Sunday, July 8, 2018

वैभवशाली सहर ‘दुबर्इ’ : कसरी पुगिन्छ, कति लाग्छ खर्च ?

http://www.nayapatrikadaily.com/2018/07/07/69412/   
वैभवशाली सहर ‘दुबर्इ’ : कसरी पुगिन्छ, कति लाग्छ खर्च ?
आकाश छुने मानवनिर्मित संरचनाहरूको सहर हो दुबई । उजाड तातो मरुभूमि, जंगली घाँस र खजुर (छोकडा)का बोटले घेरेको यो सहरले हरपल तपाईंलाई आश्चर्यचकित पार्छ । यहाँ बनेका संरचना हेर्दा प्रश्न गर्न मन लाग्छ, तीन दशकभित्र मान्छेले नै यी सबै संरचना बनाएका हुन् ?
गहिरा नीला समुद्र, रोमाञ्चक मरुभूमिको यात्रा, झिलीमिली प्रकाश, आश्चर्यचकित पार्ने गगनचुम्बी भव्य महल, स्वादिला परिकार… यस्ता धेरै चिज छन्, जो पर्यटकलाई दुबईतिर आकर्षित गर्छन् । यसको चमकधमकबाट आज पूरै दुनियाँ लाभ लिन चाहन्छ । त्यसैले त युरोप, अमेरिका, एसिया वा अफ्रिकाका मानिसलाई आफूतिर लोभ्याइरहेको छ, दुबईले ।
संयुक्त अरब इमिरेट्समध्येको एक इमिरेट हो ‘दुबई’ । लिखित दस्तावेजहरूमा युएई गठनको १५० वर्ष पहिले दुबई सहरको अस्तित्व रहेको पाइन्छ । यो सहर यसरी निर्माण गरिएको छ कि तपाईं हरेक कुनाबाट समुद्रको महसुस गर्न सक्नुहुन्छ ।
दुबई अरेबियन मरुभूमिभित्र छ । एउटा विशाल समुद्र दक्षिणी दुबईमा फैलिएको छ । दक्षिणमा युएईको राजधानी अबुधावी छ । पूर्वमा शारजहाँ र दक्षिण पूर्वमा रस अल खेमा हुँदै ओमानको सिमाना । कुल क्षेत्रफलको १३ प्रतिशत रहेको जमिन होस वा समुद्र, दुबईबासी यी दुवैलाई उत्तिकै श्रद्धा गर्छन् र पुज्छन् । समुद्र त दुबईको भव्यताका लागि परिचित छन् । त्यसैले भन्छन्, दुबईको आत्मा समद्रमा बसेको छ ।
यहाँ पुगेपछि तपाईंलाई अन्दाज लगाउन मुस्किल पर्छ कि यो राज्यका मुख्यबासी कुन हुन् ? अरबी कि भारतीय, पाकिस्तानी कि फिलिपिनी ? दुबईमा अरबीभन्दा बढी जनसंख्या भारतीय, पाकिस्तानीको छ । तर, ती सबै विदेशी नागरिक हुन् । केवल वैदेशिक रोजगारीमा गएका हुन् । सयौँ वर्ष यहाँ बसे पनि विदेशी नागरिकलाई दुबईले नागरिकता दिँनैन ।
त्यसो त बिहीबार र शुक्रबार तपाईं कसैसँग ठोक्किनु भयो सिधै सोधे हुन्छ, तपाईंको घर कहाँ हो ? किनभने शुक्रबार हुने सार्वजनिक विदाको सदुपयोग गर्न अघिल्लो दिनदेखि नै दुबईका चोकमा नेपालीहरू सलह जसरी छापो भेटिन्छन् । बर दुबईमा त नेपालीहरूले एउटा चोकको नामाकरण नै गरेका छन्, ‘नेपाली चोक’ ।
