Wednesday, October 10, 2018

मृत्युदण्ड होइन, कारबाहीको फराकिलो दायरा

http://nepalihimal.com/article/1617
3 मृत्युदण्ड होइन, कारबाहीको फराकिलो दायरा
Share:    - रवीन्द्र रेग्मी
बलात्कार लगायत महिला हिंसाका घटना नियन्त्रण गर्न प्रहरीलाई अनुसन्धानको अधिकार दिंदै आत्मविश्वास बढाउनु जरूरी छ।

पछिल्लो समय महिला हिंसाका घटना उल्लेख्य मात्रामा बढेका छन् । तर, घटना वृद्धि हुँदै जाँदा त्यस अनुरूपका कानून र नियन्त्रणका ‘टुल्स’ वृद्धि हुन नसक्नु विडम्बना हो । यस्तो अवस्थाले जनतामा राज्यप्रति अविश्वासको भावना पैदा भएको छ । सरकारले यौनजन्य हिंसा बढ्नुको कारक मान्दै हालै अश्लील साइट बन्द गर्ने राम्रो निर्णय गरेको छ । यसको नियमन हुनुपर्छ, जसमा केही जटिलता छन् । जस्तैः ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) को नियन्त्रण प्रक्रिया जटिल छ । यसका लागि कतिपय देशसँग सन्धि–सम्झैता गर्नुपर्ने हुन सक्छ । अर्को, इमेलबाट भिडियो पठाउने गरिन्छ । हरेक मानिसको इमेलमा राज्यको पहुँच नहुने भएकोले यसको नियन्त्रण पनि जटिल नै हुन्छ । यो समस्या समाधान गर्न सम्बन्धित क्षेत्रका विज्ञको टोली बनाएर काम गर्न सकिन्छ ।
अर्को समस्या सरोकारवाला निकायको क्षेत्राधिकारमा देखिन्छ । बलात्कार न्यूनीकरण गर्ने नीति बनाउन गृह मन्त्रालयले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको क्षेत्राधिकार के हो ? यो नबुझ्ी काम गर्दा समस्या भएको छ । प्रहरी प्रधान कार्यालयले गर्नुपर्ने सिपाहीको बढुवा, इन्स्पेक्टर, डीएसपी र एसपीको सरुवा गृह मन्त्रालयले गरिरहेको छ । नीति बनाउने आफ्नो काम चाहिं प्रहरी प्रधान कार्यालयलाई सुम्पिएको छ । यसैसँग जोडिएर आउने उत्तरदायित्व र अधिकारको सन्तुलन पनि मिलेको छैन । कसैलाई उत्तरदायित्व दिइएको छ भने अधिकार पनि उसैमा प्रत्यायोजन हुन जरूरी छ । अधिकार नदिएर उत्तरदायित्व थोपर्नु भनेको हात बाँध्नु जस्तै हो ।
मुलुकी संहिताको दोष
बलात्कारका घटना वृद्धि हुनुमा प्रहरीको कार्य सम्पादन माथि आरोप लाग्ने गरेको छ । शान्ति–सुरक्षा कायम गर्ने दायित्व बोकेको प्रहरी माथि जनताले आशा गर्नु स्वाभाविकै हो । तर, प्रहरीका अधिकार विस्तारै खोसिंदैछन्, जसका कारण काम गर्न नसक्ने अवस्था निम्तिंदैछ । अहिलेको मुलुकी अपराध संहिताले प्रहरीसँग भएको अनुसन्धानको सबै अधिकार खोसेको छ । पहिले अपराध अनुसन्धान प्रहरी र अभियोजन सरकारी वकिलबाट हुन्थ्यो । शान्ति सुरक्षामा प्रमुख जिल्ला अधिकारीलाई सघाउने काम प्रहरीको थियो । अहिले शान्ति सुरक्षा स्थानीय प्रशासनलाई र अपराध अनुसन्धान सरकारी वकिलको जिम्मामा दिइएको छ । अब हरेक काम सरकारी वकिलको निर्देशन अनुसार प्रहरीले गर्छ । शंका लागेको व्यक्तिलाई पक्राउ गर्न पनि प्रहरी आफैंले सक्दैन ।
