Thursday, February 9, 2012

आफ्नो भाषा, आफ्नै भेष


     

आफ्नो भाषा, आफ्नै भेष


"उ पराष्ट्रपति महोदय !" पद्मरत्नजीले नेवारी भाषामा भन्नुभो, "नेपाली भाषामा शपथ नलिनुहोला ।"

"मलाई थाहा छ," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "चरेस खाए पनि मैले हरेस खाएको छैन ।"

"हामी भाषिक अधिकारकर्मी पार्टीका मान्छे," पासाङजीले शेर्पा भाषामा सोध्नुभो, "तपाइर्ं कतिवटा भाषा जान्नुहुन्छ ?"

"मैले धोती लगाएँ भने तपाइर्ं बख्खु लगाउनूस्," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "सुट लगाउनूस्, टाइ लगाउनूस् ।" थप्नुभो, "तर, बिर्सेर पनि दौरा-सुरुवाल नलगाउनूस् ।"

"गाई काटेर खानु पनि मानव अधिकार हो," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "आगामी संविधानमा यो कुरो प्रस्ट लेख्नुपर्छ ।"

"पहाडमा धोती लगाउने अभ्यासले राष्ट्रिय एकता वृद्धि हुन्छ," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "मीनबहादुरजी कुरै बुझ्नुहुन्न ।"

"एक जनालाई एमबीबीएसको स्कलरसिप मिल्छ ?" पासाङजीले शेर्पा भाषामा सोध्नुभो, "मेरो सालीको छोरी इन्डिया जान्छु भन्छे ।"

"कानुनको ज्ञान नभएका अज्ञानीले त्यसो भने," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "मबाहेक त्यहाँ सबै घुस्याहा छन् ।"

"भुस्याहा कुकुर तह लगाउने काम नगरपालिकाको हो ।" पद्मरत्नजीले सही थाप्तै नेवारी भाषामा भन्नुभो, "स्थानीय निकाय गठन नभएर बर्बाद भयो ।"

"हिन्दीमा जुन आकर्षण छ, त्यो मैथिलीमा छैन," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "हिन्दीले जे दिन्छ, त्यो मैथिलीले दिँदैन ।"

"हिन्दुस्तानीहरू पनि बिग्रेछन्," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "स्कलरसिप दिँदासमेत पैसा खान थाले ?"

"कोरयिनहरू कुकुर खान्छन्," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "तर, कुकुरको हेरचाह गर्ने तरकिा बेग्लै हुन्छ ।"

"मैले आठवटा भाषा जानेको छु," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "मन लाग्यो भने म आठवटै भाषामा शपथ खान सक्छु ।"

"पैसा खान्छन् भने पनि ठीकै छ," पासाङजीले शेर्पा भाषामा सोध्नुभो, "बरु पैसा तपाईंलाई दिने हो कि सोझै उनीहरूलाई ?"

"मैलेचाहिँ आजसम्म कुकुरको मासु खाएको छैन," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "विदेश जाँदासमेत जोगिएर आइयो ।"

"पुदिनाको सर्वत र भाङको चक्की," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "यसको कम्बिनेसनले रल्ियाक्स हुन्छ ।"

"उनीहरूसँग मिले फाइदैफाइदा रहेछ," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "एक जनाको दुई लाख लियो भने ५० जनाको एक करोड ।"

"गाई हिन्दुहरूको पो माता," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "अरूको के माता !"

"मचाहिँ २५ पैसा प्वाइन्टको म्यारजि खेल्छु," उपराष्ट्रपतिजीले हिन्दीमा भन्नुभो, "दिन कटनी भइहाल्छ ।"

"जिमाला सुनभन्दा महँगो हुन्छ," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "एक जना महिलाले एक करोडको गहना लगाउँछन् ।"

"धर्मनिरपेक्ष भएपछि गाई काट्न पाउनुपर्छ," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "अन्यथा गणतन्त्र ल्याएको के काम !"

