Sunday, April 23, 2017

यी हुन् अष्ट्रेलियामा नेपाली बिद्यार्थीको आकर्षण बढ्नुको कारण

पत्र पत्रिका बाट  -साभार   http://kantipur.ekantipur.com/news/2017-04-22/20170422170523.html 

 

अष्ट्रेलिया सरकारले अघिल्लो वर्षको जुनसम्ममा अष्ट्रेलिया अध्ययन गर्न आउने बिद्यार्थी संख्या सोही समयको अघिल्लो बर्षको तुलनामा ४२ प्रतिशतले बढेको तथ्य सार्वजनिक गर्‍यो । अहिलेको तथ्यांक हेर्ने हो भने पनि करिब १९ हजार नेपाली युवाहरु बिद्यार्थी भिषामा अध्ययन गरिरहेको तथ्यांक छ । जुन प्रत्येक बर्ष घट्नुको साटो बढ्दै गइरहेको छ । किन नेपाली बिद्यार्थीहरुको संख्या प्रत्येक बर्ष यतिका संख्यामा बढिरहेको छ ?
अष्ट्रेलियाकी विदेशमन्त्री जुली बिशपले केही समयअघि निकालेको एक बिज्ञप्तिमा विश्वभरबाट अध्ययन गर्न आउने बिद्यार्थी संख्यामध्ये नेपालीहरु आठौं स्थानमा रहेको तथ्य सार्वजनिक गरिन् । एउटा गरिब मुलक अष्ट्रेलियामा अध्ययन भिषा पाउने आठौं नम्बरमा पर्नु सामान्य अवश्य होइन् र यसभित्र धेरै आयामहरुले काम गरेका छन् ।
अष्ट्रेलिया अध्ययन गर्न आउनुभन्दा पनि अध्ययनका लागि भिषा पाउनु महत्वपुर्ण हो । अध्ययन भिषा सहज र व्यबस्थित बनाउन अष्ट्रेलिया सरकारले यहाँका विश्वविद्यालयहरुलाई अझ उत्तरदायी बनाउनका लागि ‘सिम्पिलफाईड स्टुडेण्ट भिषा प्रोसेसिङ’ सुरु गरेको छ । जसले विश्वबिद्यालयहरुलाई बिद्यार्थीको कागजपत्रका साथै शैक्षिक क्रणका कागजपत्रहरु हेर्ने जिम्मेवारी दिएको छ ।
यसैगरी, अष्ट्रेलियाले उनीहरुलाई अंकगत रुपमा वर्गीकरण गरेर सोहीअनुसारको अधिकारसमेत दिएको छ । जसले गर्दा पछिल्लो समयमा बिद्यार्थी भिषा प्रक्रिया सहज बनाएको छ । र, वास्तविक रुपमै  अध्ययनका लागि आउने बिद्यार्थीले मात्र भिषा पाउन भन्ने एक प्रणालीसमेत बसाएको छ ।
अर्काेतिर अध्ययन सकेपछि स्थायी बासिन्दा (पीआर), त्यसको एकबर्षपछि अष्ट्रेलियाको नागरिकता लिन पाउने प्रावधान पनि अष्ट्रेलियामा बिद्यार्थी बढ्नुको मुख्य कारण हो । भर्खरै मात्र अष्ट्रेलियाली प्रधानमन्त्रीले पीआर लिने प्रक्रियामा कडाई गर्ने नीति सार्वजनिक गरेका छन् ।
नेपालीहरु अष्ट्रेलियाको समुदायमा समेत मिलनसार र मेहनतीरुपमा परिचित छन् जसको प्रमाण यहाँ नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा अष्ट्रेलियाली मन्त्री तथा नेताहरुले नेपालीले अष्ट्रेलियालाई बहुसांस्कृतिक देशका रुपमा बिकास गर्न सहयोग पुर्‍याइरहेको भनी दिएको अभिव्यक्तिले प्रष्ट पार्छ ।
त्यसैगरी, पछिल्लो समयमा नेपालका उच्च तहका नेताहरुले यहाँका उच्च तहका नेताहरुसँग औपचारिक र अनौपचारिक भेटघाट गर्ने क्रममा बृद्धि भइरहेको छ जसले नेपाललाई अष्ट्रेलियाले दिएको महत्व दर्शाउँछ ।
अध्ययनका लागि आउनेहरुको लागि यहाँ रोजगारीको समस्या ठूलो रुपमा देखापर्ने गर्छ । अष्ट्रेलिया सरकारले बिदेशी बिद्यार्थीहरुका लागि दुई सातामा ४० घण्टा बैधानिक रुपमा काम गर्ने अधिकार दिएको छ । जसका कारण बिद्यार्थीका रुपमा आएकाहरुले आर्थिकरुपमा धेरै समस्या व्यहोर्नु पर्दैन । तरपनि, काम पाउने वा नपाउने भन्ने बिषय भने बिद्यार्थीको लगनशिलता, मेहनत र उसको खुबीमा भरपर्ने गर्छ । यद्यपि अहिलेसम्म बिद्यार्थीका रुपमा आएका कोहीपनि बेरोजगार भने छैनन् ।
यहाँ बिद्यार्थी भएर आइसकेपछि मुख्य रुपमा बिद्यार्थीले पूरा गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने हुन्छ । जस्तै: दुई सातामा ४० घण्टाभन्दा धेरै काम नगर्ने, नियमित सरकारी ट्याक्स तिर्ने, जुन बिषय अध्ययन गर्न आएको हो इमान्दारिताका साथ अध्यययन गर्ने ।
यस क्षेत्रमा काम गरिरहेका बिज्ञहरुकै भनाई मान्ने हो भनेपनि बिद्यार्थीका रुपमा आउने नेपालीहरु सबैजसो बिद्यार्थीका रुपमा आफ्नो दायित्व पूरा गर्ने भएकाले समेत अष्ट्रेलियाली सरकारले सकारात्मक नजरले हेरिरहेको छ ।
प्रकाशित: वैशाख ९, २०७४

 

No comments:

Post a Comment