अधिकार खुम्च्याउने र जिम्मेवारी नदिने कुराले प्रहरीमा निराशा बढाउँछ र कमजोर बनाउँछ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान गर्न खटिएका सबै प्रहरीको एउटै गुनासो छ, त्यहाँ खटाएर आफूलाई फसाइयो । चुनौतीको काम गर्न अघि सर्नुपर्ने प्रहरी अधिकारीहरू डराइरहेका छन् । यस पछाडिको कारण उत्तरदायित्व र अधिकारको तालमेल नमिल्नु हो ।
निर्मला हत्याकाण्डमा घटनास्थलमा मृतकको कपडा धोएको विषय चर्चामा छ । त्यो कपडा धुने महिला प्रहरीलाई कारबाही भयो भने आश्चर्य नमाने हुन्छ । खासमा ती महिला प्रहरीको दोष होइन । उनले त्यो काम कसैको निर्देशनमा गरेको हुनुपर्छ वा अज्ञानताले । यदि अज्ञानता कारण हो भने उनलाई ज्ञान दिने जिम्मेवारी कसको ? त्यो व्यक्ति जवाफदेही हुनुपर्ने कि नपर्ने ? प्रहरीको आधारभूत तालिममा घटनाका सबुत जोगाउन तालिम दिइएको छ कि छैन ? त्यो नदिने मानिस जिम्मेवार हो कि होइन ? उत्तरदायित्व र अधिकारको सन्तुलन नहुनाले प्रभावकारी काम हुन नसकेको यो एउटा उदाहरण मात्र हो ।
समाज तत्काल परिणाम चाहिने बाटोमा अघि बढेको छ । जसले गर्दा हतारमा निर्णय हुने र निर्दोष व्यक्ति दोषी बन्ने परिस्थिति बढ्दै गएको छ ।
मृत्युदण्ड समाधान होइन
अहिले कतिपय भेला तथा मञ्चमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने आवाज उठिरहेको छ । तर, मृत्युदण्ड समस्याको समाधान होइन । जहाँ बलात्कारीलाई मृत्युदण्डको सजाय छ, ती देशमा पनि बलात्कार रोकिएको छैन । त्यसैगरी नैतिक शिक्षा र उपदेशले पनि यो रोकिंदैन । हामीले नैतिक शिक्षा सिकाउने धर्मगुरुहरू नै यौन दुराचारमा फसेका घटना देखेका छौं । त्यसैले बलात्कार जस्ता महिला हिंसाका घटना न कडा कानूनले नियन्त्रण सम्भव छ, न नैतिक शिक्षाले ।
यसलाई रोक्न सरकारले शुरू गरेको पोर्नोग्राफी नियन्त्रणलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । कडा कारबाही गर्नुभन्दा सामान्य यौन दुव्र्यवहारका घटनादेखि नै सम्बोधन गर्ने गरी दायरा फराकिलो बनाउनुपर्छ । मुलुकी संहितामा यौन दुव्र्यवहारको विषय समेटिए पनि निश्चित समयभित्र सम्बन्धित व्यक्ति आफैं उपस्थित भएर उजुरी दिनुपर्ने व्यवस्था नै व्यावहारिक छैन । किनभने, त्यस्ता दुव्र्यवहार सामान्यतया बालबालिकामाथि र उपल्लो दर्जाको व्यक्तिबाट तल्लो दर्जामाथि हुन्छ ।
कुनै पनि कर्मचारीले आफ्नो हाकिमको विरुद्ध उजुरी गर्ने हिम्मत गर्दैन र अदालत गएर मुद्दा हालिहाले पनि ढाकछोपको सम्भावना धेरै हुन्छ । त्यसैले गोप्य ढंगबाट अनुसन्धान गर्ने व्यवस्था प्रभावकारी हुनसक्छ ।
रेग्मी पूर्व प्रहरी उपरीक्षक हुन् ।