इस्लामिक हुनाका बाबजुद यहाँको समाज खुला छ । महिलालाई मस्जिद जान, काम गर्न छुट छ । युएईका अन्य इमिरेटमा भन्दा यहाँको बाह्य समाज निकै खुकुलो छ । मदिराको प्रयोगलाई सबैभन्दा घृणा गर्ने समाज भए पनि यहाँका बार मा मदिराको प्रयोग खुला रूपमा हुन्छ ।
वैभवशाली सहर
विश्वका वैभवशाली सहरहरूका प्रतिक खोज्नुपर्दा दुबईको गणना पहिले हुन थालेको छ । तेलको अकुत सम्पदाले यहाँ संसारका सबै चिज ल्याइदिएको छ । यसैले जब विश्व भ्रमणको कुरा आउँछ, तब दुबईको नाम सबैभन्दा माथि आउँछ ।
बालुवामा बनेको यो सहरलाई धर्तीको मानवनिर्मित स्वर्ग भन्न थालिएको छ । आज दुबईसँग संसारको सबैभन्दा अग्लो मानवनिर्मित संरचना ‘बुर्ज खलिफा’ छ । संसारका सबैभन्दा अग्ला, महंगा र धेरै कोठा भएका होटल छन् ।
२८, ३० वर्षयता बनेका दर्जनौँ गगनचुम्बी महल छन् । यहाँ हरेक सिजन विदेशी पर्यटक भरिभराउ हुन्छ । दुबईका सडकमा विश्वकै महंगा कारहरू तीव्र गतिमा दौडिरहेका देखिन्छन् । तर, सहर शान्त देखिन्छ । प्रकृतिले हरियालीमा ठगेपछि मरुभूमिमा परिणत भएर के भो त, सिंगो दुबईलाई ग्रिनरीमा परिणत गरिँदैछ ।
दुबई संग्रहालय
दुबईको इतिहास जान्न चाहने हो भने यहाँको संग्रहालय पुग्नैपर्छ । ‘अल फहिदी’ नामले चिनिने यो संग्रहालय रहेको भवन दुबईको सबैभन्दा पुरानो हो ।
यसको निर्माण १७९९ मा गरिएको थियो । तर, यहाँ संग्रहालय भने १९७१ मा बनाइएको हो । दुबईको परम्परागत जीवनशैलीबारे संसारलाई परिचित गराउन तथा आफ्ना कला संस्कृति र परम्परागत वैभवहरूको संरक्षण गर्न यो संग्रहालय बनाइएको हो ।
यहाँ इसापूर्व ३००० वर्ष पहिलेका केही वस्तु पनि संग्रहित देखिन्छन् । वैभवशाली नगरमा रहेको यो संग्रहालय हेरेपछि कुनै समयमा दुबईबासीको जीवन यति कठिन पनि थियो भन्ने अपत्यारिलो सत्य उद्घाटित हुन्छ ।
पूर्वी अरब प्रायदीपको इस्लामभन्दा पूर्वको संस्कृतिको बारेमा यहाँ जानकारी हासिल गर्न सकिन्छ । त्यसको एउटा महत्वपूर्ण हिस्साको रुपमा रहेको नृत्य र संगीतबारे खोज गर्न चाहनेहरुका लागि पनि यहाँ सामग्री पाइन्छन् । इतिहास भन्छ, बालुवाले भरिएका इलाकामा बस्नेहरूको जीवन पनि संगीतमय थियो । उनीहरू नाच्नका लागि घुंघरुको सट्टा बाख्राका टुट्टाको प्रयोग गर्थे । पुरुषहरू त्यसलाई कम्मरमा बाँधेर नाच्ने गर्थे ।
संग्रहालयमा यस्ता कयौँ अवशेष भेटिन्छन्, जसबाट पुष्टि हुन्छ कि दुबई मोतीको व्यापारमा निकै अगाडि थियो । १९३० सम्म दुबई मोती निर्यातका लागि परिचित थियो । मोती निकाल्न मजदुरहरुलाई खुट्टामा डोरी बाँधेर तथा क्लिपको सहायताले नाक बन्द गरी समुद्रमा फ्याँकिन्थ्यो । तीन मिनेटपछि उनीहरुलाई त्यही डोरीको सहायताले निकालिन्थ्यो । त्यही तीन मिनेटमा ती मजदुरले समुद्रबाट मोती निकाल्थे ।
