Saturday, July 7, 2018

ग्रिनकार्ड र पीआरको सपनामा गाँसिएको वैदेशिक शिक्षा

http://www.aarthikdainik.com/news_details/17174/
ग्रिनकार्ड-र-पीआरको-सपनामा-गाँसिएको-वैदेशिक-शिक्षा.html


लक्ष्मण सिटौला
एक दिन अचानक म्हैपी मन्दिरमा भेटिइन उनी । दसौं वर्षसम्म नभेटेपछि मैले उनलाई कि विदेश गइनँ या कि बिहे गरेर घरजम गरिन भन्ने सोच्दथें । मेरो अनुमान सही निक्लिएछ । उनले बिहे गरिछन् । मन्दिर आउँदा साथमा एउटा सानो छोरासँगै थियो  । म्हैपीको पश्चिमपट्टिको खुड्किला उक्लिदै गर्दा दस वर्षपछि एक्कासि भेट भयो हाम्रो । म मन्दिर दर्शन गरेर सिँढी ओर्लदै थिए । उनी हातमा थाली बोकेर उक्लिदै थिइन् । पहिला त उनी धेरै दुब्ली थिइन तर बिहे गरेपछि मोटाइछन्  । केटीहरु प्रायः बिहे गरेपछि मोटाउँछन् । त्योमाथि पनि बच्चा भएपछि त झन । उनले देखिन् । अलिकति हाँसिन् । तर मैले उनलाई बोलाइनँ । बाटोमा हिँड्ने अरु सामान्य मान्छेले जस्तै उनी हिँडिरहेकी थिइन् । उनी चढेकी खुड्किलो र म झरेको खुड्किलाको एउटा मिलन बिन्दु आयो । उनी रातोपिरो भइन् । एक्कासि अनुहारमा हाँसो खुसी लाज बेचैनी छट्पटी अतीत सब दौडिएको देखें । हामी सानोमा अक्सर यही सिँढीमा आएर घन्टौ. गफिन्थ्यौं । हाम्रो प्रेमको प्रथम पुस्प यही मन्दिरको सिँढीबाट फुल्न सुरु भएको थियो । प्रायः शिशिर ऋतुमा पनि नझर्ने बोटहरु थिए यहाँ । उनलाई उजाड मन पर्दैनथ्यो । त्यहाँ एकान्त छ । र प्रेमले एकान्त खोज्छ ।
सानैदेखि परिचित यही ठाउँमा हाम्रो दस वर्षपछि भेट हुँदा म एक्कासि भावुक भएछु । सधैं शनिबार म्हैपी दर्शन गर्ने बाहना लिएर उनलाई भेट्न आउँथे म । भर्खरै एसएलसी उत्तीर्ण गरेर उनले अमृत साइन्समा आइएससी ज्वाइन गरेकी थिई । म सरस्वती कलेजमा आइ कम सेकेन्ड एयर अध्ययन गर्दै थिएँ । मन्दिरबाट सुरु भएको हाम्रो प्रेम मन्दिरबाट नै अन्त भएको थियो । त्यो एउटा अतीत बाँचिरहेको थियोे मेरो छातीको भित्तोमा टोलाएर हेरिरहे मैले उनको मुहारमा ।