"नेपालीबाहेक अरू भाषामा खाने हो," उपराष्ट्रपतिजीले हिन्दी भाषामा भन्नुभो, "म महिनामा एकपटक शपथ खान तयार छु ।"

"जिमाला खाने होइन, लगाउने वस्तु हो," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "तपाइर्ंले चरेसजस्तो खाने वस्तु सम्झनुभएको ?"

"भैँसीको मासु स्वास्थ्यकर हुन्छ," पद्मरत्नजीले नेवारीमा भन्नुभो, "कलिलो भैँसी स्वादिलो पनि हुन्छ ।"

"दहेजका बारेमा कुरै छाड्नूस्," उपराष्ट्रपतिजीले भन्नुभो ।

"भाषा आन्दोलन खासा व्यापारजस्तो सजिलो छैन," पासाङजीले शेर्पा भाषामा भन्नुभो, "उपराष्ट्रपतिजीले नेपाली भाषामा शपथ नखाएर गजब गर्नुभो ।"

"उपराष्ट्रपतिजी नेवारी बुझ्नुहुन्छ ?" पद्मरत्नजीले नेपालीमा सोध्नुभो, "काठमाडौँ बस्नु भएको कति वर्ष भो ?"

"काठमाडौँ बसे पनि नेवारी बस्तीमा बसिएन," उपराष्ट्रपतिजीले पनि नेपालीमै भन्नुभो, "नेपाली बस्तीमै बसियो नेवारी सिक्ने मौकै मिलेन ।"

"शेर्पा भाषाचाहिँ बुझ्नुहोला नि ?" पासाङजीले पनि नेपाली भाषामा भन्नुभो, "जागिर खाँदा सोलुतिर बस्नुभयो नै होला ।"

"सोलु बस्ने मौकै परेन ।" उपराष्ट्रपतिजीले नेपाली भाषामा भन्नुभो, "त्यही भएर म शेर्पा भाषा पनि बुझ्दिनँ ।"

"बर्बाद भएन त !" पद्मरत्नजीले नेपालीमा भन्नुभो, "हामीले आग्राका कुरा गर्‍याँै, तपाईंले गाग्राका कुरा बुझ्नुभएजस्तो छ ।"

"मैले अघि सालोको छोरीका बारेमा भनेको पनि बुझ्नुभएन ?" पासाङजीले नेपालीमा सोध्नुभो, "डाक्टरी पढाउने कुरा ?"

"डाक्टरीको कुरा गर्नुभयो र ?" उपराष्ट्रपतिजीले नेपालीमा भन्नुभो, "मैले सोचेँ, तपाइर्ं भाङका बारेमा चर्चा गर्दै हुनुहुन्छ ?"

"मैलेचाहिँ गौमाताको कुरो गरेँ," पद्मरत्नजीले नेपालीमा सोध्नुभो, "त्योचाहिँ बुझ्नुभयो होला ।"

"तपाईंले दहेजका बारे सोध्नुभएको होइन ?" उपराष्ट्रपतिजीले नेपालीमा भन्नुभो, "मैले माता-पिताबारे भनेको बुझिनँ ।"

जवाफ सुनेर पद्मरत्नजी नेवारी पाराले विस्मित् हुनुभो । पासाङजी शेर्पा शैलीमा दिक्दार हुनुभो र उपराष्ट्रपतिजीसमेत आफ्नो मौलिक स्टाइलमा खिन्न हुनुभो । अन्त्यमा पद्मरत्नजी र पासाङजीले नेपाली भाषामा शपथ नखानु भनेर उपराष्ट्रपतिजीसमक्ष्ा नेपाली भाषामा अनुरोध गर्नुभएपछि उपराष्ट्रपतिजीले नेपाली भाषामा शपथ नलिने प्रतिबद्धता नेपाली भाषामै जाहेर गर्नुभो ।

No comments:

Post a Comment