बुर्ज खलिफा
संसारको सबैभन्दा अग्लो मानवनिर्मित संरचना ‘बुर्ज खलिफा’ दुबईको सान हो । १६४ तलाको यो विशाल संरचना ८२८.८४ मिटर अग्लो छ । यहाँ १२५ तलासम्म आउजाउ गर्न दिइन्छ । १२५ औँ तलामा पुग्न लिफ्टमा केवल ७२ सेकेन्ड लाग्छ । यहाँबाट सिंगो दुबई सहरको वैभव नियाल्न सकिन्छ ।
१२५ तलामाथिबाट दुबई सहर नियाल्दा सबै पुड्का देखिन्छन् । मानवनिर्मित सबैभन्दा अग्लाे स्थानबाट अाँखाले देखिने गरीका स्थान नियाल्नुकाे आनन्द अकल्पनीय हुन्छ ।
बुर्ज खलिफा चढ्न २ सय दिराम (नेपाली करिब ६ हजार रुपैयाँ) शुल्क लाग्छ । डिस्काउन्ट पाउन सके केही सस्तो पर्छ ।
‘टप अफ द बुर्ज खलिफा’को रोमाञ्जकताका लागि तपार्इंले केही समय त्यहाँ बिताउने गरी समय व्यवस्थापन गर्नु राम्रो हुन्छ । साँझ पर्नुअघि पुग्नु भयो तपाईंले उज्यालोमा दुबईको वैभव देख्न सक्नुहुन्छ भने केही घण्टा त्यहाँ बिताउनुभयो भने सुन र हिराले झकिझकाउ बेहुली झैँ सजाइएको दुबई देख्न पाउनुहुन्छ ।
दुबई मल
दुबईको मुटुमा बुर्ज खलिफासँगै रहेको छ, दुबई मल । यो संसारको सबैभन्दा ठूलो सपिङ मल हो । यहाँ जाँदा दुबई मेट्रो चढ्नु उचित हुन्छ । तपार्इं जहाँ भए पनि मेट्रोबाट बुर्जमान स्टेशन ओर्लनुभयो भने त्यहाँबाट भित्रभित्रै दुबई मल पुग्न सकिन्छ ।
विश्वविख्यात महंगा ब्रान्डेड सामानका लागि यो मल चर्चित छ । यहाँ सपिङ नै गर्ने उद्देश्यले जानुभएको छ भने खल्ती गह्रुँगै बनाएर जानु उपयुक्त हुन्छ । यो मलभित्र ज्वेलरीका पसल मात्र ३ सयवटा छन् ।
यहाँ संसारको सबैभन्दा ठूलो एक्वेरियम छ भने मलभित्रै ‘स्की’को मज्जा लिन पनि सकिन्छ । पूरै दुबईमा ‘दुबई मल’सहित ७० वटा ठूला सपिङ मल छन्, जुन संसारका विरलै सहरमा छन् ।
डान्सिङ फाउन्टेन
बत्ती, पानीको फोहरा र संगीतको तालमा पानीको नृत्यको अनुपम संगम देखिन्छ, ‘डान्सिङ फाउन्टेन’मा ।
सहरमा जब साँझ पर्छ, बुर्ज खलिफाको ठीक मुनी, दुबई मलको सामुन्नेमा बनाइएको पोखरीमा सुरु हुन्छ, बत्ती, पानी र संगीतको संगम । संगीतको तालमा पानीका फोहोरा चान्छन्, जसलाई अनेक रंगका प्रकाश मनमोहक बनाउँछ ।
