Tuesday, February 19, 2019

ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रूपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने

https://www.karobardaily.com/news/economy/16423
ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रूपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो । दुई वर्षअघि नेपाली नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन । नेपाल आयल निगमका अनुसार ग्यास ढुवानीबापत २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । अहिले ६ सय ५० भन्दा बढी भारतीय नम्बर बुलेटबाट ग्यास ढुवानी आएको छ । बरौनीदेखि काठमाडौंसम्म प्रतिसिलिन्डर ८२ रुपैयाँ ढुवानी खर्च लाग्ने गर्छ । एक बुलेटबाट १ हजार २ सय ५० सिलिन्डर भरिने गर्छ ।
१८ मेट्रिक टन ग्यास हुने एक बुलेटबाट १ हजार २ सय ५० सिलिन्डर तयार हुन्छ । यही दररेटमा भारतीय ढुवानी व्यवसायीले बुलेट प्रयोग गरेबापत नेपालबाट बर्सेनि २ अर्बभन्दा बढी रकम बाहिर लाने गरेका छन् । नेपाली नम्बरका बुलेटले ग्यास ढुवानी गर्न पाए सो रकम बचत हुने ग्यास उद्योगी बताउँछन् ।
नेपाली उद्योगीको लगानीमा तयार भएका ५३ वटा ग्यास बुलेट भारतले ढुवानीका लागि अनुमति नदिँदा लामो समयदेखि भारतमै अलपत्र परेका छन् । उद्योगीले आफ्नो लगानीमा ७ सय ७५ वटा बुलेट निर्माण गर्ने अनुमति पाएका थिए । सो अनुसार भारतीय बुलेट बनाउने कम्पनीलाई निर्माणको जिम्मा दिएका थिए ।
नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले निर्माण भइसकेका नेपाली नम्बरका ग्यास बुलेट भारतमै अलपत्र भएको बताए । तयार भएका ग्यास बुलेट सञ्चालन गर्न अनुमति नपाउँदा उद्योगीको लाखौं रुपैयाँ जोखिममा परेको छ, उनले भने, “अलपत्र अवस्थामा रहेका ग्यास बुलेट जतिसक्दो सञ्चालन गर्नका लागि सरकारी तवरबाट पहल गरिनुपर्छ ।” ५३ वटा नेपाली नम्बरका ग्यास बुलेट तयार भइसकेका छैन । दुइटा बुलेट नेपालमा भित्रिएका र १५ वटा भन्सार रोकिएर राखिएका छन् । उद्योगीले पटक–पटक रोकिएका बुलेट छुट्ट्याउनका लागि सरोकारवाला निकायमा पत्राचार गरे पनि अहिलेसम्म छुट्न सकेको छैन । बुलेट छुटाउने विषयमा छलफल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिए ।
यसैबीच, जनवरी महिनामा ४० हजार मेट्रिक टन ग्यास आयात भएको थियो । डिसेम्बर महिनामा मात्र ४० हजार ९ सय ५ मेट्रिक टन ग्यास आयात भएको थियो । बजारमा ग्यासको खपत बर्सेनि १५ प्रतिशतले बढ्दै गएको छ । सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा ग्यासको प्रयोग बढ्दै गएकाले ग्यासको प्रयोग बढ्दै गएको हो ।
यस्तै अक्टोबर महिनामा ३४ हजार ३ सय ३३ , सेप्टेम्बर महिनामा ३३ हजार दुई सय २८ मेट्रिक टन ग्यास आयात भएको छ । यस्तै अग्रष्ट महिनामा २६ हजार ७ सय ४६, जुलाईमा २८ हजार ६ मेट्रिक टन आयात भएको छ । जुनमा २१ हजार ९ सय ५३, मेमा २७ हजार ४ सय ४०, अप्रिल महिनामा २८ हजार ९ सय ७२ मेट्रिक टन ग्यास आयात भएको छ । यस्तै मार्चमा ३३ हजार ३ सय ७८, फेब्रअरीमा २६ हजार एक सय ७४ र जनवरी महिनामा ३५ हजार ३ सय ५७ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्यांकले देखाएको छ ।

No comments:

Post a Comment