Thursday, February 14, 2019

कोदो किन खाने ?

http://www.aarthikdainik.com/news_details/22240//22240/कोदो-किन-खाने-%3F.html

कोदो किन खाने ?

शान्ता सुवेदी
कोदोमा जति शक्ति अरु अन्नमा हुँदैन भन्ने कमै मान्छेलाई मात्रै थाहा होला । थाहा पाएको भए कोदोलाई हेलाको अन्न मान्ने थिएनन् । पहिला–पहिला मात्र होइन अहिले पनि कोदोलाई गरिबको अन्न मान्ने र कोदो खानेलाई हेला गर्ने मानसिकता व्यप्त छ । कतिपयलेत कोदोलाई कुअन्न पनि मान्दछन् । वास्तवमा तिनीहरु ठूलो भ्रममा छन् । किनभने कोदो कुअन्न पनि होइन र कोदो गरिबको अन्न पनि होइन र स्वयं कोदो गरिब अन्न होइन । बरु कोदो आफैँमा सम्पन्न अन्न हो । यस मानेमा सम्पन्न अन्न हो कि कोदो आफैँ धेरै तत्व भएको अन्न हो । अर्थात् कोदोमा अरु अन्नको तुलनामा धेरै उपयोगी खाद्य तत्वहरु पाइन्छ । जस्तो कि कोदोमा गहुँमा भन्दा झण्डै ९ गुणा बढी र मकै र धानको चावलमा भन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ । त्यस्तै कोदोमा मकैमा भन्दा ३ दशमलव ७ प्रतिशत गुणा, गहुँमा भन्दा १ दशमलव ५ प्रतिशत गुणा र चावलमा भन्दा २ दशमलव ३ प्रतिशत गुणा बढी आइरन पाइन्छ ।
कोदोमा प्रसस्त मात्रामा फाइबर हुन्छ अर्थात् कोदो फाइबरले भरिपूर्ण भएको अन्न हो । साथै कोदोमा विभिन्न किसिमका भिटामिन पनि पाइन्छ । त्यस्तै कोदोमा लेसितिन उच्च मात्रामा पाइन्छ । जसले स्नायु प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । यसको अलावा कोदोमा प्रशस्त मात्रामा पोलिफेनल्स, ट्यानिन, फाइटोस्टेरोल्स समेत पाइन्छ । कोदो फाइदाकारी एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । त्यति मात्र होइन कोदो म्याग्नेसियम, फोस्फोरस र पोटासियमसमेतको राम्रो स्रोत हो । कोदो ऊर्जा तथा खनिजको राम्रो स्रोत पनि हो । अनेक अनुसन्धानले यो पनि देखाएको छ कि कोदोमा रेसिस्टेन्ट स्टार्च, ओलीगोसेकेराइड, लिपिड, फनोलिक एसिड, एवेनथ्राम्रामाइड्स, फलेभोन्वाइड्स, लिग्नस् तथा फाइटेस्टेरोल जस्ता अनेक पोषक तत्वहरु पाइन्छ । यति धेरै उपयोगी तत्व भएको कोदोको सेवनले मानव शरीरलाई बलियो मात्र बनाउने होइन कि धेरै रोगबाट बचाएर स्वास्थ्य जीवन जिउनसमेत मद्दत गर्दछ । कोदोको नियमित सेवन गर्नेहरुलाई मधुमेह लाग्ने सम्भावना कम हुनुको साथै लागेकाहरुलाई पनि फाइदा दिने अनेक अनुसन्धानले प्रमाणित गरेको पाइन्छ । त्यसको अलावा गर्भवतीहरु, बालबालिकाहरु तथा रक्तचापका बिरामीहरुलाई समेत कोदो खानाले फाइदा दिने अनुसन्धानकर्ताहरु बताउँछन् ।