यो अबेर रातिसम्म चल्छ । तर, हेर्नका निम्ति समयको व्यवस्थापन भने गर्नुपर्छ । बुर्ज खलिफा र दुबई मल पुग्नेहरूले समयको व्यवस्थापन गर्न सके डान्सिङ फाउन्टेनको भरपूर मज्जा लिन सक्छन् । यसको डिजाइन लस भेगासको चर्चित ‘फाउन्टेन अफ बेलाजिओ’का डिजाइनरले नै यो डान्सिङ फाउन्डेसनको पनि डिजाइन गरेका हुन् ।
दुबई मेट्रो
दुबईकाे अर्काे सान हाे, दुबर्इ मेट्रो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश याे मेट्रोलाई दुबईको ‘लाइफ लाइन’ पनि भनिन्छ ।
चालकविहीन स्वचालित यो मेट्रोको नेटवर्क ७४.६९५ किलोमिटर लामो छ । कन्ट्रोल रूममा बसेका प्राविधिकहरूबाट सञ्चालित हुने दुबई मेट्रोमा रेड लाइन र ग्रीन लाइन समवेश छन् ।
रोजगारका लागि टाढाटाढासम्म पुग्नुपर्नेहरूका लागि यो बरदान बनेको छ । यसबाट दैनिक लाखौँले यात्रा गर्छन् । जसरी सञ्चालन स्वचालित छ, यात्राको शुल्क तिर्न पनि प्राविधिको प्रयोग गरिएको छ ।
यो मेट्रो प्रयोग गर्ने सबैले कार्डबाट भुक्तान गर्छन् । सन् २००९ बाट सञ्चालित यो मेट्रो सडक तथा यातायात प्राधिकरण (आरटिए)ले नियमन गर्छ ।
मरूभूमिकाे मज्जा : डेजर्ट सफारी
दुबई पुग्ने जो कोहीको अर्को रोजाई हो, डेजर्ट सफारी । डेजर्ट सफारी बिनाको दुबई यात्रा खल्लो हुन्छ । अझ, मरुभूमि कहिल्यै नदेखेका हामी नेपालीका लागि डेजर्ट सफारी सम्झँदै पनि कौतुहलताको विषय हो । यो यात्रामा तपाईंले मरुभूमिको रोमाञ्चक यात्राको अनुभव लिन सक्नुहुन्छ ।
टूर प्याकेजमा जानुभएको छ भने तपाईंलाई लिन तपार्इं बसेको होटलमै मर्सिडिज गाडी आइपुग्छ । एउटा गाडीमा बढीमा ७ जना राखिन्छ र सहरदेखि केहि किलोमिटर बाहिर रहेको मरुभूमिको यात्राका लागि मर्सिडिज हुइँकिन्छ । परपरसम्म देखिने बालुवाका साना साना थुम्कामा बयली खेल्दै ओमानको बोर्डरसम्म पुग्छ डेजर्ट सफारी ।
केहीबेरको रोमाञ्चक यात्रापछि ‘डेजर्ट क्याम्प’मा पुगिन्छ । त्यहाँ हुन्छ उँटको सवारी । क्याम्पमा ‘बेली डान्स’ र ‘बार्बीक्यू’को मजा लिन सकिन्छ ।
मरुभूमिको बीचमा बसेर लिइने डिनरले यात्रामा अर्को फरकपन थप्छ । प्याकेज लिनेहरूका निम्ति त्यहाँ मदिराबाहेक अरु सबै खानेकुरा निशुल्क व्यवस्था गरिएको छु । दिउँसो ३ बजेबाट सुरु हुने डेजर्ट सफारी राति ९ बजे डिनरसँगै सकिन्छ ।
पाम जुमेराह
अरेवियन गल्फमा मानवनिर्मित पानको आकारमा रहेको सुन्दर रिसोर्ट हो, द पाम । यसलाई पाम जुमेराह पनि भनिन्छ । विश्व प्रसिद्ध पाँच तले यो रिसोर्ट पुग्न दुबई जानेहरूले सकेसम्म छुटाउँदैनन् ।
