Monday, April 24, 2017

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा ४७ अर्ब बाहिरियो

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/96792



शाख ११, वीरगञ्ज । नेपाल आयल निगमले वीरगञ्ज नाकाबाट मात्र करीब ४७ अर्ब रुपैयाँबराबरको पेटोलियम पदार्थ आयात गरेको छ । निगमले चालू आर्थिक वर्ष २०७३/७४ को ९ महीनामा भारतीय आयल निगमबाट किनेको ४६ अर्ब ७६ करोड ५७ लाख रुपैयाँबराबरको पेट्रोलियम यो नाकाबाट भित्र्याएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले साउनदेखि चैतसम्मको अवधिमा पेट्रोलियम आयात गर्दा निगमले राजस्वमात्र १० अर्ब ८२ करोड १८ लाख रुपैयाँ बुझाएको बताए । कुल पेट्रोलियम खपतको करीब ७० प्रतिशत आयात वीरगञ्ज नाकाबाटै हुने भन्सारले बताएको छ ।
अघिल्लो वर्ष मधेश आन्दोलन र साढे ४ महीना लामो नाकाबन्दीले यसको आयात स्वात्तै घटेको थियो । विगत वर्षको समीक्षा अवधिमा यो नाकाबाट १५ अर्ब ५३ करोड ९ लाख रुपैयाँको मात्र तेल र ग्यास आयात भएको थियो ।
वर्ष २०७१/७२ को तुलनामा पेट्रोलिय आयातको परिमाण बढे पनि त्यसबापत तिरिएको रकम भने घटेको छ । त्यस वर्ष ५३ अर्ब ८१ करोड ५० लाख रुपैयाँको पेट्रोलियम आएको थियो । ‘यो पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीको परिणाम हो,’ भन्सार प्रमुख पोखरेलले भने, ‘पछिल्लो समयमा आयात बढे पनि त्यसका लागि खर्च भने तुलनात्मक कम देखिएको छ ।’
यो वर्ष सबैभन्दा बढी डिजेल आयात भएको छ । निगमले ९ महीनामा ४ लाख ७३ हजार ६९ किलोलिटर डिजेल भित्र्याएको तथ्याङ्क वीरगञ्ज भन्सारसित छ । डिजेल आयातमामात्र २३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ बाहिरिएको छ । ८ अर्ब २६ करोड ३७ लाख रुपैयाँको १ लाख ६६ हजार ७ सय ५८ किलोलिटर पेट्रोल आयात भएको भन्सार अधिकृत अरुण पौडेलले जानकारी दिए ।
अयातनिर्यात सामान्य रहेको समीक्षा वर्ष २०७१/७२ मा ३ लाख ७० हजार किलोलिटर डिजेल र १ लाख ३२ हजार ४ सय ८ किलोलिटर पेट्रोल भित्रिएको थियो । चालू वर्षको ९ महीनामा यो नाकाबाट १ लाख ११ हजार ६ सय ९४ किलोलिटर हवाई इन्धन आएको छ । यस अवधिमा १३ करोड ३८ लाख ४४ हजार किलो खाना पकाउने ग्यास आयात भएको भन्सारले उल्लेख गरेको छ । वीरगञ्ज भन्सारले राजस्व योगदानका आधारमा पेट्रोलियमलाई सवारीका साधनपछि दोस्रो स्थानमा राखेको छ । 

No comments:

Post a Comment