Tuesday, October 9, 2018

बादलको दुःख ज्ञानेन्द्रको जस्तै ! पहिले कटवाल काण्ड, अहिले अर्कै

https://www.onlinekhabar.com/2018/10/712383
बादलको दुःख ज्ञानेन्द्रको जस्तै ! पहिले कटवाल काण्ड,    अहिले अर्कै

विद्यार्थीले आइजीपीको राजीनामा माग्दा किन डराए गृहमन्त्री ?



२३ असोज काठमाडौं । गत विहीबार प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाबाट नेपाल आइपुग्ने कार्यक्रम थियो । सोही दिन सत्तारुढ विद्यार्थी संगठनका नेताहरुले कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझिदिन आग्रह गरे । सुरुमा हुन्छ भनेको पोखरेलको सचिवालयले विद्यार्थी नेताहरुलाई दोस्रो म्यासेज पठायो- ‘केही घण्टाभित्रै प्रधानमन्त्रीज्यू आउँदै हुनुहुन्छ, यस्तो बेलामा कार्यवाहकले ज्ञापनपत्र बुझ्नु उपयुक्त नहुने मन्त्रीज्यूबाट सुझाव आएको छ, तपाईहरु सिंहदरबार नआउनुहोला ।’
त्यसपछि विद्यार्थी नेताहरुको ध्यान गृहमन्त्री रामबहादुर थापा बादलतिर सोझियो । गृहमन्त्री बादलको दुःख के छ भने उनको सचिवालय अत्यन्तै कमजोर र निरीह छ । कुन कुरा ठीक र कुन बेठीक भनेर छुट्याउन सक्ने मानिसहरु उनको सचिवालयमा छैनन् । गृहमन्त्रीको सचिवालय नातागोताले भरिएको छ ।



गृहमन्त्रीको यही कमजोर सचिवालयमा विद्यार्थी नेताहरुले सम्पर्कको प्रयास गरे । मन्त्री बादलका सल्लाहकार सूर्य सुवेदी पथिकले विद्यार्थी नेताको टेलिफोन उठाएनन् । फोन नउठाउने र उठाइहाले पनि राम्रो रेस्पोन्स नगर्ने पथिकको पुरानै बानी हो ।
पथिकसँग सम्पर्क नभएपछि विद्यार्थी नेतृ नविना लामाले गृहमन्त्री बादलका भाञ्जा रञ्जित आलेलाई सम्पर्क गरेर आफूहरु ज्ञापनपत्र दिन आउन लागेको बताइन् । प्रदेश ६ र प्रदेश ७ हेर्ने भन्दै गृहमन्त्रालयमा राखिएका भाञ्जालाई मन्त्री बादलले स्वकीय सचिव बनाएका छन् । आफ्नो सहोदर छोरो प्रतीक थापालाई चाहिँ गृहमन्त्रीले प्रमुख स्वकिय सचिव बनाएका छन् ।
अन्ततः भाञ्जाको सम्पर्क सूत्र प्रयोग गरेर विद्यार्थी संगठनका नेताहरु असोज १८ गते गृहमन्त्रालयको गेटमा पुगे । विद्यार्थी नेताले गरेको खबर अनुसार केही पत्रकारहरु पनि क्यामेरा तर्स्याउँदै गृहको गेटैमा पुगेका थिए ।
तर, गृहमन्त्री बादलका सुरक्षा मामिला सल्लाहकार भनिने कानमा डोरीसहितको चश्मा लगाउने डा. इन्द्रजीत राईले पत्रकारहरुलाई भित्र छिर्न दिएनन् ।
राई उनै व्यक्ति हुन्, जो माओवादीले जनयुद्ध सञ्चालन गरिरहेका बेला सरकारी सुरक्षाकर्मीका सल्लाहकार थिए । माओवादीबाट देशलाई बचाउने अचूक अस्त्रका रुपमा जिल्ला सदरमुकामलाई तारबेरा लगाउने सिद्धान्तको आविश्कार त्यसबेला उनै राईले गरेका थिए । शान्ति प्रक्रियापछि माओवादीले राईलाई अन्तरिम विधायकसमेत बनाएको थियो भने अहिले सल्लाहकार बनाएर गृहमन्त्रालयमा राखेको छ । उनी मिडियाप्रति हदैसम्मको अनुदार व्यक्ति मानिन्छन् ।
आफूले बोलाएका पत्रकारहरुलाई राईले गेटैमा रोकेको  गुनासो विद्यार्थी नेताहरुले गृहमन्त्रीलाई सुनाए । त्यसपछि बादलको निर्देशनमा पत्रकारलाई भित्र बोलाइयो । विद्यार्थी नेताहरुले गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाए ।

