Sunday, February 3, 2019

किसानको उखु बारीमै, भारतबाट ५० हजार क्वीन्टल आयात गर्न प्रस्ताव

https://www.kantipurdaily.com/business/2019/02/03/154919952108767444.html

किसानको उखु बारीमै, भारतबाट ५० हजार क्वीन्टल आयात गर्न प्रस्ताव

भारतीय किसानको खरिद गरिदिन भारतीय दूतावासबाट दबाब
राजु चौधरी
काठमाडौँ — नेपाली किसानले उत्पादन गरेको उखु बारीमै थन्किए पनि हिमालय सुगर मिलले भारतबाट उखु आयात गरी क्रसिङ गर्न प्रस्ताव गरेको छ । सिराहामा रहेको हिमालयले ५० हजार क्विन्टल उखु आयात प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पेस गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार मिलले भारतको मधुवनी भन्ने ठाउँबाट करिब २ दशकदेखि उखु आयात गर्दै आएको छ। कम्पनीले विगतमा भारतबाटै आयात गरिरहेकाले अहिले पन आयात गर्न पाऊँ भनेर पत्र पठाएको हो। सिराहा प्रशासनले मन्त्रालयसँग यो प्रस्तावको विषयमा राय मागेको छ।

‘सिराहा प्रमुख जिल्ला कार्यालयमा प्रस्ताव आएको रहेछ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘जिल्ला प्रशासनमार्फत कृषि मन्त्रालयमा प्रस्ताव आइपुगेको हो।’ किसानलाई समस्यामा पारेर आयात अनुचित हुने भन्दै कृषि मन्त्रालयले असहमति जनाउँदै जिल्ला प्रशासनलाई पत्र लेखेको छ।त्यसपश्चात् सिराहा प्रमुख जिल्ला अधिकारीले भन्सारमा साताअघि उखु रोकेको मन्त्रालयले जनाएको छ। ती अधिकारीका अनुसार भारतीय किसानको उखु रोकिएपछि मधुवनीमा हंगामा भएको थियो। त्यसपश्चात् भारतीय जिल्ला प्रशासन र सिराहा प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको थियो। छलफलको क्रममा हिमालयले नेपाली किसानको पनि खरिद गर्ने प्रतिबद्धता जनाएको थियो।

नेपाली किसानको उखु उपलब्ध भएजति किन्ने ग्यारेन्टी गरेपछि जिल्ला कार्यालयले पुन: आयात स्वीकृतिका लागि राय मागेको छ। जिल्ला अधिकारीले दोस्रो पटक कृषि मन्त्रालय, गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एकमुष्ठ सम्बोधन गरेर राय मागेको हो।

कृषिले आफ्नो राय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाइसकेको छ।‘जिल्ला कार्यालयले दोस्रो पटक राय/सुझावको लागि पत्र पठाएको छ,’ कृषिका ती अधिकारीले भने, ‘नेपाली किसानले भर्खर बिक्री सुरु गरेका छन्। सरकारले उखुको मूल्य पनि तय गरेको छ।किसानलाई मूल्य दिन उद्योग हिच्किचाइरहेको छ।' उनले भारतबाट पनि आयात गर्न भन्ने, किसानलाई समस्यामा पारेर आयात गर्नु अनुचित हुन्छ भनेर राय पठाएको बताए।

हाल केही नेपाली किसानले उखु काटेका छैनन्। उखु बिक्री गर्नेले पनिउचित मूल्यपाएका छैनन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोके पनि उद्योगीले कार्यान्वयनमा आलटाल गर्दै आएका छन्। उखु किसानलाई राहत दिन मन्त्रिपरिषद् बैठकले पुसमा न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ सय ७१ (सरकारी अनुदानबाहेक) तोकेको थियो। तर, चार उद्योगबाहेकले सरकारी मूल्य कार्यान्वयन गरेका छैनन्। ५ उद्योगले खरिद प्रक्रिया सुरु नै गरेका छैनन्।

जानकारका अनुसार भारतले कृषिमा धेरै अनुदान दिन्छ। अनुदानकै कारण भारतमा उत्पादित कृषि वस्तु सस्तो हुन्छ। सस्तोमा उत्पादन भएको उखु आयात गरी क्रसिङ गर्दा धेरै फाइदा हुन्छ। भारत र पाकिस्तानबाट सस्तोमा आयात भएको जनाउँदै केही महिनाअघि उद्योगीहरूले चिनी आयातमा बन्देज लगाउन माग गर्दै आएका थिए।

उद्योगीहरूकै पहलमा सरकारले चिनी आयातमा बन्देज गरेको छ। तर, अहिले पुन: चिनी उद्योगले उखु आयातको लागि प्रस्ताव गरेको हो। ‘२० वर्षदेखि भारतबाट उखु आयात गर्दै आएका उद्योगले अनुदान पनि लगिरहेका छन्। विगतका वर्षमा भ्याट फिर्ता पनि लगेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने।

कृषि सचिव युवकध्वज जिसीले आयातका लागि निवेदन आएको पुष्टि गरे। ‘उखु आयात गरेर पेल्न पाउनुपर्ने माग आएको छ,’ उनले भने, ‘पहिला नेपाली किसानको उखु किन्न पर्‍यो। नेपालीको क्रसिङ सकेपछि बजारको मागअनुसार अपुग भए उद्योग वाणिज्य मन्त्रालयको स्वीकृतिमा मात्रै अन्य मुलुकबाट आयात गर्न पाइन्छ। आयात स्वीकृति दिने/नदिने उद्योग मन्त्रालयले निर्णय गर्छ।’

वाणिज्य सहसचिव रविशंकर सैजुले उखु आयातको सन्दर्भमा कृषिले सहमति दिएमात्रै निर्णय हुने बताए। ‘उत्पादन/खपतको आधारमा कृषि मन्त्रालयको सुझावमा मात्रै निर्णय हुन्छ,’ उनले भने। हिमालय सुगर मिल नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालको हो। अग्रवालले स्वदेशमा अभाव हुँदा भारतबाट आयात गर्ने गरिएको बताए। ‘सीमा नजिकै पर्ने भएकाले स्वदेशमा अभाव हुँदा त्यहींबाट आयात हुन्छ। आयात नहुँदा पनि समस्या पर्दैन,’ अध्यक्ष अग्रवालले भने, ‘नेपाली उखु खरिद गर्ने ग्यारेन्टी गरेका छौँ।’

भारतीय किसानको उखु रोकिएपछि समस्या परेको अग्रवालले बताए। भारतीय किसानले काठमाडौँस्थित दूतावासलाई यसबारे जानकारी गराएको उनले बताए। दूतावासले पनि मन्त्रालयलाई फोन गरेर आयात गर्न स्वीकृति दिन अनुरोध गरेको उनले बताए। ‘उन्नत जातको बीउको लागि पनि भारतबाट आयात गर्नुपर्छ,’ उनले भने। प्रकाशित : माघ २०, २०७५ १८:५७

No comments:

Post a Comment