Saturday, December 31, 2016

नागढुंगा सुरुङको सम्झौता हुँदै

नागढुंगा सुरुङको सम्झौता हुँदै

http://kantipur.ekantipur.com/news/2016-12-21/20161221072955.html
पुस ६, २०७३- जापानले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा यातायात सहजताका लागि सुरुङ (टनेल) मार्ग निर्माण गर्ने तयारीको सम्झौता बिहीबार अर्थ मन्त्रालयमा हुने भएको छ ।
२ दशमलव ६ किलोमिटर लम्बाइ रहने सुरुङ मार्ग जापान सरकारको ऋण सहयोगमा निर्माण हुन लागेको हो । जापानी सहयोग नियोग (जाइका) ले अन्तर्राष्ट्रिय बिडिङमार्फत निर्माण गर्न लागेको उक्त सुरुङ मार्ग नागढुंगाको चेकपोस्ट नजिकको फाँटबाट सिस्ने खोलाको तल्लो भाग निस्कनेछ । त्यसको लिंक रोड काठमाडौंको सीतापाइलादेखि हुने बताइए पनि कलंकी कि सीतापाइलादेखि भन्ने अझै टुंगो लागेको छैन ।
परियोजनाको सम्भाव्यता अध्ययन जाइकाले पूरा गरिसकेको छ । जग्गा अधिग्रहण तथा अन्य मोडलहरूबारे पूर्ण काम सम्झौतापछि आरम्भ हुनेछ । यसको मोडलका लागि डेढ वर्ष लाग्न सक्ने र त्यसपछि परियोजनामा काम गर्नेसमेत जाइका अधिकारीले बताएका छन् । सन् २०१५ मा नै सम्झौता हुने भनिए पनि दुई वर्ष ढिला गरी सम्झौता हुन लागेको हो । सुरुङ मार्ग निर्माणका लागि करिब २२ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । जापानले सहुलियत ऋणस्वरूप शून्य दशमलव ०१ प्रतिशत ब्याज लिनेछ । नेपालले उक्त ऋण ४० वर्षमा भुक्तान गर्नुपर्नेछ । यसको प्राविधिक पक्षहरू अध्ययनका लागि थप डेढ वर्ष लाग्ने हुनाले काम भने सन् २०१९ मा आरम्भ हुने र सुरु भएको साढे तीन वर्षमा सक्ने तयारी छ । सम्झौता जापानी राजदूत र अर्थ सचिवबीच हुनेछ ।
राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भए ट्राफिक समस्या समाधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने बताइएको छ । काठमाडौं प्रवेश गर्ने सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनाले यात्रु र चालक हैरानीमा पर्ने गरेका छन् ।
सुरुङ मार्ग दुई लेनको अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ । सुरुङमा भित्रै पेट्रोलपम्पसमेत रहने गरी तयारी गरिएको अधिकारीले जानकारी दिएका छन् । सुरुङभित्र पार्किङ, फुटपाथ र रिपेयरिङ सेन्टरसमेत रहने बताइएको छ । यो सुरुङ बने थानकोटबाट ५ देखि १० मिनेटमा नौबिसे पुग्न सकिनेछ ।
जापान सरकारले यस अलावा सूर्य विनायकदेखि धुलिखेलसम्मको सडक पनि ६ लेनको बनाइदिने र त्यसमा पनि सुरुङ मार्ग तथा फ्लाई ओभर बन्ने विषयमा पनि छलफल भइरहेको अधिकारीहरूले बताएका छन् ।
 

No comments:

Post a Comment