Saturday, February 9, 2019

वीर अस्पतालमा क्यान्सरको उपचार अब अत्याधुनिक प्रविधिबाट भारतमा पनि तीन अस्पतालमा मात्रै भएको उपकरण नेपालमा पहिलोपटक

नयाँ पत्रिकाले लेख्छ। https://www.nayapatrikadaily.com/news-details/5703/2019-02-10
वीर अस्पतालमा क्यान्सरको उपचार अब अत्याधुनिक प्रविधिबाट

भारतमा पनि तीन अस्पतालमा मात्रै भएको उपकरण नेपालमा पहिलोपटक

२०७५ माघ २७ आइतबार ०६:३९:०० | काठमाडाैं
रेडियोथेरापी : वीरमा १० हजार, अन्यत्र २ लाख
क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ । भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो । 
२० वर्षपहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीलाई रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द भएको थियो । टोमोथेरापी नेपाल भित्रिएको तीन महिना भइसके पनि वीरमा बिग्रिएको कोबाल्ट हटाउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन । सोमबार कोबाल्ट हटाएर केही दिनमै टोमोथेरापी जडान गर्ने तयारी भइरहेको वीरका क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले बताए ।
अमेरिकी प्रविधियुक्त टोमोथेरापी ४० करोडमा खरिद गरिएको हो । ‘टोमोथेरापीले क्यान्सरको ट्युमरमा मात्रै विकिरण फाल्छ । एक बिरामीलाई थेरापी दिन १५ मिनेट समय लाग्छ,’ उनले भने, ‘वीरमा दैनिक ६५ जनासम्म क्यान्सरका बिरामीलाई सेवा दिनुपर्ने हुन्छ । यसकारण जनशक्ति नथप्दा भने सेवा प्रवाहमा समस्या हुन सक्छ ।’ 
सुरक्षाका लागि टोमोथेरापी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा राखिएको छ । भारतीय कम्पनी बिग्रिएको कोबाल्ट मेसिन लैजान तयार भएपछि उपकरण र जनशक्ति नेपाल आइसकेका छन् । मेसिन बोक्ने ट्रेन सोमबार वीरमा आइपुग्नेछ । रेडिएसनले असर गर्ने भएकाले कम्पनीले भारत नै लगेर कोबाल्ट नष्ट गर्न लागेको हो । 
वीरमा बर्सेनि १३ सय क्यान्सरका बिरामी 
देशकै पुरानो अस्पताल वीरमा बर्सेनि १३ सय क्यान्सरका बिरामी भर्ना हुने गरेको अस्पतालको रेकर्ड छ । यीमध्ये करिब ७ सयलाई रेडियोथेरापी दिनुपर्ने हुन्छ । उपचार सेवा सस्तो भएकाले विपन्न नागरिकका लागि वीर आकर्षणको केन्द्र बनेको छ । तर, कोबाल्ट बिग्रिएपछि वीरमा तीन हजारभन्दा बढी क्यान्सररोगीले सेवा पाउन सकेका छैनन् । बाहिर निजी अस्पताल तथा भारत गएर महँगो शुल्कमा उपचार गराउनुपर्ने बाध्यता रह्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरले टोमोथेरापी भिœयाउन चार वर्षदेखि पहल गरे पनि अस्पतालकै कर्मचारीका कारण रोकिएको थियो । अब नयाँ मेसिन प्रयोगमा आएपछि क्यान्सररोगीले वीरमा अत्याधुनिक सेवा प्राप्त गर्नेछन् । 
वीरमा १० हजारमा रेडियोथेरापी, अन्यत्र २ लाख
नेपालमा हाल भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौं क्यान्सर सेन्टरमा मात्रै रेडियोथेरापी सेवा उपलब्ध छ । तर, यी अस्पतालमा उपलब्ध उपकरण सामान्य खालका छन् । वीरमा प्रयोगमा ल्याउन लागिएको टोमोथेरापी विश्वकै अत्याधुनिक उपकरण हो । अहिले अन्य अस्पतालमा रेडियोथेरापीको शुल्क दुई लाखसम्म पर्ने गरेको छ । तर, वीरले १० देखि १५ हजारमा यो सेवा दिन सकिने जनाएको छ । विगतमा कोबाल्टबाट ५ हजारमा सेवा दिएको वीरले टोमेथेरापी अत्याधुनिक र महँगो भएकाले शुल्क केही बढ्ने जनाएको छ । क्यान्सरका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । यो थेरापीले ट्युमरको आकार घटाएर अप्रेसन सजिलो बनाउँछ । चिकित्सकहरूका अनुसार क्यान्सररोगीले सामान्यतः ५ देखि ७ हप्तासम्म रेडियोथेरापी सेवा लिनुपर्छ । 
प्रतिकृया दिनुहोस
 

No comments:

Post a Comment