Tuesday, February 21, 2017

पेट्रोल अपचलन गर्न नपाउँदा ट्यांकर व्यवसायी विरोधमा, उपभोक्तालाई सास्ती

  • 'ट्यांकर व्यवसायीहरूले ठग्न पाऊँ भन्दै विरोध गरेका छन्' - राजु चौधरी, काठमाडौं 

साभार  पत्र पत्रिका बाट  http://kantipur.ekantipur.com/news/2017-02-21/20170221091548.html

फाल्गुन १०, २०७३- पेट्रोल अपचलन गर्न नपाउँदा टैंकट्रक (ट्यांकर) व्यवसायी विरोधमा उत्रेका छन् । निजी स्वार्थ पूरा गराउन दबाबस्वरूप हडताल गर्दा उपभोक्ताले सहज रूपमा इन्धन पाउन सकेका छैनन । ट्यांकर ढुवानी व्यवसायीले दबाबस्वरूप शुक्रबार इन्धन लोड गरेनन् । त्यसको मार सर्वसाधारणलाई परेको छ । ढुवानी व्यवसायीका अगाडि आयल निगम निरीह हुँदा आपूर्तिमा थप असहज भएको हो । निमगले आइतबार र सोमबार दैनिक मागभन्दा दोब्बर पेट्रोल वितरण गरेको दाबी गरे पनि अधिकांश पम्पमा सर्वसाधारणको लाइन देखियो । केही पम्पहरूमा ‘पेट्रोल छैन’ भन्ने ट्याग झुन्ड्याइको छ । निगमले निश्चित सर्तमा भाडामा लिएका ट्यांकरबाट इन्धन आपूर्तिमा अवरोध हुँदासमेत कारबाही हुन सकेको छैन ।