उनले पनि मैले जस्तै हेरिरहेकी थिइन् । बाटो शून्य थियो । बच्चा भित्तामा फुलेको चमेली फूलको लहरासँग खेल्न थाल्यो । हामी दुवैको परेली एक्कासि भिजे । लत्रेको परेलीको ढक्कन माथि खोलिन् उनले र मलाई निस्फिक्री हेरिरहिन । छेउमै उभिएको सल्लाको बोटमा अडेस लागेँ म । जस्तो अक्सर विगतमा म यही गर्थें । खोई किन पो हो सल्लाको बोटमा अडेस लागेर उभिँदा उनी मलाई धेरै हेन्डसम लाग्थ्यो रे ! उनको खुसीको लागि कहिलेकाहीँ त म्हैपीको सबैभन्दा ठूलो रुख पनि चढेको छु।
जब म उभिएर उनको आँखामा हेर्न थालें उनका आँखाबाट गाजल पखाल्नेगरी आँसुको नदी बग्न थाल्यो । एक्छिन अतीतले दुवैलाई डो-याएर लग्यो धेरै परसम्म र भिजायो दुवैको आँखा । शब्दहरूको आवश्यकता पर्दोरहेनछ रुनको लागि। सिंगो एउटा मीठो अतीत नै काफी थियो । निःशब्दमै हजारौं शब्दहरुको निर्माण हुँदोरहेछ । घामको किरणले स्पर्श गरेका मन्दिरका छानाहरुबाट आएको उज्यालो मेरो आँखामै प-यो । जस्तो पहिला पहिला पनि पथ्र्याे र मेरो मुहारमा छल्किएको उज्यालो हेर्नकै लागि भनेर उनी हरेक शनिबार ठीक आठ बजे भेट्ने बाहान गर्थिन् यति नै बेला प्रायः । आज पनि यस्तै भयो । आज त संजोग हो । के जिन्दगी यिनै संजोगहरुको सञ्चिति हो र ? तर संजोग पनि यतिबेला नै पर्नुपर्ने ! कस्तो अचम्म !! सल्लाको फेदबाट चियाइरहेको घामको किरण अनि सिरसिर बगेको पातलो बतासको शीतल चिसोले छोएपछि हामी कस्तो नोस्टाल्जिक भयौं
मेरा पनि आँखाबाट अतीत झ¥यो ।
मौनतालाई भङ्ग गरेँ मैले
‘माया !! ?’
‘हजुर’
‘किन रोएकी ?’
‘हजूर चाहिँ किन रोएको त ?’
‘तिमी रोएको देखेर’
‘मत धेरै रोइसके । यस्तो लाग्छ अब मसँग रुने आँसु नै छैन’
‘म दिउलानी सापटि लिन्छ्यौ ?’
‘ह्या हजुर पनि त्यही जिस्किने बानी गएको रहेनछ है’
‘त्यही बानीले त तिम्रो मन जितेको थिए नि’
‘तपाई अझैसम्म यो मन्दिर आउनुहुन्छ र ?’
‘आइरहेको छु हरेक शनिबार जस्तो पहिला आउने गर्थें ’
‘यतिबेला नै आउनुहुन्थ्यो ?’
‘हो यति नै बेला आएरहे दस वर्षसम्म लगातार’
‘ओ माइ गड रियल्ली ?’ अनि यति नै बेलाचाहिँ किन आउनुपरेको ?
नि हजुरलाई !’
‘यो बेला सूर्यको किरणले मन्दिरको छानाबाट उज्यालो
याक्थ्यो अनि तिमीले हेरिरन्थ्यौ मेरो मुहारको उज्यालोमा’
‘ओ गड आइ एम सरि राजा भेरी भेरी सरि ल !’
‘बिहे गरिसकिछौ बच्चा पनि यत्रो भइसकेछ !’
