Friday, April 28, 2017

वीरगन्जको विकल्प http://bit.ly/26GpN2v

पत्र पत्रिका बाट  -साभार     http://nepal.ekantipur.com/news/2016-05-01/20160501130229.html

पछिल्लो समय वीरगन्ज नाका सहज बने पनि टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि भने भैरहवा नाकातिरै लहसिएको छ । भैरहवा–बुटवलको खण्डमा पर्ने मधौलियामा दुई बिघा जमिन १० वर्षका लागि भाडामा लिएर उसले आफ्नो कार्यालयसहितको यार्ड (गाडी पार्किङ स्थल) मात्र बनाएको छैन, भारतबाट आयात गरिएका सयौँ गाडी मुलुकका अन्य डिलरलाई पठाउन थालेको छ ।
यसअघि वीरगन्ज नाकाबाट मात्रै टाटा कम्पनीका गाडी आयात गर्दै आएको सिप्रदी ट्रेडिङ मधेस आन्दोलनका क्रममा महिनौँ अवरुद्ध बनेपछि भैरहवातर्फ आकर्षित भएको हो । “वीरगन्ज नाका महिनौँ अवरुद्ध भएपछि वैकल्पिक नाकाका रूपमा भैरहवालाई लिन थालेका हौँ,” सिप्रदी ट्ेरेडिङका भैरहवा शाखा प्रबन्धक गोविन्द उपाध्याय भन्छन्, “भैरहवा नाका अन्य नाकाको तुलनामा सुरक्षित र पायक पर्नुका साथै मधेस आन्दोलनका बेला पनि अवरुद्ध भएन ।” सिप्रदीले वीरगन्जबाट नजिक पर्ने स्थानका लागि वीरगन्ज र त्यसबाहेकका लागि भैरहवा नाकाबाट गाडी आयात गर्ने गरेको उपाध्यायको कथन छ ।
सिप्रदी मात्रै होइन, नेपालका प्रमुख अटो मोबाइल्स कम्पनीहरूका लागि भैरहवा रोजाइको नाका बन्न पुगेको छ । सुजुकी, महिन्द्रा, हुन्डाई, आयसर, होन्डा, मित्सुबिसी, टोयटा, किया, फोर्ड, डायत्सुलगायतका कम्पनीका नेपालको आधिकारिक बिक्रेताले भैरहवा नाकाबाट पनि आयात गर्न थालेका छन् । ती अधिकांश अटोमोबाइल्स कम्पनीले भैरहवा क्षेत्रमा जमिन भाडामा लिएर गोदामका रूपमा प्रयोगमा ल्याइसकेका छन् ।

विशेष आर्थिक क्षेत्र (सेज)देखि उत्तरतर्फको बालापुर क्षेत्रमा अहिले बस्ती, पसल, गेस्टहाउस, पेट्रोलपम्प धमाधम निर्माण हुन थालेका छन् । आन्दोलनअघि प्रतिधुर करिब ५० हजार रुपियाँमा पाइने जमिन अहिले डेढ लाखमा पाउन मुस्किल छ । काठमाडौँ, पोखराका होटल व्यवसायी र उद्योगी जग्गाको खोजीमा छन् ।

मधेस आन्दोलनका बेला तराईका अन्य जिल्ला र भारतीय नाकाको तुलनामा भैरहवा शान्त र सुरक्षित भएको महसुस गरिएको हो । भन्सार कार्यालय रहेको भैरहवाको सीमावर्ती बेलहियादेखि २५ किमि उत्तर बुटवलसम्म एकाध छिटपुट घटनाबाहेक एक दिन पनि नाका र सिद्धार्थ राजमार्ग अवरुद्ध हुन पाएन ।
वीरगन्जबाट अवरुद्ध भएका गाडी र सामान रिरुट भएर आउन थालेपछि चालू आवका लागि ३० अर्ब ११ करोड रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको भैरहवा भन्सार कार्यालयले फागुनको तेस्रो साताभित्रै पूरा गरेको थियो । फागुनको अन्तिमसम्म ३४ अर्ब ५१ करोड रुपियाँ संकलन भएको थियो ।

यस नाकाबाट अत्यधिक संख्यामा नयाँ सवारीका साधन भित्रिएकाले निर्धारित समयअगावै लक्ष्य पूरा भएको भैरहवा भन्सारका अधिकृत रवीन्द्र प्याकुरेल सुनाउँछन् । भन्सार तथ्यांक अनुसार यस वर्षको फागुनसम्ममा भैरहवा नाकाबाट भित्रिएका सवारी साधनबाट १४ अर्ब ६८ करोड ४१ रुपियाँ भन्सार राजस् व आएको छ । गत वर्षको यस अवधिमा २ अर्ब ५८ करोड ४६ लाख रुपियाँ मात्र राजस्व आएको थियो ।

“भारतको कलकत्ता बन्दरगाहदेखिको रुट वीरगन्जनजिक भए पनि दिल्लीदेखि काठमाडौँका लागि नजिकको रुट भैरहवा हो,” अर्का भन्सार अधिकृत गोविन्द पौडेल भन्छन्, “तर, कैयन् व्यापारी दिल्लीदेखि सामान आयात गर्दा चलनचल्तीको वीरगन्ज नाकै प्रयोग गर्थे ।”

स्थानीय भन्सार क्लियरिङ एजेन्टका अनुसार दिल्लीबाट रक्सौलसम्म सामान ढुवानी गर्दा प्रतिकिलो पाँच रुपियाँ भारु भाडा छ भने सुनौलीसम्मको साढे तीन रुपियाँ । अर्कोतर्फ, भारतमै नेपालतर्फ निर्यात हुने सामानमा बिहारमा भन्दा उत्तर प्रदेशमा प्रशासनिक कार्य सम्पादनमा सरल र सहज छ ।
भैरहवा नाकाबाट धेरै सामान आयात हुन थालेपछि त्यही अनुरूप पूर्वाधार तयार पार्नुपर्ने माग निजी व्यवसायीले गरेका छन् । “भैरहवा नाका मुलुककै लागि अति महत्त्वपूर्ण छ भन्नेमा दुईमत छैन,” सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विष्णु शर्मा भन्छन्, “भारतको नौतनवासम्म रहेको रेलमार्गलाई सीमावर्ती सुनौलीसम्म ल्याउन र एकीकृत सुरक्षा चौकी अन्तर्गत नेपालतर्फ अधिग्रहण भएको जमिनमा भन्सार, क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रयोगशाला, बैंकलगायतका निकाय एकै स्थलमा ल्याउनुपर्‍यो ।”
प्रकाशित: वैशाख १९, २०७३

No comments:

Post a Comment