सत्तारुढ विद्यार्थी नेताहरुले तयार पारेको ज्ञापनपत्रको पहिलो बुँदामै आइजीपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरिएको थियो । सरकारले महंगी नियन्त्रण गर्न नसकेको, बलात्कारी पक्रन नसकेको लगायतका विषयहरु ७ बुँदे ज्ञापनपत्रमा उल्लेख थिए ।
विद्यार्थी नेता नविना लामा, रञ्जित तामाङ लगायतको टोली ज्ञापनपत्र बुझाएर गृहमन्त्रीसँग फोटो खिचाएर सिंहदरबारबाट बाहिरियो ।
विद्यार्थीको टोली सिंहदरबारबाट बाहिर निस्कन नभ्याउँदै उनीहरुले आइजीपीको राजीनामा मागेको विषय ‘भाइरल’ बनिसकेको थियो । र, यो घटनाले एकातिर प्रहरी हेडक्वार्टरमा हल्लीखल्ली मच्चियो । गृहमन्त्रालमा पनि तरंग उत्पन्न भयो ।
गृहमन्त्री थापाले आफ्ना भाञ्जा रञ्जित आलेलाई बोलाएर झाँको झारे । ‘ज्ञापनपत्रमा के लेखेको छ भनेर नहेरिकन किन बुझाउन समय मिलाएको ?’ पहिले मागहरु केके छन् भनेर हेर्नुपर्दैन ?’ मामाले भाञ्जलाई भने ।
उता अरुबेला फोन नउठाउने सल्लाहकार पथिकले पनि विद्यार्थी नेताहरुलाई फोन गरेर आफूसित सल्लाह नगरी किन त्यस्तो मागपत्र तयार पारेको भन्दै हप्कीदप्की गरे ।
आइजीपीको राजीनामा किन मागियो ?
सत्तारुढ दलकै विद्यार्थी नेताहरुबाट आइजीपी सर्वेन्द्र खनालको राजीनामा किन मागियो ? यसमा सबैका आ-आफ्नै बुझाइ र तर्क छन् ।
प्रहरी प्रधान कार्यालय सूत्रले यो प्रकरणमा नवीना लामाका आफन्तले प्रहरीको ठेक्का नपाएको झोंकमा लामाकै पहलमा आइजीपीको राजीनामा मागेको निश्कर्ष निकालेको सूत्रहरुको दाबी छ ।
रामबहादुर थापा बादलले चाहिँ केपी ओली र प्रचण्ड दुबैले भित्रीरुपमा मिलेर आफूलाई गृहमन्त्रीबाट हटाउन चाहेको र प्रधानमन्त्री स्वदेश र्फकने दिन विद्यार्थीलाई उचालेर आइजीपीको राजीनामा माग्न लगाएको निश्कर्ष निकालेको स्रोत बताउँछ ।
प्रधानमन्त्री ओली राष्ट्र संघको महासभामा भाग लिन जानुअघि नै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डवीच गृहमन्त्री फेर्नेबारे छलफल भएको बुझाइ बादलको रहेको सूत्रहरु बताउँछन् । मन्त्री बादलको काम गराइसँग प्रधानमन्त्री पहिल्यैदेखि असन्तुष्ट रहँदै आएका छन् ।
उता विद्यार्थी संगठनभित्रै गृहमन्त्रीका छोरासँग राम्रो सम्बन्ध बनाएका केही नेताले चाहिँ आइजीपीको राजीनामा माग्ने निर्णयप्रति आपत्ति जनाएका छन् र यही प्रकरणले अखिलका नेताहरु समेत विभाजित बनेका छन् । विद्यार्थी नेताहरुवीच एकले अर्कालाई ‘मण्डले’ को आरोप लगाउने क्रमसमेत सुरु भएको छ, यही प्रकरणले ।