भित्तामा फूलसँग खेलिरहेको सानो बाबुले हाम्रो वार्ता भंग गरिदियो । अनि, तीनै जना फेरि मन्दिर उक्लिन थाल्यौँ । बाबुलाई मैले हात दिएँ । ऊ मेरो हात समातेर सिँढी उक्लिन थाल्यो । कस्तो मायालु थियो बाबू । यस्तो लाग्यो मैले उसलाई धेरै पहिलेदेखि नै भेटेर चक्लेट दिँदै आइरहेको छु । तल पारिजात स्मृति भवन देखाउँदै उनी बोल्न थालिन् फेरि ।
‘त्यही भवनको स्टेसन र पसलमा हजुरलाई एउटा पत्र छोडेर म अस्ट्रेलिया अध्ययन गर्न गएकी थिएँ । आएस्सी सकेपछि बुबाले बाहिर पढ्न जानुपर्छ भन्नुभयो । मैले नाइँ भन्न पनि सकिना । पन्ध्रौं दिनमा भिसाको सबै प्रक्रिया सकियो । मैले जानेबेलामा हजुरलाई भेट्न धेरै कोसिस गरे तर सकिनँ । बुबालाई अलिकति थाहा थियो हाम्रो प्रेमको बारेमा । हजुर त केटा त्यति गाह्रो थिएन तर मलाई गाह्रो थियो । मेरी बहिनीलाई थाहा थियो हाम्रो प्रेमको बारेमा । एकदिन बुबालाई सबै कुरा लगाइदिछ उसले । त्यो रात बुबाले मलाई धेरै गाली गर्नुभयो अनि भोलिपल्टै अस्ट्रेलियाको कुरा गर्नुभयो । अस्ट्रेलियाको पारामाटा वीन्सटन चर्चिल कलेजमा मेरो आइटिमा एडमिसन भएको थियो । पारामाटा सिड्नीबाट टाढा थियो । आमाको माइतीपट्टिका एक जना चिनेका दाजु हुनुहुन्थ्यो सिड्नीमा । बुबाले उहाँकै जिम्मेवारीमा मलाई पठाउनुभयो । नेपालबाट अस्ट्रेलिया पुग्दा यहाँको रहनसहन र त्यहाँको संस्कृतिमा धेरै अन्तर पाएँ मैले । एउटी महिला विदेशमा बसेको एक अपरिचित पुरुषको सरणमा पुगेँ म । ऊ एयरपोर्ट लिन आएको रहेछ । सिड्नीको सरिहिल्समा उसको रुम रहेछ । आधा घन्टामै पु-यायो गाडीले ।
मेरा अभिवावक कति निर्दयी रहेछन् जस्तो लाग्यो । विदेशमा एउटा अपरिचित पुरुषकोमा सरण मागेर बस भनी खुल्ला भन्नू भनेको भोकाएको बाघको खोरमा एउटा कलिलो खरायो हाल्दिनु त हो नि होइन ? नेपालमा छोरी बिग्रन्छे भनेर गाली गर्छन् । प्रेम गरी भने अनेक जुक्ति निकालेर छुटाउने बहना बाजी गर्छन् । सबले घृणा गर्छन् तर विदेशमा चाहिँ सिधै केटोकोमै जाऊँ भनेर भन्छन् अचम्म छैन त ! विदेशमा जे गरे पनि छुट है हाम्रो नेपाली समाजलाई !  । म बाध्य भएर ऊसँगै बसे अरु कुनै उपाय पनि त थिएन नि । उसलाई छोडेर अन्त बस्नु पनि झन खतरा थियो । नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने प्रायः सबै केटीको यही कथा हो मेरोजस्तै । क्लास सुरु हुनुभन्दा एक महिनाअगाडि नै यहाँ छोरी बिग्री भनेर मलाई मेरा अभिवावकले अस्ट्रेलिया जान बाध्य पारेका थिए । त्यहाँ पुगेपछि बुबाले उसलाई फोन गर्नुभयो र भन्नुभयो ‘ल बहिनीलाई राम्रोसँग जिम्मा लिएर राख उसलाई कुनै समस्या नहोस है भनेर । उसले राम्रै