Wednesday, February 13, 2019

अख्तियारको नियन्त्रणबाट भागेका असई भेटिए

https://www.onlinekhabar.com/2019/02/741939

अख्तियारको नियन्त्रणबाट भागेका असई भेटिए

१ फागुन, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणबाट मंगलबार भागेका महोत्तरीका प्रहरी सहायक निरीक्षक (असई) सम्पर्कमा आएका छन् ।
घुस रकमसहित पक्राउ परेपछि भागेका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेली बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयमा सम्पर्कमा आएका हुन् ।
उनी आफै सम्पर्कमा आएका कार्यालयले जनाएको छ । अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि असई साह रकमसहित भागेका थिए ।
मंगलबार साहसँगै स्थानीय सःमिल सञ्चालक दिनेश साह पनि पक्राउ परेका थिए । घटनालगत्तै स्थानीय वासिन्दाले हुलहुज्जत गरी सः मिल सञ्चालक साहलाई अख्तियारको टोलीबाट छुटाउन खोज्दा असई साह पनि भागेका हुन् ।
सो क्रममा अख्तियार टोलीका ३ जना घाइते भएको बर्दिवास स्थित अख्तियारको कार्यालयले जनाएको छ । घाइतेहरुको नाम भने खुलाइएको छैन ।
भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गर्ने भनी असई साहले सेवाग्राहीसँग घुस लिएका थिए । असई साहले सेवाग्राहीसंग घुस लिएर भन्सार छलीको सामान ल्याउन सहयोग गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।
https://www.nayapatrikadaily.com/news-details/6044/2019-02-13

अख्तियारले समातेका असइ स्थानीयको सहयोगमा फरार

२०७५ फाल्गुण १ बुधबार १०:५८:०० | महोत्तरी
सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका नेपाल प्रहरीका असइ रामनरेश साह फरार भएका छन् । औरही नगरपालिका–१ स्थित जलेश्वर बर्दिवास सडकखण्डको औरही चोकमा रहेको प्रहरी बिटनजिकैबाट अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको थियो । 
पक्राउपछि प्रहरी कार्यालयतर्फ लैजान लाग्दा केही स्थानीयले अवरोध गरेका थिए । सोही मौकामा असइ साह फरार भएका हुन् । उनलाई भगाउन स्थानीय फर्निचर व्यवसायी दिनेश साहले मद्दत गरेका थिए । असइ साहले घुसबापत लिएको रकम तिनैलाई राख्न दिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि जनपद र सशस्त्र प्रहरीेको टोलीले दुवैको खोजी सुरु गरेको छ । नियन्त्रणमा लिइसकेका असइ साह कसरी फरार हुन सफल भए भन्नेबारे अख्तियारले भने कुनै प्रतिक्रिया जनाएको छैन । 
घटनालगत्तै प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा सुरक्षा संयन्त्रको बैठक बसेको थियो । बैठकले घटनाको वस्तुस्थितिबारे जानकारी लिएको छ । यता, नयाँ पत्रिकासँग कुरा गर्दै प्रजिअ ढकालले आरोपी असइको व्यापक खोजी भइरहेको बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले व्यापक खोजी गरिरहेको छ,’ प्रजिअ ढकालले भने, ‘घटनास्थलमा अख्तियार र प्रहरीको टोली परिचालन गरेर घटनाबारे बुझ्ने काम भइरहेको छ ।’
अख्तियारको कारबाहीमा स्थानीयले गरेको अवरोधबारे औरही नगरपालिकाका प्रमुख सुनीलकुमार यादवले आपत्ति जनाएका छन् । प्रहरी र अख्तियारको कारबाहीमा स्थानीयले अवरोध गर्दा भ्रष्टहरूलाई नै सजिलो हुने भन्दै उनले के कति कारणले स्थानीयले अवरोध उत्पन्न गरेका हुन् भन्नेबारे बुझिरहेको बताए ।

No comments:

Post a Comment