कुनै पनि सरकारी निकाय जिम्मेवार र उत्तरदायी नभएको डा. कृष्णप्रसाद पौडेल बताउँछन् । कृषि विकासको नाममा बिचौलिया र दलाल पोस्ने नीति-नियम बनाइएको उनको भनाइ छ

पछिल्लो १० वर्षमा कृषि पेशाबाट पलायन हुने जनसंख्याको आकार पनि १३.५ प्रतिशत पुगेको छ । जसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको सरकारी अध्ययनबाट देखिन्छ । आर्थिक वर्ष २०६८/६९ देखि २०७७/७८ को अन्त्यसम्म कृषि, वन र मत्स्यपालनबाट कृषकहरू पलायन हुने दर बढेको हो । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार २०६८/६९ मा ७३.९ प्रतिशत जनसंख्या कृषिमा आश्रति रहेकोमा सो दर २०७७/७८ मा ६०.४ प्रतिशतमा झरेको छ ।

कृषिमा आधारित जनसंख्या पलायनको असर मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले पुर्‍याउने योगदानमा पनि देखिएको छ । १० वर्षको अवधिमा कृषिबाट जीडीपीमा हुने योगदान ६.९ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा जीडीपीमा कृषिको योगदान ३२.७ प्रतिशत रहेकोमा २०७७/७८ मा यो आकार २५.८ प्रतिशतमा झरेको थियो ।

देशमा किसान सरकारबाट दपेटिंदै जाँदा कृषि उपज माथिको परनिर्भरता झनै झाँगिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनमा स्थानीय तहमै उत्पादन गर्न सकिने वस्तुको आयात कहालीलाग्दो गरी बढेको छ । मुख्य गरेर धान, चामल, गहुँ, केराउ, प्याज, आलु, लसुन जस्ता उत्पादनको आयात वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा करीब १८ अर्बको चामल आयात भएकोमा २०७५/७६ मा यो आयात बढेर २४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो आयात घटेर साढे १८ अर्बमा सीमित भए पनि नियमित भइरहेको आयातलाई अध्ययनले राम्रो मानेको छैन ।

आव २०७२/७३ मा नेपालले रु.२ खर्ब ६५ अर्बको धान आयात गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा धानको आयात रु.८ अर्ब ८२ करोड बराबरको रहेको पाइएको छ । नेपालमा हुने धान र चामल निर्यातमा भारतको हिस्सा ९९ प्रतिशत रहेको छ ।

यसका अलावा चीन, फिलिपिन्स, जापान, अमेरिका र थाइल्याण्डबाट पनि चामल आयात हुने गरेको छ । धानपछि नेपालको अर्को प्राथमिक बाली मकैको आयात पनि बढेको आयोगको अध्ययनमा उल्लेख छ । आर्थिक वर्ष २०७२/७३ मा भारत सहित अमेरिका, क्यानडा, बंगलादेशबाट नेपालमा रु.९ अर्ब ८० करोड हाराहारीको मकै आयात भएकोमा २०७६/७७ मा यस्तो आयात रु.१३ अर्ब ८६ करोड बढी पुगेको छ ।

नेपालमा अर्को धेरै आयात हुने कृषि उपज केराउ पनि हो । आव २०७२/७३ मा रु.५१ करोड बराबरको केराउ आयात भएकोमा २०७६/७७ मा यस्तो आयात रु.७ अर्ब ४५ करोड बराबर पुगेको छ । नेपालमा क्यानडा, रसिया, युक्रेन, पोल्याण्ड, ओमान, तान्जिनिया लगायत मुलुकबाट केराउ भित्रिएको योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा भारतबाट मात्रै नेपालले रु.१ अर्ब ३ करोड बराबरको केराउ आयात गरेको देखिएको छ ।

यस्तै गहुँको आयात पनि बढ्दो छ । गहुँ आयातको मुख्य स्रोत मुलुक भारत हो । आव २०७२/७३ मा रु.२ अर्ब २५ करोडको गहुँ आयात भएकोमा २०७६/७७ मा यस्तो आयात रु.४ अर्ब ८५ करोड पुगेको छ ।

नेपालमा जहाँ पनि उत्पादन गर्न सकिने प्याजको आयात पनि उच्च रहेको अध्ययनले देखाएको छ । २०७२/७३ मा रु.२ अर्ब ९३ करोडको प्याज आयात गरेको नेपालले त्यस यताको पाँच वर्षमा यसको आयातलाई दोब्बर बनाएको तथ्याङ्कमा देखिन्छ । अध्ययन रिपोर्ट अनुसार २०७६/७७ मा नेपालमा रु.४ अर्ब ७० करोड बराबरको प्याज आयात भएको छ ।

किसानलाई किन निराश बनाइन्छ ?

