Wednesday, February 22, 2017

बुटवलमा बिहीवारदेखि क्यान इन्फोटेक मेला

साभार  पत्र पत्रिका बाट  http://www.abhiyan.com.np/new/Articles/view/93521 २०७३-११-११ मा प्रकाशित   बीपी गौतम

फागुन ११, रूपन्देही । बुटवलमा बिहीवारदेखि डिजिकम क्यान इन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर्स शुरू हुँदै छ । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) रूपन्देहीको आयोजनामा बुटवल मण्डपममा हुने इन्फोटेक ५ दिनसम्म सञ्चालन हुनेछ । इन्फोटेकको पूर्वअर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् ।   
‘प्रदर्शनीले प्रदेश नं ५ को सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्‍याउने  आशा गरेका छौं ।’ क्यान रूपन्देहीका अध्यक्ष रोशन कँडेलले भने, ‘यो इन्फोटेकबाट अवलोकनकर्ताले विश्वमा विकसित नयाँ तथा नौलो प्रविधि, उपकरणको अवलोकन तथा खरीदसमेत गर्न पाउने छन् ।’
विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकको बुटवलमा यो छैटौं संस्करण हो ।
छैटौं संस्करण क्यान इन्फोटेकको शीर्ष प्रायोजन डिजिकम रहेको तथा एशोसिएट प्रायोजकमा इन्फो डेभलपर्स रहेकाले यस संस्करणको अफिसियल नाम नै ‘डिजिकम क्यान इन्फोटेक २०१७ इन एशोसिएशन विथ इन्फो डेभलपर्स’ राखिएको आयोजकले बताएका छन् । इन्फोटेकको सह–आयोजकमा जिल्ला विकास समिति रूपन्देही र बुटवल उपमहानगरपालिका रहेका छन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेण्टिनेन्स्, पावर सोलुसन्स, मोबाइल एसेसरिज, इण्टरनेट सेवा प्रदायक, आईसीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्सलगायत गरी १ सय ४० स्टल छन् । प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको अध्यक्ष कँडेलले बताए ।
सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
इन्फोटेककै अवधिभित्रै आईसीटी सेमिनारको पनि आयोजना गरिनुका साथै सूचना तथा सञ्चार प्रविधिमा सरोकारवालाको बीचमा स्मार्ट सीटी, डिजिटल लुम्बिनीको अवधारणाका विषयमा अन्तरक्रिया हुने पनि आयोजकले बताएको छ ।

 

No comments:

Post a Comment