जिम्मा लियो मेरो । पुगेको दिनमै ‘वाइन पिउनुपर्छ यहाँ त वाइन नपिउने मान्छे त पुरै पाखे हुन्छ’ भन्यो उसले । म एक अदना अन्जान केटी उसको अनुरोधलाई कसरी अस्वीकार गर्न सक्थेँ र ? गएकै दिनबाट अस्ट्रेलियन वाइन पिउन थालें । एउटा कोठा थियोे । त्यही भान्सा, त्यही बेड, त्यही बाथरुम, त्यही डाइनिङ, त्यहीँ टिभी । पलङ पनि थिएन । एउटा मात्रै मोटो फोमबाट निर्मित ठूलो बेड थियो । दुई दिन बित्यो सङ्कटले । आमाले माइती गाउँको परिचित भाइ सोझो छन ती भाइ भनेको सम्म थाहा छ मलाई तर भाइ अस्ट्रेलिया आएपछि कति बिग्रेका रहेछन् थाहा भयो ।
काठमाडौं धेरै सुरक्षित । नेपाल धेरै स्वच्छ, म नयाँबजारकी माया न्यौपाने, मेरो नयाँबजार धेरै पवित्र । उसलाई खाना बनाउनु उसको लुगा धुनु, कयौं महिनादेखि नधोएका तन्ना सोफाका खोल र उसका सबै लुगाफाटो धुनु मेरो दैनिकी बन्न थाल्यो । यतिसम्म ग-यो कि उसले भित्री कपडासम्म धुन लगायो मलाई । उसको अभिष्ट पूरा हुनसकिरहेको थिएन मलाई रिस देखाउँथ्यो । दिनको एक बट्टा त चुरोट पिउँथ्यो ऊ लुगा धुँदा पाइन्टको गोजिमा खैनी र गुटकाका पोका पाउँथेँ । ऊ नुहाउन बाथरुम जान्थ्यो तर चुकुल लगाउँदैनथ्यो । नांगो नुहाउँथ्यो । मलाई यति असहज महसुस हुन्थ्यो कि यही आत्महत्या गरेर मरुँ कि जस्तो । कस्तो खराब हर्कत बोकेर बाँचेको एउटा अधर्मी पुरुष थियो ऊ । आदिम मान्छेजस्तो । यस्तालाई कसरी दियो होला भिसा पनि एम्बेसीले भनेर कल्पना गर्थें । के पढ्न सक्छ होला यस्ताले मनमनमा सोच्न बाध्य हुन्थें ।
म बाथरुममा लुगा धुँदा पनि चुकुल हालेर धुन्थें । ऊ चुकुल नहाल भन्थ्यो । हरेक पटक म बाथरुममा नुहाउन वा लुगा धुन जाँदा र ढोका खोल्दा ऊ अस्लिल चलचित्र हेरिरहेको हुन्थ्यो । अनि म कता जानू जम्मा त्यही एउटा कोठा त थियो । म बाथरुमबाट बाहिर निस्किसकेपछि एक छिनमा बल्ल बन्द गर्थ्यो त्यो अस्लिल भिडियो । एकदिन मभित्र नुहाइरहेको बेलामा बाहिरबाट चुकुल हालिदियो उसले र शर्त गरायो मलाई कि अब आइन्दा कहिले पनि चुकुल नलगाई नुहाउने भनेर । निस्सासिएर मर्नुभन्दा उसको शर्त मान्न म मजबुर भएँ । निस्कदा उहीँ अस्लिल चलचित्र लगाएको थियो टिभिमा । मलाई थाहा छ म उसको यौनको सिकार हुन्छु भन्ने । उसले त्यही किसिमको वातावरण तयार गर्दै थियो । कसैलाई पनि चिन्दिनथें म ऊबाहेक । पुगेको दिनदेखि त्यहीँबाट म कतै बाहिर निस्केको पनि थिइनँ । ऊ नै मेरो लागि सब थोक थियो । अभिवावक भने पनि दाजु भने पनि या एउटा नेपालीको नाता भने पनि वा साथी भने पनि । ऊ यौनको एउटा लामो तृष्णा र भोक लिएर बाँचेको छ । ऊ एउटा यौनको मनोरोग लिएर बाँचेको मनोरोगी हो भन्ने मैले सम्झिएँ । हरेक कुरामा ऊ यौनलाई जोडी हाल्थ्यो । ऊ रोगी हो । एउटा लामो यौनको मनोरोग पालेर बाँचेको पुरुष शरीर थियो ऊ । यस्तो मनोरोगीको हातमा जिम्मा लगाउने मेरा अभिवावक पनि रोगी नै हुन भनेर चित्त बुझाउन थालेँ मैले  । ऊ अस्लिल हेर्थ्यो, अस्लिल पढ्थ्यो, अस्लिल सोच्थ्यो, अस्लिल खान्थ्यो (मादक पदार्थ) र अस्लिल हेर्थ्यो ।
