Sunday, July 8, 2018

३ देखि ४ वर्षसम्मका बच्चालाई बढी हुने मिर्गौलाको क्यान्सर के हो ?

http://swasthyakhabar.com/story/23238  

३ देखि ४ वर्षसम्मका बच्चालाई बढी हुने मिर्गौलाको क्यान्सर के हो ?

क्यान्सर भन्ने बित्तिकै बुढाबुढी वा वयस्कलाई मात्र लाग्ने रोग भन्ने आम बुझाइ छ। तर, बच्चाहरुलाई पनि क्यान्सर हुन सक्छ। बालबालिकामा विभिन्न अंगहरुको क्यान्सर हुन्छ। यी मध्ये एक हो मिर्गौलाको क्यान्सर। नेफ्रोब्लास्टोमा पनि भनिने मिर्गौलाको यो क्यान्सर तीनदेखि चार वर्षसम्मका बच्चाहरुलाई बढी हुने गर्दछ।
बच्चाहरुलाई हुने मिर्गौलाको क्यान्सरमा ९० प्रतिशत क्यान्सर विल्म्स ट्युमर हुन्छ। यो क्यान्सर सुरुवाती अवस्थामा पत्ता लगाउन मुस्किल हुन्छ। किनभने यो ट्युमर ठूलो हुन्जेल केही लक्षण नदेखिन सक्छ। बच्चालाई नुहाउँदा वा तेल मालिस गर्दा पेटमा नदुख्ने डल्लो भेटाउनु पहिलो लक्षण हुनसक्छ। ज्वरो आउने, खाना नखाने वा बान्ता गर्ने, पिसावमा रगत देखिने आदि यसका लक्षण हुन्। रोगको यकिन गर्न युएसजी, सिटी, एमआरई जस्ता जस्ता परीक्षण गरिन्छ।
मिर्गौलामा पलाएको क्यान्सरसम्बन्धी बायप्सी गरी रोगको प्रकृतिबारे थप जानकारी प्राप्त हुन्छ। छातीको एक्स रे, बोड स्क्यान जस्ता जाँचबाट रोगको फैलावट थाहा हुन्छ। यस रोगको उपचारका लागि सुरुमा केमोथेरापी दिएर क्यान्सरलाई सानो बनाई शल्यक्रिया गरिन्छ। शल्यक्रियाबाट सबै क्यान्सर हटाउन नसकिने शंका भएमा रेडियोथेरापी दिइन्छ। सुरुकै अवस्थामा पत्ता लगाई उपचार सुरु गरिए बिरामी ४ वर्षसम्म बाँच्ने सम्भावना ९९ प्रतिशत हुन्छ।
वयस्कहरुलाई क्यान्सर लाग्ने कारण जीवनशैली मानिए पनि बच्चाहरुमा यसको प्रभाव त्यति धेरै हुँदैन। यिनीहरुलाई क्यान्सर हुने मुख्य कारण बच्चा नजन्मदै वा शिशु अवस्थामा छँदै शरीरका कोषहरुको विभाजन हुँदा यसभित्रका डिएनएमा अस्वभाविक परिवर्तनलाई मानिन्छ। विकीरणचुरोटको धुँवा र रसायनिक पदार्थका कारणले पनि बच्चामा क्यान्सरको शुरुवात हुन सक्छ।
- डा गणेन्द्रभक्त राय

No comments:

Post a Comment