कृषि कर्ममा लागेका नेपालीले बीउदेखि भकारीसम्मको सबै प्रक्रियामा निराशा र दुःख मात्रै पाउनुको कारण सरकारको तलब खाएर कृषिका लागि काम गर्ने भनेकाहरूको निकम्मापनको नतिजा भएको कृषि विज्ञहरूको आरोप छ ।

बीउ, मल, अनुदान, राहतदेखि बाली भित्र्याउने बेलासम्म सरकारले निर्वाह गर्नुपर्ने भूमिका माथि कृषिका कुनै पनि सरकारी निकाय जिम्मेवार र उत्तरदायी नभएको डा. कृष्णप्रसाद पौडेल बताउँछन् । २०६२/६३ अघि कर्मचारीमा यो प्रकारको विचलन कहिल्यै नभएको बताउँदै उनी भन्छन्, ‘नेता त सबै उस्तै थिए, तर कर्मचारी पनि हदै निकम्मा भए । देशका लागि यो दुर्भाग्य हो ।’

कृषि विकासको नाममा बिचौलिया र दलाल पोस्ने नीति-नियम बनाइएको भन्दै पौडेलले मन्त्रालयमा पाँच दर्जन हाराहारी कार्यविधि किन बनाएको भनेर प्रश्न गरे । कर्मचारी सुधारका लागि नेता र नेतृत्व असल हुनुपर्ने भन्दै पौडेलले पछिल्लो एक महीनामा भएका चार राजनीतिक दलको महाधिवेशनमा कृषि र किसानको मुद्दा प्राथमिकतामा नपर्नु चिन्ताको विषय भएको बताए ।

अर्का कृषिविज्ञ मदन राई पनि सरकारी तलब खाएकाहरू कृषिप्रति पटक्कै जिम्मेवार नहुँदा किसान हरेक क्षणमा रुनुपर्ने अवस्था सृजना भएको बताउँछन् । उनी भन्छन्, ‘मल, बीउ, सिंचाइ, मूल्य र राहत जस्ता हरेक कुरामा किसान रुँदै हिंड्ने तर जिम्मेवारीमा रहेका कोही पनि अधिकारी जवाफदेही नहुनु विडम्बना भएको छ ।’

सूचना र सल्लाह दिने, मल ल्याउने, बीउ सिफारिश गर्ने निकायमा बसेकाले अलिकति जिम्मेवारी बोध गरे केही हदसम्म समस्या समाधान हुने उनको तर्क छ । इजरायलको कृषि क्रान्तिमा पूर्व कृषि मन्त्री बेन्गुरिनले लिएको भिजन जस्तै कुनै एक नेता आए तीनदेखि पाँच वर्षमै नेपालको कृषि सुधारिने राईको विश्वास छ । प्रदेश सरकारहरू समेत निकम्मा भएको देख्दा दुःख लागेको उनले बताए ।

गोठदेखि ओठसम्मको चक्रमा किसान किन सधैं पीडित छन् ? भन्ने प्रश्नमा कृषि सचिव डा. गोविन्द शर्माले मन्त्रालयले किसानको हितका लागि अधिकतम काम गरिरहेको दाबी गरे । ‘कृषिलाई किसान हितमा पुर्‍याउन र नतिजामुखी काम गर्न कृषि तथ्याङ्कको अभाव, विगतमा लिइएको नीतिको प्रभाव र केही हदसम्म किसानमा पनि समस्या छ’, सचिव शर्माले भने । बीउ र मलमा मन्त्रालयले समस्या झेलेको र केही हदसम्म राजनीतिक कारण पनि कृषि विकासमा समस्या रहेको सचिव शर्माको भनाइ थियो ।


तीर्थालु बस्ने पशुपतिको धर्मशाला बन्यो बतास समूहको व्यापार स्थल

 https://www.onlinekhabar.com/2022/01/1062154

तीर्थालु बस्ने पशुपतिको धर्मशाला बन्यो बतास समूहको व्यापार स्थल

२१ पुस, काठमाडौं । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल-भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