‘इन्धन अत्यावश्यक पदार्थ भएकाले कुनै बहानामा अवरोध गर्न मिल्दैन । सरकारले चाहेमा  तत्काल कारबाही गर्न सक्छ,’ निगमका एक अधिकारीले भने, ‘तर, व्यवसायीको मागमा निगम निरीह देखिन्छ ।’ पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार निगमले दिएको आदेश, निर्देशन पालना ढुवानीकर्ताबाट नभएमा ढुवानीकर्ता खारेज हुन सक्छ । पेट्रोलियम पदार्थ गुणस्तर नियन्त्रण विनियम २०६४ अनुसार ढुवानीकर्ताले पेट्रोलियम पदार्थ लोड गर्दा बुझिलिएको परिमाण तथा गुणस्तरबमोजिम तोकिएको स्थान समयमा पेट्रोलियम पदार्थ नबुझाएमा ट्यांकर निलम्बनसम्मको कारबाही गर्न सकिने कानुनी व्यवस्था छ ।
कानुनअनुसार कारबाही गर्ने अधिकार भए पनि निगम पन्छिन खोजेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । ‘ट्यांकर व्यवसायीहरूले ठग्न पाऊँ भन्दै विरोध गरेका छन् । बजारमा तेल पाइँदैन, कालोबजारी बढ्ने सम्भावना उच्च देखिन्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘सर्वसाधारणले इन्धन पाउने व्यवस्था तत्काल मिलाउनुपर्छ ।’ इन्धन ढुवानी व्यवस्थित बनाउन सरकारले माघमा ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३’ संशोधन गरेपछि व्यवसायीहरू विरोधमा उत्रेका हुन् । विनियमावली अव्यावहारिक र त्रुटि भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् । यससम्बन्धमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आपूर्ति मन्त्रालय र आयल निगमलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । माग सम्बोधन नगरे थप आन्दोलन गर्नेसमेत धम्की दिएका छन् ।
संशोधित विनियमावलीमा टैंकट्रकमा लोड भएको पेट्रोलियम पदार्थको परिमाण तापक्रमको फरकबाट हुने परिमाणबाहेक लोड भएको परिमाणको ० दशमलव २५ प्रतिशतभन्दा कम फरक भएमा प्रचलित खुद्रा मूल्यअनुसार र सोभन्दा बढी फरक भएमा प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गर्ने उल्लेख छ । टैंकट्रक चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने पनि जनाएको छ । तर, व्यवसायीहरूले २ प्रतिशत घट्न गए खुद्रा मूल्यअनुसार असुल गर्नुपर्ने माग गरेको छ । २ प्रतिशतसम्म छुट हुँदा एक ट्यांकरमा ४ सय लिटर अपचलन गर्न पाइन्छ । प्रतिलिटर एक सयको दरले पनि ४० हजार रुपैयाँ फाइदा हुन्छ ।
यस्तै, पेट्रोलियम पदार्थ ढुवानी गर्ने टैंकट्रकमा कुनै पनि स्वीकृत मापदण्डबाहेकका अन्य फिटिङहरू जडान गरेको भेटिएमा सो कार्यबाट निगमलाई भएको हानि नोक्सानीको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिने उल्लेख छ । टैंकट्रक चालकलाई निगमको कुनै पनि ढुवानी कार्यमा बन्देज लगाउने जनाएको छ । विनियमावलीमा व्यवसायीसँग ५ वटा ट्यांकर अनिवार्य हुनुपर्ने उल्लेख छ । तर, व्यवसायीहरूले न्यूनतम ३ वटा टैंकट्रक हुनुपर्ने माग गरेका छन् ।
लोडिङदेखि अनलोडिङ डिपो १ सय किलोमिटरभित्र रहेमा उक्त दूरीलाई छोटो दूरी मानी उक्त दूरीमा सञ्चालन हुने टैंकट्रकको ढुवानी भाडा कायम रहेको प्रतिकिलोमिटरको ढुवानी भाडामा ५० प्रतिशत थप्नुपर्ने माग गरेका छन् । टैंकट्रकले पाउने तापक्रम लस अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ । निगमबाट हुने ट्यांकर नामसारी, ठाउँसारीलगायतका कार्य महासंघको सिफारिसमा मात्र गर्न व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । विनियमावलीमा टैंकट्रकको आयु २० वर्षसम्म मात्रै हुने उल्लेख छ । सोभन्दा पुरानो टैंकट्रकबाट निगमले पेट्रोयिम पदार्थ ढुवानी नगराउने पनि प्रावधान छ ।
परीक्षणमा उत्तीर्ण नहुने टैंकट्रकलाई उपयुक्तता परीक्षण उत्तीर्ण नहुन्जेलसम्म ढुवानी कार्यमा नलगाइने पनि उल्लेख छ । व्यवसायीले विरोध गरेपछि सोमबार निगमबीच छलफल भएको थियो । ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले सुधारका कुराहरू निगमले सकरात्मक रूपमा लिएको बताए । ‘सकारात्मक कुराहरू फागुन १५ भित्र निगम सञ्चालक समितिमा पेस गर्ने सहमति भएको छ,’ उनले भने ।
दुई दिनमा साढे १५ सय किलोलिटर वितरण
निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेले दुई दिनमा साढे १५ सय किलोलिटर पेट्रोल वितरण गरेको दाबी गरेका छन् । ‘आइतबार ८ सय २० र सोमबार ७ सय २५ किलोलिटर वितरण गरेका छौं । सामान्य अवस्थाको तुलनामा यो दोब्बर नै हो । मंगलबार ६ सय किलोलिटरभन्दा बढी वितरण गर्नेछौं,’ उनले भने, ‘इन्धन लोडिङमा कुनै समस्या छैन । सर्वसाधारणहरू आत्तिनु पर्देन ।’ शनिबार सार्वजनिक बिदा भए पनि २ सय किलोलिटर पेट्रोल वितरण गरेको उनले दाबी गरे ।
सर्वसाधारणहरूले इन्धन मौज्दात गरेकाले पम्पहरूमा लाइन देखिएको उनले बताए । निगमका अनुसार एउटा ट्यांकरले दुई/तीन पम्पमा वितरण गर्छ । पम्पमा खन्याएपछि इन्धन भर्न पुन: थानकोट डिपो जानुपर्छ ।
बाटोमा हुने सवारी जामका कारण पनि ढुवानीमा थप समस्या भएको काफ्लेको भनाइ छ । ‘सवारी जामका कारण थानकोटबाट कलंकीसम्म आइपुग्दा २/३ घण्टा लाग्छ,’ उनले भने, ‘जसले गर्दा समयमै पम्पसम्म पुर्‍याउन सकेका छैनौं ।’
 

No comments:

Post a Comment