Thursday, March 9, 2017

इन्धन आयातसम्बन्धी नयाँ सम्झौताको मस्यौदा : तेस्रो मुलुकबाट पनि इन्धन आपूर्ति

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/94356

फागुन २६, 2073 काठमाडौं । इन्धन आयातको क्रममा लागू हुने खरीद सम्झौताको समयावधि सकिनै लाग्दा भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगमबीच नयाँ सम्झौताको मस्यौदा तयार भएको छ । दुई निगमबीचको ५ वर्षअघि भएको सम्झौताको म्याद मार्चसम्म मात्र छ । नयाँ सम्झौताको मस्यौदामा पनि नेपालले भारतबाटै शतप्रतिशत तेल खरीद गर्नुपर्ने प्रावधान रहेको छ । तर, कुल मागअनुसारको तेल आईओसीले दिन नसकेको खण्डमा भने नेपालले तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने पनि नयाँ सम्झौताको मस्यौदामा राखिएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई आईओसीले तेस्रो मुलुकबाट पनि इन्धन आपूर्तिका लागि सहमति दिएको हो ।
यस्तै नेपालले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएको खण्डमा ‘नो अब्जेक्शन’का साथै प्रशोधनसमेत गरिदिने व्यवस्था पनि सो मस्यौदामा रहेको निगमले बताएको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल खरीद गरेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय पनि सम्झौतामा उल्लेख भएको बताइएको छ । नेपालले कच्चा तेल खरीद गरेको स्थितिमा भारतले भाडामा आफ्नो रिफाइनरीसमेत प्रयोग गर्न दिने व्यवस्था मस्यौदामा भएको निगमका वितरण विभागका प्रमुख सीताराम पोखरेलले बताए । साथै नेपाल आयल निगमले नेपालमा नै रिफाइनरीे सञ्चालन गरेमा तेस्रो मुलुकबाट कच्चा तेल ल्याउन कुनै ‘अब्जेक्शन’ नगर्ने सहमतिसमेत भएको पोखरेलले जानकारी गराए ।
दुवै निगमका उच्च अधिकारीहरूबीच ३ दिनसम्म भएको लामो छलफलपछि सम्झौतालाई अन्तिम रूप दिइएको निगमले जानकारी दिएको छ । सम्झौताको मस्यौदामा नेपालमा रिफाइनरी सञ्चालन गर्न हालको नयाँ सम्झौताले कुनै पनि बाधा नपुर्‍याउनेसमेत उल्लेख गरिएको स्रोतले बतायो । पोखरेलका अनुसार सम्झौताको मस्यौदामा भारतले नेपालको मागको शतप्रतिशत तेल उपलब्ध गराउनुपर्ने  व्यवस्था छ । आगामी ५ वर्षका लागि इन्धन खरीद सम्झौता नवीकरण गर्ने विषयलाई अन्तिम रूप दिइएको स्रोतले बताएको छ । यही अप्रिल महीनादेखि लागू हुने नयाँ सम्झौता सन् २०२२ मार्च ३१ तारीखसम्म लागू हुने आयल निगमले जानकारी गराएको हो ।    
इन्धनमा नाफाको मात्रा कम गर्ने
निगमका अनुसार आईओसीले नेपाललाई बेच्ने इन्धनमा नाफाको मात्रा घटाउने विषय पनि नयाँ सम्झौताको मस्यौदामा उल्लेख छ । नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा २ दशमलव ५ प्रतिशत नाफा राख्दै आएको आईओसीले शून्य दशमलव ५ प्रतिशत घटाएर २ प्रतिशत कायम गर्ने भएको छ । यसबाट नेपालको वार्षिक १ अर्ब रुपैयाँ जोगिने निगमको अनुमान छ । नाफाको मात्रा घटेपछि भारतबाट आयात हुने इन्धन केही सस्तो हुने स्रोतले बताएको छ ।

 

No comments:

Post a Comment