कोदोको नियमित उपयोगले गर्नाले मुटुरोग लाग्ने सम्भावना कम भएर जाने तथ्य बाहिर आएको छ अनेक अनुसन्धानमार्फत । कोदोमा म्याग्नेसियम अत्यधिक हुने भएकोले यसले रक्तचाप कमगराउन र मुटुको स्ट्रोकको जोखिमलाई समेत कम गराउँदछ । कोदोमा भएको पोटासियमले सानो रक्तवाहिनीलाई ठूलो पारेर रक्तचाप कम गर्नलाई सहयोग गर्नुको साथै रक्तनलीसम्बन्धीका जोखिमलाई समेत कम गर्दछ । कोदो नियमित खाने गरेमा कतिपय प्रकारका क्यान्सर लाग्ने सम्भावना पनि कम हुने अनेक अनुसन्धानले बताएका छन् । कोदोको नियमित सेवनले स्तन क्यान्सरको सम्भावनालाई पर धकेलिदन्छ । कोदो खाइरहने मानिसको पाचन प्रणाली बलियो भएको पाइएको छ । कोदोको नियमित सेवन गर्नेहरुको कोदोले शरीरबाट विषाक्तता हटाएर शुद्धीकरणमा सहयोग दिन्छ । कोदोको सेवलले श्वासप्रश्वासको जोखिम कम गराउँछ । यसले श्वासप्रश्वाससम्बन्धी रोगलाग्नबाट बचाउन प्रतिरोध क्षमता बढाउँछ । यसले मांशपेसी तथा नशासम्बन्धी प्रणालीको सुधारमा समेत योगदान दिन्छ । कोदोले पार्किन्सन रोगमा समेत योगदान दिने अनेक अनुसन्धाने फेला पारेको पाइएको छ ।
कोदो खाने बालबालिको हाड र दाँत बलियो हुन्छ । साथै बालबालिकामा कुपोषण पनि हुँदैन । कोदो खानाले तागत बढ्छ । यसले कोलेस्ट्रोल हुन दिँदैन । यसले नराम्रो कोलेस्ट्रोललाई घटाउँछ । कोदो नियमित खाएमा कब्जियत हुनबाट बचिन्छ साथै रक्तअल्पताबाट पनि बचिन्छ । कोदो खानेहरुको शारीरिक तौल नियन्त्रित र सन्तुलित हुन्छ । रोग प्रतिरोध क्षमता बढाउने कोदोले मर्गाैला र कलेजोको रोग लाग्नबाट पनि बचाउँछ । कोदो खाइरहनेहरुमा पत्थरी हुने सम्भावना कम हुन्छ । फलफूल र सागसब्जी जस्तै पोषक तत्व भएको कोदो खाइरहने हो भने छाला पनि चिल्ले र निद्रा पनि राम्रो लाग्छ । कोदोले शरीरमा ऊर्जा धेरै दिन्छ । कोदो खाने आमा भएका महिलाहरुको दुध राम्रोसँग आउँछ र बच्चाहरु निरोगी र बलिया हुन्छन् । जेठी फुपूले सीता खाने भित्ता लाग्छ ढिँडो खाने जोधाहा त्यसै भनेको होइन रहेछ ।
यति धेरै तत्व भएको कोदो जस्तो गुणकारी सुअन्नलाई कुअन्नको र हेलाको दर्जा दिनु विडम्बा नै हो । कोदोको चेतना जगाउनु बढीभन्दा बढी मान्छेलाई कोदो खाने बनाउनु र बढीभन्दा बढी किसान र व्यवसायीहरुलाई कोदो उत्पादनमा लगाउनु नेपालको राष्ट्रिय आवश्यकता हो भन्दा अत्युक्ति हुँदैन । किनभने कोदो जनस्वास्थ्यसँग जोडिएको छ । जनतालाई स्वास्थ्य राख्ने वा स्वास्थ्य सेवा दिने काम सरकारको हो । सरकारको यो कामलाई कोदोले सहयोग गर्दछ । सरकारले आफ्नो सहयोगीलाई अघि बढाउनु पर्ने होइन र ? सरकारले कोदो उत्पादन बढाउन किसानहरुलाई उत्प्रेरित गर्नुपर्छ अनुदान र तालिम दिनुपर्छ । बजार र बिक्रीमा सहजीकरण गर्दिनुपर्छ । धान, मकै, गहुँ पछि चौंथो बढी उत्पादन हुने बालीमा कोदो नै पर्दछ नेपालमा । तर यसको सदुपयोग भन्दा दुरुपयोग नै बढी छ । कोदोको ठूलो परिमाण जाँड–रक्सी बनाएर सकिने गरेको छ ।
