Sunday, February 3, 2019

विद्यार्थीलाई छल गरेको भन्दै भारत अमेरिकासँग रुष्ट

https://www.kantipurdaily.com/world/2019/02/03/1549206729272586.html

विद्यार्थीलाई छल गरेको भन्दै भारत अमेरिकासँग रुष्ट 

नक्कली विश्वविद्यालय खडा गरेर त्यसमार्फत अमेरिका प्रवेश गरेका भारतीयलाई नियन्त्रणमा लिएपछि भारतको विरोध
रोयटर्स
नयाँदिल्ली/वासिङटन — अमेरिकाको एक नक्कली विश्वविद्यालयमा भर्ना भएका १२९ भारतीय विद्यार्थीलाई नियन्त्रणमा लिइएपछि भारतले कूटनीतिक विरोध जनाएको छ ।अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालय (होमल्यान्ड सेक्युरिटी) का गुप्तचरहरूले ‘पे–टु–स्टे’ भनिने आप्रवासन सम्बन्धी गलत कार्य पत्ता लगाउन नक्कली विश्वविद्यालय खडा गरेका थिए ।
कागजमा सीमित फर्मिङ्टन विश्वविद्यालय मिसिगन राज्यमा रहेको भनी विज्ञापन गरिएपछि विभिन्न देशका विद्यार्थीले अध्ययनका लागि भर्ना गरेका थिए ।

अभियोजकहरूले विद्यार्थीलाई विश्वविद्यालय अवैध हो भन्ने पहिले नै जानकारी भए पनि भर्ना भएको दाबी गरेका छन् । यद्यपि भारतीय अधिकारीले विद्यार्थीलाई छल गरिएको आरोप लगाएका छन् ।

अमेरिकामा भारतीय विद्यार्थी पक्राउ परेपछि गम्भीर चासो देखाउँदै भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित अमेरिकी दूतावासमा उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रह गर्दै कूटनीतिक विरोध जनाएको छ ।

‘हामीले नियन्त्रणमा रहेका विद्यार्थीको मर्यादा र अवस्थाबारे चिन्ता व्यक्त गर्दे उनीहरूलाई कन्सुलर पहुँच दिन आग्रह गरेका छौं,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।
भारतले थुनामा रहेका सबै विद्यार्थीको पूर्ण विवरण उपलब्ध गराउन माग गर्दै विश्वविद्यालयमा भर्ना गर्ने नाममा विद्यार्थीमाथि छल भएको भन्दै घटनामा दोषीलाई कारबाहीको समेत माग गरेको छ ।

भारतीय सञ्चार माध्यमले अमेरिकास्थित भारतीय दूतावासमा हिरासतमा रहेका विद्यार्थीबारे चिन्तित आफन्तले सम्पर्क गर्न टेलिफोन हटलाइनको व्यवस्था गरिएको जनाएको छ । नयाँदिल्लीस्थित अमेरिकी दूतावासले भारत सरकारको कूटनीतिक पत्र प्राप्त गरेको पुष्टि गरेको छ तर उक्त पत्रबारे दूतावासले कुनै टिप्पणी गरेको छैन ।

केही अध्यागमन वकिलहरूले अमेरिकी सरकारले केही निर्दोष विदेशी विद्यार्थीहरूलाई जालमा पारेकामा आफू विश्वस्त रहेको बताएका छन् । एट्लान्टास्थित अध्यागमन वकिल रभि मन्नमले ‘विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको आश्वसनमा ल्याएर जालझेल गरिएको’ जनाए ।

अमेरिकी अधिकारीहरूले गरेको यस किसिमको अभियान पहिलो भने होइन । सन् २०१६ मा २१ जना मानिस यसरी नै नियन्त्रणमा लिइएका थिए । तीमध्ये कोही चिनियाँ र कोही भारतीय थिए । फर्मिङ्टन विश्वविद्यालयको वेबसाइटमा कक्षामा पढिरहेका विद्यार्थी, पुस्तकालय तथा विश्वविद्यालय परिसरको चौरको तस्बिर राखिएको थियो ।

स्नातक तहका विद्यार्थीका लागि वार्षिक ११ हजार डलर र स्नातकभन्दा तल्लो तहका विद्यार्थीका लागि ८ हजार ५ सय डलर टयुसन फी तोकिएको थियो । त्यसैगरी, विश्वविद्यालयले आफ्नो फेसबुक पेजमा क्यालेन्डरसहितको विवरण उल्लेख गरेको थियो तर विश्वविद्यालयका कर्मचारी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आईसीई) का गोप्य एजेन्ट रहेको समाचार सार्वजनिक भएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार विद्यार्थी भिसामा अमेरिका आएर त्यहीं बसिरहन चाहने विदेशीलाई समात्ने उद्देश्यले सन् २०१५ मा नक्कली विश्वविद्यालय खडा गरिएको थियो ।
मिसिगन राज्यको एक अदालतमा दर्ता भएको अभियोगका अनुसार ती विद्यार्थीलाई उक्त योजना गैरकानुनी हो भन्ने जानकारी थियो तर विदेशी नागरिकले सो विश्वविद्यालय अमेरिकामा बसिरहनका लागि तिर्ने ‘पे–टु–स्टे’ योजनाका लागि प्रयोग गर्दै आएको अभियोजन कर्ताले बताएका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार हिरासतमा रहेकामध्ये धेरैजसो भारतीय नागरिकलाई भारत फर्काइँदै छ । प्रकाशित : माघ २०, २०७५ २०:५७

No comments:

Post a Comment