अन्ततः म बच्न सकिनँ उसको त्यो मनोरोगबाट ।
जस्तो सङ्गत त्यस्तै त बन्दोरहेछ नि मान्छे । कि प्रत्याक्रमण गर्न सक्न प-यो कि हात उठाउनुप-यो । मैले हात उठाउनुको विकल्प थिएन । हात उठाए । ऊ खुसी हुन थाल्यो । मलाई पनि वाइन पिउने आदत प¥यो । रोक्ने, देख्ने, घृणा गर्ने, गाली गर्ने, अर्ति दिने, अंकुस लगाउने, राम्रो कर्म गर्नका लागि उत्प्रेरित गर्ने मान्छे कोही हुँदैन विदेशमा । यहाँबाट जाने सबैलाई उन्मुक्ति मिलेको आभाश हुन्छ । स्वतन्त्रता भनेको यही हो भन्ने अनुभूति गर्छन् सबै विद्यार्थीले । हदभन्दा बढी नै दुरुपयोग हेँदोरहेछ स्वतन्त्रताको त्यहाँ । त्यसैले त्यहाँको स्वतन्त्रता आफैं घाइते बन्दकीमा परेको छ ।
जुन उद्देश्य लिएर जुन आशा लिएर जुन सपना लिएर म त्यहाँ गएकी थिएँ  । तर, ती सबै मिथ्या लाग्यो । मेरो रुम मेट पुरुष, अनि म महिला । धेरै यसरी नै अध्ययन गर्दा रहेछन् अस्ट्रेलियामा । एउटा रुम मेटसँग झगडा प¥यो भने अर्को रुम मेटसँग बस्नु बाध्यता हुँदोरहेछ । प्रायः केटीले आफ्नो अस्तित्व र अस्मिताको घमण्ड नगरे हुनेरहेछ । पछि बुज्दै गए । सुरुको त्यो डर त्रास अहम, महिला हुनुको अस्तित्वबोध, लज्जाबोध, स्त्रीधर्म र अस्मिता बिस्तारै हराउँदै गए । म महिला हुँ कि पुरुष हुँ भन्ने आफ्नै सम्बोधीता हराउँदै जाँदोरहेछ । ममा पनि त्यही भयो जस्तो यहाँ आउने प्रायः केटीहरुले त्यो पीडा भोग्छन् । माया हुँदैन त्यहाँ । त्याग, दया, धर्म, संस्कार, संस्कृति आफ्नोपनको अनुभूति हराउँदै गएपछि मानिस र पत्थरबीच भिन्नता नै के हुन्छ र ?
एक महिनापछि पढाइ सुरु भयो । सिड्नी र पारामाटा दैनिक दुईदुई घण्टाको यात्राले म थकित भएँ र अब उतै बस्ने भए । कलेजको होस्टेल पनि प्याक भइसकेको थियो । कुनै विकल्प थिएन । एकजना इन्जिनियरिङ क्लासको नेपाली केटा साथी भेटें । परिचय भयो । गोरखा पाँचखुवा देउरालीका इन्द्र देवकोटा । सहयोगी रहेछन् । उनी र उनको महिला रुम मेट रहेछनसँगै । महिला जापानीज रहिछन् । भान्साकोठा फरक थियो । एउटा पलङ बेग्लै रहेछ । जापानीज ती केटी पनि इन्जिनियरिङकै विद्यार्थी रहिछन् । मलाई पनि सजिलो भयो । इन्द्रजीले सहयोग गरे । यता सिड्नीबाट आफ्ना सामान लिएर म पारामाटा सरें ।