त्यसो त आइजीपी खनालको परफरमेन्सप्रति पनि प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् । चाहे त्यो भक्तपुरको फेक इन्काउन्टर होस् वा निर्मला पन्तका हत्यारालाई पक्रन नसकिएको घटना होस् । विदेश भ्रमणमा जान लाग्दा खनाललाई रोकिएको क्यानिनेटको निर्णयले पनि प्रधानमन्त्रीको असन्तुष्टि पुष्टि हुन्छ ।
तर, आइजीपी खनालको ‘स्ट्रेन्थ’ भनेको गृहमन्त्री रामबहादुर थापा बादल नै हुन् । त्यसपछि प्रचण्ड पनि सर्वेन्द्र खनालकै पक्षमा रहेको बताइन्छ ।
आइजीपी बन्नुअघिसम्म सेलिब्रेटीको पहिचान बनाएका खनाललाई बर्खास्त गर्नु वा हटाउनु अलोकप्रिय निर्णय हुने भएकाले यो पनि खनालको अर्को स्ट्रेन्थ हो । किनभने, उनलाई हटाउने हो भने गुण्डाराजको प्रभावमा परेको आरोप ओली सरकारमाथि लाग्न सक्छ ।
तथापि केपी ओली नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । काम गर्न नसकेको प्रहरी प्रशासनले हो । प्रहरी प्रशासनलाई नेतृत्व गर्ने गृहमन्त्रीले हो । अनि गृहप्रशासनले काम गर्न सकेन भने त्यसको अपजस प्रधानमन्त्री केपी ओलीको टाउकोमा जान्छ । यो स्थितिमा ओलीसँग दुईवटा विकल्प छन्ः या त प्रहरी प्रशासनलाई प्रभावकारीरुपमा परिचालन गर्नु, वा टीम फेर्नु ।
तर, गृहमन्त्री बादललाई हटाउन कानूनमन्त्री शेरबहादुर तामाङलाई हटाएजस्तो सहज छैन । उनी पूर्वमाओवादीभित्र प्रचण्डपछिको बलियो गुटका नेता हुन् । त्यसैले बादललाई हटाउँदा नेकपाभित्रको अन्तरविरोध जटिल बन्न सक्छ । यद्यपि बादलकै नेतृत्वमा गृह प्रशासन रहुञ्जेल ओली सरकारको परफरमेन्समाथि प्रश्न यथावत रहन सक्छ ।
सूत्रहरुका अनुसार बादलले यतिबेला रुक्माङगद कटवाल प्रकरणसमेत स्मरण गर्न थालेका छन् । त्यसबेला बादल रक्षामन्त्री थिए । सेनासँग उनले राम्रो सम्बन्ध बनाउन सकेनन् र असफल रक्षामन्त्री ठहरिए । अहिले पनि त्यस्तै ‘असफल गृहमन्त्री’ करार भइने हो कि भन्ने उनलाई डर छ ।
प्रहरी संगठनमा सर्वेन्द्र खनालको विकल्प खोज्नु भनेको गृहमन्त्रीको पद धरापमा पर्नु हो भन्ने बादलले बुझेको स्रोतको भनाइ छ । किनभने, आइजीपी खनालसँग सम्बन्ध बिग्रियो भने आफू कमजोर हुने बादलको आँकलन छ । खनालले पनि बादलसँग आफ्नो कामको लय मिलिरहेको बताउने गरेका छन् ।
त्यसो त बादलले आफू गुण्डा, सुन तस्कर, भ्रष्टाचारी, ठेकेदार र सिन्डिकेटधारीहरुको विपक्षमा रहेकाले आफूलाई घेराबन्दी गरिएको दाबीसमेत गर्ने गरेका छन् ।
गृहमन्त्री बादलले ईश्वर पोखरेललाई गृहमन्त्री बनाउनका लागि आफूलाई हटाउने खेल भइरहेको आशंका पनि आफू निकटस्थहरुसँग व्यक्त गरेका छन् ।
तर, अर्कोतर्फ देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको, सुन तस्करहरु पनि छुट्न थालेको, ठेकेदारमाथि कारवाही नभएको र यातायातको सिन्डिकेट पुन जागेको भन्दै सडकबाटै गृहमन्त्रीको राजीनामा समेत माग्न थालिएको अवस्था छ ।