यहाँ बस्न मात्र होइन, यहाँको वास्तुकला हेर्न तथा मनोरञ्जन लिन पनि पर्यटक पुग्ने गर्छन् । वाटर पार्क, मनमोहक लास्ट सिटीले मात्र होइन, डल्फिनसँग नजिक हुने पाइने भएकाले पनि पाम पर्यटकको रोजाइमा पर्ने गरेको छ । याद राख्नुपर्ने कुरा, यहाँ जान चाहनेले पहिले नै बुकिङ गर्नुपर्छ । धेरै पर्यटक पुग्ने भएकाले यहाँ बुकिङ प्याक हुने गर्छ ।
मिरेकल गार्डेन
फूलै फूलले सजिएको सुन्दर बगैँचा हो, ‘मिराकल गार्डेन’ । डिस्ट्रिक्ट दुबई ल्यान्डमा रहेको यो सुन्दर बगैँचामा संसारभरका हजारौँ प्रजाति फूललाई विभिन्न आकृतिमा सजाएर राखिएको छ ।
२०१३ को भ्यालेन्टाइन डेका दिन यो बगैँचा सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको हो । ७२ हजार स्क्वायर वर्गमा फैलिएको यो बगैँचा दुबई पुग्ने पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यो भव्य गार्डेनले आफू मरुभूमिको बीचमा रहेको यथार्थ बिर्साइदिन्छ ।
दुबई मरिना
यहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटक आउँछन् । र, ति अधिकांशको रोजाई दुबई मरिना हुने गर्छ । यहाँको सुन्दरताले संसारभरीका पर्यटकलाई लोभ्याउने गरेको छ ।

ठूलाठूला गगनचुम्बी भवनहरूका बीच समुद्रलार्इ डाइभर्ट गरेर बनाइएकाे विशाल जलासयमा गीतसंगीतको अानन्द लिँदै क्रुजमा  साँझ बिताउनुको मज्जा बेग्लै छ । यसक्रममा देखाइने केही परम्परागत नाच जहाँ बत्तीको अनुपम संयोजन गरिएको हुन्छ, त्यसले जाे काेहीलार्इ मोहित बनाउँछ ।
बुर्ज अल अरब
१९९९ मा जब विश्वको पहिलो सेभेन स्टार होटल ‘बुर्ज अल अरब’ उद्घाटन भयो, त्यसयता यो दुबई आउनेहरूका लागि आकर्षणको अर्को केन्द्र नै बन्याे ।

समुद्रमाथि मानवनिर्मित टापुमा डुंगा जस्तो आकारमा बुर्ज अल अरब ठडिएको छ । यो विश्वकै महंगो होटलमा यसकारण गनिन्छ कि यहाँका केही कोठा समद्रभित्रै तयार पारिएका छन् । यहाँ एक रात बिताउन लाखौँ नेपाली रुपैयाँ खर्च गर्नुपर्छ ।
जुमेराह बिच
बुर्ज अल अरबको किनारमा छ, जुमेराह बिच छ । दुबईकाे पुग्नै पर्ने ठाउँ हो समुद्री किनार । जुमेराह बिच यसका लागि प्रख्यात छ ।

यहाँ संसारभरबाट आएका पर्यटक आनन्द लिइरहेका देखिन्छन् । जुमेराह बिच दुनियाका केही आकर्षक बिचहरूमा पर्छ ।
यसका अलावा क्रिक पार्क, बर दुबईमा रहेको क्रिकसाइड पार्क, शेख जायद रोडस्थित पार्क, वाइल्ड बडी वाटर पार्क, जबिल पार्क, अल मुम्जार बिच पार्क, वन्डरल्यान्ड पार्क जस्ता थुप्रै पार्कहरू पर्यटक लोभ्याउने स्थान हुन् ।
कसरी जाने दुबई ?