हामी सानो हुँदा कोदोसम्बन्धी गीत गाएको सम्झना छ । कोदो रोप्न सारो छ अनिकालमा फारो छ । कोदो धान जस्तो छिटो रोपिँदैन । एउटा–एउटा गरेर रोप्नुपर्ने भएकोले कोदो रोप्न सारो छ भनेको हुनुपर्छ । र धेरै पौष्टिक तत्वहरु भएकोले थोरै खाए पनि प्रसस्त क्यालोरी प्राप्त हुनाले अनिकालमा फारो छ भनेको हो । कोदो धेरै प्राचीन खाद्यबालीमा पर्दछ । कोदो १०–१२ वर्षसम्म पनि बिग्रदैन । अर्थात कोदाको बीउ दश बार वर्षसम्म पनि सुरक्षित राख्न सकिन्छ । कोदोको खेतीलाई अरु बाली जस्तो धेरै जल, मल पनि चाहिँदैन । कोदोमा रोग पनि कम लाग्छ । कोदो आफैँमा रोग प्रतिरोधी क्षमता भएको बाली हो । त्यसैले कोदो बालीमा विषादी आदिको जरुरत पर्दैन । यस हिसाबले हेर्दा पनि कोदो उच्चस्तरको अर्गानिक खाद्य पदार्थ हो । नेपालमा मात्रै दुई सयभन्दा धेरै प्रकारका स्थानीय जातका कोदोहरु पाइन्छन् ।
यसको बीउ घर घरमा सुरक्षित राखिने परम्परा छ । तर बढ्दो सहरीकरणले यो क्रम घट्दो छ । नेपालमा हाल करिब २ लाख ६० हजार हेक्टरमा कोदोको खेती भएको छ । नेपालमा वार्षिक करिब तीन लाख पन्ध्रहजार मेट्रिक टन कोदो उत्पादन भएको पाइन्छ । नेपालमा कोदो बाली लाग्नेमध्ये कुल क्षेत्रफलको ७५ प्रतिशत जग्गा मध्य पहाडी क्षेत्रमा पर्छ । कोदो उत्पादन बढाउन यसमा अनुसन्धान र अनुदानमा लगानी बढाउनुु पर्दछ । कोदोको व्यावसायिक उत्पादन बढाउन ढिलो गर्नु हुँदैन । कोदो उत्पादन र खपत बढाउन आधुनिकीकरण र वैज्ञानिकीकरण गर्न ढिलो भइसक्यो । आम रुपमा कोदोको ढिँडो खाने चलन छ । गाउँघरमा ढिँडो बाध्यताले खान्छन् भने सहरमा सोखले ।
सोखले खानेहरु होटल रेष्टुरामा गएर खान्छन् । गाउँघरतिर कोदोको खोले पनि खान्छन् । यता पछिल्ल दिनमा कोदोका विभिन्न परिकारहरु समेत बजारमा पाइन थालेको छ । कोदोको रोटी त पहिलादेखि नै खाइदै आएको हो । पछिल्ला समय यता कोदोको पिठोबाट मम समेत बनाउन थालेको पाइन्छ । यसको बिक्रीसमेत हुन थालेको छ । साथै कोदाके बिस्कुट, मिठाई, केक आदिसमेत बनाएर बजारमा बेच्न थालिएको पनि छ । जे बनाएर खाए पनि कोदो भान्सामा पाक्नुप¥यो, थाल, कचौरा वा डबकामा पस्किएको हुुनुप¥यो । कोदो खाएर तपाईं निरोगी भइरहनु होस् । कोदोको खेती गरेर किसानहरुलाई पनि आम्दानी भइरहोस् । सरकार र निजी क्षेत्रको पनि कोदो उत्पादन बढाउनेमा सबै किसिमले ध्यान जाओस् ।

No comments:

Post a Comment