विद्यार्थी नेताहरुको दाबी चाहिँ के छ भने त्यो ज्ञापनपत्रमा आइजीपीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग केपी ओली, प्रचण्ड वा अरु कसैको निर्देशनमा राखिएको हैन । निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको हुनाले प्रहरी नेतृत्वमाथि दबाव दिने उद्देश्यले मात्रै सो माग समावेश गरिएको हो । तर, यो मागलाई अदृश्य ठाउँबाट आएको षडयन्त्रका रुपमा नेताहरुले बुझेको देख्दा अनौठो लागेको अखिलका नेता बताउँछन् ।
बादलको दुःख ज्ञानेन्द्रको जस्तै !
पूर्वराजा ज्ञानेन्द्र शाहले छोरो पारस शाहका कारण जीवनमा धेरै दुःख पाए । अहिले गृहमन्त्री बादलको अवस्था पनि त्यस्तै छ । गृहमन्त्रीले आफ्नो छोरो प्रतीक थापालाई प्रमुख स्वकीय सचिव बनाएका छन् । तर, गृहमन्त्रालयमा काम लाग्ने क्षमता भएर होइन कि उनलाई ‘व्यवस्थापन गर्न’ बादलले मन्त्रालयमा भित्र्याएका हुन् ।
एक न नेताले छोरा भाञ्जा आदिलाई स्वकीय बनाउनु नै परिवारवादको भद्दा उदाहरण हो । लोकतन्त्रमा यो राम्रो अभ्यास होइन । अर्कोतिर मन्त्रीपुत्रले प्रहरीका हाकिमहरुलाई बारम्बार रक्सीका बोतल माग्ने र साँझमा भट्टीमा बसेर प्रहरीलाई हैरान बनाउने गरेको गुनासो यतिबेला नेपाल प्रहरीभित्र ‘ओपन सेक्रेट’ जस्तै बनिसकेको छ ।
महिला नेतृहरु रक्सी बन्द गर्ने अभियान लिएर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँछन् । गृहमन्त्री पनि मदिरा निशेधित क्षेत्र बनाउने प्रतिवद्धता जनाउँछन् । तर, समस्याचाहिँ मन्त्रीकै घरमा छ ।
स्रोतले भन्यो- गृहमन्त्री थापाले आफ्नो छोरालाई चाँडै सिंहदरबारबाट बाहिर निकालेनन् र प्रहरीहरुसँग रक्सीका बोतल माग्ने काम रोकनेनन् भने यसले उनी थप बदनाम हुने सम्भावना बढ्दै गइरहेको छ ।