नेपालबाट सिधै दुबईका लागि हवाई यात्रा गर्न सकिन्छ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको नेपाल एअरलाइन्स, निजी स्वामित्वको हिमालयन एअरलाइन्सदेखि विदेशी हवाई कम्पनीहरू फ्लाइद दुबई, फ्लाइ इमिरेट्सले काठमाडाैं–दुबर्इ–काठमाडाैं  दैनिक उडान भर्ने गर्छन् ।
वैदेशिक रोजगारीका लागि दैनिक सयौँ नेपाली दुबई जाने हुनाले पनि सहजै उडान प्राप्त गर्न सकिन्छ । नेपालबाट उडेकाे ४ घण्टापिछ दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्छ ।
कति लाग्छ खर्च ?
दुबई नेपालबाट नजिक मात्र हाेइन, कम खर्चमा पुगिने पर्यटकीय गन्तव्य पनि हो । दुबई जान तपाईं नेपालमा रहेका ट्राभल एजेन्सीहरूसँग सम्पर्क गरी प्याकेज तयार पार्न सक्नुहुन्छ । अथवा ट्राभल एजेन्सीहरूले तयार पारेका प्याकेजमा सहभागी हुन सक्नुहुन्छ ।
प्याकेजको खर्च कहाँ कहाँ डुल्ने, कस्तो होटलमा बस्ने, कस्तो खाने र कति दिन बस्ने भन्ने कुराले निर्धारण गर्छन् । तर, सामान्यतया ४ रात ५ दिनको प्याकेजका लागि एकजनाले कम्तीमा ५५ हजार रुपैयाँ बजेट छुट्याउनुपर्छ । यो प्याकेजमा सिटी टुर (सहरका मुख्यमुख्य स्थानको भ्रमण), डेजर्ट सफारी विथ डिनर, मरिना सफारी अन क्रुज विथ डिनर आदि पर्छन् ।
दुबईमै पनि नेपालीले सञ्चालन गरेका टाभल एजेन्सी छन् । तिनलाई सम्पर्क गरेर पनि प्याकेज बनाउन सकिन्छ । माथि उल्लेखित रकममा केही हजार रुपैयाँ थप्ने हो भने यात्रा अझ रोमाञ्चक बनाउन सकिन्छ ।

अन्य जानकारी
दुबर्इका सबै सडकमा ‘राइट साइड’बाट सवारी साधन चलाइन्छ । यहाँ चल्ने सबै गाडीमा चालकको सिट र स्टेयरिङ देब्रोतर्फ हुन्छ ।
सडकमा कार मात्रै देखिन्छ । एकाध देखिने मोटरसाइकल पत्रपत्रिका वितरण वा अर्डर गरिएका खानेकुरा ढुवानीका लागि मात्र प्रयोग हुन्छन् ।
महंगा महंगा गाडी खरिदका लागि पनि यो सहर नामुद छ ।
सुन बजार यहाँको अर्को आकर्षण हो । यहाँ सुन सस्तो पाइन्छ । कतिपय शेखका सुनजडित गाडीसमेत सडकमा गुडेका देखिन्छन् ।
पेट्रोलको खानी भएकाले निकै सस्तो मूल्यमा पेट्रोल पाइन्छ । तर, खानेपानी भने निकै महंगो छ । खानेपानीभन्दा कोल्ड ड्रिंक सस्तो छ ।
निकै गर्मी हुने भएकाले सबै ठाउँमा एसी जडान गरिएको हुन्छ । कतिसम्म भने बस स्ट्यान्ड र मेट्रोमा समेत एसी जडान गरिएको छ ।
यहाँ जथाभावी बाटो काट्न पाइँदैन । मोटो रकम जरिवाना तिर्नुपर्छ ।
यहाँ अरबी र अंग्रेजी भाषासँगै हिन्दी भाषाको प्रयोग हुन्छ । त्यसैले अरबी र अंग्रेजी नजान्ने तर हिन्दी राम्रोसँग बोल्न जान्नेले समस्या भोग्नु पर्दैन ।

No comments:

Post a Comment