पढाइ सुरु भयो । आइटी पढ्न गएकी थिएँ म । खर्च सक्किसकेको थियो । बुबाले अब खर्च पठाउन नसक्ने आशय व्यक्त गरिसक्नुभएको थियो । सबैको विद्यार्थी जीवन । भनेको बेलामा काम पनि पाउन गाह्रो । उता आमाले पनि अब आफैं जागिर खाएर पढ्नुपर्छ भन्नुभएको थियो । केही दिन त इन्द्रजीले सहयोग गरे । काम नमिलेसम्म ग्रोसरी किन्न पर्दैन र रुमको भाडा पनि तिर्न पर्दैन भन्नुभयो । नेपालबाट अध्ययनमा त्यहाँ जाने प्रायः सबैलाई यो नियम लागू थियो । जापानीज केटी ईन्द्रभन्दा भुतुक्क हुँदोरहेछ । उनीहरू रातभर चलेको गिज्जेको मलाई असज महसुस भइरहेको थियो । त्यहाँ पनि वाइन पिइन्थ्यो । रमाइलो थियोे वातावरण । थोरै समयमा म परिचित भएँ । मोबाइल किनेकी थिएँ । नम्बर यता सिड्नीको मेरो दाइ हरिलाइँ पनि दिएको थिएँ ।
कामको खोजीमा भौतारिरहेको थिएँ । सधैंभरि अरुको कमाइ खाएर कसरी बस्नु । ग्लानी भइरहेको थियो । जस्तो काम पाए पनि गर्छु भन्ने मनसाय बनाए । पारामाटाको गल्ली गल्ली चोक चोक चहारें । एउटा रेस्टुरेन्टमा ‘किचन क्लिनर वान्टेड’ को विज्ञापन देखेँ । फोन गरेको आइज भन्यो । भोलिपल्ट साँझबाट म काम गर्न थालेँ । भान्सामा आइपर्ने सबै काम गर्नुपथ्र्याे । घन्टाको पन्द्र डलरमा जम्मा पाँच घण्टा काम थियो दैनिक । एकजना नेपाली भाडा माझ्ने काम गर्छन् यहाँ ऊ अहिले आमा बिरामी परेर नेपाल गएको छ भन्यो सेफले । खुसी लाग्यो म काम गर्ने ठाउँमा अर्को नेपाली पनि काम गर्दोरहेछ भनेर । काममा रमाउन थालें र ती नेपालीको आगमनको प्रतीक्षा गर्न थालें । म जागीर भएको पहिलासँगै बसेको मेरो रुम मेट हरिलाई थाहा थियो । उसले आफ्नो नेपाली नाम बिगारेर ह्यारी राखेको थियो ।एकदिन अचानक
ऊ मलाई भेट्न पारामाटा आयो । साँझ परेको थियो । ऊ मेरो काम गर्नी ठाउँमा आयो । र बेलुकीसम्म कुरिरह्यो । आज यही बस्ने भन्यो मैले नाइँ भन्न सकिनँ । किनकि एक महिनासम्म त उसले मलाई सरण दिएको थियो । जे भयो अब म त्यो नमीठो अतीत बिर्सन चाहन्थेँ । तर फेरि आज त्यही अतीत आयो मेरो सामुने र यसबाट भाग्न सकिनँ म । मैले रुममा लिएर आएँ । रातको नौ बजिसकेको थियो । उसले बेस्सरी वाइन खायो । हामीहरु सबैले वाइन पियौँ । उसले थुप्रै ग्रोसरी किनिदियो । त्यो रात हामीसँगै बस्यौं । ऊ भान्सामा मसँगै सुत्यो । इन्द्रजीले पनि माइन्ड गर्नुभएन । अर्को अचम्ममा परें म फेरि त्यो रात ।
अर्को दिन अचानक