बतास अर्गनाइजेसन त्यही समूह हो, जसले नारायणहिटी दरबार संग्रहालयभित्र सस्तोमा जग्गा भाडामा लिएर रेस्टुरेन्ट बनाएपछि विवादमा तानिएको छ । यो समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । २०७५ सालमा कोषका तत्कालीन सदस्यसचिव डा.प्रदीप ढकालले मिलेमतो गरेर बतास समूहलाई ठेक्का दिलाएका थिए ।

धर्मशालाको छतमा जथाभावी संरचना थप्न अहिले चलिरेको काम, पछाडि श्रमिकहरू ‘स्पा सेन्टर’को काम गर्न ट्रस बनाउन व्यस्त देखिन्छन् ।

बतास समूहले अहिले मनपरी ढंगबाट धर्मशालाको वरपरको जग्गा र मूल संरचना प्रयोग गरिरहेको छ । खाली जग्गामा नयाँ सभाहल बनाएको बतासले स्टोर र गाडीको शोरुम पनि तयार गरेको छ । अनुमति नै नलिई जथाभावी ढंगले धर्मशालामा यस्ता संरचना थप्ने काम भइरहँदा कोष मौन छ ।

सेटिङमा ठेक्का

तिलगंगाको १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालामा होट चलाएबापत मासिक ८ लाख ७८ हजार ४१६ रुपैयाँ तिर्ने गरी २०७६ साल वैशाख ३० गते कोषका तत्कालीन सदस्यसचिव डा. ढकाल र बतास अर्गनाइजेसनको तर्फबाट ओस्कर बतासले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बतासलाई धर्मशाला भाडामा दिन पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको स्वीकृति नै लिइएको थिएन ।

नियमअनुसार पशुपति मन्दिरको पूजासम्बन्धी व्यवस्था र तत्काल निर्णय गर्नुपर्ने विषयलाई मात्रै कार्यसम्पादन समिति सदस्यसचिवको अध्यक्षताको कार्यसम्पादन समितिले गर्न सक्छ । दीर्घकालीन महत्व बोकेको विषयलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको अध्यक्षमा बस्ने सञ्चालक परिषद्मा लैजानुपर्ने हुन्छ ।

तर तत्कालीन सदस्य सचिव डा. ढकालले कार्यविधि सञ्चालक परिषदबाट पारित नै नगरी ‘कार्यविधि बमोजिम’ भन्दै गैरकानूनी रुपमा बताससँग करार सम्झौता गरेका थिए । तत्कालीन सदस्य सचिव डा. ढकालले लिज कार्यविधि, २०७५ स्वीकृत गरेर २०७५ माघ २९ गते धर्मशाला भाडामा लगाउन सूचना प्रकाशन गराएका थिए । जसमा धर्मशाला भाडामा लिन चाहने कम्पनीले विगत वर्षहरुमा दान, दातव्य, सामाजिक कार्यमा तीन करोड खर्च गरेको हुनुपर्ने असान्दर्भिक शर्त बोलपत्र कागजातमा राखिएको थियो ।

धर्मशाला भाडामा लिन चार प्रस्ताव पर्‍यो, जसमध्ये दानमा तीन करोड खर्च गरेको प्रमाण पेश नगरेको भन्दै धेरै रकम तिर्ने कबोल गरेका तीन कम्पनी अस्वीकृत भए । सबभन्दा कम कबोल गर्ने बतास समूहको होटल आनन्दको प्रस्ताव स्वीकृत भयो । वर्षमा एक करोड पाँच लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा ‘होटल आनन्द’सँग सम्झौता भयो ।

महालेखाको प्रतिवेदनको अंश

सम्झौतामा तीन महीना आन्तरिक निर्माण अवधि रहने, त्यसपछि प्रत्येक महीनाको भाडा सात गतेभित्र बुझाउनुपर्ने र त्यसरी नबुझाए जरिवाना लाग्ने व्यवस्था छ । तर ‘होटल आनन्द’ले समयमै भाडा नबुझाउँदा समेत कोषले छुट दिंदै आएको महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले खुलासा गरेको छ ।

