सुजीतकुमार झा/जनकपुरधाम।
प्रदेश २ को सरकारले बुधबार तेस्रोपटकको मन्त्रिमण्डल विस्तारमा सशस्त्र प्रहरीका असई थमन विक हत्याकाण्डमा फरार अभियुक्त अभिराम शर्मालाई नियुक्त गरी शपथ गराएको छ ।

मधेस आन्दोलनका बेला २५ भदौ, २०७२ का दिन जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले जनकपुर लैजाँदै गर्दा बाटोमै एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्नता पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।
आफू निर्दोष हुँदा पनि मधेसीविरोधी शासकले झुठो मुद्दा लगाएर फसाएको मन्त्री शर्माले बताए । राजपाले मन्त्रीमा सिफारिस गरेका शर्माका अतिरिक्त डा. डिम्पल झा र सुरेश मण्डलले जनकपुरमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले शपथग्रहण गराएका हुन् ।
डा. डिम्पल झा भौतिक योजना मन्त्री, शर्मा सामाजिक विकास राज्यमन्त्री र सुरेश मण्डल वन पर्यटन मन्त्रीको जिम्मेवारीमा छन् ।
शपथग्रहण समारोहमा सभामुख, मन्त्रीहरू, उपसभामुख, राज्यमन्त्रीहरू, सरकारका सचिवहरू राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।
हवल्दार थमन विक हत्याकाण्डका फरार प्रतिवादीहरू सार्वजनिक पद धारण गरी खुलेआम हिँडिरहेको अवस्थामा उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा हालै कारण देखाऊ आदेश जारी गरेको थियो ।
हत्यामा संलग्न केही प्रतिवादी महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको र बाँकीलाई अदालतले वारेन्ट पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गरेका छैन । रिट निवेदनपछि २९ चैत २०७४ मा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई १५ दिनभित्र सरकारी वकिलको कार्यालय जनकपुरमार्फत लिखित जवाफ पेस गर्न परमादेश जारी गरेको थियो ।
२५ भदौ २०७२ मा महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई विकका हत्याका अभियुक्तलाई पक्राउ नगरेको भन्दै पत्नी शोभा गहतराजले २८ चैत, २०७४ मा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रहरी प्रमुखलाई विपक्षी बनाउँदै परमादेशको मागसहित उच्च अदालतमा रिट हालेकी थिइन् ।
केही प्रतिवादीहरू महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहे पनि बाँकी प्रतिवादीलाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा प्रहरीले पक्राउ नगरेको भन्दै उनले निवेदन दिएकी थिइन् ।
उच्च अदालत जनकपुरबाट सशस्त्र असई विकको हत्या प्रकरणमा जारी कारण देखाऊ आदेशको जवाफमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले रिट निवेदन खारेजीको जवाफ लेखेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले जवाफ नम्बर ४ मा यस मुद्दामा फरार रहेका प्रतिवादी रमेशप्रसाद साहसमेतका २५ जनाको नाममा महोत्तरी जिल्ला अदालतबाट जारी भएको बारेन्ट पुर्जी र म्यादी पुर्जी फरार प्रतिवादीको नजिकका प्रहरी एकाइमा पठाएको र प्रतिवादी पक्राउ परी दाखिला हुन नआएको उल्लेख छ ।
जवाफमा फरार प्रतिवादी पक्राउ परी दाखिला हुन आएको बखत उनीहरूलाई कानुनबमोजिम महोत्तरी जिल्ला अदालतमा पेस गरिने जनाइएको छ । पक्राउ परेको खण्डमा अदालतमा पेस हुने हुँदा परमादेशको आदेशको रिट निवेदन खारेज गर्न प्रहरी उपरीक्षक कठायतले माग गरेका छन् ।
प्रहरी उपरीक्षक कठायतले जनकपुर उच्च अदालतलाई दिएको जवाफमा फरार भनिएका अभियुक्तमध्ये खैरबनी वडा नम्बर ६ का ४५ वर्षीय कौशलकुमार राय महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट र जलेश्वर–१४ का ३७ वर्षीय शर्मा महोत्तरी ३ (१) बाट प्रदेशसभा निर्वाचित सदस्य छन् । फरार प्रतिवादीमध्ये शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका प्रमुख छन् ।
प्रतिवादीहरूले मधेस आन्दोलनका क्रममा राजनीतिक आस्थाका आधारमा आफूहरूमाथि झुटा मुद्दा लगाइएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताउँदै आएका छन् ।
असई विकलाई कर्तव्य गरी मारेको आरोपमा पक्राउ परेका जलेश्वरनगरपालिका–३ का २५ वर्षीय सञ्जयकुमार साह, वडा नम्बर २ का ३० वर्षीय प्रदीप साह माझी पुर्पक्षका लागि जलेश्वर कारागारमा छन् भने पुनरावेदन अदालत जनकपुरको आदेशमा सद्भावना पार्टीका जिल्ला सदस्य जलेश्वर नपा–१७ बस्ने ५५ वर्षीय मोहन ठाकुर साधारण तारेखमा रिहा भएका छन् ।
प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाउनुपर्नेमा सो नगरी प्रहरी चुपचाप बसेर निष्क्रिय भएको गहतराजले दिएको निवेदनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा गएर पटक–पटक अनुरोध गर्दा पनि हालसम्म पक्राउ नगरी कानुनको दायरामा नल्याएर आफूलाई झन् अन्याय भइरहेको भन्दै उनले उच्च अदालतमा निवेदन दिएकी थिइन् ।
प्रतिवादीहरूले भने मधेस आन्दोलनका क्रममा राजनीतिक आस्थाका आधारमा आफूहरूमाथि झुठा मुद्दा लगाइएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताउँदै आएका छन् ।