आमा बिरामी भएर नेपाल आउनुभएको साथी रेस्टुरेन्टमा आउनु भएछ । उहाँ डिस वासमा भाडा हालेर होज हान्दै हुनुहुन्थ्यो । मलाई देख्नु भयो । उहाँलाई देखेर म झसंग भए । आफ्नै परिचित साथी पकनाजोलका निर्मल श्रेष्ठ । हामी आठ क्लाससम्म नयाँ बजारमासँगै पढेको । देख्नासाथ उसले मलाई हग ग¥यो । ओहो मलाई पनि बल्ल आफू सुरक्षित भएको महसुस भयो । दुवै एकै रेस्टुरेन्टमा जागिरे र कलेज पनि एउटा नै रहेछ । केही दिन हामीसँगै घुम्न निस्कियौँ । ऊ एक्लै रहेछ । भाडा तिर्नकै लागि भए पनि रुम मेट खोजेरसँगै बस्नु बाध्यता रहेछ त्यहाँको स्थिति । एकदिन उसले मलाई ऊसँगै बस्न अनुरोध ग-यो । मैले नाइँ भन्न सकिनँ । र इन्द्रजीको कोठाबाट आफ्नो सामान सारें ।
निर्मललाई पहिलाको घटना सुनाएको थिइनँ । सुनाउनु आवश्यक पनि ठानिनँ किनकि अस्ट्रेलियामा रुम मेट प्रवृत्ति वा लिभ इन रिलेसनसिप सामान्य कुरा रहेछ । पुरुष र महिलाबीच सँगै बस्नु सामान्य कुरा रहेछ । अब म निर्मलसँगै बस्न थालेँ । अलिकति सहज हुन थाल्यो परिवेश । सिड्नीबाट आउँदा नै मेरो मिन्स रोकिएको थियो । दस दिन क्रस भइसकेको थियो । निर्मलको रुममा आएको भोलिपल्ट मैले आफू मिन्स भएको नाटक गरेँ र अलग ओछ्यानमै रात बिताएँ । रुम एउटा मात्रै थियो । अलग फोममा मैले पाँच दिन बिताएँ तर त्यो पाँच दिन मेरो लागि यति गम्भीर र चिन्ताजनक थियो कि मलाई नै थाहा छ त्यसको दुखाइ र पीडा । यदि साँचो कुरा भनूँ भने निर्मल रिसाउला भन्ने डर अनि झुट बोलिरहूँ भने पनि सत्यतथ्य एक दिन बाहिर आउँछ भन्ने त्रास  । काम पनि सँगै कलेज पनि सँगै र बस्ने पनि सँगै हामी । हमेसा अब सँगै भयौ । अब मलाई निर्मलबाट भाग्न सक्तिनँ भन्ने लाग्यो । सातौं दिनको दिन खोई वाइनको रमाइलोमा हामीबीच के के भयो । निर्मलले मलाई माया गर्न थाल्यो । अर्को एक महिनापछि मैले निर्मललाई आफ्नो मिन्स रोकिएको कुरा गरे । जतिबेला मेरो मिन्स रोकिएको दुई महिना भइसकेको थियो । निर्मल अत्यन्तै खुसी भयो । लिभिङ टुगेदरलाई अस्ट्रेलियामा आधा बिहेको मान्यता मिल्दोरहेछ ।
निर्मल केही महिनापछि इलेगल हुँदैरहेछ । कलेज परिवर्तन गरेको फि नतिरेको र हप्ताको बीस घण्टाभन्दा बढी काम गरेको कारणले । बच्चा भएपछि यही बच्चाको कारण उसको अस्ट्रेलियाको बसाइलाई लम्ब्याउने सोचमा पुग्यो ऊ । स्थिति सामान्य हुँदै गयो । मैले कुनै विपत्ति नआओस् भनेर मोबाइल नम्बर नै परिवर्तन गरेँ । र त्यो हरिबाट टाढा भए जसको कारण म गर्भवती भएकी थिएँ । मेरो लागि निर्मल सर्वस्व थियो अब । ऊ आफू पनि दंग थियो बाबु बन्न पाएकोमा । नौ महिनापछि ऊ बाबु बन्यो म आमा बनें । उसले आफ्नो पेपर बनायो यही बच्चाको कारण । ऊ खुसी भयो । म काम र पढाइ छोडेर छोराको स्याहार सम्भार गर्न थालेँ । पेपर बनेपछि निर्मल मदेखि परपर हुन खोज्यो । छोरा रोएको पनि उसलाई अब झर्को लाग्न थाल्यो । पहिला जस्तो थियो त्यस्तो ऊ कहिल्यै पनि भएन । ऊ एक दिन नेपाल आयो । र पछि म भएको ठाउँमा कहिल्यै फर्केर गएन ।