सम्झौतामा धर्मशालालाई ‘प्रिमियम क्याटेगोराइज एकोमोडेसन’को स्तरमा सञ्चालन गर्ने, नेपाल-भारत मैत्री ‘पशुपति धर्मशाला’ लिजआउट व्यवस्थाको कार्यविधि-२०७५ को आधारमा धर्मशाला सञ्चालन गर्ने लगायतका शर्तहरु छन् । लिजआउट व्यवस्थाको कार्यविधि स्वीकृत नभएसम्म बतासले सो धर्मशाला प्रयोगमा ल्याउन मिल्दैनथ्यो । तर कार्यविधि स्वीकृत नै नभई झण्डै साढे दुई वर्षदेखि बतासले धर्मशालालाई होटल बनाएर चलाइरहेको छ ।

कोषका कार्यसम्पादन समितिका एक सदस्यका अनुसार लिजआउट व्यवस्थाको कार्यविधि एकपटक कार्यसमितिमा पेश भएको थियो । तर दीर्घकालीन महत्व बोकेको यो विषयमा सञ्चालक परिषद्ले निर्णय गर्नुपर्ने भनेर सदस्यहरु आशा पाण्डे, उद्धव बराल, देवी बराल, भगवतीप्रसाद लगायतले विरोध गरे र कानून व्यवसायीसँग छलफल गरेर मात्रै अघि बढ्ने ‘माइन्युट’ भयो । तर कोषका तत्कालीन सदस्य सचिव ढकालले एक्कासी बताससँग सम्झौता गरेको भन्दै ती सदस्य भन्छन्, ‘यो खेदजनक र गैरकानूनी छ ।’

तारे होटल बराबरको शुल्क

सामान्यतयाः धर्मशाला भनेको कुनै पनि यात्रीलाई अस्थायी बसोबासको लागि निःशुल्क व्यवस्था गरिने आश्रयस्थल हो । ‘परमार्थ बनाइएको भवन’ वा ‘धर्मार्थ अन्नादि बाँड्ने ठाउँ’ हो । त्यहाँ बस्नेहरुलाई शुल्क तोकिएको हुँदैन, कसैले रात बिताएपछि दानमा मनलागेजति दिन सक्छन्, तर दान नदिनेले निःशुल्क सेवा लिन पनि पाउँछन् । तर पशुपति आउने कोही धर्मशाला खोज्दै गए भने उनीहरुले धर्मशालामा बसेबापत नै तारे होटलको जति शुल्क तिर्नुपर्छ ।होटलमा राखिएको शुल्कको विवरण, जसमा २५ प्रतिशत थप कर पनि लाग्छ ।

धर्मशालामा चलेको होटलमा आगन्तुक बस्ने कोठालाई ४ वर्गमा बाँडिएको छ । जसमध्ये एउटा ‘डोरमिटरी’ वर्गको कोठा एक रात प्रयोग गर्न ३५० रुपैयाँमा ८५ रुपैयाँ करसहित गरेर प्रतिकोठा ४३५ रुपैयाँ तिर्नुपर्छ । यस्ता कोठामा १० वटासम्म बेड हुन्छन्, अरु पाहुना मिसिंदा पनि अहसमति राख्न पाइन्न । धर्मशालाको नन एसी कोठाको लागि करसहित १२४०, एसी डिलक्स कोठाका लागि ३६०० र स्वीट रुमका लागि करसहित ६८३६ रुपैयाँ शुल्क गरिएको छ ।

भारतसँग गरिएको प्रतिबद्धता तोडियो

१५ भदौ २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मशाला हस्तान्तरण गर्दै यो भवन नेपाल र भारतबीचको मित्रताको स्तम्भ भएको बताएका थिए ।

पशुपति आउने आफ्ना तीर्थयात्रीलाई समस्या हुने देखेपछि भारतले धर्मशाला बनाउन सहयोग गरेको थियो । २०५८ सालमा यसको लागत साढे ४ करोड रुपैयाँ थियो । तर नेपालस्थित भारतीय दूतावासले ढिलाइ गरेपछि कारण २०७० सालमा भवन बनाउन शुरुआत गर्दा लागत ३४ करोड रुपैयाँ पुग्यो ।

शुरुमा भारत सरकारले ६० कोठाको भवन बनाइदिने तयारी गरेपछि कोषको आग्रहमा कोठा र त्यसमा आवश्यक फर्निचर थप्ने निर्णय गरेको थियो । त्यतिबेला कोष मार्फत धर्मशाला सञ्चालनमा ल्याउने र पशुपतिनाथ मन्दिर दर्शनमा आउने तीर्थालुलाई धर्मशालामा निःशुल्क राख्ने कोषको प्रतिबद्धता थियो ।

