Thursday, March 9, 2017

अब मृगौला प्रत्यारोपण नि:शुल्क -

कान्तिपुर संवाददाता , काठमाडौं   पत्र पत्रिका बाट  -साभार 
http://kantipur.ekantipur.com/news/2017-03-09/20170309211554.html

फाल्गुन २६, २०७३- सरकारले २०७४ सालदेखि सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण नि:शुल्क गर्ने घोषणा गरेको छ ।
विश्व मृगौला दिवसका अवसरमा बिहीबार मानव अंग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले खुलामञ्चमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले उक्त घोषणा गरेका हुन् । यसका लागि आवश्यक नीतिगत व्यवस्था र आर्थिक स्रोत सुनिश्चिततासमेत भइसकेको उनले बताए । नि:शुल्क प्रत्यारोपणका लागि कर कोषबाट आएको ५० करोड रुपैयाँलाई उपयोग गरिने उनको भनाइ थियो ।
नि:शुल्क प्रत्यारोपणपछि बिरामीले जीवनभर खानुपर्ने अत्यन्त महँगो औषधि पनि सरकारले सस्तोमा उपलब्ध गराउने तयारी गरेको छ । यसका लागि विदेशीहरूसँग सहमतिका आधारमा मुलुकमा सस्तो मूल्यमा औषधि भित्र्याइने उनले बताए । यस्तै नि:शुल्क डायलासिस सेवाको विस्तार काठमाडौंबाहिरका अस्पतालमा भइरहेको उनले जानकारी दिए ।
मोटोपनाले गर्दा हाल नेपालीमा मृगौला फेल हुने जोखिम सात गुणासम्म बढेको उल्लेख गर्दे मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्य चिकित्सक पुकारचन्द्र श्रेष्ठले आधुनिक जीवनशैली, नसर्ने रोगको बढदो उपस्थितिले मृगौला स्वास्थ्यलाई धेरै प्रभावित गरेको बताए । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भेन्डलरले मुलुकमा एक चौथाइसम्म मोटोपना रहेकाले स्वस्थ जीवनशैली, उचित खानपान र शारीरिक सक्रियता बढाउनुपर्ने बताए । विश्वभरि ८ देखि १० प्रतिशत व्यक्ति कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित छन् । नेपालमा ३० लाख व्यक्ति मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब तीन हजारको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ ।

No comments:

Post a Comment