फेरि अर्को दिन
अचम्म पर्नुभयो इन्द्र देवकोटा मलाई देखेर । उहाँको पनि जापानीज केटी अध्ययन सकेर ओसाका फर्किछन् । हामीबीच फोनमा कुरा भए पनि कहिले बच्चाको बारेमा केही भनिनँ मैले । काम गर्न थालेको थिएँ बच्चालाई चाइल्ड किएरमा राखेर । धेरै महिनादेखि म एक्लिदै थिएँ । इन्द्रजी पनि एक्लै हुनुभएछ । उहाँकै अनुरोधमा म फेरि उहाँकोमा गएँ । समय बितिरह्यो जसरी बितिरहन्छन् अनेक ऋतुहरु आफ्नो अहमता छोड्दैछोड्दै । बच्चाको किएर पुग्यो । ऊ हुर्कंदै गयो । उता सिड्नीको त्यो आफन्त भनाउँदो हरि लागूऔषध खाएर जेल परेको थुप्रै दिन भइसकेको रहेछ । आनन्द लाग्यो । कमसेकम मैले आफूलाई सुरक्षित महसुस गरें अब । पढाइ पूरा गरे । जागिर खाएँ । पिआर लिएको छु । छोरा छ साथी छ अब । इन्द्रजी साथी हुनुहुन्छ । सँगै बस्छौं । हामीबीच लिभ इन रिलेसनसिपको नाता छ । बिहे गरौंन भनी भनेँ, ‘तिम्रो त पिआर भयो अब मेरो पनि पिआर भएपछि बिहे गरौंला भन्नुहुन्छ । पिआरको नाउँमा अस्ट्रेलियामा हजारौं युवायुवतीले प्यार नै भुलिसकेका छन् । अहिले हजुरको हात समाउने छोरा मेरो छोरो हो अरु कसैको नि होइन ।’
राजा ! हजुर विगत दस वर्षदेखि यही मन्दिरमा यही समयमा लगातार आउनु भयो है ! लह लह झुल्ने धान खेतहरुमा कन्क्रिटको जङ्गल देखेँ । मान्छे पनि कन्क्रिटको जङ्गल भयो सके छन है । कन्क्रिट बाँचिछौ माया तिमी, त्यसैले देखेका फूल पनि तिमीलाई कन्क्रिटझैं लाग्न सक्छ । नजिक भएर बगिरहेको विष्णुमतीको दुर्गन्ध आइरहेको थियो । उसको कुराले म अवाक भएँ । मान्छे कसरी परिस्थितिको दास भएर बाच्न विवश हुदोरहेछ है कठैवर ! चित्त बुझाए आज आफ्नै मन । केही पनि भनिनँ मायालाई । अब उसलाई दुखी बनाएर मलाई के मिल्छ र ? । पारिजात स्मृति भवन पुग्यौं हामी गफिंदै । दस वर्षपछि उसले मलाई पठाएकी पत्र त्यही स्टेसनरीको भाइसँग सही सलामत रहेछ दियो उसले सानो कन्तुरबाट झिकेर । बाहिर खाममा मेरो नाम लेखिएको थियो। खुसी लाग्यो । खाम बाहिर उसले माया गरेर चुप्पा खाँदा रातो लालीको डोब पनि मेटिएको थिएन ।
पत्रको एक अंश पढे मैले
राजा ! अन्तिम बेलामा त्यो मायालु आँखा हेर्न इच्छुक थिएँ तर पाइनँ । दुःखी भएर अस्ट्रेलिया जाँदैछु केवल हजुरकै सम्झनाको आँसु बोकेर । मसँगै उभिएको छोरालाई बोकेर माथि उठाए आकाशतिर र भनें, ‘बाबू ! आमालाई धेरै माया गर है ! सबै पुरुष कुपुरुष हुँदैनन् तिमी पनि म जस्तै सत्पुरुष बन्नु ल ।’ पर्सिको उडान रहेछ मायाको । मैले त्यहीबाट उनलाई बिदाइ गरेँ ।

No comments:

Post a Comment