तर, भवन बनेपछि पशुपति क्षेत्र विकास कोषले सेटिङबाटै बतास समूहलाई सस्तो भाडामा धर्मशाला बुझायो ।

बतासको शोरुमदेखि कार्यालयसम्म

बतास समूहले धर्मशालालाई होटलका रुपमा मात्रै प्रयोग गरेको छैन, पाली  हालेर आधा दर्जनभन्दा बढी ‘भिन्टेज’ गाडीहरु राखेको छ । कम्पनी स्रोतका अनुसार बतासले नक्सालमा रहेको गाडीहरु लगेर त्यहाँ बिक्रीको लागि राखेको हो ।

बतासको धर्मशाला परिसरमा रहेको भिन्टेज गाडी शोरूम

बतास अर्गनाइजेसनले धर्मशालाको दोस्रो तलाको झण्डै आधा भागलाई ‘बतास फाउन्डेसन’को कार्यालयका रुपमा प्रयोग गरेको छ । काफ्ले लयर्स एन्ड एसोसियट्सको कार्यालय त्यहीं छ । धर्मशालाको बायाँतर्फ भव्य आरोग्य हल निर्माण गरेको छ । त्यस्तै भवनको दायाँतर्फ पनि नयाँ पक्की भवन सहितका संरचना बनाइएको छ ।

यो पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत हो । किनकि सम्झौतामा उसले धर्मशालाबाहेक अन्य प्रयोजनको लागि प्रयोग गर्न पाउने उल्लेख छैन ।

कोषका एक कार्यसम्पादन समिति सदस्यका अनुसार कानून विपरीत काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले यसबारेको फाइल लगेको छ । तर यसमा दुवै निकायले अहिलेसम्म कुनै कारबाही गरेका छैनन् । यस्ता सबै काम सम्झौता विपरीत रहेको कार्यसम्पादन समितिका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

धर्मशालाभित्र राखिएको बतासको कार्यालय

‘बालुवाटारदेखि टंगालसम्म र बूढानीलकण्ठदेखि बालकोटसम्म नै सम्बन्ध भएको यो समूहले निकट पशुपति मन्दिरको गेटमै व्यापार थाल्यो भने पनि अचम्म मान्नु पर्दैन’ ती सदस्य भन्छन्, ‘धर्माशालमा कार्यालय रहेको बतास फाउन्डेसनको सल्लाहकार नै प्रधानमन्त्री पत्नी आरजु देउवा हुनुहुन्छ, कोषमा पनि नयाँ सदस्यसचिव उहाँहरुकै योजनाअनुसार नियुक्त हुनुभएको छ ।’

अनुमति विना धर्मशाला परिसरमा बनाइएको नयाँ सभाहल

कोषका अधिकारीहरु भने धर्मशाला सञ्चालनबारे भएको सम्झौता र यसबारे उठेका मुद्दाबाट पन्छिने गरेका छन् । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले अनलाइनखबरसँग भने, ‘धर्मशालाबारे मलाई खासै जानकारी नै छैन ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोल धर्मशालालाई ‘फाेर स्टार’ होटल बनाइएको टिप्पणी गर्छन् । पशुपति आउने विपन्न भक्तजन बस्न नसक्ने गरी धर्मशालालाई व्यापारीकरण गरिएको उनी बताउँछन् । ‘पहिला लिफ्ट थिएन, अहिले लिफ्ट हालियो, अनेकन् संरचना थपियो, हटाइयो,’ उनी भन्छन्, ‘तर हामीसँग अनुमति लिनु त परै जाओस्, छलफलसम्म गरिएन ।’

धर्मशालाभित्र रहेको काफ्ले लयर्स एन्ड एसोसियट्सको कार्यालय
बतास फाउन्डेसनको प्रशासनिक कक्ष

धर्मशाला नाफामूलक तवरले सञ्चालन गरिनु नै विडम्बनापूर्ण भएको उनी बताउँछन् । सकेसम्म पशुपति क्षेत्र विकास कोष आफैंले चलाएर भक्तजनलाई सुलभ सेवा दिनुपर्ने भन्दै वडाध्यक्ष डंगोल भन्छन्, ‘कोषले नसके हामीलाई दिए हुन्छ, हामी आफैं राम्रो व्यवस्थापन गरेर भक्तजनलाई सेवा दिन्छौं ।’